१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मेडिकल शिक्षाको बेथितिमा बोलौं

डा अरुणा उप्रेती

काठमाडौँ — हामीमध्ये धेरै नेपालीलाई डा. गोविन्द केसी केका लागि लडिरहेका छन् भन्ने हेक्का नै छैन । हेक्का भइसक्दा बेर भइसक्नेछ ।

मेडिकल शिक्षाको बेथितिमा बोलौं

जब हाम्रा केटाकेटी गलत औषधी परेर छट्पटाउनेछन्, जब सुत्केरी बुहारी रगतको आहालमा पर्नेछिन्, जब मानसिक रूपमा बिरामी भाइलाई गलत औषधी परेर आत्महत्या गर्नेछन्, जब निमोनिया भएकी बहिनीलाई जन्डिसको औषधी दिइनेछ, त्यो बेला पशुपतिले बचाए त ठिकै छ, नत्र त नेपालीको भाग्य नै त्यस्तो भने हात बाँधेर नै बसिरहनु पर्नेछ ।

त्यही बेला दलका नेताहरूचाहिँ पेरिस र लन्डन जानेछन् अनि आफ्नो स्वास्थ्य जाँच गराएर फकर्नेछन् । उनीहरूलाई पैसाको कुनै मतलब हुने छैन । रुकुमकी शोभा, भोजपुरकी रोमा, जनकपुरकी जानकी, ओखलढुङ्गाकी मंगला जब बिरामी भएर तड्पिरहन्छन्, नेताहरूलाई कुनै मतलब हुने छैन ।

नेता र उनका परिवार समस्या पर्दा वीर अस्पतालसमेत जाँदैनन्, किनभने त्यहाँ अस्पताल त गरिबका लागिमात्र हो । राजनेताले वीर अस्पताललाई यसरी बिगारिदिएका छन् कि बिचरो बूढो वीर अस्पताल भएभरका पीडा बोकेर ठिङ्ग उभिएको छ । त्यहाँको फोहोर शौचालयको गन्ध सँुघ्न कर्णालीदेखि मेचीसम्मका बिरामी आउँछन् । नेतापुत्र/पुत्री बिरामी भएर जाने भए पो त वीर अस्पतालका शौचालय सफा गरिन्थ्यो । त्यसैले नेताजीहरूले नेपालमा जतिसुकै मेडिकल कलेज खुलुन्, जहाँ खुलुन्, किन टाउको दुखाउनु र ? कलेजमा पूर्वाधार पुगेको छ कि छैन, पढाउने शिक्षक कस्ता छन् भनेर छलफल किन गरिरहनुपर्‍यो र ?

नेपालका विभिन्न स्कुलको नाम विदेशी भयो भनेर वितण्डा मच्चाएर स्कुल बन्द गराउने विद्यार्थी संगठनहरू अहिले मेडिकल शिक्षाको दुर्गति हँुदा चुपचाप लागेर बसेका छन् । विद्यार्थी संगठनहरूले वास्तवमा विद्यार्थीहरूको प्रतिनिधित्व गरेकै छैनन् । तिनीहरू त भ्रातृ र भगिनी संगठन मात्र हुन्, दलका नेताहरूले स्वार्थ सिद्धि गर्ने । तर भ्रातृ संगठनहरूका विद्यार्थीले किन बिर्सेका होलान्, उनीहरूको परिवार बिरामी हँुदा उनीहरू मेदान्त र सिंगापुर जान सक्ने छैनन् । उनीहरू त यहींका सरकारी अस्पतालमा जँचाउनुपर्छ । यस्ता अस्पतालमा कमजोर पूर्वाधार भएका मेडिकल कलेजमा पैसाको आडमा पढेका डाक्टरको बाहुल्य हुने जोखिम देखिँदैछ ।

गलत तरिकाले जथाभावी मेडिकल कलेज खोल्ने प्रवृत्तिको विरोध विद्यार्थी संगठनहरूले गर्नु पर्दैन ?
मेडिकल शिक्षा र सुविधा सर्भसुलभ हुनुपर्छ, योग्यताको आधारमा डाक्टर र नर्स बन्न पाउनुपर्छ भनेर आवाज उठाउनु पर्दैन ? विचार गर्नुस् त विद्यार्थीहरू, तपाईको बुबालाई दमको व्यथा लागेर कुनै अस्पतालमा उपचार गर्न लाँदा डाक्टरले गलत औषधी–उपचार गरिदियो भने के हुन्छ ? त्यो बेला बल्ल विद्यार्थी नेतालाई थाहा हुन्छ, मूकदर्शक भएर बस्दा चुकाउनुपरेको मूल्य । त्यसैले मेडिकल शिक्षालाई गलत व्यापार बनाउन नदिन विद्यार्थी संगठनहरू अहिले नै बोल्ने हो कि ?

प्रकाशित : आश्विन २२, २०७४ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?