सिउँडी : जम्बो मन्त्रिमण्डल
शुभसमाचार
अन्तत: मेरो सालो पनि मन्त्री भयो । यसको अर्थ के हो भने म मन्त्रीको भिनाजु । मेरो श्रीमती मन्त्रीको दिदी । मेरो छोरो मन्त्रीको भान्जा । र मेरी छोरी मन्त्रीको भान्जी ।
शुभसमाचार
अन्तत: मेरो सालो पनि मन्त्री भयो । यसको अर्थ के हो भने म मन्त्रीको भिनाजु । मेरो श्रीमती मन्त्रीको दिदी । मेरो छोरो मन्त्रीको भान्जा । र मेरी छोरी मन्त्रीको भान्जी । संक्षेपमा हामी सबै मन्त्रीको र मन्त्री हाम्रो । यसको फलस्वरूप आजदेखि हाम्रो पूरा परिवार नै मन्त्रीमय भएको छ ।
अब होइन त यो मेरा लागि विलकुलै शुभ समाचार ?
प्रासंगिक दृश्यहरू
(क)
मेरो सालोको बैठक कक्षमा प्रवेश ।
मैले उसको पिठ्युँमा बेस्सरी धाप दिँंदै भनेँ , ‘स्याबास सालेज्यू ।’
‘धन्यवाद भिनाजु ।’ उसले किञ्चित संकोचका साथ भन्यो, ‘यो तपाईंहरूकै आशिर्वादले भएको हो ।’
‘कस्तो खाले मन्त्री भयौ तिमी ?’
‘कुन्नि, नयाँ–नयाँ विभागहरू थपिएका छन् !’ उसले मुस्कुराएर भन्यो, ‘अब भोलि गएर नै सबै थाहा हुन्छ, भिनाजु ।’
‘भोलिदेखि सरकारी गाडी कुदाइने भइयो सररर.....।’ मैले प्रफुल्ल भएर भने, ‘होइन त सालेज्यू ?’
‘खोइ, सरकारले ट्याक्सी कम्पनीसँग सम्झौता गरेको छ भनेर भन्छन् । आधा सय नै पुगिसकेका मन्त्रीहरूलाई चढ्न गाडी पुगेन रे !’ उसले मध्यम स्वरमा भन्यो, ‘कुन्नि, के हुने हो !’
‘जे होस्, प्रधानमन्त्रीज्यूले तीन पांग्रे ट्याम्पो चढाउने त कुरा गरेका छैनन्, सालेज्यू ?’ मैले सालोसँग हलुका ठट्टा गर्न खोजेंँ ।
‘ट्याम्पो भए त ज्यान गए पनि खान्न भिनाजु, सहायक मन्त्री त हो नि !’
मेरो एकमात्र सालो एकाएक जोशमा आयो ।
(ख)
केही समयपछि बाहिर निस्केंँ ।
गल्लीको मोडनेर पाकचा उभिएको थियो । मेरो टोलको एक उत्साही युवक । उसले मतिर हेर्यो । मैले अघि बढेर भनेंँ, ‘पाकचा, थाहा पायौ ?’
‘के माडसाब ?’
‘मेरो सालो सहायक मन्त्री भयो ।’ मैले भनेंँ ।
एक्कासी पाकचाको अनुहार अँध्यारो भयो ।
‘हेर पाकचा, हाम्रो टोलको मान्छे मन्त्री भयो । यो त खुसीको कुरो हो ।’ मैले उसको आँखामा हेरेर भनेंँ, ‘तिमी किन यसरी उदास भएको ?’
‘त्यो त हो, माडसाब ।’ पाकचाले मुख बिगारेर भन्यो, ‘तर बोर भयो नि !’
‘केको बोर पाकचा ?’
‘हाम्रो सँगैको टोलको एकजना पनि मन्त्री छ ।’ उसले विस्तारै भन्यो ।
‘यो त झन् बेस भयो ।’
मैले भनँें ।
‘तर ऊ फुलमन्त्री र हाम्रो टोलको चाहिँं सहायक मन्त्री....।’
‘ए....।’
‘अब बोर भएन त माडसाब ?’
पाकचाले भन्यो, ‘अब त्यो टोलको साथी भेट भए भन्नेछ– ‘ए पाकचा, तेरो टोलको सहायकमन्त्री र हाम्रो टोलको फुलमन्त्री ।’ क्या बोर हुने भयो ! होइन त माडसाब ?’
युवक पाकचाको कुरो सुनेर म निरुत्तर ।
(ग)
घर फर्कंदै थिएँ ।
झोलुंगे पुल पार गर्दै गरेको हरेराम देखापर्यो । मेरो अभिन्न मित्र । मैले झन्डै कराएर भनेंँ, ‘हरेराम....।’
‘ए कविजी ।’ ऊ टक्क अडियो ।
‘मेरो सालो मन्त्री भयो हरेराम ।’ मैले खबर सुनाएँ ।
‘राम्रो भयो ।’ उसले मलाई भन्यो, ‘क्या संजोग परेछ, कविजी ! हँ, यो के भएको हो ?’
‘किन, के भयो हरेराम ?’
‘तिम्रो सालो मन्त्री भयो । मेरो भिनाजु पनि मन्त्री । अहो ! हामी दुवैका नातेदार यो सरकारको मन्त्री ।’
म ट्वाल्ल परेर त्यसै उभिइरहँें ।
‘अब तिमी मन्त्रीको भिनाजु र म मन्त्रीको सालो । याने तिम्रो सालो मन्त्री र मेरो भिनाजु मन्त्री । यो कसरी भयो हँ ? तर जे भयो, गजबै भयो !’ हरेरामले मसँग दह्रोगरी हात मिलाएर भन्यो, ‘ल, म भिनाजुलाई बधाई दिन हिंँडेँ कविजी ।’
हरेराम फटाफट अघि बढ्यो । र म झोलुंगे पुलमा निकै बेरसम्म हल्लिएर उभिइरहेँ ।
अन्त्यमा,
भर्खरै जिल्लाबाट माइला दाइको उत्तेजित एवं प्रसन्न स्वर टेलिफोनमा आयो, ‘थाहा पायौ भाइ, यसपालिको विस्तारित मन्त्रीमण्डलमा मितबुबा, हो, हाम्रो मितबुबा पनि पर्नुभएको छ । उहाँ मन्त्री हुनुभयो भाइ ।’
प्रकाशित : भाद्र १०, २०७४ ०८:०७