चाडपर्वको रुपान्तरण

विन्दा पाण्डे

समय सबैभन्दा बलवान कुरा हो । मानव जीवन र समाज मात्र होइन, प्रकृतिसमेत समयको प्रवाहसंँगै परिवर्तित हुँदै अगाडि बढ्छ ।

चाडपर्वको रुपान्तरण

समय अनुसार हाम्रा सोच, व्यवहार र संस्कार, संस्कृति रूपान्तरण गर्न सकेनौं भने परम्परादेखि चल्दै आएका कतिपय असल संस्कार, संस्कृतिसमेत कित लोप भएर जान्छ, कि अपभ्रंशित रूपमा प्रकट हुने गर्छ । 

सन्दर्भमा तीज

तीजलाई नेपाली महिलाको मौलिक पर्वका रूपमा लिने गरिन्छ । आर्य समाजका महिलाको पर्वका रूपमा मनाइने तीज आज आम महिलाको साझा पर्व हुनथालेको छ । परम्परागत रूपमा तीज पर्वका दुई पक्ष छन् । एउटा पक्ष असाध्यै मानवीय छ, जसले पारिवारिक र सामाजिक सम्बन्धलाई दरिलो र कसिलो बनाउँछ । दोस्रो पक्ष यति अमानवीय छ कि हरेक मानवलाई जन्म दिने आमा समुदायका महिलालाई अछूत, अशुद्ध, पापकर्मी वा अधर्मीको रूपमा व्यवहार गर्छ । तीजलाई खास गरेर विवाह गरेर पठाइएका छोरीचेलीहरू माइती आउने, पारिवारिक पुनर्मिलन हुने र आपसमा सुखदु:ख बाँड्ने र पुनर्ताजगी गर्ने पर्वका रूपमा लिइन्छ । सहरी क्षेत्रमा यस पक्षको महत्त्व कम हुँदै गए पनि ग्रामीण भेगका महिलाको जीवनमा अझै पनि विशेष महत्त्व छ । महिनौंदेखि विछोडिएका आमा–बुबा, दाजु–भाइ, दिदी–बहिनी र साथी–संगीसँंग भेटघाट गर्ने, मिठोमसिनो खाने र रमाइलो गर्ने यस पक्ष ग्रामीण नेपालमा आज पनि सान्दर्भिक छ । 

यस पर्वमा जम्मा भएका साथी–संगी मिलेर गीतको माध्यमबाट पारिवारिक रूपमा भोगेको दु:ख र पीडा पोख्ने गरिन्थ्यो । अलिपछि जब महिलाहरू संगठित हुनथाले, चेतना बढ्न थाल्यो, राज्य व्यवस्थासंँग अधिकार माग गर्ने चरणमा पुगे । तीज पर्वलाई महिला समुदायमाथिको थिचोमिचो, शोषण र दमनविरुद्ध चेतना छर्ने र मुक्तिका लागि संगठित हुन आह्वान गर्ने अवसरका रूपमा प्रयोग गर्न थालियो । यस क्रममा खास गरेर २०४० देखि ०४६ को बीचमा थुप्रैपटक दर्जनौं महिलाले प्रहरी दमन सामना गर्दै कष्टडीको यातना भोगेको इतिहास छ । खास गरेर बहुदल आएपछि यस किसिमका पर्वहरूलाई परिवर्तनकारी शक्तिहरूले कसरी उपयोग गर्ने भन्ने स्पष्ट दिशा दिन नसक्दा कतिपय सन्दर्भमा यो पर्व विकृत रूपमा समेत देखापर्न थालेको आभाष हुन्छ । तीजमा गाइने गीत–संगीतको मौलिकता हराउने मात्र होइन, खास गरेर सहरी क्षेत्रमा महिनौंसम्म भोजभतेर चल्ने र गहना, कपडा प्रदर्शनको प्रतिस्पर्धा नै चल्न थालेझैं लाग्छ । मुलुक अहिले आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको मूल कार्यभारका साथ अगाडि बढिरहेको सन्दर्भमा रूपान्तरणका पक्षपाती शक्तिहरूले यस किसिमका पर्वहरूसंँग जोडिएको पारिवारिक र सामाजिक सम्बन्ध विस्तारको मौलिक पक्षलाई जोगाउने र भड्किलोपन हटाउने विषयलाई पनि आफ्नो एजेन्डासँंग जोड्न सक्नुपर्छ । 

यस पर्वको अर्को पक्ष रुढिवादीतासँंग जोडिएको छ । त्यसका कतिपय पक्ष आजको संविधान र कानुनसंँग समेत बाझिन्छ । त्यस्ता कतिपय पक्षलाई हटाउनैपर्छ । तीज पर्वसँंग जोडिएको रातभर खाने र दिनभर पानी पनि नखाई व्रत बस्ने कुराले पर्नसक्ने नकारात्मक असरबारे जानकारी राख्न र व्रतसंँग जोडिएका अन्धविश्वासयुक्त व्यवहारमा सुधार गर्न जरुरी छ । खास गरेर परिवार भित्रैका महिला र पुरुष सबैले आजको परिवर्तित जीवनशैलीका कारण देखापर्दै गरेका नयाँ–नयाँ स्वास्थ्य समस्या, लामो समय भोकै बस्दा त्यसमा पर्नसक्ने दीर्घकालीन असर, त्यससँंग जोडिएर आउने आर्थिक पक्ष लगायतको विषयमा समेत छलफल गर्दै हरितालिका तीजका नाममा निराहार व्रतसँग जोडिएर रहेको अन्धविश्वासको अन्त्यको पहल गर्न जरुरी छ । 

त्यसैगरी ऋषि पञ्चमीसंँग जोडिएको परम्परा अन्धविश्वासमा आधारित र महिलाप्रतिको विभेद मात्र होइन, संविधान र कानुनसंँग समेत बाझिएको छ । यो दिनमा गरिने गतिविधिलाई महिलाको महिनावारीसंँग गाँसेर हेरिन्छ । महिलाहरू महिवावारी हुँदाको बखत अशुद्ध र अछूत हुन्छन् र त्यतिखेर उनीहरूले कतिपय स्थानमा जान र व्यक्तिलाई छुन हुँदैन भन्ने रुढिवादी मान्यता छ । अन्जानमा छोइएको रहेछ भने त्यसको पाप कटौती गर्ने नाममा पञ्चमीको दिन गोबर, माटो लगायत विभिन्न सामग्री प्रयोग गरी नुहाएर आफ्नो पाप कट्टी गर्ने पर्वका रूपमा यसलाई लिइन्छ । यसरी महिनावारीसँंग जोडेर आर्य समाजका सारा महिलालाई दिनदहाडै पापी वा अधर्मीका रूपमा व्यवहार गर्नु सरासर गलतमात्र होइन, महिला विरुद्धको हिंसा पनि हो । 

संविधानको उल्लंघन र राजनीतिको लज्जा

महिला वा पुरुष जसले कम्तीमा विद्यालय गएर औपचारिक रूपमा विज्ञान र स्वास्थ्य शिक्षा पढेका छन्, उनीहरूलाई थाहा छ, महिनावारी न पाप र धर्मको विषय हो, नत शुद्ध र अशुद्धताको नै । यो हरेक महिलाको स्वास्थ्य अवस्थासँंग जोडिएको नियमित र प्राकृतिक कुरा हो । तथ्य कुरा यही हो कि महिलाहरू महिनावारी हुने भएकै कारण आज मानव समाजले निरन्तरता पाएको छ । अर्को कुरा, त्यही अवस्थामा रहेका अन्य समुदायको महिलालाई अछूत वा अशुद्ध मानिँदैन । अनि आर्य समाजका महिलामाथि अशुद्धता र पाप नामको अन्धविश्वासको आडमा अझै पनि यो दुष्कर्म थोपरिनु एक्काइसौं शताव्दीको चेतना र विज्ञानको विकासमाथिको उपहास हो । सात दशकको निरन्तर आन्दोलनपछि प्राप्त गणतन्त्र र समाजवाद उन्मुख भनिएको नयाँ संविधानको उल्लंघन हो । परिवर्तनका वाहक राजनीतिक र सामाजिक नेतृत्वदेखि अभियानकर्तासम्मको लज्जा हो । 

संविधानको धारा १८ मा कसैलाई पनि स्वास्थ्य अवस्थाको आधारमा विभेद गर्न नपाइने उल्लेख छ । उक्त संविधानको घोषणा भएको दुई वर्ष हुनलाग्दा समेत महिलाहरूले महिनावारी भएकै कारण घरभित्र पस्न र सुरक्षित ठाउँमा बस्नसम्म नपाएर गोठमा बस्नुपर्ने अमानवीय व्यवहारका कारण आज पनि कैयौं नेपाली छोरीले अनाहकमा जीवन गुमाउनुपर्ने बाध्यताले दुनियाँको अगाडि उत्कृष्ट संविधानको उछित्तो काढेको छ । अझ संविधानको कार्यान्वयनको प्रमुख दायित्वका साथ निर्वाचन जितेका जनप्रतिनिधिसमेत छाउगोठमा बसेको समाचार पत्रपत्रिकामा छापिनु आफैमा विडम्बना हो । यिनै दृष्टान्त समेतलाई ध्यानमा राखेर भर्खरै संसद्बाट पारित फौजदारी संहिताले महिनावारी हुँदा वा सुत्केरी हुँदाको शारीरिक अवस्थाको आधारमा अछूत वा अशुद्धताको व्यवहार गर्नेलाई तीन महिनासम्म जेलको सजाय गर्नसक्ने कानुन पारित भएको छ ।

अब पनि महिलालाई अछूत वा अशुद्धको नाममा विभेद हुनगए रूपान्तरणको नारासहित मैदानमा आएका सम्बन्धित दलका सबै नेता/कार्यकर्ताको शिर झुक्नुपर्ने हो । तर विडम्बना, तिनै राजनीतिक र सामाजिक अभियन्ताहरूसमेत आफ्नै परिवारका महिला यो कुसंस्कार र कुपरम्परालाई पछ्याउँदै पाप र अशुद्धताबाट मुक्त हुन पञ्चमी नुहाउन जाँदा कुरा बुझाउनुका साटो चुपचाप बस्नेमात्र होइन, खुट्टा धोएको पानी खान दिनेसम्म भेटिँदै रहे । 

आशा गरौं, यस पटकबाट कम्तीमा पनि संविधान र कानुनका निर्मातादेखि कार्यान्वयनको नेतृत्व गर्ने दायित्व बोकेर निर्वाचित भएका जनप्रतिनिधिहरू र सुशासनको माग गर्दै मतदान गर्ने नागरिकहरूले महिलामाथिको यो कुसंस्कारयुक्त परम्परा अन्त्य र नयाँ संविधान र कानुन कार्यान्वयनको पक्षमा व्यावहारिक रूपले उभ्याउनेछन् । समानताका लागि मैदानमा देखापरेका आम महिलाले परिवर्तन आफैबाट सुरु गर्नेछन् । संस्कार र संस्कृतिका नाममा हुने गरेका तर समय क्रममा संविधान र कानुन विपरीत हुनपुगेका रीतिरिवाज र रुढिवादी व्यवहार अन्त्य हुनेछन् । सामाजिक सम्बन्ध र चाडपर्वका मौलिक पक्षलाई जनचेतना र जनचासो विस्तार गर्ने रूपमा विकास गरिनेछ । 

प्रकाशित : भाद्र ८, २०७४ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?