कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत–चीन तनाव तटस्थ बस्यो नेपाल

भारत गएर संविधान संशोधनको आन्तरिक विषय उठाउनु अस्वाभाविक –परराष्ट्रविद्
चन्द्रशेखर अधिकारी

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचदिने औपचारिक भारत भ्रमणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा उच्च महत्त्व दिइएको छ ।

भारत–चीन तनाव तटस्थ बस्यो नेपाल

आन्तरिक राजनीतिका कारणभन्दा पनि दुई छिमेकी चीन–भारत सम्बन्धको पछिल्लो अवस्था र नेपालप्रति दुवै देशले देखाउन खोजेको निकटताले देउवाको भ्रमणले उच्च महत्त्व पाएको हो । विश्वको नयाँ शक्तिको पहिचान बोकेको चीन र उदीयमान शक्ति भारतबीच तनाव उत्पन्न भएकै कारण पछिल्ला दिन नेपालको महत्त्व र चासो झन् बढेको हो । 

प्रधानमन्त्रीको भ्रमणमा पनि त्यही छाया देखियो । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा चीन र भारतको विवादास्पद सीमाविन्दु दोक्लमको विषयमा केही बोल्ने हुन् कि भन्ने आशंका थियो । त्यहाँ उनले दोक्लमबारे केही नबोल्नुलाई यस क्षेत्रका विज्ञले भ्रमणको सकारात्मक पाटोका रूपमा लिएका छन् । तर, देउवाले संविधानको विषयमा संयुक्त पत्रकार सम्मेलनमा अप्रासंगिक अभिव्यक्ति दिएर आफैंले आफ्नो कद घटाएको ती विज्ञहरूको बुझाइ छ । 

परराष्ट्र मामिला विज्ञहरूका अनुसार प्रधानमन्त्री देउवालाई भारतमा दिइएको सम्मान, महत्त्व र दुईपक्षीय वार्ता तथा ४६ बुँदे संयुक्त वक्तव्य सबैमा नेपाल खासै चुकेको देखिन्न । 

देउवाले अप्रासंगिक तबरले आन्तरिक राजनीतिको विषयमा बोलेर भने केही असहजता उत्पन्न गरेको टिप्पणी ती विज्ञहरूको छ । बोल्नैपर्ने बाध्यता आएको भए यस्ता विषयमा त्यहाँ पनि भित्रै मात्र छलफल गरेर सल्टाउनुपर्ने थियो, बाहिर बोलेकाले असहजता उत्पन्न भएको उनीहरूको धारणा छ ।

नेपालको संविधानबारे भारतमा अझै संशय छ भन्ने वक्तव्यबाट पनि स्पष्ट हुन्छ । अझ प्रधानमन्त्री देउवाले ‘अहिले विफल भए पनि संविधान संशोधन हुने’ अभिव्यक्ति राख्नु र भारतीय विदेश सचिव एस जयशंकरले पनि पत्रकार सम्मेलनमा भारतको पुरानै अडान रहेको बताउनुले पनि भारतीय अडानबारे स्पष्ट पार्छ । तर, यसलाई बाहिर ल्याउन नहुने धारणा विज्ञहरूको छ । ‘प्रधानमन्त्रीको भारत भ्रमणमा आन्तरिक विषय प्रस्तुत नभएको भए अझै राम्रो हुने थियो,’ पूर्वपरराष्ट्रमन्त्री डा. भेखबहादुर थापाले कान्तिपुरसँग भने, ‘नेपाल र भारतबीच अनौपचारिक रूपमा छलफल हँुदा यस्ता विषयमा कुरा हुनु स्वाभाविक भए पनि औपचारिक रूपमा उठाउनु अस्वाभाविक हो । नेपाल र भारतबीच अनौपचारिक धेरै छलफल भएका छन्, हुन्छन् ।’
अर्को छिमेकी चीनले समेत निकै चासो दिएको दोक्लम भ्रमणका क्रममा छलफलको विषय नबन्नुलाई थापाजस्ता धेरै विज्ञले ‘नेपालले सन्तुलन कायम राखेको’ रूपमा बुझेका छन् । किनकि चीनले यो भ्रमणलाई निकै नजिकबाट नियाल्नुको विषय दोक्लम नै थियो । यो विषय नउठदा द्विपक्षीय सम्बन्धमा नेपाल सन्तुलित देखिएको उनीहरूको टिप्पणी छ । यस्ता विषयमा नेपालले सन्तुलन कायम राखेर नै अघि बढ्नुपर्ने धारणा विज्ञहरूको छ ।

प्रधानमन्त्री देउवाले इन्डिया फाउन्डेसनले गरेको कार्यक्रममा नेपाल र चीनको सम्बन्ध राम्रो रहेको बताए । एक मुलुकसँगको सम्बन्धलाई अर्कोमा जोड्न नहुने विषयसमेत उनले राखेका थिए । भारतमा चीनसँग नेपालको हार्दिक सम्बन्ध रहेको बताएर सन्तुलित धारणा राखेको विश्लेषण विज्ञको छ । देउवाले नेपाल कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नसक्ने स्पष्ट पारेका थिए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रमुख डा. खडग केसीले दोक्लमको विषयमा कुराकानी नभएको जानकारी दिइएको र संयुक्त वक्तव्यमा पनि त्यो कुरा नपारेर नेपालले आफूलाई तटस्थ राख्न सकेकोमा खुसी व्यक्त गरे । ‘अल्झिएका विषय अघि बढ्न लागेको र भएका प्रतिबद्धताप्रति काम अघि बढेको हेर्न नेपाली आतुर छन्,’ उनले भने, ‘प्रधानमन्त्रीले संविधानको विषयमा बोलेर आन्तरिक कुरा त्यहाँ पुर्‍याएर आफैं विवादमा तानिनु दु:खद हो ।’ 

भारत र चीनबीचको सम्बन्धका कारण यो भ्रमण बढी चासोमा परेको नेपाल–भारत–चीन त्रिपक्षीय सहकार्यका अध्येता भाष्कर कोइरालाले भ्रमण ‘सुक्खा’ भएको बताए । थुपै्र पक्षबाट धेरै विषयमा काम अघि बढ्ने बताइए पनि भ्रमणमा त्यो हुन नसकेको उनको धारणा छ । 

‘सम्मानको हिसाबमा कुनै कमजोरी छैन तर नतिजामा भने हामी पछि परेका छौं,’ उनले भने । भारत र चीन दुवै देशमा यो भ्रमणलाई चासोसाथ हेरिएको थियो । प्रधानमन्त्री देउवाले भारतमा कुनै कुरा बिगार्ने हुन् कि भन्ने संशय धेरैमा थियो । 

भूपरिवेष्टित हुनुको बाध्यता भनौं या नेताका आफ्नै कारण भारतका नेताले तत्काल केही अनुरोध गरे अस्वीकार गर्न सक्ने स्थान नै रहँदैन । त्यही कारण पनि भेटघाट बाक्लो भएको उनको धारणा छ । २२ वर्षअघि प्रधानमन्त्रीकै रूपमा पहिलो पटक भारत भ्रमण गर्दा उठाइएका विषयका वरिपरि वार्ता घुमिरहेको देखिनुले पनि हाम्रो कार्यशैली झल्काउँछ । भएका सम्झौता राम्रा छन् तर एउटै बुँदामा हुने सम्झौतालाई चारवटामा विभाजित गरेर संख्या बढाउने र काम धेरै भएको भन्ने हाम्रो प्रवृत्ति औंल्याउँदै पूर्वसचिव मधुरमण आचार्यले भने, ‘आन्तरिक विषयलाई त्यहाँ बोल्न जरुरी थिएन । छलफल नै गरेको भए पनि सार्वजनिक गर्न आवश्यक थिएन ।’ 

उनले थपे, ‘नेपालको आन्तरिक विषय त्यहाँ छलफल गरेर समाधान खोज्ने होइन । उनीहरूले केही विषय भनेको खण्डमा पनि हामी तर्किन पर्नेमा त्यसमा नै जोड दिनु राम्रो होइन ।’ भारतले दिएको सम्मान र काम अघि बढाउने विषय राम्रा भए पनि नेपालका प्रधानमन्त्रीहरूको छिटोछिटो भारत भ्रमणले नयाँ केही विषय आउँछ भन्ने नै लाग्न छोडेको पनि आचार्यले सुनाए ।

प्रधानमन्त्री देउवा राजनीतिक वार्ता सकेर शुक्रबार हैदराबाद (स्मार्ट सिटी) पुगेका छन् । 

प्रकाशित : भाद्र १०, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?