चीनसँग सम्बन्ध स्थापित गर्न भुटानका चुनौतीहरु

टिप्पणी
कमलदेव भट्टराई

काठमाडौं — भारत र चीन वीच दोक्लममा बढेको विवादको अस्थायी विराम भएको छ । यस विवादको मुख्य पात्र अनि चीन र भारतको विवादको मुकदर्शक भएर वसेको भुटानले दुई देशकोबीचमा भएको सहमतिको स्वागत गर्ने बाहेक अरु केही पनि बोलेको छैन । अब निश्चित कुरा के हो भने चीन र भुटानको आगामी सम्वन्धले दोक्लमको विषय कसरी अगाडी वढ्छ भन्ने निक्यौल गर्दछ । तर, भुटान यतिवेला केही महत्वपूर्ण विषयहरुमा निकै द्विविधामा रहेको छ ।

चीनसँग सम्बन्ध स्थापित गर्न भुटानका चुनौतीहरु

पहिलो विषय हो, चीनसंगको सिमा विवाद । समस्याको समाधानको लागि चीनले प्याकेज डिलको प्रस्ताव गरिरहेको छ । भुटानले दोक्लमको दावी छोडेमा आफुले झाकुरलुङ र पासामलङ उपत्यकामा आफुले गरिरहेको दावी छोड्न तयार रहेको चीनले वताईरहेको छ अथवा चीन दोक्लमको साट्टो अन्य ठाउँको भु–भाग दिन तयार देखिन्छ ।
  
भुटानसंग कुटनीतिका साथसाथै व्यापारिक सम्वन्ध स्थापित गर्ने चीनको चाहना पछिल्लो समयमा झन् मुखारित भएको छ । भुटान पहिला कुटनीतिक तथा व्यापारिक सम्वन्ध स्थापना गर्न तयार भए मात्र झाकुरलुङ र पासामलङको दावी छोड्न चीन तयार भएको देखिन्छ । त्यसैले चीनले यतिवेला भुटानसंग वार्गेनिङ गरिरहेको छ । अहिले विवाद चर्केको दोक्लममा भने चीन थोरै मिलाउन मात्र तयार छ किनकी यो भुभागलाई उसले रणनीतिक विन्दुको रुपमा लिएको छ । चीन र भुटान वीचमा सन् २०१० मा सिमा सम्वन्धी १९ औं चरणको वार्ता भएको थियो । त्यतिवेला भुटान र चीन वीचमा संयुक्त फिल्ड सर्भे गर्ने सहमति समेत भएको थियो । सो प्राविधिक टिमले सिमा क्षेत्रमा काम गरिरहेको छ । तर, केही आधारभुत विवादका कारण फिल्डमा खासै प्रगती भईरहेको छैन ।

यदि यस विषयमा चीनसंग सहमति गरेमा भारतसंगको सम्वन्ध विग्रने र त्यसले आफ्नो अर्थ व्यवस्था मात्र होइन सहकार्यका अन्य धेरै क्षेत्र संकटमा पर्ने चिन्ता भुटानलाई रहेको छ । भुपरिवेष्टित देश भुटान समुन्द्र, व्यापार तथा विकासमा भारतप्रति निर्भर रहँदै आएको छ । भुटानको झण्डै ८० प्रतिशत निर्यात भारतबाट हुने गरेको छ ।  तर, सन् २००७ को मैत्री सन्धि जसले सन् १९४९ को शान्ति तथा मैत्री सन्धिलाई विस्थापित गरेको छ, त्यस अनुसार भुटानले परराष्ट्र नीतिमा भारत निर्देशित हुनुपर्दैन, खालि सहकार्य मात्र गर्ने भनिएको छ ।

भारतको दवावका वीचमा पनि भुटानमा चीनसंगको कुटनीतिक सम्वन्ध अगाडी वढाउनु पर्छ भन्ने धारणा वलियो हुँदै गएको छ । विशेषत भुटानमा पछिल्लो वर्षहरुमा लिइएका केही नीतिका कारण भुटानमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको 'स्पेस' वढिरहेको छ । चीनसंगको कुटनीतिक सम्वन्ध अगाडी वढाउनु पर्छ भन्ने जनमत बढेको देखिन्छ । विशेषत भुटानका शिक्षित युवाहरु चीनसंग कुटनीतिक सम्वन्ध अगाडी वढाउनु पर्छ भन्ने पक्षमा छन् ।

‘यदी भोली भारतसंगको सिमाना बन्द भयो भने हामीलाई चामलदेखि अन्य अत्यावश्यक सामानहरुको अभाव हुने छ, यसले हामी कति संवेदनशील छौं भन्ने देखाउँछ,’  जर्नालिष्ट एसोसिएशन अफ भुटानका निर्देशक निडरुप जाङपोले हालै वासिङन पोष्टसंग भनेका छन् । अहिलको परिवर्तित विश्वमा भारत र चीन दुवै उदयीमान अर्थतन्त्रसंग सम्वन्ध अगाडी बढाउनु पर्ने मत भुटानमा रहेको छ ।

भारतमा पनि एक प्रकारले भुटान र चीनको कुटनीतिक सम्वन्धलाई सधैका लागि रोक्न सकिंदैन भन्ने मत बढिरहेको छ । पछिल्लो समयमा चीनको वान वेल्ट वान रोडको विषय पनि निकै महत्वका साथ अगाडी आईरहेको छ । विशेषत अन्य मुलुकले सो परियोजना अन्तर्गत चीनबाट सहयोग पाईरहेको सन्दर्भमा चीनले भुटानलाई यस्तै अफर गरिरहेको छ ।तर, भुटानको राजनीतिक नेतृत्व भने भारत तथा चीनसंको सम्वन्धलाई कसरी अगाडी बढाउने भन्ने अन्योलमा रहेको देखिन्छ । 

यसै हप्ता निकिई एसियन अनलाइनले प्रकाशित गरेको एक समाचार अनुसार चीनले भुटानलाई १० मिलियन अमेरिकी डलर आर्थिक सहयोगको प्रस्ताव गरेको छ । सो समाचार अनुसार दोक्लमको विषयमा लचिलो अडान लिन आग्रह गर्दै सो अफर गरिएको थियो । तर, तत्कालका लागि भुटानलाई भारतसंगको सम्वन्धमा तिक्तता निम्त्याएर चीनसंग नजिक हुने कार्य निकै जटिल र चुनातीपूर्ण छ ।

सन् २०१२ मा पहिलो पटक दुई देशका सरकार प्रमुखहरुको वीचमा संयुक्त राष्ट्रको वेइजिङमा भएको एक सम्मेलनमा वार्ता भएको थियो । तत्कालिन चाइनिज प्रधानमन्त्री वेनजिया वाओ र भुटानी प्रधानमन्त्री जिग्मे वाइ थिन्लेको वीचमा दुई देशको वीचमा कुटनीतिक सम्वन्ध स्थापना गर्ने विषयमा कुराकानी भएको थियो । त्यतिवेला चाइनिज् प्रधानमन्त्रीले पन्चशीलको आधारमा चीन भुटानसंग सम्वन्ध स्थापित गर्न तयार रहेको वताएका थिए ।

भुटानी प्रधानमन्त्रीले पनि सकेसम्म छिटो कुटनीतिक सम्वन्ध स्थापना गर्न चाहेको बताएका थिए । लामो समयसम्म भारतसंग मात्र राजनीतिक, कुटनीतिक तथा सैनिक सम्वन्ध बनाएको भुटानले पछिल्ला वर्षहरुमा आफ्नो सम्बन्ध बिस्तार गर्न खोजिरहेको छ । त्यतिबेला भुटानका प्रधानमन्त्रीले एक चीन नीतिको समर्थन गर्ने बताएका थिए । साथै उनले ताइवान चीनको अभिन्न अंग भएको समेत बताएका थिए । सन् १९५१ मा चीनले तिब्बतलाई आफ्नो भुभागमा गाभेपछि भुटान र चीन आपसमा छिमेकी बनेका थिए । त्यस अगाडी भुटान र तिब्बतको सिमाना जोडिएको थियो । सन् १९७० को दशकमा भने भुटानले चीनतर्फको आफ्नो नीतिमा पुर्नविचार गर्न थाल्यो ।

शुरुमा भारतप्रति पूर्ण रुपमा भारतपरस्त नीति अपनाएको भुटान भारतले सिक्किम आफुमा गाभेपछि भने अलि सशंकित भयो र भारतसंग केही दुरी कायम राख्न थाल्यो । तर, अहिले पनि रक्षा, परराष्ट्र नीतिलगायतका विषयहरुमा भारतसंग समन्वय गरिरहेको छ ।

चीन र भुटानबीच प्रत्यक्ष संवाद भने सन् १९८४ बाट शुरु भएको हो । अहिलेको दोक्लम विवादपछि अब चीन र भुटानको बीचमा सिमा संवादको शुरुवात हुने सम्भावना प्रवल रहेको छ । भारतका सबै छिमेकी मुलुकमा आफ्नो आर्थिक, राजनीतिक तथा सैन्य प्रभाव वढाईरहेको चीन निश्चय नै भुटानमा पनि प्रवेश गर्न चाहन्छ र उसले त्यही प्रयास पनि गरिरहेको छ । 

प्रकाशित : भाद्र १४, २०७४ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?