१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘प्लस टु’ पछि चिकित्सा क्षेत्रको पढाइ कसरी ?

डा. राजेन्द्र कोजु

काठमाडौं — प्लस टु पढिसक्नासाथ हरेक युवामा तुरुन्तै प्रश्न उठ्छ– अब मेरो शैक्षिक बाटो के हो ? प्लस टुका विषय हेरी–हेरी विश्वविद्यालयका कार्यक्रम फरक पर्न सक्छन् ।

‘प्लस टु’ पछि चिकित्सा क्षेत्रको पढाइ कसरी ?
चिकित्साशास्त्र एवं यससँंग सम्बन्धित क्षेत्रमा थुपै्र विषय पढ्न सकिन्छ । विषयगत कार्यक्रम छान्ने क्रममा त्यसबारे निम्न कुरा पहिल्यै ध्यान पुर्‍यायो भने राम्रो विषय छान्न मद्दत पुग्छ ।

(क) कार्यक्रम कति वर्षको छ भनी जान्नु महत्त्वपूर्ण हुन्छ । स्नातक तहको कार्यक्रम ४ वर्ष वा माथिको भयो भने, अन्तर्राष्ट्रिय मान्यता राम्रो हुन्छ । अहिले नेपालमा उपलब्ध विभिन्न विषय पनि त्यही अनुसार नै छ । जस्तै– बीएससी नर्सिङ, बीपीटी (फिजियो थेरापी) बीएमआईटी, बी फार्मेसी आदि । यद्यपि नेपालमा ३ वर्षे कोर्स पनि छन् । जुन लिँदा पछि विदेशमा माष्टर्स गर्दा आइपर्ने कठिनाइको ख्याल गर्नुपर्छ । स्तरीय विश्वविद्यालयले माष्टर्स गर्न ४ वर्षे स्नातक नै खोज्छन् ।

(ख) कार्यक्रम कुन विश्वविद्यालय अन्तर्गत छ भन्ने कुरा जान्न आवश्यक पर्छ । स्वदेशमा होस् वा विदेशमा, मान्यता प्राप्त स्तरीय विश्वविद्यालय अन्तर्गतकै कोर्स पढ्नु जरुरी हुन्छ । हालसम्म नेपाल भित्रका ब्याचलर डिग्री कार्यक्रमहरू मान्यता प्राप्त विश्वविद्यालय वा प्रतिष्ठानबाटै सञ्चालित भएको हुनाले भरपर्दो छ । गुणस्तरीय पनि छन् । धेरै राम्रा कलेजहरू यथेष्ट छन् ।

देश बाहिरको कार्यक्रममा जाने निधो गर्नुभन्दा पहिला मनग्ये गृहकार्य गर्नु आवश्यक छ । कुनै पनि हालतमा मान्यता प्राप्त विश्वविद्यालयकै कार्यक्रम हो भन्ने जानकारी पाउनुपर्छ । कतिपय शिक्षितहरू कहाँबाट पढेका भन्नासाथ आफ्नो विश्वविद्यालयको नाम गर्वसाथ लिने गरेको सर्वविदितै छ । भविष्यमा राम्रो गर्न चाहने जोकोहीले राम्रो विश्वविद्यालय नै छान्नुपर्छ । कहिलेकाहीं विश्वविद्यालयको नाम झुक्किन पनि सक्छन् । त्यो पनि राम्रो सरसल्लाह गरेर मात्र छान्नु वेश हुन्छ । गुणस्तरीयता, नियमितता, विद्यार्थी–मैत्री वातावरण, समय–सापेक्षिक कोर्स, शिक्षणका हरेक सामग्रीजस्ता महत्त्वपूर्ण पूर्वाधार प्रमुख हुन् ।

(ग) कार्यक्रम पूरा गरेपछिको भविष्य के हो ? ४ वर्ष वा त्योभन्दा बढीको कोर्स पूरा गरेपछि मैले के गर्ने भनेर पहिल्यै तय गर्न सकियो भने धेरै राम्रो हुन्छ । साधारणतया २ वटा बाटो पहिलिन्छ । एउटा, काम गर्ने वा सेवा गर्ने । अर्को थप अध्ययन । विषयगत सेवा वा काम, पढाइ लगत्तै सुरु गर्न सकिन्छ, जसबाट अनुभव पनि हुन्छ र तलब पनि पाइन्छ ।

जस्तै– बीडीएस गर्नेले दाँतको उपचार गर्न अस्पताल वा क्लिनिकमा काम गर्ने, बीएमआईटी गर्नेले रेडियोलोजी डिपार्टमेन्टमा काम गर्न सक्छन् । अर्को भनेको थप मास्टर लेभलको अध्ययन अगाडि बढाउने । दुवै बाटोबारे जानकारी लिने बेला स्वदेशमै के छ र अन्तर्राष्ट्रिय परिवेशमा के छ भन्ने जानकारी हुनुपर्छ । जस्तै– बीएससी नर्सिङ, बीपीएच गर्नेहरूले राष्ट्रिय वा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा एमपीएच, एमएससी, पीएचडी गर्न पाइराखेका छन् ।

काम गर्न वा पढ्न देश/विदेशमा उपलब्ध सिट संख्या वा दरबन्दीहरू उत्पादनको तुलनामा कम छ, जसले गर्दा प्रतिस्पर्धा निश्चित छ । प्रतिस्पर्धा भन्ने कुरा संसारभरि जहाँ पनि छ, जसमा आफू उत्कृष्ट निख्रिनुपर्ने कुरामा कोही पनि अछुतो हँुदैन । तर विषयगत रूपमा कुन विषयको माग धेरै छ वा कम छ, पहिला नै अध्ययन गरियो भने पछि पछुताउनु पर्दैन ।

पहिलेको तुलनामा अहिले अध्ययन, अनुसन्धानको दायरा बढ्दै गरेको सन्दर्भमा अनुसन्धानको सम्भावना भएका विषयहरू पनि विचार गर्न सकिन्छ । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने नेपाली मेडिकल डाक्टरहरूले राम्रो गरिराखेका छन् । त्यस्तै नेपालमै अध्ययन गरेका नर्सिङहरूले पनि अष्ट्रेलिया, अमेरिका, युकेमा राम्रो गरिराखेका छन् । अरू विषयमा पढ्नेले पनि माष्टर्सको लागि राम्रै विश्वविद्यालयमा पढ्ने अवसर पाइराखेका छन् । ब्याचलर डिग्री, यहाँबाट मिहेनत गरेर पढेकाहरूको भविष्य, स्वदेश वा विदेश जहाँ पनि राम्रो भइराखेको देखिन्छ । चाहिन्छ लगन, मिहेनत, धैर्यता र परिश्रम ।

(घ) कार्यक्रम आफ्नो आर्थिक अवस्थाले धान्ने हो वा होइन ? वा अहिलेको खर्चलाई शैक्षिक खर्चको दायित्वमात्र सम्झिने कि लगानी सम्झिने भन्ने अर्को प्रश्न हो । चिकित्सा र यससंँग सम्बन्धित विषयहरू पढ्न तुलनात्मक रूपमा महंँगो खर्च पर्छ । यसको कारण सायद यसका पूर्वाधार, मानव संसाधन र कार्यक्रम अवधि हुनसक्छ । जस्तै– आवश्यकता अनुसार अस्पताल, बिल्डिङ, महंँगा मेसिन, मानव संसाधनले गर्दा धेरै खर्च लाग्न सक्छ ।

यसैकारण पनि स्वास्थ्य र शिक्षा क्षेत्र सरकारको स्वामित्वमा राम्ररी सञ्चालन हुनुपर्ने हो, जहाँ सर्वसाधारणको पहुँच हुनसक्छ । तर विविध कारणले गर्दा सरकारी निकायको तुलनामा निजी कलेजहरू प्रशस्त छन् । सरकारी, सामुदायिक र निजीमा छुट्टाछुट्टै शुल्क हुने भएकाले प्रतिस्पर्धामा राम्रो गर्नेले सरकारी वा सामुदायिकमा पायो भने न्यून शुल्क वा निशुल्कमा अध्ययन गर्न पाउँछन् । निजीमा पनि एमबीबीएस कोर्समा १० देखि २० प्रतिशतसम्म पूर्ण छात्रवृत्ति हुने भएकाले प्रवेश परीक्षामा उत्कृष्ट हुनेहरूले निशुल्कमै पढ्न पाउँछन्, जुन सम्बन्धित विश्वविद्यालयको प्रवेश परीक्षाको नतिजाको आधारमा शिक्षा मन्त्रालयबाट निर्धारण हुन्छ ।

यस्ता एमबीबीएस सिट सबै कलेज गर्दा झन्डै २५० को हाराहारीमा विद्यार्थीलाई पूर्ण छात्रवृत्ति पाउँछन् । यस्तै अरू विषयमा पनि छन् । विस्तृत जानकारीको लागि सम्बन्धित निकायमा बुझ्नु आवश्यक छ । यस बाहेक पूर्ण शुल्क तिरेर पढ्ने सिट केही बढी हुन्छ । शुल्क कति भन्ने कुरा पहिल्यै प्रस्ट हुनुपर्छ । साढे ५ वर्षको एमबीबीएस कोर्सका लागि नेपालमा जति लाग्छ, विदेशमा पनि त्यत्ति नै लाग्न सक्छ या केही बेसी ।

एउटा सत्य कुरा एमबीबीएस आफ्नै खर्चमा पढ्ने विद्यार्थीका अभिभावकले पढाइ सकिएपछि खर्च जत्तिकै कमाइ हुँदैन भन्ने कुराचाहिँ पहिल्यै बुझ्नुपर्ने हुन्छ । आफ्नो सन्तानको भविष्य चिकित्सक बनाउने ठिक हो भन्ने सोच राखेर पढाउने अथवा वा सेवा प्रदान गरी गरिब र दु:खीप्रति समर्पित हुने हो भने चिकित्सकप्रतिको सामाजिक प्रतिष्ठा पनि महत्त्वपूर्ण हुन्छ । तर एमबीबीएसबाटै पैसा कमाउनचाहिँ नसकिने हुनसक्छ । त्यस्तै थप अध्ययनमा पनि सिट संख्या केही कम भएको हुनाले विशेषज्ञता हासिल गर्न पनि केही कठिनाइ आइपर्न सक्छ । यत्ति हुँदाहँुदै पनि अन्तर्राष्ट्रिय स्तरमा दक्ष चिकित्सकको खाँचो यद्यपि छँदैछ । एमबीबीएसबाट अघि बढ्ने बाटो अलि लामो र तुलनात्मक रूपमा खर्चिलो छ, तर नराम्रो छैन ।

अहिले नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न विषयमा पढाइ भइराखेका छन् र त्यस सम्बन्धी फर्म खुलिराखेका छन् । विभिन्न विश्वविद्यालय/ प्रतिष्ठानमा निम्न कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । बीएससी नर्सिङ, बीएन, एमबीबीएस, बीडीएस, बीपीटी, बीएमआईटी, बीपीएच, बी फार्म, बीएमएलटी, बीएससी बायोकेमेस्ट्री, बीएससी माक्रोबायोलोजी, बीएएमएस आदि ।

जेजस्तो विषय पढौं, राम्रो मिहेनत गर्‍यो भने भविष्य उज्यालो नै छ र धेरैजसो चिकित्सा क्षेत्रका विषय नेपालमै उपलब्ध भइकन तुलनात्मक रूपमा गुणस्तरीय छन् । विभिन्न निकायका परीक्षाको परिणाम, विदेशमा सफलता, स्वदेशमै भूकम्पको बेलामा देखिएको कार्यदक्षता एवं सफलता, विभिन्न विशेषज्ञताको उपलब्धता, अध्ययन अनुसन्धानको विकास आदिलाई मनन गर्दा नेपालको चिकित्सा क्षेत्र स्तरीय र अग्रगामी नै देखिन्छ ।

कोजु काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन हुन् ।

प्रकाशित : आश्विन २२, २०७४ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?