कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लाइगर, लाइगर

सिउँडी
विमल निभा

काठमाडौं — म कुनै कांग्रेसी होइन । तथापि केही दिनदेखि नेपाली कांग्रेस पार्टीको सम्पूर्णत: साथमा छु । यसको एकमात्र कारण भ्रष्टाचार हो । (हो सही सुन्नुभयो, कुनै सदाचार नभएर बहुचर्चित भ्रष्टाचार नै हो ।)

लाइगर, लाइगर

वस्तुत: नेपाली कांग्रेसका कांग्रेसजनका भ्रष्टताप्रतिको समर्पित भावले म अत्यन्तै प्रभावित भएको छु । अहिले जसरी भ्रष्टाचार जगतका सकल भ्रष्टाचारीले लोकतन्त्रको निर्वाचनमा निर्वाध भाग लिन पाउनुपर्छ भन्ने सबल कांग्रेसी तर्क सतहमा आइरहेको छ, यसले म आफ्नो गैरकांग्रेसी चोलासहित सहमत छु । परन्तु अलिकति ‘कन्फ्युजन’ जस्तो केही बाँकी भएकोले म पुरै सत्य–तथ्यसँग अवगत हुन एक कांग्रेसी मित्रकहाँ गएँ । मैले खास टाढा जानुपरेन । उनको भव्य घर मेरो टोलसँगैको जमिन (पहिले सार्वजनिक जमिन) मा शानका साथ ठडिएको छ ।
‘जय नेपाल मित्र ।’ मैले फलामे गेट खोलेर कांग्रेसी मित्रलाई अभिवादन गरेंँ ।
‘जय नेपाल ।’ उनले चम्किलो खल्बाट सहितको निधार खुम्च्याए, ‘भन्नोस् 
के काम छ ?’
‘तपाईलाई सन्चै छ, नेताजी ?’ उनले ‘मित्र’ सम्बोधन त्यति प्रिय नलागेको बुझेर मैले तत्कालै सुधार गर्नुपर्‍यो ।
‘सन्चै छु ।’
‘अनि रञ्जु भाउजुलाई नि ?’ मैले सहज औपचारिकताको निर्वाहलाई अघि बढाउन खोजेंँ ।
यस पटक कांग्रेसी मित्र (हामी त्रिभुवन विश्वविद्यालयको नेपाली साहित्य क्लासमा सँगसँगै एक सेमेस्टरसम्म रहेकोले म त उनलाई मित्र नै ठान्छु) ले कुनै जवाफ नदिएर आफ्नो सुनौलो फ्रेमको चस्माबाट दुई बल्ड्यांग्रे आँखाले मलाई हेर्न थाले । 
हामी ‘बीपी उद्यान’मा झन्डै अढाई फुटको दूरीमा उभिएका थियौं । मेरो कांग्रेसी मित्रले आफ्नो साढे तीन रोपनी जग्गामा निर्मित घरको निजी बगैंचालाई ‘बीपी उद्यान’ नाम दिएका थिए । यसले उनको खाट्टी कांग्रेसत्वमा एक प्रकारको सुगन्ध थपेको थियो । अर्थात् कहावत बमोजिम कांग्रेसी सुनमा सुगन्ध । त्यसमाथि ‘बीपी उद्यान’का रंगीचंगी देशी–विदेशी फूलहरूका सुगन्ध पनि अतिरिक्त तवरले जोडिएकोले के भन्नु ? वास्तवमा उनी स्वास्थ्य सुधारहेतु ‘बीपी उद्यान’को हरियो–हरियो मखमली चउरमा हलुका–हलुका पयरले सैर गरिरहेका थिए । उनलाई क्रोनी डायविटिज रोग थियो । भर्खरै थाइल्यान्डको राजधानी बैंककबाट सरकारी खर्चमा उपचार गराएर फर्केका थिए । 
‘भन्नोस्, के काम छ ?’ केही समयपछि उनले कडा स्वरमा उही प्रश्न दोहोर्‍याए ।
‘मित्र, असलमा मलाई एउटा कुरा सोध्नुछ, तपाईसँग ।’ उनको मुखमण्डलमा फेरि पनि अप्रसन्नता देखेर मैले तुरुन्तै फेरिएको सम्बोधनमा थपेंँ, ‘नेताजी, तपाईहरूले भ्रष्टाचारीहरूले चुनाव लड्न पाउनुपर्छ भनेको साँचो हो ?’
मेरो कांग्रेसी मित्र विलकुलै प्रत्युत्तरहीन मुद्रामा छेउको गोदावरी फूलको बोटमा हेर्न थाले । त्यहाँ एउटा ठूलो साइजको मच्छड (भमरा होइन नि) भुनभुन गरिरहेको थियो । त्यहाँबाट आँखा हटाएर कांग्रेसी मित्रले मतिर हेरे । उनको हेराइमा मेरो सोधाइप्रति कुनै नकारात्मक भाव थिएन । यसले प्रेरित भएर मैले भनँें, ‘असलमा यो पनि मेरो प्रश्न होइन नेताजी ।’
‘अनि के हो त तपाईको प्रश्न ?’ कांग्रेसी मित्रको बोली केही चर्काे भएर मसँग ठोक्कियो ।
‘तपाईहरूले चुनाव लड्नका लागि भन्नुभएको भ्रष्टाचारी कस्तो भ्रष्टाचारी हो ?’ मैले प्रश्न गरेंँ ।
‘जस्तो भ्रष्टाचारी हुन्छ, त्यस्तो भ्रष्टाचारी नि, अरू कस्तो भ्रष्टाचारी हुन्छ ?’ उनी मेरो प्रश्नले पुरै चिढिएका थिए ।
‘मेरो मतलव के भने तपाईहरूले इंगित गर्नुभएको भ्रष्टाचारी केवल कांग्रेसी भ्रष्टाचारी त होइन नेताजी †’ मैले बल्ल आफ्नो कुरा खुलाएर सोधेंँ ।
‘होइन, होइन, गलत अर्थ नलगाउनोस् तपाई ।’
‘उसो भए, एमाले, माओवादी र राप्रपाका भ्रष्टाचारीहरूले पनि चुनाव लड्न पाउनेछन् त नेताजी ?’
‘म अघिदेखि यही त भन्न खोजिरहेको छु ।’ उनी एक्कासी गम्भीर भए, ‘तपाई कुरै बुझ्नुहुन्न ।’
‘अर्थात् भ्रष्टाचारीहरूमा समानता भन्नुभएको नेताजी ?’ मैले विस्तारै भनेंँ ।
‘लोकतन्त्रमा के भ्रष्टाचारी र के अभ्रष्टाचारी ?’ उनले अति दार्शनिक पारामा भने, ‘तपाईहरू हाम्रो पार्टी नेपाली कांग्रेसको कुरै बुझ्नुहुन्न ।’
‘अनि नेताजी....।’ मेरो वाक्य नसकिँंदै एउटा कुकुर दगुरेर आई मेरो कांग्रेसी मित्रको खुट्टामा लडीबुडी गर्न थाल्यो । उनी लाडेस्वरमा कुकुरलाई भन्न थाले– ‘लाइगर–लाइगर’ । एकाएक लाइगर नामधारी कुकुरले थुतुनो उचालेर मतिर हेर्‍यो । म भयभीत भएँ । अब कुनै पनि बेला यो जण्ड कुकुरको आक्रमणमा म पर्न सक्थँें । याने वर्तमान स्थिति मेरो उपस्थितिको अनुकूल थिएन । मैले त्वरित निर्णय गर्नुपर्ने भयो । लाइगरको थुतुनो बक्र भएर मतिर बढिरहेको थियो । (मलाई यस्तो लाग्यो) । अतएव म कांग्रेसी मित्रलाई केही नभनी फटाफट ‘बीपी उद्यान’बाट आफ्नो हल नभइसकेको ‘कन्फ्युजन’ सहित बाहिरिएँ ।

प्रकाशित : भाद्र १७, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?