कमलु सदाको जस्तो नियति नहोस्

राजधानीमा मधेसको राजनीति गर्ने दलहरू किन डुब्छन् ? किनकि उनीहरूलाई मधेस डुब्नबाट जोगाउनुभन्दा पनि आफू माथि उक्लनु महत्त्वपूर्ण छ ।
गंगा बीसी

सप्तरी कोइलाडी गाउँपालिका–४ का कमलु सदाको अन्तिम तस्बीर देख्ने जोकोहीको एकपटक मन विचलित भयो । फोटो पत्रकार नरेन्द्र श्रेष्ठले त्यो तस्बीर बाहिर नल्याएको भए कमलु चुपचाप कोसीको भेलमा अलप हुने थिए ।

कमलु सदाको जस्तो नियति नहोस्

कसैले उनीबारे चर्चा गर्ने थिएन । कोसीको भेलमा उनी बगेर जान्थे, बिलाउँथे । सब लीला सकिन्थ्यो । अप्रिय नै भए पनि कमलुको अन्तिम तस्बीर सार्वजिक भएपछि त्यहाँको तितो यथार्थ सार्वजनिक भयो । त्यसले सबैको मन छोयो । कमलु विशाल कोसीमा बगरे गए, तर उनले तराईको यथार्थ चित्र छोडेर गए, पछिसम्म उनको तस्बीरले मधेसको पीडा सम्झाइरहनेछ । 

कमलुको त्यो एउटा तस्बीरमात्र थिएन, त्यो डुबानमा परेको तराईको गरिब बस्तीको डरलाग्दो पीडाको प्रतिनिधि थियो । त्यो पीडामा धेरैले साथ दिए, सहयोग गरे । उनको परिवारलाई सहयोग गर्ने क्रम जारी छ । उनलाई लाखौं श्रद्धाञ्जली व्यक्त भए । उनको परिवारप्रति संवेदना व्यक्त भए ।
भदौको पहिलो साता सप्तरीको कोइलाडी गाउँमा हामी पुग्दा कमलुका बुबा धरानबाट बल्ल आइपुगेका थिए । कामको खोजी गर्दै धरान गएका उनी कमलु बितेको दुई दिनपछि मात्र घरमा आइपुगेका थिए । उनको घर बाढीले डुबाएको थियो, पानी केही घटेपछि पनि कुर्कुच्चाभन्दा माथिसम्म हिलो थियो । घर बाढीले भिजेको थियो, उनको परिवार आँसुले भिजेको थियो । छोराको अन्तिम मुहार हेर्न नपाएका फुदन घर हेरेपछि भक्कानिए, थचक्क भुइँमा बसे । बोल्न सकेनन्, उनकी श्रीमती दुई दिनदेखि अर्धबेहोश अवस्थामा थिइन् । घरबाट विस्थापितको बसाइ थियो, हनुमान नगर कुनौली सडक छेउमा भोकै । काखको छोरा बितेको, बस्ने बास गुमेको सदा परिवारका लागि त्योभन्दा ठूलो दु:ख अरू के नै बाँकी थियो र !

कोइलाडी तिलाठी क्षेत्रका मुसहर परिवारका घर के भन्नु ? साना सात–आठ फिट चौडा क्षेत्रफल भएका बुकुरा । त्यसलाई पनि बाढीले तलवितल पारिसकेको थियो । ज्ञान लिन विश्वविद्यालय गएजस्तै मान्छेका पीडा बुझ्न तिलाठी कोइलाडी सप्तरी गए हुन्छ, एउटा पीडा सहन मान्छेलाई गाह्रो हुन्छ भने दर्जनौं कठोर पीडा भोग्दै थिए, उनीहरू । बाढीले गाउँ डुबेको थियो, पीडाले ज्यान गालेको थियो । उनीहरूका आँखा सडकतिर हुन्थे, झिनो आशा थियो, सरकारले केही राहत ल्याइहाल्छ कि ? सरकार राजधानीमा थियो, पीडा तराईमा थियो । राहतका कुरा राजधानीमा थिए, बाढीको आहत त्यहाँ थियो । बाढीले वितण्डा मच्चाएको चार दिनसम्म तिलाठी कोइलाडीमा सरकारी राहत एक पोका पनि पुगेको थिएन । स्थानीयको सानोतिनो सहयोगले मुसहर परिवारको प्राण चार दिनदेखि धानिरहेको थियो । विस्थापित शिविरमा बुढाबुढी, सुत्केरी, गर्भवती, बालबालिका बिरामी परेर पल्टिएका थिए । घर डुबेकाले रसदपानी त्यतै डुबेको वा बगिसकेको थियो । चुलो नबलेको चार दिन भइसकेको थियो । दिवंगत कमलुको परिवार विस्थापित शिविरमा क्रिया खर्च नपाएर छट्पटिइरहेको थियो । बाँचेर पनि मरे सरह । यस्तो जीवन सबैभन्दा पीडादायी हुन्छ, त्यो सदा परिवारले भोगिरहेको थियो । त्यो देख्न सकिन्थ्यो, अरूले महसुस गर्न कठिन थियो ।
***
आफूलाई गाह्रो नपरेसम्म राजधानीलाई खासै दुख्दैन । शासकहरू यथार्थभन्दा बढी बनावटी हुन्छन्, त्यही अनुसार उनीहरू राजनीति गर्छन् । कसरी राजनीतिको खेती सप्रन्छ, उनीहरूको ध्यान त्यसमै केन्द्रित हुन्छ । तिलाडी, कोइलाडी लगायत दर्जनौं गाउँ डुबे, शासकहरूले सञ्चार माध्याममा देखे, हेलिकप्टरबाट हेरे । एक प्रकारले आफ्नो औपचारिकता पूरा गरे । जसरी डुबान क्षेत्रको पानी विस्तारै घट्यो, शासकको नजर पनि त्यहाँबाट विस्तारै ओझेल पर्दै गयो । बाढी गएपछि शासकहरूले राजधानीमा राहत बाँडेको तथ्याङ्क सार्वजनिक गरिरहे, बाढी पीडित भोकभोकै बसिरहे । तिलाठी, कोइलाडी, वनरझुलाका ७० वर्षीय सतनिया दासिमका आँखा मुख्य सडक र आकाशतिर सोझिरहे, राहत आएन । यसरी उनका पाँच दिन बिते, ६ दिनपछि आकाशमा हेलिकप्टर देखियो, तर अर्कै गाउँमा बस्यो । उनको सरकारी राहत पाउने आस पूरा भएन । राहत पुगेको थियो, नेताको गाउँमा । टाठाबाठाको गाउँमा । सुगम ठाउँमा । बाढीबाट पीडित गरिब वर्ग थिए, उनीहरूको बसाइ होचो ठाउँमा थियो, उनीहरूका घर कच्ची थिए । उनीहरू सबै आर्थिक र सांस्कृतिक हिसाबले कमजोर थिए, बाढीले त्यहीं हानेको थियो । 
उनीहरू आफूलाई पिछडिएको मुसहर र गरिब हुनुको पीडा भोगिरहे, भन्न सकेनन् । उनी राम्ररी नेपाली बोल्न सक्दैनन्, ‘मैथिली आवाज काठमाडौंसम्म कसले पुर्‍याइदेओस्’ भन्दै थिए । सतनियाको त्यति बोल्ने हिम्मत आयो, अरूको त त्यति बोल्ने साहस पनि थिएन । 

वनरझुलाको सडक छेउमा त्रिपालमुनि बच्चा च्यापेर बसिरहेकी बुधन मुखियाले नजिकै डुबेको घर एकोहोरिएर हेर्दै थिइन् । अरू बेला नभई नहुने पानीले त्यसबेला उनको उठिबास बनाएको पीरले पोलिरहेकी थिइन् । साउनको अन्तिम साता आकाशमा बादल थिएन, घाम लागेको थियो, तर बुधनको गाउँमा पानी–पानी थियो । गाउँमा पानी–पानी भएकाले टेक्ने ठाउँ थिएन, जब टेक्ने जमिन रहँदैन, उनको मन विचलित भएको थियो । बुधनहरूका लागि अन्यत्र जाने ठाउँ थिएन, त्यसबेला आफ्नो भन्नु सडकमात्र बाँकी रहन्छ, उनीहरू भोकै वा दानको चिउरा खाएर सडकमा थिए । ‘जाने ठाउँ छैन, कहाँ जाऔं, पानी कहिले सुक्ला र घर जाऔंला’ उनी मैथिलीमा भन्दै थिइन् ।
***
नेपाल–भारत सीमा क्षेत्रमा यो वर्षमात्र होइन, हरेक वर्ष प्राय: डुबान हुन्छ । त्यसको एउटै कारण हो– भारतले सीमा क्षेत्रमा बनाएको बाँध । सप्तरी, रौतहट, नेपालगन्जमा त्यो समस्या बढी छ । भारतले सीमा क्षेत्रमा बनाएको बाँधमा आफ्नो अनुकूल निकास बनाएको छ, उसले नेपालसँग छलफल नै नगरी बाँध बनाएको छ, कतिपय बाँध दसगजा क्षेत्रमा पनि बनेको छ । नेपाल सरकारले वर्षेनि नेपाली भूमि डुबानमा पर्ने क्षेत्रबारे खुलेर भन्न सक्दैन । सप्तरी, तिलाठी क्षेत्रमा गतवर्ष नेपाललाई डुबानमा पार्नेगरी बाँध बनाउन थालेपछि नेपालीले प्रतिवाद गरे, झडपमा केही घाइते भए । झडप भयो, सकियो । यसबारे नेपाल सरकारले कूटनीतिक हिसाबले दिल्लीमा कुरा गरेन ।

नेपालका हरेक प्रधानमन्त्री निर्वाचित हुनासाथ पहिलो भ्रमण भारतको हुने गर्छ, त्यसबेला न सप्तरी, तिलाठी, रौतहट डुबान क्षेत्रको विषयमा प्राथमिकतासाथ कुरा हुन्छ । तिलाठी डुबोस् वा नडुबोस्, भारतको चासो होइन, त्यो नेपालको चासो हो । नेपालको चासो नभएपछि तिलाठीबासी नडुबेर अरू को डुब्छ ? 
***
सप्तरी, धनुषा, रौतहट, सुनसरी, मोरङ लगायतका जिल्ला डुबिरहेका थिए । लाखांै विस्थापित भएका थिए, दर्जनौंको ज्यान गएको थियो । अर्बांै भौतिक संरचनाको क्षति भयो । मधेस केन्द्रित दलको आक्रोश राजधानीमा पोखिएन, राहतको लस्कर मधेस पुगेन ।

राजधानीमा मधेसको राजनीति गर्ने दलहरू किन डुब्छन् ? किनकि उनीहरूलाई मधेस डुब्नबाट जोगाउनुभन्दा आफू माथि उक्लनु महत्त्वपूर्ण छ । मधेस डुबेका बेला त्यहाँका केन्द्रीय नेता कमैमात्र पुगे । उद्धार र राहतमा स्थानीय कार्यकर्ताको परिचालन पनि खासै देखिएन । अझ खासगरी निमुखा बस्तीको विपत्मा राजनीतिक दलका कार्यकर्ता नदेखिनु उदेकलाग्दो हो । मधेस केन्द्रित दलहरूले विपत्मा साथ दिन कमै गए भने संसद्मा समेत चर्को आवाज उठाउन सकेनन् । उनीहरू आफ्नो विशेष क्षेत्रको पीडामा कमजोर देखिनु आफैमा सकारात्मक सन्देश होइन । 

डुबानको पानी सुक्न थालेको छ, तेस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदैछ, यतिबेला भने बल्ल राजनीतिक दलहरू झण्डा लिएर राहतको नाममा गाउँ पस्न थालेका छन् । बाढीले पिल्सिएका पिछडिएका बस्तीमा राहतका पोका बाँड्न सुरु गरेका छन् । राहतको नाममा भोट साट्न खोजिरहेका छन्, उनीहरू साख्खै हुन खोजिरहेका छन् । मधेसका मतदाताले पक्कै पनि यसमा फैसला गर्लान् । 
***
इटहरी–४ गैरीगाउँमा साउन २७ मा राजकुमार राईको पाँच जनाको परिवार रमाइलो गर्दै सुतेको थियो । अर्को दिन कान्छो छोरा निमेषको जन्मदिन थियो । निमेषकी सानीआमा सानुमाया राई पनि त्यहीं आएकी थिइन् । जब मध्यरातमा बस्तीमा बाढी पस्यो, उनीहरूको निद्रामात्र टुटेन पारिवारिक सम्बन्धसमेत टुट्यो । हेर्दाहेर्दै राजकुमार, उनकी श्रीमती आशा र निमेष चकमन्न रातसँगै विशाल बाढीमा बेपत्ता भए । उनका छोरी कमला र निशान रुखको हाँगा समातेर बाँचे । बेपत्ता निमेषको जन्मदिन मनाउन आएकी सानुमायालाई दस किलोमिटर तल दुहबीबाट जीवितै उद्धार गरियो । बाढीमा बगेर आएका काठका मुढाको सहायताले पौडँदै उनी भाग्यले बाँचिन् । तर दु:खको कुरा कमला र निशानको न बस्ने घर रह्यो, न सहारा बाआमा रहे । कान्तिपुरमा प्रकाशित भएपछि उनीहरूलाई एसओएस बालग्राम इटहरीले सहारा दिएको छ । भाग्यले बाँचेका उनीहरूको आगामी भाग्य उज्ज्वल होस् ।

बाढी आउने दिन मोरङको पथरी माइतीमा नगएको भए पवित्रा लिम्बुलाई ठूलै विपत् आउने थियो । ‘मलाई भाग्यले बचायो’, उनले भनिन् । त्यही गैरीगाउँमा उनको घरमा भाडामा बस्ने दुई जनाको मृत्यु भयो । यो लगायत इटहरी–१० शिवनगर टोलमा विशाल बाढीमा भाग्यले बाँचेकाहरू दर्जनौं भेटिए । घर भत्केको छ, आफन्त गुमाएका छन् । यो पीडा बिर्संदै उनीहरूको आगामी भाग्य राम्रो होस् । सप्तरीका कमलु सदाको जस्तो नियति कसैको नहोस्, अन्तिम संस्कार गर्ने एक मिटर जमिनको अभावमा कोसीमा बग्नु नपरोस् ।

 

प्रकाशित : भाद्र १०, २०७४ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?