अँध्यारो गोरेटोमा उज्यालो आशा

सावित्री गौतम

काठमाडौं — इस्टकोटले जित्यो भने नेताहरूले पेटीकोट लगाएर हिंँडे हुन्छ । – सन्दर्भ कामनपा ।’ पहिलो चरणको स्थानीय निर्वाचनताका सामाजिक सञ्जालमा चर्चित थियो, यो पोस्ट ।

२१ वर्षमात्र पुगेकी रन्जु दर्शनाले काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकोप्रति यो पोस्टले गरेको संकेत थियो– तत्कालीन विवेकशील नेपाली दलको तर्फबाट इष्टकोट चुनाव चिन्ह लिएर उम्मेदवारी दिएकी रन्जुले जिते अरू नेताहरूको चरम बेइजती हुनेछ। (र नेपाली समाजमा कसैको त्यसरी बेइज्जत हुनुको चरम भनेको कुनै पुरुषले महिलाका लुगा लगाउनु हो)। यही भनाइले प्रतिनिधित्व गर्छ, कुनै पनि नेतृत्व तहमा महिलाको दाबेदारी स्वीकार्न नसक्ने एउटा जमात अझै पनि नेपाली समाजमा अस्तित्वमा छ। ‘आइटी लिटरेट’ बनिसक्दा समेत यो जमातले आफ्नो ‘सूचना प्रविधि साक्षरता’लाई सामाजिक सञ्जालमार्फत उनीहरूमाथि शाब्दिक/सांकेतिक हिंसा गर्न प्रयोग गर्छ। यति हुँदाहुँदै पनि स्थानीय निर्वाचनका दुई चरण पूरा भैसक्दा ४१ प्रतिशत महिलाले जनप्रतिनिधिका रूपमा निर्वाचित भएर भविष्यप्रतिको नयाँ आशा अवश्य जगाएका छन्।

रन्जुदेखि रेणुसम्म— कटाक्षका एकै तरिका
वर्षौं लामो इतिहास भएका ठूला भनिएका राजनीतिक पार्टीहरूले महिलालाई नगरप्रमुख वा वडाध्यक्ष जस्ता जिम्मेवार पदमा उम्मेदवार मनोनयन गर्न हिचकिचाइरहेको बेला, अझ उनीहरूले कुनै पनि उम्मेदवार घोषणा नै गरिनसक्दै राजधानी सहरको मेयरजस्तो शक्तिशाली पदमा तत्कालीन विवेकशील नेपाली पार्टीका तर्फबाट रन्जुको दाबेदारीले उनीसँंगै उनी आबद्ध दललाई समेत निकै ‘माइलेज’ दियो। यसअघि खासै नचिनिइसकेको विवेकशील नेपाली पार्टीलाई रन्जुकै उम्मेदवारीले बरु बढी चिनाएको थियो। २१ वर्ष मात्रकी र महिला भएकीले रन्जुको उम्मेदवारीलाई ‘नयाँ सोचाइ र नयाँ समयको आगमन, ताजा हावाको झोंँकाजस्तो र उज्यालो भविष्यको संकेत’ आदि विशेषताका साथमा प्रतिक्रिया दिनेहरूको संख्या पनि प्रशस्तै थियो। चुनावमा विजयी नभए पनि उनले सम्मानजनक मत र परिचय दुबै प्राप्त गरिन्। आफू जन्मेपछि पहिलोपटक भएको स्थानीय निर्वाचनमा मतदाता र उम्मेदवार दुवैका रूपमा सहभागी भएकी सम्भवत: सबैभन्दा बढी चर्चा कमाउने उम्मेदवार रन्जु दर्शना नै थिइन्।

Yamaha

रन्जुजस्तै गरी चर्चामा रहिन्, भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी रेणु दाहाल। पूर्व प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकी रेणुको उम्मेदवारी प्रचण्ड प्रधानमन्त्री पदमा बहाल रहेकै बेला र उनकै गृहनगर भरतपुरमा परेकाले पनि चासोको विषय बनेको थियो। मतगणना स्थगित हुनु, पुन: मतदानपछि मेयरमा निर्वाचित हुनुसम्मले उनी राष्ट्रिय, अन्तर्राष्ट्रिय चासो र चर्चाको केन्द्रमा रहिन्। तर त्यसअघि नै उनै नगरप्रमुख पदको प्रत्यासीका रूपमा पाएको उम्मेदवारी आफ्नो राजनीतिक योगदानका लागि नभई प्रधानमन्त्री बाबुको शक्तिका आधारमा पाएको भनेर चर्चा चलिसकेको थियो।

२१ वर्ष पुगेपछि मेयरको उम्मेदवारी दिन पाउने वैधानिकताकै आधारमा उम्मेदवारी दिएकी रन्जुको विशेषगरी उमेरलाई नै लिएर प्रशस्त टिप्पणी गरिए। २१ वर्षकी वयस्क उनलाई कलिली, नानी, बच्ची, स्कुल—कलेज पढ्न छाडेर अरू केटाकेटीलाई समेत भड्काएका जस्ता कटाक्ष प्रशस्त गरिएका थिए। रन्जुको यो उम्मेदवारी उनको आफ्नो सुझबुझको उपज नभई उनी आबद्ध राजनीतिक दल विवेकशीलको योजना थियो, उनलाई चुनावमा उठाउनु नै पार्टीको ‘मार्केटिङ रणनीति’ थियो भनेरसमेत प्रशस्त चर्चा गरिएको थियो। रन्जुबारे ‘मध्यमवर्गीय सुख–सयलमा हुर्केकी, एनजीओकर्मी बाबुकी छोरी, एकैचोटी अरूले गरेको संघर्षको फल खान आएकी’ जस्ता टिप्पणी पनि गरिएका थिए।

उता रेणुलाई भने उनले उम्मेदवारी पाएको दिनदेखि नै ‘राजकुमारी’ उपाधिका साथमा टिप्पणी गरिए। यी सबैका बीच पार्टी राजनीतिमा रेणुको कति लामो र कति जिम्मेवारीपूर्ण योगदान रह्यो वा रहेन भन्ने चर्चाचाहिँं छायामा पर्‍यो। लामो समय भूमिगत रहेका बाबु र पछि राज्यले आतंकवादी नै घोषित गरेको जस्तो अप्ठ्यारो पारिवारिक अवस्था पार गर्दासमेत उनलाई सक्रिय राजनीतिमै आउन चासो किन लाग्यो? वा आफू गर्भैमा हुँदा छुट्टिएका बाबुआमा र एकल आमाले हुर्काएकी छोरीको रूपमा हुर्केकी रन्जुको व्यक्तिगत जीवनचाहिंँ उम्मेदवार बन्नु अघिसम्म कस्तो थियो? स्थानीय निर्वाचनताका उम्मेदवारी दिएका चर्चित दुई महिलाका जीवनका यी पाटाचाहिंँ यो सबैको बीचमा छायामा परे।

यस बारेमा रेणु दाहालको धारणा बुझ्न बारम्बार सम्पर्क गर्दा (मेयर निर्वाचित हुनुअघि नै) उनले ‘पछि कुरा गर्ने भन्दै’ समय सारिराखिन्। रन्जुले चाहिंँ ठट्टा गर्दै भनिन्, ‘मलाई त मेरो उमेरबारे बारम्बार कटाक्ष गरेर ‘उमेर–उमेर’ भनेको सुन्दा ‘ऊ मेयर, ऊ मेयर’ भनेजस्तो पो लाग्नथालेको थियो। उमेरकै कुरा लिएर प्रशस्त खिसिट्युरी गरेको थाहा थियो, तर राजनीतिमा प्रवेश गर्न उमेर गौण हो र परिवर्तनका लागि गरिएको दृढनिश्चय मुख्य हो भन्ने कुरा बीपी कोइराला, शैलजा आचार्यजस्ता राजनीतिज्ञको जीवनबारे अध्ययन गरेर बुझिसकेकी थिएँ।’

बिहेपछिको राजनीति कि राजनीतिपछिको बिहे?
गौरा प्रसाईंले आफ्नो किताब ‘मेरा जीवनका पाना’मा एक वर्षकी छोरी बोकेर भूमिगत आन्दोलनमा होमिइरहेको समय उल्लेख गर्दै पार्टीका नेता वामदेव गौतमले ‘कि बच्चा छाड्नुस् कि राजनीति छाड्नुस्’ भनेर ‘अन्तिम चेतावनी’ दिएको रआफ्ना पतिले समेत पार्टी निर्देशनको अवज्ञा गर्न नहुने हुँदा बच्चा नै छाड्न सुझाव दिएको प्रसंग उल्लेख गरेकी छन्(पृ. १०७)। विवाह जस्तो वैयक्तिक र सांस्कृतिक अधिकार अनि बच्चा जन्माउने/हुर्काउने जस्ता सामाजिक/पारिवारिक दायित्व समेतको व्यवस्थापन गरिकन राजनीतिमा महिलाले कतिसम्मको योगदान गर्न सक्छन् र महिलाको जीवनको त्यो विशिष्ट कालखण्डप्रति ‘समानतावादी’ नेताहरूले समेत कतिसम्म अनुदार र असंवेदनशील दृष्टि राख्दारहेछन् भन्ने थाहा पाउन यत्ति एउटा उदाहरण काफी हुन्छ।

नयाँ पुस्ताका राजनीतिज्ञ महिलाको कुरा सुन्दा अझै पनि गौराको समय र अहिलेको अवस्थामा खासै फरक आइसकेको जस्तो लाग्दैन। अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सरिता पुरी भन्छिन्, ‘राजनीतिमा लागेका युवतीको विवाहको कुरा गाउँघरमा चल्दा सिधै ‘त्यो त नेतिनी हो’ भनेर ‘डिस्क्वालिफाइ’ गर्नेसम्मको काम हुन्छ।’ राजनीतिक पार्टीका कार्यक्रम, अधिवेशन, प्रशिक्षण वा अभियानका क्रममा हप्तौं वा महिनौंसमेत घरबाहिर रहनुपर्ने अवस्थालाई लिएर महिला राजनीतिज्ञमाथि अविश्वास गरिने मात्र होइन, आक्षेप नै लगाउने प्रचलन अझै छ। जबकि राजनीति गरेकै कारण कुनै पनि पुरुषको चरित्रमा शंका गरिएको वा विवाहका लागि उसलाई अविश्वास गरिएको उदाहरण सायदै होलान्।

पहिलो संविधानसभामा नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व गरेकी शान्ता चौधरीका पतिले दोस्रो बिहा गरे। चौधरीले सार्वजनिक कार्यक्रमहरूमा बताएअनुसार यसको कारण सोध्दा उनका पतिले ‘शान्ताले समय दिन नसकेर अर्को बिहा गर्नुपरेको’ कारण देखाएका थिए। नेपाली समाजमा पति सभासद वा सांसद भएका पत्नीले ‘माननीय’की पत्नीका रूपमा प्रशस्त सामाजिक प्रतिष्ठा र सम्मान प्राप्त गर्छन्। यसबाट शान्ताको ठाउँमा उनका पति सभासद हुन्थे भने उनले यही कारण देखाएर छाड्ने थिइन् वा थिइनन् भन्ने प्रश्न उठ्छ।

नयाँ शक्तिकी केन्द्रीय सदस्य अभिनेत्री करिश्मा मानन्धरले आफ््ना पति विनोद मानन्धरले पुख्र्यौली घर सप्तरीबाट आफ्नो र छोरीको मात्र बसाइँ–सराइको प्रमाणपत्र आफूलाई खबरै नगरी बनाएको र आफ्नो नबनाइदिएका कारण काठमाडौंमा भोट हाल्ने अधिकारबाट बञ्चित भएको भन्दै फेसबुक स्टाटसमार्फत आपत्ति जनाइन्। यसले सक्रिय राजनीति त अझै पनि महिलाका लागि सजिलो बनिसकेको छैन नै, महिलाको मताधिकार समेत उसको परिवारका पुरुष सदस्यको कब्जामा रहन्छ भनेर पुष्टि गर्छ। करिश्माको भनाइलाई कतिपयले पार्टीको केन्द्रीय सदस्य भइकन पनि सचेत हुन नसकेकी र सस्तो प्रचारका लागि यो सब गरेको भनेर आरोप लगाए।

भोट हाल्ने दिन नै आइसक्दा समेत कुन ठाउँको मतदाता नामावलीमा आफ्नो नाम छ भनेर थाहा नपाउनेसम्मको करिश्माको भनाइले उनको अज्ञान त देखाउँछ नै, अर्कातर्फ उनका पतिको उक्त हरकतले पनि महिलाको स्वतन्त्र बालिग मताधिकारको अवस्था उजागर गर्छ। शान्ता र करिश्माका उदाहरणले नेपाली समाजमा विवाहित महिलाको आत्मनिर्णयको अधिकारमाथि पति वा पतिको परिवारको आपत्ति वा नियन्त्रणको अवस्था कायमै रहेको देखाउँछ, चाहे उनीहरू राजनीति गर्नेहरू नै किन नहुन्। कुनै महिलाले आफू जन्मे–हुर्केको गाउँ वा सहरका राजनीतिज्ञहरूलाई भोट दिनका लागि महसुस गर्ने अपनत्व बिहा भएकै आधारमा कुनै अर्को गाउँ वा सहरका राजनीतिज्ञलाई भोट दिंँदा महसुस गर्छन् कि गर्दैनन् वा उनले बिहा गरेर गएकै ठाउँमा र बिहा भएर गएका परिवारका व्यक्तिहरूले आस्था राख्ने राजनीतिक पार्टीका उम्मेदवारलाई नै भोट हाल्नैपर्ने बाध्यता छ छैन भन्ने कुराचाहिँं छलफलमा आउनै बाँकी छ।

एमाले नुवाकोट जिल्ला कमिटी सदस्य उषाकिरण तिम्सेनाले बताए अनुसार उनी त्यतिबेला नराम्ररी झस्किन्, जब स्थानीय निर्वाचनमा उम्मेदवारी दिनेबारे छलफल हुँदै गर्दा ‘गाउँपालिका प्रमुखको उम्मेदवारी दिन्छु’ भन्दै गरेकी उनको कानैमा कसैले भन्यो। ‘तिमीलाई त बिहा गरेर पठाउने पो हो, कता टिकट खोजेको?’ अझ केही वर्ष अघिसम्म त गाउँघरमा कुनै युवतीको बिहा भएको भोलिपल्टै (विशेषगरी अर्को राजनीतिक दलसम्बद्ध व्यक्तिहरूले) मतदाता नामावलीबाट युवतीको नाम हटाउन तँछाड–मछाडसमेत गरेको पाइन्थ्यो। कुनै युवतीले विवाह हुँदैमा आफ्नो पैतृक घरप्रतिको सम्पूर्ण अपनत्व त्याग्नुपर्ने भन्ने मान्यता अर्थात ‘छोरीमान्छे अर्काको घर जाने जात’ अवधारणा राजनीतिक वृत्तमा पनि कायमै रहेको तिम्सेनाको अनुभवले पुष्टि गर्छ।

उषाको बुझाइमा कुनै महिलालाई सक्रिय राजनीतिमा टिकिरहन यस्ता कुराले पनि हतोत्साही बनाउँछन्। स्कुल–कलेजकालीन राजनीतिमा स–साना संस्थागत जिम्मेवारी सम्पन्न गर्दा ‘राम्रो गर्‍यौ’ भनेर हौस्याउने अग्रजहरू नै पछि ठूला जिम्मेवारी लिन खोज्दा यस्ता हतोत्साही टिप्पणी गर्छन्। कांग्रेसकी महासमिति सदस्य लक्ष्मी खतिवडाको अनुभवमा ‘पार्टी नेतृत्वमा महिलालाई जिम्मेवारी दिनुपरे बहसको सुरुआत नै ‘महिला हो’ भन्नेबाट सुरु हुन्छ। ‘तिमीहरू घरको कामले भ्याउँदैनौ’ जस्ता कारण देखाइनु त सामान्य भैहाले।

राजनीतिको ‘महँगो’ मूल्य
हामीकहाँ परम्परागत ‘पैसा कमाउने’ पेसा र व्यवसायलाई प्राथमिकतामा राखिन्छ। परम्परागत रूपमा ‘परिवार पाल्ने’ जिम्मेवारी लिएका भनेर चिनिने छोराहरूले नै पनि राजनीति गरेको परिवारले खासै धेरै रुचाएको पाइँदैन। आर्थिक उपार्जन नहुने, अनुत्पादक पेसाका रूपमा लिइने राजनीतिमा संलग्न महिलाहरू यो क्षेत्र महिलाका लागि ‘झनै गाह्रो’ भनेर बताउँछन्। उषाकिरण तिम्सेनाका अनुसार ५ कक्षादेखि विद्यार्थी राजनीतिको चस्का लागेकी उनले जब यही लगाव र अनुभवको आधारमा गाउँपालिका अध्यक्षका लागि दाबी गरिन्, एक जनाले ‘गाउँपालिका अध्यक्षका लागि एक करोड खर्च गर्ने तागत छ?’ भनेर समेत सोधे। राजनीतिक वृत्तमा चर्को रूपमा सुनिने ‘पैसाले पावर किन्ने’ गाइँगुइँलाई उषाको ‘कानमा परेको’ यो भनाइले थप पुष्टि गर्छ। नेपालको सन्दर्भमा राजनीति कमाइ हुनेभन्दा ‘लगानी’ बढी गर्नुपर्ने क्षेत्र हो। यस्तोमा नयाँ पुस्ताकी कुनै महिलाले आफ्नो शैक्षिक योग्यता र पारिवारिक आवश्यकता पूरा गर्न जीविकाका लागि कुनै काम गरिकन राजनीतिमा समय कसरी दिने भन्ने प्रश्न पनि महत्त्वपूर्ण छ। सरिता पुरी भन्छिन्, ‘पारिवारिक, आर्थिक आवश्यकताले जागिर खाए वा कुनै पेसा व्यवसाय गर्नतिर लागे त राजनीतिक करिअरमा नम्बर स्वाट्टै घट्यो भनेर बुझे हुन्छ।’

साना कुरा लागे पनि महिलाका लागि साँझ–बिहान चियापसल वा पार्टी कार्यालयमा हुने नियमित भेटघाट वा साँझपखका जमघटमा रुचि नहुँदा वा फोन वा सामाजिक सञ्जालमा नियमित सक्रियता नरहँदा पनि क्रियाशीलता कम भएको भन्नेजस्ता टिप्पणी सुनिने वा त्यसकै आधारमा पार्टीले दिने जिम्मेवारी वा अवसरबाट बञ्चित हुने सम्भावनासमेत रहन्छ। महिला राजनीतिज्ञका लागि राजनीति ‘चारित्रिक प्रमाणपत्र’ बारम्बार पेस गर्नुपर्ने क्षेत्र पनि हो। आफूलाई मनपरेको डिजाइनको कपडा वा कपालको लम्बाइ वा कपालको रंगजस्ता अति साधारण कुरालाई आधार बनाएर मूल्यांकन गरिन्छ। लक्ष्मी खतिवडाका अनुसार उनलाई पनि ‘तपाईको बिहे भएको छैन? कहिले गर्ने?’ जस्ता व्यक्तिगत प्रश्न बारम्बार गरिन्छन्।

राजनीतिक ‘यौवन’को अल्पकाल
नेपाली समाजमा महिला र पुरुषका लागि निर्धारण गरिएको परम्परागत यौवनको अवधि वा समयसीमाको मापदण्ड फरक छ, जुन राजनीतिमा पनि स्वाभाविक रूपमा पालना हुँदै आएको छ। कतिपय समयमा मिडियाले नै यो परम्परागत यौवनको मापदण्डलाई स्थापित र बढावा दिने काम गर्छ। ४८ वर्ष पूरा भइसकेका एमालेका नेता रवीन्द्र अधिकारीलाई मिडियामा ‘युवानेता’ उपाधिले बोलाइन्छ। यो हिसाबले नेपाली कांग्रेसका ४१ वर्षीय गगन थापा झनै बढी युवा भए। उता निरक्षर भएका कारण लामो समयसम्म ‘औंठाछाप’ उपाधिले प्रताडित गरिएकी शान्ता चौधरी ३५ वर्षमा ८ कक्षामा स्कुल पढ्न भर्ना भएको प्रसंगलाई एउटा अनलाइन पोर्टलले ‘बुढेसकालमा शान्ता चौधरीको यो हरकत, छोराछोरीभन्दा सानासँंग स्कुल पढ्दै’ भनेर समाचार बनाएको थियो।

समाचारभन्दा बढी महत्त्वपूर्ण यसमा प्रयोग भएको महिला र पुरुषको यौवन बारेको दोहोरो मापदण्ड थियो। कुनै ४८ वर्ष पुगेकी महिलालाई समाज र सञ्चारले ‘युवानेतृ’को उपाधिले सम्बोधन गरेको कल्पनामात्रै गर्नु पनि बेकार हुनेछ। एउटै पार्टीभित्रका राजनीतिज्ञको उमेर र यौवनबारे यस्तो दोहोरो मापदण्ड रहेको समाजमा एउटी महिलाले राजनीतिका लागि आफ्नो ‘यौवन’को कति वर्ष लगानी गर्ने भन्ने प्रश्न संँगै आउँछ। अर्को कुरा, २१ वर्षमा औपचारिक राजनीतिमा प्रवेश गरेका महिलालाई बच्ची भनिइने र ३५ वर्षमै प्रौढ भइसक्ने मान्यताका आधारमा महिलाका लागि राजनीति गर्न कति वर्षको समय रहन्छ, जसभित्र उनीहरूले बच्चा जन्माउने (हुर्काउने समेत) जस्ता जिम्मेवारी पनि सकिसक्नुपर्छ भन्ने प्रश्न मुख्य हुन आउँछ।

यस बारेमा सोध्दा ‘म त साउन ९ गतेदेखि ४६ वर्ष लागँें’ भनेर निर्धक्क घोषणा गर्दै लक्ष्मी खतिवडा भन्छिन्, ‘यौवन भनेको उमेरभन्दा बढी ऊर्जा र आत्मविश्वास हो र हामीले त्यो ऊर्जा महसुस गर्ने–गराउने हो। महिलाले बिहा हुने वा बच्चा जन्माउनेसाथ बुढी भएँ भनेर ज्यान फाल्नु जरुरी छैन। बच्चा साना भएका राजनीतिज्ञ महिलाले त्यही अनुसारको घरै बसेर गर्नसक्ने कामको जिम्मा लिएर पार्टीगत योगदान दिन सक्छन्। त्यसका लागि कम्प्युटरमा काम गर्न अनुकूल हुने ‘पेपर वर्क’को जिम्मा लिन सकिन्छ। राजनीतिक पार्टीबाट समेत पारिवारिक जिम्मेवारी सम्हालिराखेका महिला राजनीतिज्ञलाई त्यस्तै जिम्मेवारी दिएर हौसला बढाए उनीहरूको योगदान लामो समयसम्म लिन सकिन्छ।’

चाँदीका घेरा
निर्वाचन आयोगका अनुसार २० वर्ष अघिको स्थानीय निर्वाचनमा ३ हजार ९ सय १३ गाउँ विकास समिति रहेकामा अध्यक्षमा २० र उपाध्यक्षमा १४ जना महिला निर्वाचित भएका थिए। त्यतिबेला अध्यक्षमा निर्वाचित महिलाको प्रतिशत ०.५१ र उपाध्यक्षमा ०.३६ थियो। ५८ वटा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा एकजना पनि महिला थिएनन्। यतिखेर यति धेरै महिला जनप्रतिनिधिका रूपमा चुनिनुको कारण समाज अत्यन्त उदार भइसकेर भने पक्कै होइन। महिलालाई घर बाहिरका महत्त्वपूर्ण जिम्मेवारी दिन हिचकिचाउने संस्कार कायम रहेको अवस्थामा यो सम्भव भएको कानुनी व्यवस्थाका कारण हो। स्थानीय तह निर्वाचन ऐनको दफा (४) को उपदफा (१) मा दलहरूले गाउँ वा नगरपालिकाको प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्ष दुबै पदमा मनोनयन दर्ता गर्दा ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।

अन्तिम समयमा आएर दलहरूले गरेको तालमेलको रणनीतिका कारण एउटा पार्टीबाट प्रमुख र अर्को पार्टीबाट उपप्रमुखमा प्रतिस्पर्धा गर्न पाउने प्रावधानले उम्मेदवारी दिने महिलाको संख्या खुम्चिन पुगेको तथ्य पनि अर्को नमिठो तथ्य हो। अर्को कुरा, नेपालको राजनीतिमा युवालाई नेतृत्व दिन अविश्वास गरिने र हिचकिचाउने प्रचलन बाक्लोगरी व्याप्त छ। केही दशक यताको राजनीतिमा हरेकजसो राजनीतिक पार्टीमा अपवाद बाहेक युवा नीति निर्माण तहमा पुगेका उदाहरण विरलै छन्। रन्जु दर्शनालाई अविश्वासपूर्ण र अपमानजनक टिप्पणी गरिनुमा पनि महिला र युवा हुनुजस्ता दोहोरा कारण थिए। तर हालै भएको स्थानीय निर्वाचनमा ३० वर्ष ननाघेका प्रशस्त युवा महिला जनप्रतिनिधिका रूपमा चुनिएर आएका छन्। आयोगकै अनुसार दोस्रो चरणको निर्वाचनमा २१ देखि ४० वर्ष उमेर समूहमा ६ हजार १२ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। जसमा नगरप्रमुख तथा अध्यक्षमा ७५ जना युवा छन्। १ हजार ३ सय ९१ जना महिला सदस्य निर्वाचित छन्।

२४ वर्षकी सृष्टि रेग्मी बाजुराको बूढीनन्दा नगरपालिका, २७ वर्षकी कविता ढुंगाना नुवाकोटको बेलकोटगढी नगरपालिका र २३ वर्षकी शिवकुमारी थारु कपिलवस्तुको शिवराज नगरपालिकामा उपमेयरमा निर्वाचित भएका छन्। त्यस्तै कालिकोटको तिलागुफा नगरपालिकामा २६ वर्षकी दन्ता नेपाली दर्शना र गोरखाको पालुङटार नगरपालिकामा २९ वर्षकी पम्फा बसेल उपमेयरमा निर्वाचित भए। ३० वर्षको उमेर पनि पार नगरेका थुप्रै युवा महिला मध्येका केही प्रतिनिधि उदाहरणमात्रै हुन् उनीहरू, जो जनप्रतिनिधिका रूपमा निर्वाचित भए।

सामान्यतया उच्चशिक्षा सकेपछि राजधानी वा विदेश ताक्ने परम्परा विपरीत आफ्नै (दुर्गम भनिएका) गाउँमा र त्यो पनि राजनीतिजस्तो तुलनात्मक रूपमा असजिलो मानिने काम गरेर बस्ने दृढता देखाएका केही युवा महिला जनप्रतिनिधि देख्दा साँच्चिकै ‘ताजा हावाको झोंँका’जस्तो महसुस हुन्छ। आफ्नो गाउँसम्म आउने ‘बाटो एकदम खराब छ’ भन्दै गरेकी कविता ढुंगाना एमबीए र एलएलबीको डिग्री प्राप्त गरिसकेकी हुन्। राजनीतिशास्त्रमा स्नातकोत्तर पढिरहेकी उनी ‘यति धेरै डिग्रीलाई कसरी उपयोग गर्नुहुन्छ’ भनेर सोध्दा भन्छिन्, ‘पढेका तीनैवटा विषय व्यावहारिक प्रयोगमा आइरहेका छन्। एमबीए गरेका कारण नगरपालिकाको बजेट व्यवस्थापनमा सहयोग पुर्‍याउन सक्छु, अधिवक्ता भएकाले नागरिकका अधिकारको बारेमा सचेत छु र राजनीतिशास्त्र त राजनीतिकर्मीका लागि महत्त्वपूर्ण भइहाल्यो।’

सृष्टि रेग्मी सिभिल इन्जिनियर हुन्। उनको नगरपालिकामा १०–५ बजेबाहेक अरू समयमा फोन सम्पर्कसमेत गर्न सकिँंदैन। बाजुरा विकासको सूचकांकमा पचहत्तरौं स्थानमा छ, तर आफूसँग ‘गाउँका युवालाई गाउँमै रोक्ने दीर्घकालीन योजना छन्’ भन्दै गरेकी सृष्टिको आत्मविश्वास कैयौं गुणा माथि छ। ‘इन्जिनियर जस्तो मान्छे सकेसम्म विदेश वा नभए नि सहर–बजारमा बस्नुपर्छ’ भनेर प्रशस्त सुझाव पाएकी सृष्टिले आफ्नो स्नातकोत्तरको पढाइ नै केही समय थाती राखेर जिल्ला विकास समिति बाजुरामा काम गर्न थालेकी थिइन्। उनी भन्छिन्, ‘गाउँ फर्केरै काम गर्ने हो भन्नेमा पहिल्यै दृढनिश्चय गरेकी थिएँ, सबैले विदेश वा सहर ताके देश कसले बनाउने, गाउँ कसले बनाउने?’

सृष्टि र कविता दुबैसंँग मिल्दोजुल्दो पारिवारिक संयोग र नमिठो विगत दुबै छ। कविताका पिता भरतप्रसाद ढुंगाना एमालेको नुवाकोट जिल्ला अध्यक्ष पद छोडेर तत्कालीन नेकपा माओवादीले सुरु गरेको भूमिगत राजनीतिमा प्रवेश गरेका थिए। सृष्टिका पिता ताराचन्द्र रेग्मीले स्वास्थ्यकर्मीको जागिर छोडेर राजनीतिमा प्रवेश गरेपछि तत्कालीन कोल्टी गाविसमा अध्यक्ष निर्वाचित भएका थिए। कविताका पिताको द्वन्द्वकालमा राज्यपक्षबाट हत्या भएको थियो भने सृष्टिका पिताको विद्रोही पक्षबाट। राजनीति गरेबापत ज्यानै जानेसम्मको स्थिति आउँदोरहेछ भन्ने जान्दाजान्दै पनि सक्रिय राजनीतिमा आउन केले प्रेरित गर्‍यो भनेर सोध्दा दुबैजनाको उस्तै उत्तर थियो, ‘बुबाले जे गर्नुभयो, त्यो समाज परिवर्तनका लागि थियो भन्ने कुराले सधैं अभिप्रेरित गरिरह्यो।’

जनप्रतिनिधिका रूपमा चुनिएका वा विभिन्न दलगत संगठनमार्फत सक्रिय राजनीतिमा संलग्न उच्चशिक्षा प्राप्त युवा महिलाले आफ्नै गाउँ/सहरमा राजनीतिक परिवर्तनका लागि योगदान गर्ने दृढ विश्वास व्यक्त गरेको देख्दा, सुन्दा भविष्यप्रति प्रशस्त आशा गर्न सकिन्छ। यस बाहेक महिलाको सामाजिक, राजनीतिक अवस्थामा परिवर्तन ल्याउनसमेत उनीहरूले नीति निर्माणमार्फत योगदान गर्ने सम्भावनाबारे आशावादी पनि हुन सकिन्छ। उनीहरूले कोरिरहेको राजनीतिक जीवनको यो गोरेटो बांगोटिंगो जरुर होला, तर नयाँ आशा जगाउनेगरी उज्यालो पनि पक्कै छ।sabitrigautam2012@gmail.com


सृष्टि रेग्मी
उपमेयर, बूढीनन्दा नगरपालिका, बाजुरा
बुबाले स्वास्थ्यकर्मीको जागिर छाडेर राजनीति गर्नुभयो। राजनीतिकै कारण उहाँको हत्या भयो। प्रत्यक्ष राजनीति गर्ने मेरो कुनै सोच थिएन। विश्वविद्यालयमा पढ्दै गर्दा त्यहाँको बेथिति देखेँ। शक्ति गलत हातमा गयो भने बेथिति हुँदोरहेछ भनेजस्तो लाग्यो र विद्यार्थी राजनीतिमा छिरेंँ। राजनीतिसंँग पारिवारिक कारणले भन्दा पनि आवश्यकता महसुस गरेर जोडिएँ।
समाज, देशमा प्रत्यक्ष परिवर्तन त आखिर राजनीतिबाट मात्रै सम्भव छ। युवा जो परिवर्तनका संवाहक हुन्, उनीहरू राजनीतिमा संलग्न भएमात्रै चाहेजस्तो शासन व्यवस्था आउन सक्छ। अहिले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको छ, हाम्रो गाउँठाउँको परिवर्तन र विकास हाम्रै हातमा छ। बाध्यकारी कानुनी व्यवस्था नभएका भए हामीजस्ता युवा महिलाको प्रतिनिधित्व यसरी हुन सक्दैनथ्यो। तर नगरबासीबाट पाएको प्रतिक्रिया निकै उत्साहजनक छ।

कविता ढुंगाना
उपमेयर, बेलकोटगढी नगरपालिका, नुवाकोट
बुबा एमालेको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो। तर पद छाडेर भूमिगत आन्दोलनमा लाग्नुभयो। म ९ कक्षा पढ्दा नै बुबाले सहादत प्राप्त गर्नुभयो। हुर्कंदै जाँदा जनताले आफ्नो मौलिक अधिकार पाउनुपर्छ र आफ्नो शासक आफै बन्नुपर्छ भनेर बुबा लाग्नुभएको रहेछ भन्ने थाहा भयो। मलाई नै पनि ‘फस्र्ट बेन्चर’हरु राजनीतिमा आउनुपर्छ जस्तो लाग्छ किनकि सबै नीति मध्येको मूलनीति नै राजनीति हो र यो सही व्यक्तिको हातबाट सञ्चालित हुनुपर्छ।
जनता स्वयंले नै पनि युवा नेतृत्व चाहिरहेका छन्, पुरानालाई हेरिसकियो भनेका छन्। महिलाका लागि राजनीति गाह्रो पक्कै छ, किनकि उनीहरुका दोहोरो–तेहोरो जिम्मेवारी हुन्छन्। मलाई नै निर्वाचित भएर आइसक्दा पनि यसले सक्दिन कि भनेर शंका गर्नेहरुको कमी छैन। तर हौसला दिनेहरू झन् धेरै छन्।

रन्जु दर्शना
केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी
युवा समयका नयाँ–नयाँ माग र प्रविधिसंँग परिचित हुन्छन्, ऊर्जाशील हुन्छन् र समाज परिवर्तनका लागि शारीरिक, मानसिक रूपमा खट्न सक्ने हुन्छन्। सबभन्दा महत्वपूर्ण कुरा युवाले आफू बाँचिरहेको समयको आवश्यकता बुझेका हुन्छन् र उनीहरु नेतृत्वमा पुगे भने त्यही अनुुसारका नीति तथा कार्यक्रम बनाउँछन्। हामीले अहिले भोगिरहेको परिवर्तन पनि त हामीभन्दा अघिल्लो पुस्ताका राजनीतिज्ञले आफू युवा हुँदा गरेको मिहेनतको उपज हो। उहाँहरुले एकदम युवा उमेरमै प्रजातन्त्रका लागि मरिमेट्नुभएकाले हामीले आजको स्वतन्त्रता भोग्न पाएका हौं।
त्यसैले मलाई युवा र राजनीति एकअर्काबाट विमुख हुनै नहुने र संँगसंँगैहिंँड्नुपर्ने विषय हुन् जस्तो लाग्छ। म यो सब विचार गरेरै राजनीतिमा प्रवेश गरेकी हुँ। म आफ्नो राजनीतिक भविष्यप्रति उत्साही छु।

लक्ष्मी खतिवडा
महासमिति सदस्य, नेपाली कांग्रेस
स्कुलमा गुरु बालेश्वर यादव भनिरहनुहुन्थ्यो, ‘डाक्टर बनेर बिरामीको उपचार गर्न सकिन्छ, इन्जिनियर बनेर घर बनाउन सकिन्छ, तर राजनीति गरे देशै बनाउन सकिन्छ।’ यही भनाइले राजनीतिमा लाग्न प्रेरित गर्‍यो। ल्युसुन र गोर्कीका लेखन पढेर थप प्रेरित भएँ। राजनीतिज्ञ महिलाले मानसिक दबाब महसुस गर्नुपर्ने अवस्था छ। सामाजिक संरचनाकै उपजस्वरुप हाम्रालागि घुमफिर, जमघट र रमाइलो गर्ने जस्ता सोसलाइजेसनका अवसर असाध्यै कम उपलब्ध छन्। चियोचर्चो पनि बढी हुन्छ। राजनीतिकर्मी महिलाले थोरै विद्रोही पनि हुन सक्नुपर्छ। स्थानीय चुनावबाट महिलाको संख्यात्मक उपस्थितिले आशा जगाए पनि गुणात्मकका लागि केही समय कुर्नुपर्छ। यो समावेशिताको अनिवार्य प्रावधानको कारण भएको त पक्का छ। महिला स्वयं दृढनिश्चयका कारण आए वा केही समयको लहड हो भनेरचाहिंँ प्रमाणित हुन बाँकी छ।

सरिता पुरी

केन्द्रीय सचिवालय सदस्य, अनेरास्ववियु
७ कक्षा पढ्दै राजनीतिमा लागेँ। महिलाको मामिलामा निरन्तरता सबभन्दा ठूलो प्रश्न बनिरहन्छ। संघर्षको समयसीमा सबैका लागि जस्तै असीमित छ, तर सामाजिक संरचना अनुसार महिलाका लागि कहिलेकाहीं केही प्रतिकूल परिस्थितिमा टिक्न गाह्रो हो कि जस्तो महसुस हुन्छ। वर्षौं संघर्ष गरेपछि आन्तरिक प्रतिस्पर्धामा सामेल भइन्छ, त्यसमाथि पार्टीका गुट–उपगुटको परिधिभित्र रहने वा त्यसलाई नाघ्ने भन्ने प्रश्न सँंगै आउँछन्।
व्यक्तिगत–पारिवारिक जीवन र राजनीतिलाई संँगै व्यवस्थापन गरेर अघि लैजानु नै कुनै महिला राजनीतिज्ञका लागि सबभन्दा ठूलो चुनौती हो। तर अहिलेको स्थानीय निर्वाचनमा गरिएका सकारात्मक विभेदका प्रशस्त व्यवस्था र सर्वसाधारण जनताले देखाएको विश्वासले महिलाको राजनीतिक भविष्यप्रति आशावादी हुन मिल्ने प्रशस्तै आधार देखिएका छन्।

उषाकिरण तिम्सेना

एमाले, जिल्ला सदस्य, नुवाकोट
महिलालाई राजनीतिमा आउन र टिकिराख्न प्रशस्त अप्ठ्यारा छन्। तर म अप्ठ्यारो छ भन्ने बुझेरै यो क्षेत्रमा आएकी हुँ। अप्ठ्यारो छ भन्दै पिठ्युँ फर्काएर हामी भाग्ने हो भने त अर्को पुस्ताले पनि यो अप्ठ्यारो भोग्छ।
पुस्तौंसम्म पनि म जसरी निस्वार्थ रुपमा राजनीतिमा विश्वास गर्ने र त्यसका लागि लड्न चाहिनेजति आत्मबल भएका महिला नजन्मिन पनि सक्छन्। त्यसैले उनीहरुको बाटो सजिलो बनाउन पनि मैले संघर्ष गरिराख्नु जरुरी छ।

प्रकाशित : आश्विन २२, २०७४ १५:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विदेश अध्ययनको सामाजिक प्रभाव

नरेन्द्र मिश्र

काठमाडौं — अन्य समाजझैं नेपाली समाज पनि हरेक तहमा तीव्र गतिमा परिवर्तित भइरहेको छ । यसको अर्थ मानिसका इच्छा, आकांक्षा र चाहना पनि समाज सँगसँगै बदलिन्छन् भन्ने हो ।

यसरी बदलिने क्रममा पुराना पुस्ताको तुलनामा नयाँ पुस्ताको सोच, विचार र दृष्टिकोणमा पनि व्यापक परिवर्तन भइरहेको छ। धेरै परिवर्तनमध्ये विदेशमा उच्च शिक्षा हासिल गर्नु पनि एक हो। यसको सम्बन्ध व्यक्ति, परिवार र समाजसँग पनि गाँसिएको हुन्छ। विदेशमा अध्ययन गर्न जाँदा भौतिक रूपमा आमाबुबाबाट टाढा रहने अवस्था रहन्छ। यसले पारिवारिक अन्तरक्रिया र सामाजिक सम्बन्धमा प्रभाव पार्छ कि पार्दैन? यो व्यक्तिगत चाहना हो कि बदलिँदो सामाजिक परिवेश? यसले हाम्रो समाजमा के–कस्तो असर पारिरहेको छ? प्रश्नहरू स्वाभाविक रूपमा उठ्छन्।

प्रत्येक दिन लगभग १५० भन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि ६८ भन्दा बढी देशमा जाने गरेको पाइन्छ। शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार गत वर्षको सुरुको नौ महिनामा लगभग ४० हजारभन्दा बढी विद्यार्थीले अध्ययन स्वीकृति (नो अब्जेक्सन लेटर) लिएको पाइन्छ। तीमध्ये करिब ८० प्रतिशत विद्यार्थीले सम्बन्धित देशको भिसा पाएको अनुमान छ, जसमा मुख्यत: अस्ट्रेलिया, जापान, अमेरिका, पोल्यान्ड, क्यानडा, चीन र केही युरोपेली देश पर्छन्।

नयाँ पुस्तामाझ विदेश अध्ययन गर्ने चाहना किन बढ्दै छ त? यसको उत्तर खोज्दा एउटै मात्र कारण पक्कै पाइँदैन। आकर्षण र विकर्षणका दुइटा पाटाबाट यसलाई हेर्न सकिन्छ। आकर्षणमा विदेशमा गुणस्तरीय शिक्षा, विषयगत विशिष्टता, उज्ज्वल भविष्य निर्माण, पढाइका साथै आम्दानी, रोजगारीको अवसर र व्यक्तिगत पारिवारिक स्वतन्त्रताले तानेको देखिन्छ। विदेशमा रहेका आफन्त, छरछिमेक र साथीहरूसँगको अन्तरक्रियाले पनि यसलाई प्रोत्साहन गरेको देखिन्छ। अर्कोतर्फ, विकर्षणका दृष्टिले हेर्दा स्वदेशमा देखिएको अवसरको कमी, समयसापेक्ष शिक्षाको अभाव, बढ्दो बेरोजगारी र राजनीतिक अस्थिरताले पनि विदेशमा अध्ययन र स्थायी बसोबास गर्ने क्रम बढिरहेको पाइन्छ।

नेपाली विद्यार्थीहरू तुलनात्मक रूपमा मिहिनेती, इमानदार र लगनशील छन् भन्ने गरिन्छ, जसले आफ्नो मिहिनेत, ज्ञान र सीपलाई विदेशमै सदुपयोग गरी व्यक्तिगत मान–प्रतिष्ठाका साथै उच्च हैसियत बनाउन सफल भएका केही उदाहरण पनि छन्। यसका साथै अध्ययन गर्ने उद्देश्यले विदेश गए पनि धेरै नेपाली विद्यार्थीको पहिलो प्राथमिकता रोजगारी र विदेशमै स्थायी बसोबास गर्ने रहेको पाइन्छ। केहीले चाहिं स्वदेश फर्केर आफ्नो ज्ञान, सीप र अनुभवलाई नेपाल र नेपाली समाजको रूपान्तरणमा लगाएको पनि भेटिन्छ। तथापि अध्ययन सकेपछि स्थायी रूपमा स्वदेश फर्किने विद्यार्थीहरू तुलनात्मक रूपमा कम छन्।

विदेशमा पढ्न जानु या उतै बस्नुका सामाजिक पाटा पनि छन्। यसले नयाँ पुस्तामा अध्ययनको विशिष्टिता, पेसा, जीवनशैलीदेखि पारिवारिक अन्तरक्रिया र सम्बन्धहरूमा पुरानो पुस्ताभन्दा फरक बनाउँदै लगेको छ। यसले व्यक्तिको ज्ञान, पेसाको छनोटदेखि विवाह र परिवार सञ्चालनसम्म स्वयं व्यक्तिको आत्मनिर्णयलाई मुख्य बनाउँदै लगेको छ। नयाँ स्थान, नयाँ साथीहरूसँगको घुलमिल र फरक जीवनशैलीले पनि यसमा भूमिका खेलेको छ, जसले गर्दा पारिवारिक सामूहिक सोचाइ, निर्णय, मूल्य र मान्यताहरूमा पुरानो पुस्ताभन्दा नयाँ पुस्तामा नयाँपन आउँदै छ। छोटकरीमा भन्दा यसले पुस्तान्तरणमा बदलाव ल्याउँदै छ भन्ने पनि हो।

यो परिवर्तनका पछाडि धेरै कारण छन्। तीमध्ये सामाजिकीकरण पनि एक हो किनभने हाम्रो बदलिँदो समाजमा पुरानो पुस्ता र नयाँ पुस्ताबीच सामाजिकीकरणको पद्धति र प्रक्रियाहरूमा फरकपन आउँदै छ। यसको अर्थ नयाँ पुस्ताको सामाजिकीकरणमै परिवर्तन ल्याउँदै छ भन्ने हो किनभने पुरानो पुस्ता बढी संयुक्त परिवारमा सामाजिकीकरण भएको पाइन्छ भने नयाँ पुस्ता विशेषत: एकल परिवारमा बस्ने चलन बढ्दै छ। यसले गर्दा नयाँ पुस्ताको शिक्षा लिने तरिका, सोच, विचार, रहनसहन, जीवनशैली र उद्देश्यमा पनि फरकपन देखिँदै छ। यो समाज बदलिने स्वाभाविक क्रम पनि होला। तसर्थ सामाजिकीकरणमा आएको बदलावले नयाँ पुस्ताको मूल्य, मान्यता र विचारका साथै जीवन र जीवनशैलीलाई बुझ्ने र जिउने तरिकामा पनि भिन्नता देखिँदै छ।

यस्तो परिवर्तनले पारिवारिक अन्तरक्रिया र सम्बन्धमा प्रभाव पार्छ कि पार्दैन? यसको उत्तर खोज्दा, यसको सम्बन्ध पुरानो पुस्ताको बुढेसकालसँग पनि जोडिन थालेको देखिन्छ किनभने हाम्रो सामाजिक परिवेशलाई हेर्दा अझै पनि आफ्ना सन्तानले बुढेसकालमा हेरचाह वा पालनपोषण गरून् भन्ने मान्यता छ। यो हुनु स्वाभाविक पनि हो किनभने राज्यले आशातीत रूपमा आम नागरिकको बुढेसकाललाई जिम्मा लिइनसकेको अवस्था छ। तसर्थ एक वा दुई सन्तान मात्र भएको परिवारमा हजुरआमा–बुबा र आमा–बुबाको पुस्ता मात्र रहने अवस्था बढ्दै गएको छ, जसले सामाजिक, सांस्कृतिक, आर्थिकका साथै मनोवैज्ञानिक रूपमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्ने क्रम बढ्दो छ। यसको अर्थ स्वदेशमा आमाबुबालाई भौतिक रूपमा आफ्नो सन्तान आवश्यक पर्दा स्वयं उपस्थिति भई हेरचाह वा स्याहारसुसार गर्ने क्रम अब बिस्तारै पातलिँदै गएको छ।

त्यसो हो भने अब बुढेसकाल कता बिताउने? स्वदेशमै कि विदेशमा छोराछोरीसँग? हजुरआमा–बुबा र आमा–बुबाको पुस्ता मात्र स्वदेशमा रहेको परिवारमा यो प्रश्न जटिल बन्दै छ। यसको उत्तर खोज्न पनि त्यत्तिकै कठिन छ किनभने विदेशमा आमाबुबालाई नयाँ स्थान, नयाँ पुस्ताको बदलिँदो जीवनशैली, व्यस्तता र कम अन्तरक्रियाले पनि सामाजिक समायोजन हुन कठिन पर्ने गरेको छ। जब कि बुढेसकाल बढ्दै जाँदा व्यक्तिले स्वाभाविक रूपमा अझ बढी पारिवारिक वा सामाजिक अन्तरक्रियाको चाहना राख्छ। यसको कमीले दैनिक दिनचर्यामा असजिलोपन, एक्लोपन र निराशा सिर्जना हुन सक्छ। हाम्रो समाज त्यसतर्फ पनि उन्मुख हुँदै छ।

प्रश्न उठ्न सक्छ, यस्तो पारिवारिक असहजतालाई कम गर्न सकिन्छ कि सकिन्न? केही परिवार र छरछिमेकको अनुभवलाई आधार मानेर हेर्दा नेपालीको बुढेसकाल विदेशमा भन्दा स्वदेशमा तुलनात्मक रूपमा बढी सहज हुन सक्ने देखिन्छ। तथापि यो कुरा व्यक्ति, पेसा, परिवार, आर्थिक हैसियत र जीवनशैलीको प्रकृतिअनुसार फरकफरक हुन सक्छ किनभने केही मुलुकहरूको अनुभवलाई हेर्दा आर्थिक हैसियत सबल रहेको परिवारमा आवश्यक सांस्कारिक कार्यबाहेक रखालो राखेर पनि बुढेसकाललाई केही सहज बनाएका थुप्रै उदाहरण छन्। छोटकरीमा भन्दा पारिवारिक संरचना, स्वरूप र आर्थिक हैसियतले बुढेसकाललाई धेरथोर सहज बनाउन मद्दत गर्छ भन्ने पनि हो।

भनिन्छ, व्यक्तिको अन्तरक्रियाको स्वरूप वा शैलीले उसको सामाजिक सम्बन्धलाई कसिलो वा खुकुलो बनाउने गर्छ। यसको अर्थ जुन व्यक्तिसँग प्रत्यक्ष अन्तरक्रिया रहिरहन्छ, उसैसँग आफ्ना द:ुख–सुख साटासाट गर्नु मानवीय स्वभाव पनि हो। तथापि गाउँ, सहर र सहरबाट विदेश पस्ने क्रमले आमाबुबाको पुस्ताको मात्र पारिवारिक बनावट, बुढेसकालको जीवनशैली र पातलिँदो प्रत्यक्ष अन्तरक्रियालाई चाहेर वा नचाहेर स्वीकार गर्नुपर्ने अवस्था देखिन्छ। यसलाई अर्को अर्थमा भन्दा– नेपाली समाजको संरचनागत परिवर्तनका लागि यसले एउटा इँटा थप्ने काम गरिरहेको छ। तथापि व्यक्तिको स्वास्थ्य, सक्रिय जीवनशैली, सामाजिक नेतृत्व र सामाजिक अन्तरक्रियाले जीवन जिउन अलि बढी सहज बनाउन सक्छ। यसका साथै बदलिँदो पारिवारिक अन्तरक्रिया, सामाजिक सम्बन्ध र बुढेसकालको जीवनशैलीलाई बुझ्न र सहज बनाउन थप सामाजिक अनुसन्धानको पनि खाँचो देखिन्छ।

प्रकाशित : आश्विन २२, २०७४ १५:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT