मेडिकल शिक्षाको बेथितिमा बोलौं

डा अरुणा उप्रेती

काठमाडौँ — हामीमध्ये धेरै नेपालीलाई डा. गोविन्द केसी केका लागि लडिरहेका छन् भन्ने हेक्का नै छैन । हेक्का भइसक्दा बेर भइसक्नेछ ।

जब हाम्रा केटाकेटी गलत औषधी परेर छट्पटाउनेछन्, जब सुत्केरी बुहारी रगतको आहालमा पर्नेछिन्, जब मानसिक रूपमा बिरामी भाइलाई गलत औषधी परेर आत्महत्या गर्नेछन्, जब निमोनिया भएकी बहिनीलाई जन्डिसको औषधी दिइनेछ, त्यो बेला पशुपतिले बचाए त ठिकै छ, नत्र त नेपालीको भाग्य नै त्यस्तो भने हात बाँधेर नै बसिरहनु पर्नेछ।

त्यही बेला दलका नेताहरूचाहिँ पेरिस र लन्डन जानेछन् अनि आफ्नो स्वास्थ्य जाँच गराएर फकर्नेछन्। उनीहरूलाई पैसाको कुनै मतलब हुने छैन। रुकुमकी शोभा, भोजपुरकी रोमा, जनकपुरकी जानकी, ओखलढुङ्गाकी मंगला जब बिरामी भएर तड्पिरहन्छन्, नेताहरूलाई कुनै मतलब हुने छैन।

Yamaha

नेता र उनका परिवार समस्या पर्दा वीर अस्पतालसमेत जाँदैनन्, किनभने त्यहाँ अस्पताल त गरिबका लागिमात्र हो। राजनेताले वीर अस्पताललाई यसरी बिगारिदिएका छन् कि बिचरो बूढो वीर अस्पताल भएभरका पीडा बोकेर ठिङ्ग उभिएको छ। त्यहाँको फोहोर शौचालयको गन्ध सँुघ्न कर्णालीदेखि मेचीसम्मका बिरामी आउँछन्। नेतापुत्र/पुत्री बिरामी भएर जाने भए पो त वीर अस्पतालका शौचालय सफा गरिन्थ्यो। त्यसैले नेताजीहरूले नेपालमा जतिसुकै मेडिकल कलेज खुलुन्, जहाँ खुलुन्, किन टाउको दुखाउनु र? कलेजमा पूर्वाधार पुगेको छ कि छैन, पढाउने शिक्षक कस्ता छन् भनेर छलफल किन गरिरहनुपर्‍यो र?

नेपालका विभिन्न स्कुलको नाम विदेशी भयो भनेर वितण्डा मच्चाएर स्कुल बन्द गराउने विद्यार्थी संगठनहरू अहिले मेडिकल शिक्षाको दुर्गति हँुदा चुपचाप लागेर बसेका छन्। विद्यार्थी संगठनहरूले वास्तवमा विद्यार्थीहरूको प्रतिनिधित्व गरेकै छैनन्। तिनीहरू त भ्रातृ र भगिनी संगठन मात्र हुन्, दलका नेताहरूले स्वार्थ सिद्धि गर्ने। तर भ्रातृ संगठनहरूका विद्यार्थीले किन बिर्सेका होलान्, उनीहरूको परिवार बिरामी हँुदा उनीहरू मेदान्त र सिंगापुर जान सक्ने छैनन्। उनीहरू त यहींका सरकारी अस्पतालमा जँचाउनुपर्छ। यस्ता अस्पतालमा कमजोर पूर्वाधार भएका मेडिकल कलेजमा पैसाको आडमा पढेका डाक्टरको बाहुल्य हुने जोखिम देखिँदैछ।

गलत तरिकाले जथाभावी मेडिकल कलेज खोल्ने प्रवृत्तिको विरोध विद्यार्थी संगठनहरूले गर्नु पर्दैन?
मेडिकल शिक्षा र सुविधा सर्भसुलभ हुनुपर्छ, योग्यताको आधारमा डाक्टर र नर्स बन्न पाउनुपर्छ भनेर आवाज उठाउनु पर्दैन? विचार गर्नुस् त विद्यार्थीहरू, तपाईको बुबालाई दमको व्यथा लागेर कुनै अस्पतालमा उपचार गर्न लाँदा डाक्टरले गलत औषधी–उपचार गरिदियो भने के हुन्छ? त्यो बेला बल्ल विद्यार्थी नेतालाई थाहा हुन्छ, मूकदर्शक भएर बस्दा चुकाउनुपरेको मूल्य। त्यसैले मेडिकल शिक्षालाई गलत व्यापार बनाउन नदिन विद्यार्थी संगठनहरू अहिले नै बोल्ने हो कि?

Esewa Pasal

प्रकाशित : आश्विन २२, २०७४ १५:२४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

शिक्षक, दृष्टि र पार्टी

समय रेखा
अभि सुवेदी

काठमाडौँ — केही समयदेखि शिक्षकको विषय लिएर मलाई केही लेख्न मन लागेको छ । यस्तो लाग्नु स्वाभाविक हो, किनभने म आजसम्म पढाएरै आएको व्यक्ति हुँ ।

अर्को कर्म नगरी शिक्षण कर्ममात्र गर्ने मानिसले त्यही विषयमा लेख्नु भनेको एक वर्गीय उद्गार मात्र हो, अरू केही होइन भन्न पनि सकिएला।

म यो कुरालाई स्वीकार गर्छु, तर शिक्षकको विषय अहिलेमात्र छलफलका रूपमा उठेको होइन। शिक्षकका नियुक्ति, तिनका करारका प्रश्न, तिनलाई स्थायी गर्ने प्रक्रिया, अनि तिनका सुविधाका विषय यो लेखेको बेला पनि म अखबारहरूमा पढिरहेको छु। तर यी सबै छलफलमा शिक्षकलाई जसरी हेरे पनि अलिक तिनको मानमर्दन गर्नेगरी भाषा र छलफल प्रयोग गरिएका देखेको छु। यस्तो लाग्छ, मानौं यो देशमा शिक्षकले गरेका कर्म, तिनले पढाए बापत दुई–चार पैसा लिएका कुरा, तिनले उमेर पढाएरै बित्न लागेका पिरलो व्यक्त गरेका उद्गारलाई मंगल ग्रहबाट आएका मानिसले गरेका तर्क हुन् र ती अपरिचित विषय हुन् भन्ने जस्तोगरी हेरिँदैछन्।

यो देशमा शिक्षकले गरेको कर्म भनेको सोझो अर्थमा शिक्षा दिएको कथा हो। सबै किसिमका शिक्षकले गरेका संघर्षका कुरा नेपालीले बुझे। ती कति जेलनेल गए, कति सहिद भए।

जनआन्दोलन २०४६/०४७ मा टिचिङ अस्पतालका डाक्टरहरूले गरेको संघर्ष र मुक्तिबोधको शाश्वत तरङ्ग अहिले पनि चलिरहेको छ। शिक्षकहरूले महान काममात्रै गरेका हुँदैनन्। कतिले अलिक बेइमानी पनि गरे होलान्, कतिले छलेर पनि खाए होलान्, कतिले केही नगरी बसेको पनि तलबमा परिणत गरे होलान्। तर शिक्षकको हातमा समाजको निर्णायक शक्ति थोरै भएको हुनाले यी कुराको पछिल्तिर पनि तिनका नभई राज्य र समाज चलाउनेकै हात हुन्छन्। निकै वर्ष पहिले कवि मञ्जुल हिमाली क्षेत्रमा केही महिना काव्यिक खोजी र शान्तिको निम्ति यात्रा गर्दा एउटा स्कुलमा पसे, जहाँ उनले विद्यार्थीभन्दा दोब्बर भेडा भएको कक्षामा शिक्षकले मिहेनतले पढाइरहेको भेटे र कविता लेखे– स्कुल छ, कक्षामा विद्यार्थीभन्दा भेडाहरू धेरै छन्। यो अवस्था शिक्षकले होइन, समाज, राज्य र शिक्षाको विस्तारमा चासो नदिने राणाशासनको धङ्धङे नसकिएको सामन्ती समाजले बनाएको हो। शिक्षक त्यसको निम्ति दोषी हुन सक्तैन।

शिक्षकहरूलाई प्रयोग गरेर राजनीतिक दलहरूले आफ्ना चरित्र बनाएका हुन् र कतिपय अस्तित्वमा आएका हुन्। मैले प्रत्यक्ष देखेका अनि भोगेका केही उदाहरण छन्। तेह्रथुम, धनकुटा, चैनपुर, भोजपुरतिरका प्रसंग हुन्। मैले मेरो गृहजिल्ला तेह्रथुममा देखँें, शिक्षकले राजनीतिक दललाई बल थिए, मानिस दिए र कार्यक्रम गर्ने थलो थिए। पछि दलहरू बनिने र चुनाव जित्ने आधार तिनै भए। यो उदाहरण देशका अरू अनेक जिल्लामा पनि दोहोरियो। चितवन, मकवानपुर, झापातिरका उदाहरण त झन् वाचाल छन्। पछि तिनको माध्यमबाट बनिएको दलका नेताहरूले तिनै शिक्षकलाई उपेक्षा गरेर यी मानसिक रूपले असन्तुलित मनुवा हुन् र यी कर्ममा हारेकाले शिक्षक भएका हुन् भन्दै हिँंड्नु नैतिक बेइमानी हो। सम्झना छ, आमा बिमारी हुनुभएकोले तेह्रथुम साबलाको घर २०५८ मा जाँदा लसुने डाँडोमा एकजना शिक्षकले मलाई चिनेजस्तो गरेर सम्बोधन गरे। पछि ती दलका कार्यकर्ताले भनेजति पैसा दिन नसकेर प्रताडित हुँदा शिर गिरेको अवस्थामा थिए। ती एक्कासी बलिन्द्र धारा गरेर रून थाले। बोल्दा स्वर पनि रोएको निस्कियो। मलाई खपिनसक्नु भयो। म आपैंm असुरक्षित मानिसले गर्न सक्ने केही थिएन। तर आफूभित्र फर्कें अनि उज्यालो भएँ, किनभने म शिक्षक हुँ भन्ने चेतना उठ्यो, मेरो। मैले यो जिल्लाका नायकसँंग कुरा गर्छु भन्दा उनी डराए। हुँदैन भने। नभन्दै एकहुल युवा त्यहाँ आए। तिनले पनि मलाई मेरो नामले सम्बोधन गरे। ती शिक्षक पनि त्यहीं थिए। विस्तारै कुरा खुले। मैले भनेँ, ‘यसो किन गर्नुभएको हो, भाइ हो? शिक्षकको सम्मान नगर्नेले समाजमा परिवर्तन ल्याउन सक्छ? मेरा पनि विद्यार्थी छन् यो आन्दोलनभित्र, म कुरा गर्न सक्छु।’ ती युवकहरूले त्यहाँ अन्यायमा परेका ती शिक्षकको सम्मानसाथ कुरा सुने। ‘हामी यस्तो हुन दिंँदैनौं,’ तिनीहरूले भने। निकै वर्षपछि म्याङ्लुङ बजारमा ती शिक्षकले मलाई भेटे। शान्ति सम्झौता भैसकेको थियो। तिनले भने, ‘त्यो दिनको घटना अति राम्रो भयो। मलाई ती युवकहरूले पछि सम्मान गरे। मद्दत गरे। अहिले तीमध्ये एकजना मेरा मित्र छन्।’ प्रसन्न भएँ। सबैले यो लेख पढ्लान्।

शिक्षकहरूले यो देशको इतिहासमा जति परिवर्तन भए, ती सबैमा आफ्ना रहर वा विश्वास वा करले भए पनि साथ दिए। यो देशमा आएको परिवर्तनका ती कारक हुन्। देशमा खुलेआम भ्रष्टाचार भएका दशकौं बिते। राणाकालको त कुरै छोडौं। पञ्चायत कालमा पनि त्यही भयो। दलीय संस्कृतिको विकास भएपछि अझ अहिले त लुट नै चलेको अवस्था छ। केही दिनअघि हरिबहादुर थापाको एउटा शक्तिशाली र सामयिक किताब ‘रजगज : दल, दरबार, अदालत र अख्तियारभित्रका भ्रष्टाचार’ शीर्षक प्रकाशित भयो। यसमा यी सबैका सप्रमाण न्यारेटिभहरू छन्। यसको विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भनिन्, ‘फटाहा, बदमास यो मुलुकमा कोही छन् भने लुगा लाउन नपाउने, झुत्रो लुगा लगाउने, खान नपाउने, गरिब निमुखा होइनन्, हामी हौं, हामी। पढेलेखेका नै हौं। ...किनभने हामीलाई उपयुक्त लाग्यो, फाइदा हुने भयो भने ठिकै छ भन्छौं, विरोध गर्दैनौं (कान्तिपुर १४ भदौ, २०७४)। बीपी कोइरालाले सधैं तिनै ‘लुगा लाउन नपाउने, झुत्रो लुगा लगाउने, खान नपाउने, गरिब निमुखा’ मानिसको विषयमा बोले। शिक्षकहरू जसले साधारण परिश्रम गरेर यो देशमा शिक्षा दिने काम गरे, ती सम्मान भएका तर निमुखा मानिस थिए। अझै छन्। तर तिनको आत्मसम्मानको धारणा बलियो हुन्छ। त्यस्तै सम्मानले बाँचेका मानिसलाई १७ साल पुस १ गतेको राजाको कूले तेजोवध गराएको थियो भन्ने बीपीले २०३४ वैशाख १७ को दिन दिएको अदालतको बयानमा भनेको कुराको अहिले झन् अर्थ वाचाल भएको छ। बीपीले भने, ‘बडो व्यथित हृदयले उल्लेख गर्नुपर्छ कि त्यस दिन हजारौं निर्दोष नेपाली नागरिक न केवल बन्दी बनाइए, तिनीहरूलाई आतङ्कको वातावरणमा कागज गराइयो। त्यसरी तिनीहरूलाई आत्महीन तुल्याइयो। नेपालको इतिहासमा जनताको सम्मानलाई समाप्त पार्ने या नागरिकको तेजोवध गर्ने त्यत्रो ठूलो पैमानामा यस्तो कार्य पहिले कहिल्यै भएको थिएन।’

देशमा ब्रह्मलुट गरेर खाने संस्कृतिको रचना भइरहेका बेला, भूकम्प र बाढीले पीडित मानिस अदृश्य भइरहेका बेला त नैतिक विषयले केही हल्लाउनुपर्ने हो। यस्तो बेला सानोतिनो सुविधाको नाममा तलब लिएर पढाउने शिक्षकलाई यो देशको धन छलेर खाने भनी गरिने प्रचार म एक आजीवन शिक्षक भएको मानिसलाई अस्वीकार्य छ। मेरो निम्ति शिक्षक हुनु भनेको प्रेमी र स्वाभिमानी हुनु हो। मैले यो देशका सबै किसिमका मानिस, प्रधानमन्त्रीदेखि अरू शक्तिमा आसिनहरूलाई पनि पढाएँ। विद्यार्थी भन्ने बित्तिकै भित्रैदेखि स्नेह भएर आउँंछ। जीवनमा संकटको मनस्थितिले होइन, शिक्षाको भक्ति र विद्यार्थीको प्रेमले समाजमा आकर्षक ठानिएका मौका नलिएर शिक्षक भएँ। अहिले पनि छु। एउटा सम्झना छ, २०४६ सालतिर आन्दोलन भइरहेका बेला ब्रिटिस काउन्सिलका डाइरेक्टर पिटर मसले एकदिन मलाई भेटेर भने, ‘एकजना अमूक नामका पोहोरै बेलायतमा पढ्न गएका विद्यार्थीले अर्को टर्म पनि बस्न पाउंँm भनेका छन्। मैले केही व्यक्तिलाई सोधिसकेंँ। निर्णय गर्न सकिन। तिमी एकजना शिक्षक भएको हुनाले तिमीलाई सोध्छु, के सल्लाह दिन्छौ?’ मैले ती चिनिएका नेतासँग प्रत्यक्ष भेटेको थिइन र अरू नेतालाई जस्तो पढाएको पनि थिइन। उमेरले पनि मिलेन होला। राजदूत केदारभक्त माथेमाको निवास जापानमा एकछिन भेटेको बाहेक तिनलाई मैले अहिलेसम्म भेटेको पनि छैन। एक प्रधानमन्त्रीका कामसँंग अपरिचित हुने कुरै भएन। तर त्यो दिन मलाई शिक्षक भनेर पिटरले सोधेकोले म भावुक भएको थिएँ। नेपालका सबै दलका, जेल भोगेका प्रजातन्त्रका योद्धाहरू सबैलाई श्रद्धा गर्ने व्यक्ति भएकाले मलाई केही असजिलो भएन। मैले यी एकदम उपयुक्त व्यक्ति हुन् भनेँ। उनले सायद चिठी पठाए।

मलाई शिक्षक हुनुको र शिक्षकका रूपमा हेरिनुको महत्त्व जति ठूलो अरू केही छैन। म यो देशका सबै शिक्षकको सम्मान होस् भन्ने चाहन्छु। शिक्षकहरूले अब बुझेर आफ्नो मर्यादा राख्ने बेला आएको छ। त्यो हो, दलहरूका हाते ज्यावल नहुने। आफ्नो स्वाभिमानमा सम्झौता नगर्ने, अनि सधैंको मुक्त शाश्वत प्रेमले विद्यार्थीलाई शिक्षा दिइरहने। स्वाभिमानी, असल कर्म गर्ने र अविजेयका यात्रा त्यस्तै हुन्छन्।

प्रकाशित : आश्विन २२, २०७४ १५:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT