बाढी–पहिरो : कसरी चुक्दै छौं  ?

सुबोध ढकाल

सन् १९९० अघिसम्म प्राय: सबै देशमा विपद्लाई मान्छेको पकडभन्दा बाहिरको कुरा र भगवानको इच्छा भनेर नै बुझ्ने गरिन्थ्यो । तर ९० को दशकदेखि भने विपद्को जोखिम घटाउन सकिन्छ र विपद्बाट हुने जनधनको क्षति पनि निकै हदसम्म कम गर्न सकिन्छ भन्ने कुरामा धेरैको एकमत देखियो ।

त्यही समयपछि धेरै देशले विपद् जोखिम न्यूनीकरण र यसको व्यवस्थापनमा उल्लेख्य उपलब्धि हासिल गरेका छन् । तर विडम्बना, हाम्रो देशमा अझै पनि राज्य, सरकार, राजनीतिक दल तथा योजनाकारहरूले समेत विपद्लाई भगवानको इच्छाकै रूपमा लिएको देखिन्छ । यसलाई सम्बन्धित व्यक्तिहरूले शब्दमा नकार्न सक्छन्, तर व्यवहारमा देखिएको तितो सत्य यही नै हो । यसैबाट बुझ्न सकिन्छ कि बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्तिमा धेरै जनधन क्षति हुनुमा हाम्रो समग्र सोच नै प्रथम कारण रहेको छ । यस्ता विपत्तिमा सावधानी र पूर्वतयारी गर्ने हो भने क्षतिलाई निकै हदसम्म घटाउन सकिन्छ । यो कुरालाई थप पुष्टि गर्ने आधार के हो भने हाम्रो देशको विपद् सम्बन्धी ऐन नै ‘खोज र उद्धार’मा आधारित छ । यसको मतलब के हुन्छ भने विपद् भन्ने कुरा प्राकृतिक हो, यो हुन्छ–हुन्छ, यसमा हामीले केही गर्न सक्दैनौं । विपद्मा परेर ज्यान गुमाएका, अङ्गभङ्ग भएका, उद्धार गरे बचाउन सकिने अवस्थामा रहेका आदिको खोज गर्ने, उद्धार गर्ने, राहत दिने काममात्र हाम्रो वशमा हुन्छ र विपद् व्यवस्थापन भनेको त्यही हो भन्ने कुराले हाम्रो सरकारी संयन्त्र, योजनाकार र विधायकको दिमागमा डेरा बसाएको देखिन्छ । यसमा विपद्को घटना भएपछि खोज र उद्धारमा लाग्नुभन्दा विपद्को घटना नै हुन नदिनु राम्रो भन्ने कुरालाई ध्यान नदिएको प्रस्ट देखिन्छ ।

बाढी र पहिरोको समस्या
नेपालमा बाढी र पहिरो जनधनको क्षति गर्ने प्रमुख प्राकृतिक प्रकोप हुन् । यिनीहरूको मुख्य कारण विशेषत: भूगर्भको कमजोर संरचना, भौगोलिक बनावट तथा यहाँको जलवायुको प्रकृतिसँग सम्बन्धित छ । बाढी जोखिमको हिसाबले नेपाललाई ३० औं स्थानमा राखिएको भए पनि गृह मन्त्रालयको तथ्यांक अनुसार प्राकृतिक प्रकोपजन्य विपद्बाट पुगेको आर्थिक क्षतिमध्ये करिब ७० प्रतिशत बाढीबाट भएको देखिएको छ । त्यस्तै बिभिन्न प्रकोपजन्य विपद्बाट मृत्यु हुनेमध्ये बाढी र पहिरोबाट मात्र ज्यान जानेहरू करिब ३५ प्रतिशत छन् । 

Yamaha

अधिकतम २ सय ५० किलोमिटरको चौडाइ भएको देशमा समुद्री सतहबाट ६०–७० मिटरको उचाइदेखि ८ हजार ८ सय ४८ मिटरसम्मको उचाइका पहाडसम्म हुनु बाढी र पहिरोको जोखिमलाई बढाइदिने प्रमुख कारण हुन् । उचाइमा भएको फराकिलो अन्तरले खोलाको वेगलाई अत्यन्तै बढाइदिएको छ । खोला जति वेगवान हुन्छ, यसले गर्न सक्ने क्षतिको सम्भावना बढ्दै जान्छ, किनकि यसको कटान गर्ने अनि गेग्रयान लिएर हिँड्ने क्षमता बढी हुन्छ । यसमा हाम्रो कमजोर भौगर्भिक बनोट र अहिले पनि सुचारु भैरहेको हिमालय बन्ने प्रक्रियाले थप जोखिम बढाइदिएको छ । त्यस्तै थोरै समयमा धेरै पानी पर्ने विशिष्ट प्रकृति पनि नेपालमा छ । वर्षभरि पर्ने झन्डै ८० प्रतिशत पानी मनसुनको ३ देखि ४ महिनाभित्र पर्ने गर्छ । यसमा थपिएको अर्को विषम परिस्थिति भनेको जलवायु परिवर्तनका कारणले निम्त्याएको असामान्य पानी पर्ने अवस्था हो, जसले गर्दा वर्षभरिमा पर्ने पानीको मात्रामा खासै फरक नपरे पनि पानी पर्ने जम्माजम्मी समय भने घट्दै गएको छ । यो प्रक्रियालाई ‘एक्स्टि्रम प्रेसिपिटेसन’ पनि भनिन्छ । यसले गर्दा पानीको प्रत्यक्ष प्रवाहले जमिनलाई थिलथिलो बनाइदिन्छ, जमिनभित्र धेरै पानी छिर्न जान्छ, जमिनभित्र पानीको अतिरिक्त चाप उत्पन्न हुन्छ, त्यसले जमिनलाई धकेल्न थाल्छ, जमिन अति छिटो गल्न जान्छ र बाढी–पहिरोको जोखिम बढाइदिन्छ । यसमा जमिनमा रहेको अत्यन्तै कमजोर र टुक्रिएको चट्टान, कमजोर माटो, वनस्पतिरहित नाङ्गा पहाड, भिरालो जमिन, भीरमा गरिने खेतीपाती, जथाभावी (उपयुक्त प्रविधिबिना) खनिएका सडक र अन्य भौतिक संरचना, खोलाको नजिकै तथा अति सम्वेदनशील भीरमा बसाइएका बस्ती र जीविकोपार्जनका लागि गरिने मानवीय क्रियाकलापले पहिरो र बाढीको जोखिम ह्वात्तै बढाउने गरेको छ । 

हाम्रा वेगवान खोलाहरूले पहाडतिरबाट बोकेर हिँड्ने गेग्रयान तराईमा आउने बाढी र यसबाट हुने क्षतिको मुख्य कारण बन्ने गरेको छ । यस्तै गेग्रयानले गर्दा अहिले तराईको धेरै ठाउँमा बस्तीहरू खोलाको सतहभन्दा निकै तल परिसकेका छन् भने धेरै ठाउँमा बस्ती र खोलाको सतह एउटै लेभलमा छन् । सप्तरीको खाडो खोला, बिभिन्न जिल्ला भएर बग्ने रातु खोला, सिरहाको गागन खोला, उदयपुरको हाडिया र कङ्ग खोला आदि यसका उदाहरण हुन् । बर्खामा यस्ता खोला पसेर बस्तीलाई नै बगाउनु ठूलो कुरा देखिँदैन । अहिलेको बाढीको विपत्तिमा धेरै क्षति हुनुमा भारतीय पक्षबाट बाँधको ढोका बन्द गरिदिएको भन्ने कुरा आइरहेको छ, जुन अन्तर्देशीय (ट्रान्स बाउन्डरी) कुरालाई दुबै पक्षको ‘विन–विन डिल’बाट अति नै छिटो सल्टाउनु जरुरी देखिन्छ । कुनै एउटा देशका नागरिकलाई बचाउन अर्को देशको जनता मार्ने नीति लिनु भनेको अति नै अमानवीय र निन्दनीय हुन्छ । 

के होला समाधान
नेपालको बाढी र पहिरोको कारण हामीले थाहा पाइसकेका छौं । त्यसैले यी कारणलाई निर्मूल पार्न अथवा घटाउन सक्यौं भने समस्याको समाधान पनि सजिलो र दिगो हुनसक्छ । कमजोर भौगर्भिक बनोट र पहाड बन्ने क्रम जारी रहेको अहिलेको अवस्थालाई रोक्न सक्ने अवस्था छैन । त्यो बाहेक अरू कारणको समाधान वैज्ञानिक हिसाबले गर्न सकिन्छ । जस्तो कि भिरालो र पहिरोको लागि सम्वेदनशील एवं खोलाको नजिकै बाढीको जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकाहरूलाई प्रकोप र जोखिम स्तरीकरण अध्ययन तथा वैज्ञानिक भू–उपयोग नीति र योजनाबाट द्रुतगतिमा कार्यान्वयन गर्नेगरी सुरक्षित बनाउनुपर्छ । सुरक्षित स्थान खोजी गरी जोखिममा रहेका बस्ती स्थानान्तरण गर्नु जरुरी हुन्छ । यसमा दृढ अठोट, इच्छाशक्ति र दुरुस्त प्राविधिक योजना चाहिन्छ । यो काम देशैभरि एकैचोटी गर्न नसकिए अति प्रभावित क्षेत्रबाट थाल्न सकिन्छ ।

नेपालमा काम दिगो र व्यावहारिक किन हुँदैनभने हामी कारण र असरको सूक्ष्म मूल्यांकन बिना नै जोखिम न्यूनीकरणका उपाय दिन खोज्छौं । जस्तो कि तराईमा बाढीको समस्या वर्षेनि हुने गर्छ, तर कारण त उत्तरतिरको चुरे र पहाडी भेगमा छ । त्यो कारण भएतिर ध्यान दिँदैनौं, अनि खालि तराईमा तारजाली लगाउँदै पानीलाई तह लगाउन खोज्छौं । हामीले पहाडतिरबाट खोलाले ल्याउने गेग्रयानलाई घटाउनुपर्छ, जुन पहाडमा जाने पहिरो र भूक्षयलाई घटाएर मात्र सम्भव छ । बस्ती र खोला एउटै सतहमा परेको समस्या अथवा खोलाभन्दा बस्ती तल परेको अवस्थामा ३०–४० वर्ष अगाडिको खोलाको सतह भू–उपग्रहयीय नक्सा र अन्य तथ्यांकलाई विश्लेषण गरी पत्ता लागाउन जरुरी छ । त्यो सतहलाई ‘थ्रेसहोल्ड’ सतह मानी त्योभन्दा माथि जम्मा भएको गेग्रयान र ढुङ्गामाटोलाई उत्खनन गरी निर्माण सामग्रीका रूपमा उपायोग गर्नु वाञ्छनीय देखिन्छ । खोलाको कुनै एउटा भागबाट मात्र गेग्रयान निकालेर भने दिगो समाधान आउँदैन र यसले वातावरणमा समेत प्रतिकूल प्रभाव पार्न सक्छ । त्यसैले खोलाको माथिल्लो तटीय क्षेत्र, मध्य तटीय क्षेत्र र तल्लो तटीय क्षेत्र सबैतिर यो काम गर्न जरुरी हुन्छ । 

यस्तै वैज्ञानिक र उच्च प्रविधिको सडक तथा अन्य भौतिक संरचना निर्माण, सम्वेदनशील स्थानमा सुरुङ मार्गले अहिलेको सडकको ‘कट एन्ड फिल’लाई विस्थापित गर्ने, नाङ्गा पहाडमा सुहाउँदो वृक्षरोपण गर्ने, पूर्व तयारीलाई प्राथमिकता दिने, बाढी र पहिरोको पूर्व सूचनाको चुस्त, व्यावहारिक र भरपर्दो विकास गर्ने अनि तराईमा सुरक्षित तथा सुविधासम्पन्न सेल्टर हाउस र सेल्टर रुट व्यवस्था गर्ने आदि कामलाई युद्ध स्तरमा अगाडि बढाइयो भने बाढी–पहिरोको जोखिमबाट धेरै नागरिकलाई बचाउन सकिन्छ । तर योजना बनाउनेहरू, राजनीतिक दलहरू, सरकार अनि कार्यान्वयन गर्ने निकाय सबैले अडिग भएर आआफ्नो क्षेत्रबाट यसमा काम गर्न जरुरी हुन्छ । अहिलेको समयमा यी सबै कामलाई मार्गनिर्देश गर्ने अनि जोखिम न्यूनीकरणलाई प्राथमिकता दिने र विपद् व्यवस्थापनलाई अति व्यावहारिक बनाउने खालको विपद् ऐन अति जरुरी देखिन्छ । नभए त जब बाढी–पहिरोले मान्छेको ज्यान लिन थाल्छ, अनिमात्र तातेजस्तो गर्ने अहिलेको परिपाटीमा कुनै सुधार आउँदैन । साथै विपद् भगवानको इच्छाले आउने होइन र यसको जोखिम अनि क्षति घटाउन सकिन्छ भन्ने कुरा सबैले बुझ्नु र बुझाउनु अति जरुरी छ ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. ढकाल विपद् जोखिम विज्ञ हुन् ।
dhakalsubodh@gmail.com

प्रकाशित : भाद्र ३, २०७४ ०७:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पोस्ट बक्स नं. ९४ र ६९४

शिशिर वैद्य

भारतबाट आउने पत्रपत्रिकाका बिक्रेतालाई हाकिमहरू र्‍याखर्‍याख्ती पार्थे । कहिलेकाहीं त पार्सल नै सिज हुन्थ्यो । अञ्चलाधीश कार्यालयले सेन्सर्ड भनेर छाप लागेका पत्रिका पनि हुलाकका हाकिम हेर्न खोज्थे ।

गोश्वारा हुलाक, निकै पुगिन्थ्यो, केही वर्ष अघिसम्म । फिनिक्स साइकल कैंची मारेर । भोटाहिटी, महाबौद्ध, भोंसिको, टेबहाल अनि सुनधारा । महाबौद्ध, भाेंसिको र वटुमा अहिलेजस्तो भिड लाग्दैनथ्यो । महाबौद्ध क्षेत्रमा लस्करै मोमो पसल थिए । सडकमा लोकल कुखुरा बेच्न बसेकाहरू भेटिन्थे ।

दुई पोस्ट बक्स थिए । ९४ र ६९४ । गोश्वारा हुलाकको पूर्वपट्टि, गेट छेवैको भवनमा थिए, पोस्ट बक्सहरू । एकापट्टि प्वालै–प्वाल भएको लामो पर्खाल, अर्कोपट्टि फलामका स–साना बाकसहरू । भित्तोजस्तो । फलामको लामो साँचो बाकसको प्वालमा छिराएर दाहिने घुमाएपछि ढक्कन र साँचो फुत्त बाहिरिन्थ्यो, एकैपटक । केही एरोमेल, खाम, पोष्टकार्ड हुन्थे, बाकसमा । रजिस्ट्री आएको भए सानो चिट । चिट बोकेर पछाडिपट्टिको भवनमा जानुपथ्र्याे । चिट बुझाएपछि पाइन्थ्यो, रजिस्टर्ड पार्सल । अलि ठूला पोका आउँदा भित्रै जानुपर्ने हुन्थ्यो । पूर्वी भवनबाट सानो गल्ली हुँदै भित्र जानुपथ्र्याे । गल्लीको मुखैमाथि फनन घुम्ने बेरियर । हरेक व्यक्ति त्यो गल्लीमा प्रवेश गर्दा बेरियरलाई घुमाएरै जानुपथ्र्याे । मलाई बेरियर घुमाउन मजा आउँथ्यो । अनि पार्सलको बहाना बनाएर म बेरियर घुमाउने गर्थें ।

भोटाहिटीको पसलसम्म फर्किंदा मूल सडकमा साइकल दौडाउनुको मज्जा नै बेग्लै हुन्थ्यो । खासै गाडी नगुड्ने सुनधारा, भोटाहिटीको सडक साइकलमैत्री थियो । पोस्ट बक्स खाली भएको दिन टुँडिखेलमा फनफन घुमाइन्थ्यो, साइकल । टुँडिखेलमा साइकल सिक्दा म धेरैपल्ट लडेको छु । एकजना दाइ थिए । उनी पुराना कागज लिन पसलमा आइरहन्थे । कागजको खाम बनाउँथे उनी । उनैले मलाई साइकल सिकाएका थिए । साइकल सिक्दा म उनले समातिराखेको ठान्थेंँ र साइकल हुइँक्याउँथें । उनले त परै मलाई छाडिसकेको हुँदारहेछन् । अनि समाउने हात नदेखेपछि म डरले भ्यात्त भुइँमा बजारिन्थें । उनी मलाई गाली गर्थे, ‘कस्तो मज्जाले चलाइराख्याथ्यौ, किन डराएको ?’ यसरी नै लडिलडी सिकियो, साइकल ।

सधैं जाने हुँदा हुलाकका खर्दार, सुब्बा, अधिकृत सबैले चिनिसकेका थिए । हुलाकमा सबैभन्दा झन्झटिलो हुन्थ्यो, टिकट किन्ने लाइन । सधैं भिड हुन्थ्यो, टिकट काउन्टर । पहिले लाइन बस्यो, अनि छेवैको टेबलमा राखिएको गमको भाँडोबाट झिकेर टिकटमा दल्यो । पार्सलमा टिकट टाँसेर फेरि लाइन बसेर बुझायो । बुक पोष्ट, एरोग्राम, पोष्टकार्ड, पार्सल, रजिस्टर्ड मेल, सर्फेस मेल, एयर मेल सबको फरक–फरक मूल्य थियो । नर्मल मेल भए बुझायो, हिँंड्यो । रजिस्टर्ड मेल भए रसिद काट्नै समय लाग्थ्यो । भित्र बसेका कर्मचारी अलि ठूलो प्याकेटलाई तराजुमा हाल्थे र ग्राम अनुसारको नपुग मूल्यको टिकट थप्न लाउँथे । देश अनुसार फरक मूल्य हुन्थ्यो । अनि बल्ल रसिद हात लाग्थ्यो । म भने अलि धेरै भिड देखिए सुटुक्क भित्र जान्थेँ । भरत नामका एक सहृदयी दाजु थिए, खर्दार । उनी मलाई माया गर्थे ।

उनकै मायाले म भित्रैबाट सबै काम सक्काएर फुर्तीसाथ बाहिर आउँथें । गोश्वारा हुलाकको सिलिङमा लामा–लामा पाइपको सहारामा झुन्डिएका पंखा थिए । तर पंखा घुम्थे मात्र । हावा फ्याँक्दैनथे ।

साप्ताहिक चिनियाँ खबर पत्रिका पेकिङ रिभ्युको एयर डकुमेन्ट आउँथ्यो । निकै माग थियो, त्यसको । चीन र भारतको सम्बन्ध अहिलेजस्तो थिएन । त्यसैले लखनऊ, कोलकाता, दिल्ली, कानपुरसम्म नेपालकै बाटो जान्थे चिनियाँ पत्रिका । पेकिङ रिभ्यु बाहेक अन्य पत्रिका सर्फेस मेलबाट आउँथे । समुद्री मार्ग हुँदै कोलकाता बन्दरगाह र त्यसपछि काठमाडौं । महिनौं लगाएर आइपुग्थे पत्रिका र पुस्तकहरू । बीचमा एकपटक चीनबाट हुलाकका सामग्री तातोपानी नाका हुँदै पनि आउन थालेका थिए । तर बाढी र पहिरोले सडक सम्पर्क विच्छेद भइरहने हँुदा यो त्यति भरपर्दो थिएन । सन् १९८६ मा गएको भीषण बाढीले कोदारी राजमार्ग बगाउँदा वर्षापछिका पत्रिका जम्मै कोदारी हुलाकमै अड्किए ।

ब्यालिस सालको बम काण्डपछि हुलाकबाट आउने पत्रपत्रिकामा सरकारले कडा सेन्सरसिप लगायो । हुलाकमा आएका हरेक पत्रिकाको एक प्रति सेन्सरका लागि अञ्चलाधीश कार्यालय लानुपथ्र्याे । अञ्चलाधीश कार्यालयले दिनु भन्ने पत्र काटेपछि मात्रै पार्सल हुलाकबाट लिन पाइन्थ्यो । चीनबाट आउने पत्रपत्रिकामा नेपाल सम्बन्धी खबर नहुने हुँदा सेन्सर त्यति गाह्रो थिएन । भारतबाट आउने पत्रपत्रिकाका बिक्रेतालाई हाकिमहरू र्‍याखर्‍याख्ती पार्थे । कहिलेकाहीं त पार्सल नै सिज हुन्थ्यो । तिसरी दुनियाँ, मेनस्ट्रिमजस्ता पत्रिका सधैं सेन्सरसिपको झमेलामा पर्थे । अञ्चलाधीश कार्यालयले सेन्सर्ड भनेर छाप लागेका पत्रिका पनि हुलाकका हाकिम हेर्न खोज्थे । चिल्ला र रंगिन चिनियाँ पत्रिकाहरूको आकर्षणबाट कोही मुक्त थिएन ।

सन् १९८७ पछि चिनियाँ प्रकाशन गृहले पत्रिकाहरूको मूल्य बढायो । एक–दुई रुपैयाँमा पाइने पत्रिकाको मूल्य एकैपटक १०, २०, ४० हुँदै १०० सम्म पुगेपछि ग्राहक घटे । नियमित आइरहेका पत्रिका समयको परिवर्तनसंँगै न्यूनतम संख्यामा मात्र आउन थाल्यो । पोस्ट बक्स ९४ र ६९४ मा आउने पत्रहरू घट्न थालेपछि मेरो गोश्वारा हुलाक जाने क्रम पनि घट्यो । पोस्ट बक्स ९४ र ६९४ बक्स रिन्यु भएनन् । तर स्मार्ट फोनको आजको युगमा पनि पोस्ट बक्सहरू जीवित छन् । पत्रहरू पनि आउँदैछन् । साँचो छिराउने क्रम जारी नै छ । नयाँ बन्ने धरहराको छायामा ऐतिहासिक गोश्वारा हुलाक हालको ठाउँबाट विस्थापित हुने भइसकेको छ ।

प्रकाशित : भाद्र ३, २०७४ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT