कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

स्थानीय तहमा डोल्पो महिलाको निराशाजनक उपस्थिति

टासी टेवा डोल्पो

काठमाडौं — गाउँपालिकाको उपाध्यक्ष जस्ता उच्च पदका लागि उठेका डोल्पो महिलाहरुले राजनैतिक अग्रसरता देखाए । एमालेको टिकट पाएकी दिकी गुरुङले आफ्नो जीत सुनिश्चित पार्न आफू मात्रै खटिनन्, आफ्ना श्रीमान समेत यसमा खटाए । भोट खसाल्ने दिन उनले आफ्नो श्रीमानलाई एजेन्टको रुपमा तीन दिन माथि उक्लिन पर्ने छार्का गाउँ वडा नं. १ मा खटाइन् । साथै, आफू पनि भोटका निमित्त हरेक गाउँको घर–घरमा गई भोटको लागि आग्रह समेत गरिन् ।

स्थानीय तहमा डोल्पो महिलाको निराशाजनक उपस्थिति

कैयौं विशेषज्ञहरुले महिलाको संघर्ष र अनुभवका बारेमा गहन तरिकाले घोत्लिएर लेखेका छन् । नेपालमा पनि त्यो परिपाटि छँदै छैन भन्न नमिल्ला । विगत एक दशकको मात्र नेपाल भित्रको अध्ययनलाई हेर्ने हो भने यस विषयमा धेरै कामहरु भएका छन् । विकास र महिला हुँदै अहिले जेण्डरको विभिन्न परिधिमा आई अड्केका अनुसन्धानहरुले पनि उक्त अनुभवलाई धरातलमा स्थापित अवश्य गरेको छ । तैपनि, उक्त धरातल स्थापनमा शक्तिको बेजोड अभ्यास देखिन्छ । उक्त अभ्यासमा हिमाली महिलाहरु अझै पनि अटाएका छैनन् । त्यस विषयको राज्यसँग जोडिएको ऐतिहासिक तथा संरचनागत विभेदसँग दबिएका न्यारेटिभ्सहरु पक्कै छन् । वर्तमान अवस्थामा पनि कति हामीले काठमाडौं भन्दा टाढा प्राय: हिमालमा गुञ्जिने हिमाली महिलाहरुका आवाजलाई समेट्न सकेका छौं त भन्ने प्रश्न पनि गम्भीर हुन आउँछ । यद्यपि, वर्तमान राजनैतिक शक्तिको खेलमा डोल्पो महिलाहरुको भूमिका पनि कस्तो थियो भन्ने जिज्ञासा सान्दर्भिक हुन्छ ।

   
डोल्पो महिलाहरु पनि हिमाली आदिवासी जनजाति महिला मध्ये एक हुन् । नेपालका कैंयौ आदिवासी जनजातिहरुको संघर्ष बावजूद नै नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासंघले डोल्पोलाई पनि आदिवासी जनजातिको रुपमा सूचिकृत गर्यो । काठमाडौंमा कमै देखिने तर उत्तरको केरुङ तथा म्योरुम पासको सँगसँगै यी डोल्पो हिमाली समुदायहरु करिब सात हजारको हाराहारीमा छरिएर डोल्पा जिल्लाको माथिल्लो भेगमा अझै पनि बस्दै आएका छन् । राजनैतिक हिसाबले अझै पछाडि पारिएको यो समुदायको एक जना पुरुष पनि नेपाल सरकारको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा छैनन् । डोल्पो महिलाको त कुरै छाडौं । तसर्थ, उनीहरुको न्यायोचित व्यवस्था राज्यले अझैसम्म पनि गर्न सकेको छैन भन्दा कुनै अतियुक्ति नहोला । उनीहरुको अनुपस्थिति सँगै कसरी उनीहरु माथि कस्तो विभेद र उत्पीडिन पर्यो पनि प्रस्ट हुन्छ । 

पृतिसत्तात्मक समाज पनि यसबाट अछुत छैन । महिला जन्मने वित्तिकै उसको पीडा सुरु भई नै हाल्छ । छोरा जन्मादा घरको ढोकामा सेतो ढुँगा र छोरी जन्मदा, ढोकामा कालो ढुँगा राखेर छरछिमेकलाई देखाउने विभेदकारी चलन अभै पनि व्याप्त छ । डोल्पो महिलाहरु अझै पनि घरै भित्र बस्न बाध्य छन् । खाना बनाउने होस् वा धारा वा खोलाबाट पानी ल्याउने र खाएको भाँडा माझ्ने नै किन नहोस्, घरभित्रका हरेक कामहरु महिलाहरु कै जिम्मामा हुन्छन् । 

समाजका पुरुषहरु महिलाहरुलाई अझै पनि अलक्षिणाको नजरले हेर्छन् । महिलाहरुले अलिकति गाउँठाउँमा बोल्न थाल्यो भने उक्त महिलाको गुनासो सुन्ने विरलै पाइन्छ । त्यसैले पनि गाउँको हरेक भेलाहरुमा महिलाहरुलाई पछाडि नै राखिन्छ । महिलाहरु पनि आफ्नै सानो समुहहरु बनाएर उक्त गाउँभेलामा भाग लिन्छन् । गुनासो सुनि हालेमा पनि समस्याको निर्क्यौल निकाल्ने पुरुषहरु नै हुन्छन् । शैक्षिक हिसाबले पनि पुरुषलाई नै प्राथमिकता दिईन्छ । स्नोतकोत्तर तह पढेको एक जना पनि डोल्पो महिला नहुनुले पनि उक्त समुदायमा महिलाको स्थिति कस्तो छ धेरै–थोर बुझ्न सकिन्छ । निर्णायक तह वा भोट तिर जाँदाको आर्थिक क्रियाकलाप नै किन नहोस् महिलालाई निर्बलको संज्ञा दिंदै आएको समाजले प्राय: जसो पुरुषलाई नै परिवारको भविष्यसँग जोडेएर हेरेको पाइन्छ । हातमा नगन्य हिसाबमा रहेको महिला मैत्री डोल्पो घरधुरीहरुलाई यस लेखले नजरअन्दाज गरेकै हो । 

राज्य र समाजबाट निरन्तर बहिस्कृत र तिरस्कृत हुनु परेका हिमाली डोल्पो महिलाको त्यसो भए वर्तमान अवस्थाको राजनैतिक दाउपेच अर्थात् स्थानीय निर्वाचनमा उपस्थिति र भूमिका कस्तो देखियो त ? डोल्पो समुदायको छार्का ताङसोङ, डोल्पो बुद्ध, तथा शे फोक्सुम्दो गाउँपालिकामा महिलाको उपस्थिति निराशाजनक देखिए । उच्च ओहोदामा छार्का ताङसोङको उपाध्यक्षमा मात्र एमालेका दिकी गुरुङले आफ्ना निकट प्रतिद्वन्दि स्वतन्त्रका किन्जोमलाई हराउन सफल भइन् । उक्त गाउँपालिकाको अध्यक्ष तथा थप गाउँपालिकाहरुको अध्यक्ष र उपाध्यक्ष तहमा भने डोल्पो पुरुषहरुको नै दबदबा देखियो । एमाले पार्टीले नै विगत देखि जरा गाड्दै आएको यस ठाउँमा खासै डोल्पो महिला मैत्री नीति र कार्यक्रमहरु ल्याउन सकेको देखिएन । संविधानमा उल्लेख भएको कारणले गर्दा मात्र हरेक वडाहरुमा एक महिला सामेल गराइयो । धेरै जसो महिलाहरु किन राखियो र आफ्नो भूमिका के हुन्छ होला त भन्ने विषयमा अनभिज्ञ नै थिए । त्यसैले गर्दा वडा समितिको सदस्यमा बस्न पनि उनीहरुले खासै उत्साह प्रकट गरेनन् । तैपनि, एक उपाध्यक्ष तथा अठार वडा सदस्यको रुपमा उन्नाइस ३५–५० को उमेरका डोल्पो महिलाहरु आफुलाई स्थानीय तहको राजनैतिक विकासमा सामेल गराए । छार्का ताङसोङ गाउँपालिकाको एउटा वडामा महिला सदस्य चुन्नका निमित्त चिठ्ठाको सहयोग लिइयो । तर पनि, धेरै जसो अशिक्षित र अहिलेसम्म घरभित्रका कामहरुमा मात्र सिमित बनाइएका उनीहरुलाई भोलीका दिनहरुमा पनि सरकार र समुदायले उनीहरुको स्वतन्त्र राजनैतिक अधिकारको निमित्त कुनै ठोस कदम नचाले तिनै महिलाहरुका दाई वा श्रीमान्हरु नै उक्त महिलाहरुको पदमा हावी हुने देखिन्छ ।
       
त्यस्तै, स्वतन्त्रका उम्मेदवार किन्जोमले आफ्नो श्रीमानलाई एजेन्टको रुपमा खटाउन नसके पनि श्रीमानसँग छार्का ताङसोङ गाउँपालिकाका ६ वटा वडाहरु चारदिनमा घुमी भ्याईन् । हरेक घरमा गई भोटका निमित्त आग्रह गर्न पनि किन्जोमले छुटाइनन् । केही वर्षयता जिल्लाको माओवादी पार्टीमा सदस्यको रुपमा कार्यरत किन्जोम अरु केही नभए पनि गाउँको विकास गर्नुपर्छ र समुदायको महिलाहरु कसैसँग नडराईकन अगाडि आउनु पर्छ भन्नेमा विश्वस्त थिइन् । 
  
निर्वाचनको सेरोफेरोमा पनि खासै डोल्पो महिला मैत्री कार्यक्रमहरु ल्याइएनन् । केही महिलाहरुलाई भने झण्डै बीस वर्ष अघिको स्थानीय चुनावको सम्झना थियो । त्यसैले गर्दा पनि भोट कसरी हाल्नु पर्छ भन्ने थाहा हुँदा पनि भोट हालेर के हुन्छ भन्ने विषयमा खासै जानकार थिएनन् । न नेपाली भाषा राम्ररी बुझ्ने न त निर्वाचनका निमित्त खटाइएका सरकारी कर्मचारीहरु महिला नै थिए । भोट नहालेर आफ्नो राजनैतिक अधिकारको दुरुपयोग हुन्छ भनेर भन्दा पनि धेरै जसोलाई विकट भूगोलको खेतीपातिले नै सताएको थियो । तीन महिने उँवा र आलुको खेतिपातिमा मात्र सिमित समुदायहरुमा सिंचाईको समस्या छँदै छ । हरेक खेतमा नाला बनाएर हिमालबाट आउने नदीको पानी पुर्‍याउन पर्ने केही दिनमा सिद्धिने काम पानीको अभाव र उचित सिंचाईको अभावले गर्दा समुदायलाई हरेक खेतमा पानी पुर्‍याउन एक महिना लाग्छ । यस काममा प्राय: जसो महिलाहरु नै खट्नु पर्ने हुन्छ । साथै, खेत जानु अघि खाना बनाउनु पर्ने जोरजाम पनि महिला कै काँधमा आउँछ । जसले गर्दा चुनावको विषयमा घरमा भएका हरेक सल्लाहमा पनि महिलाहरुको खासै समावेश हुन पाउँदैनन् । 

घरायसी कामले राजनीतिक अधिकारलाई केहि हदसम्म असर गर्दैन भन्ने सिद्ध पार्दै भोट खसाल्ने दिन हरेक वडामा महिलाहरुको छुट्टै लाम देखियो । करिब ८० उमेरका समेत महिलाहरुले आफ्नो भोट खसाले पनि स्थानीय तहमा हिमाली डोल्पो महिलाहरुले आफ्नो अधिकार स्थापित गर्ला ? भन्न मुश्किलै छ ।  

तस्विरहरु: टासी टेवा डोल्पो । 

 

प्रकाशित : भाद्र ४, २०७४ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?