कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भारत भ्रमण कि नख:ट्या: ?

सुजीव शाक्य

भारतमा पहिले राजा र अहिले नेताहरू विशेष गरिकन प्रधानमन्त्री नै जानलाग्दा धेरै चासोको विषय हुने नै भयो । भ्रमणमा नेपालले केही उपलब्धि नपाए पनि केही नेपालीले अवश्य उपलब्धि हासिल गर्नेछन् ।

भारत भ्रमण कि नख:ट्या: ?

विमानमा प्रधानमन्त्रीसँंग पछिपछि गार्ड राखेको सेल्फी खिच्नुका साथै एक–दुई डिल पनि भैहाल्छ कि ? दिल्लीमा ओर्लेर त हामी नेवा:हरूको नख:ट्या: गएजस्तो भइहाल्छ । खानपिनको कमी हुँदैन, रमाइलो त भइहाल्ने नै भयो, आफूजन माझ । एक–दुई ठाउँमा खोक्न पनि बोलाउँछन् । दोसल्ला ओड्यो, दंग ।

मसलाको पोका लिएर फिर्ता
अहिलेसम्मका भारत भ्रमणमध्ये कति साँच्चिकै ‘वाह’ भन्ने खाले भएका छन् ? राजा, प्रधानमन्त्री, नेताहरूले भाषण दिएका ठाउँका कति व्यापारी नेपालमा लगानी गर्न आएका छन् ? दसकौंदेखि दस लाख पर्यटक भनेर बगाएको हजारौं बोतल रेड लेबलको प्रतिफल खोइ ? सत्तरी वर्षदेखि ३० किलोमिटर रेलबाहेक अरु सबै रिपोर्टको लिक बने । पेट्रोलियम बग्ने पाइपको नक्साहरू पाइपमै थन्के । काठमाडौं–कोलकाता उडान संख्या साताको चार काट्न सकेन । सीमा पार गर्दा तेर्सिने बन्दुकहरू छेउ लागेनन् । महाकालीको परियोजना परीहरूको योजना नै भए, धरातलतिर आउने देखिएन । प्रत्येक भ्रमणपछि सफल भयो भनेर पत्रकार सम्मेलनमार्फत ढ्याङ्ग्रो पिटिन्छ । भारतले केही रुपैयाँ भोजमा आएकालाई मसलाको पोका दिएको जस्तै दिएको देखाएर दंग पर्छन् । स्वतन्त्र भारतसंँगको ७० वर्षको इतिहासमा विरलै योभन्दा धेरै फरक कुरा भएको पाइन्छ ।
चीन भारतलाई प्रतिस्पर्धी ठान्दैन
यसपटकको भारत भ्रमण त अझै रोचक हुनेछ । गतसाता दिल्लीमा एयरपोर्टबाट होटलतिर लिएर जाने ट्याक्सी चालकले मलाई सोध्यो, ‘यो चीन र भारतको हुनलागेको लडाइँमा तिमी नेपालीहरू कुन पक्षतिर छौ ?’ पछि यो प्रश्न मलाई केही प्रबुद्ध व्यक्तिहरूले पनि सोधे । भारतीय टेलिभिजन च्यानलमा भारतीय जनतालाई युद्ध हुने भानलाई अझ झकझकाइरहेछ । अब नेपाल र नेपालीले पनि कुनै पक्ष लिनुपर्ने बाध्य भएको झैं लाग्छ । मैले धेरै ठाउँमा भनेँ, ‘युद्ध भयो भने चीनतर्फ नेपाली सैनिक ढल्किएको त कसैलाई थाहा छैन, तर जब–जब भारतले सेना, आफ्नो देशमा होस् वा विदेशमा, परिचालन गर्छ, मर्नेमा धेरै त नेपाली नै हुन्छन् । अब हामी कतातिर हो भन्ने ? हाम्रो प्रधानमन्त्रीले यो कुरोलाई सधैं सम्झेर कुरा गरिदिए जाती ।’
जसरी हामी नेपालमा बसेर सोच्छांै कि दिल्लीमा प्रमुख व्यक्तिहरूको काम नै कसरी नेपालमा हस्तक्षेप गर्ने भन्ने विषयमा छ । त्यसरी नै भारतीयहरूले चीनको काम नै भारतसंँग कसरी प्रतिस्पर्धा गर्ने भनेर सोच्नु भन्ने ठान्छन् । दुवै गलत हुन् । दिल्लीमा नेपालको विषयमा चासो राख्ने व्यक्तिहरूको संख्या हातमा गन्न सक्छांै । बेइजिङमा भारतको विषयमा प्रोपोगान्डा गर्न खटिएका बाहेकलाई केही वास्ता छैन । चीन अमेरिकालाई विश्वको सबभन्दा ठूलो अर्थतन्त्र भनेर विस्थापित गर्ने खेलमा व्यस्त छ । नेपालले आफ्नो स्थिति तसर्थ बुझ्न आवश्यक छ । दुई मध्ये एकलाई चुन्ने होइन र दुइटालाई प्रतिस्पर्धीको रूपमा हेर्ने होइन । तर एउटालाई शताब्दीदेखिको व्यापारिक पार्टनर र अर्कोलाई उदाउँदै गरेको भविष्यको सबभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा हेर्नुपर्छ । दोक्लम जस्तो सानो कुरोको पक्ष–विपक्षमा उभिएर होइन, तर अबको बीस–तीस वर्षको दुवैतिरको सम्बन्ध सोचेर अगाडि बढ्नुपर्छ । 
साँघुरो दृष्टिमा परिवर्तन
नाकाबन्दी ताका नेपालीलाई जतिकै वा त्योभन्दा बढी सीमापारि भारतीयलाई मर्का पर्‍यो । विहार र 
उत्तर प्रदेशको प्रतिव्यक्ति आय नेपालीको भन्दा कम छ, तसर्थ भारतीयहरू व्यापार र कामको सिलसिलामा नेपालमा धेरै आउनु स्वाभाविक हो । खुला सीमाले भारतीयलाई नेपालीलाई सरह आर्थिक सहयोग पुर्‍याएको छ । सीमा पारिका बजारमा नेपाली किनमेल गर्न जान्छन् र त्यहाँ नेपालीले किन्ने सामान त्यहींका भारतीयले कति किन्ने गर्छन् ?
राष्ट्रवाद, जातीयताभन्दा धेरै गहिरोगरी यो सम्बन्धलाई हेर्न जरुरी छ । दिल्लीको एउटा विश्वविद्यालयमा लेक्चर गर्दा मलाई एक विद्यार्थीले खुला सीमाका कारण भारतमा आतंककारीहरू नेपालबाट आउने विषयमा प्रश्न गरे । मेरो जवाफ सरल थियो, सायद खुला सीमाले होला, नेपालमा हुने धेरै अपराधीहरू कताबाट आउँछन् भनेर हामी पनि सोच्ने गर्छौं । हाम्रा दिमागहरू एकतर्फी मात्र घुम्ने गर्छन् । खुला सीमालाई हामीले जहिले पनि बाधकको रूपमा हेर्‍यौं । खुला सीमासँंग जोडिएका व्यक्तिहरूको आवाज सुन्नुपर्‍यो, उनीहरूले जीविकालाई सुधार्नतिर सोच्नुपर्‍यो । दिल्ली र काठमाडौंको साँघुरिएको दृष्टिमा परिवर्तन आउनुपर्‍यो ।
नयाँ सोच नयाँ अभिप्राय:
दिल्लीको अर्को एउटा कार्यक्रममा भारत–नेपालको सम्बन्ध कसरी सुधार्ने भनेर मलाई सोधियो । मैले एउटा सानो उदाहरण लिएर सुधारको थालनीका विषयमा कुरा राखँे । लैनचौरस्थित भारतीय दूतावासको गेटमा हुने कुराकानीबारे धेरैले टिप्पणी गर्छन् । काठमाडांैस्थित सबै दूतावासमा जाँदा प्रथम कुराकानी नेपालीमै हुन्छ । त्यहाँ खटिएका सुरक्षाकर्मी वा कर्मचारीले नेपालीमै कुराकानी गर्छन् । अहिले त धेरै दूतावासका कूटनीतिज्ञ र राजदूतले पनि नेपाली सिकेका छन् । तर गेटमा हिन्दीमा आउने प्रश्नको बौछार कसले थेग्ने ? अरे, नेपाली त भारतमा पनि आधिकारिक भाषा हो । मैले निवेदन गरँे, यो सानो अभिप्राय:ले मनमुटाव अलिक भए पनि घट्ला कि ? भारतले नेपालीलाई गरेको भूकम्पपछिको सहयोग, वर्षाैंदेखि गरिआएको आर्थिक सहयोग, छात्रवृत्ति कार्यक्रमहरूबाट आएको परिवर्तन यी सबैलाई सकारात्मक रूपमा ग्रहण गर्न सक्नुपर्‍यो । सायद केही बोलीचाली, हावभावमा अलिअलि परिवर्तन ल्यायो भने सम्बन्ध सुधारमा निकै टेवा पुग्ला कि ?
नेपाल र भारतले सम्बन्ध सुधार गरेर भविष्यमा कायापलट गर्ने नै हो भने आर्थिक सम्बन्ध सुदृढ पार्नुपर्छ । भारतमा भएको नोटबन्दी त्यसपश्चात जीएसटी कर प्रणाली लागू हुनाले ‘दुई नम्बरी’ काम गर्न धेरै कठिन बन्दै गएको छ । भारत र नेपालको व्यापार ढाँचा तस्करीमुखीका रूपमा विकास गरिएको हो । सीमामा दुवैपट्टि सरलता विरोधी प्रणाली अपनाइए । अब भारतमा भएको सुधार र सीमामा निर्माण पूरा हुनलागेको आईसीपी (इन्टिग्रेटेड कस्टम्स प्वाइन्ट) ले आयत–निर्यात प्रक्रियामा काँचुली फेर्नेछ । अब साँच्चै व्यापारीहरू होइन, उद्यमीहरू लाग्नेछन् । सीमा अब दुई देशको आर्थिक प्रगतिको स्रोत बन्न सक्छ । नहिच्किचाई छाती फुलाएर बिना रोकटोक आफ्नो उद्यमशीलता फष्टाउने अवस्था बनाउन सकिन्छ । सुरक्षा अबको प्रविधिले प्रदान गर्न सक्छ र त्यसले दुवै देशको कर आर्जनमा पनि सघाउ पुर्‍याउनेछ । 
दुवै पक्षलाई आर्थिक रूपमै द्विपक्षीय सम्बन्ध सुधार्नतिर धकेलिनुपर्छ भन्ने लाग्यो भने 
सायद नाकाबन्दीको घाउ पनि निको होला र कुनै भारतीयले हामी युद्धमा कुन पक्षतिर उभिएका छांै 
भनेर नसोध्लान् । सायद त्यसपश्चात् नेपालमा भारत विरोधी हुनु नै नेपालको राष्ट्रवाद हो भनेर दशकौं यही मुद्दामा राजनीति गरेर टिकिरहेकाहरूको स्थानमा नयाँ युवा अनुहार हेर्न पाइएला । सानो पाइलाबाटै ठूलो यात्राको सुरुवात हुन्छ । 
www.sujeevshakya.com

प्रकाशित : भाद्र ७, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?