असान्दर्भिक इच्छापत्र

विन्दा पाण्डे

काठमाडौँ — संसद्मा एउटा कानुन चर्चामा छ । १९१० मा जंगबहादुर राणाको पालामा जारी मुलुकी ऐनलाई २०२० को संशोधित ऐनले प्रतिस्थापन गरेको थियो ।

त्यसपछिका ५४ वर्षमा पनि उक्त ऐनमा पटक–पटक संशोधन भएको छ। र मुलुक दोस्रो जनआन्दोलनबाट गणतन्त्र स्थापनाको बाटोमा अगाडि बढेपछि मुलुकी ऐनलाई प्रतिस्थापन गर्न देवानी संहिताको विधेयक तयार गरी पहिलो संविधानसभामा पेस गरिएको थियो। त्यतिखेर प्रस्तुत विधेयकमाथि संशोधन त राखियो, तर छलफल गर्ने प्रक्रिया सुरु नहुँदै संविधानसभा विघटन भयो।

दोस्रो संविधानसभामा उक्त विधेयक फेरि पनि दर्ता भयो। २०७२ असोज ३ गते संविधान घोषणा भएसँगै उक्त विधेयकमाथिको छलफल प्रक्रिया अगाडि बढ्यो। सांसदहरूका थुप्रै संशोधन परे। यसमध्ये सुरुमा २०८० बाट सम्पत्तिमा इच्छापत्र लागू हुनेगरी ल्याइएको परिच्छेदमाथिको विवाद एउटा महत्त्वपूर्ण विषय बन्यो। राणाशासन कालदेखि सम्पत्तिमा समान अधिकारका लागि लडाइँ लड्दै आएको महिला आन्दोलन र त्यसको पक्षमा बोल्दै आएका राजनीतिक दलहरूकै प्रतिनिधि सांसदहरू आफैबीच यस विषयमा एकमत हुन सकेनन्। एउटै दलका सांसदको पनि फरक दृष्टिकोण प्रस्तुत भए। समितिमा भएको छलफलको आधारमा अन्तिम प्रस्ताव तयार गर्न उपसमिति बन्यो। ठूला दलका तर्फबाट उक्त उपसमितिमा महिला समावेश गरिएन। उपसमितिको तर्फबाट इच्छापत्र लागू हुने अवधिलाई २०८० बाट बढाएर कानुन लागू भएको मितिबाट १८ वर्षपछि लागू हुने प्रावधानसहितको प्रतिवेदन पूर्ण समितिमा पेस भयो। पहिलो पटक नयाँ संविधानले व्यवस्था गरेको समान अधिकारका पक्षमा भएका सांसदहरूले यस प्रावधानमाथि असहमति जाहेर गरे। तर बहुमत सदस्य उक्त प्रावधानको पक्षमा देखिएपछि समितिबाट पारित विधेयकको अन्तिम मस्यौदा संसद्को पूर्ण बैठकमा पेस गरियो।

Yamaha

अहिले संसद्बाट उक्त विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाउने सन्दर्भ चलेपछि असहमतिका आवाज फेरि पनि बुलन्द हुँदैछन्। संसद्मा भएका राजनीतिक दलका औपचारिक दस्तावेज र निर्वाचन घोषणापत्रहरू पल्टाइन थालिएका छन्। प्रमुख राजनीतिक दलको महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्वाचनको घोषणापत्रमा सम्पत्ति अधिकार सम्बन्धी लेखिएका विषयको विश्लेषण हुनथालेको छ। नीतिगत दस्तावेज र घोषणापत्रमा सबै ठूला राजनीतिक दलले सम्पत्तिमाथि छोराछोरीको समान हक स्थापित गर्ने कुरा नै समावेश गरेका छन्। इच्छापत्रको कतै चर्चा छैन।

सम्पत्ति कानुनको इतिहास
१९१० मा ल्याइएको मुलुकी ऐनमा व्यवस्था गरिएको थियो– बिहा नभई जन्मघरमा बसेको छोरी दाजुभाइको अंशबन्डाको समयमा ३५ वर्ष नाघेको रहेछ भने भाइ सरहको अंश पाउँछिन्। अंश लिएपछि विवाह भए अंश उनैको हुन्छ। तर आफूखुसी विवाह गरे अंश माइतीमा फर्कनेछ (अंशबन्डा १५) भनेर गरिएको व्यवस्था विभेदपूर्ण भयो भनेर २००४ सालदेखि नै महिलाले समानताको पक्षमा सडकमा आवाज उठाउन थालेका हुन्। पछि २००६ मा नेपाली कांग्रेस र त्यही साल नेपाल कम्युनिष्ट पार्टी गठन हँुदासमेत समानताको विषयमा ती पार्टी सहमत थिए। तर विडम्बना, २००७ देखि २०१७ सालको बीचमा पनि समानतामा आधारित कानुन बन्न सकेन।

२०२० मा संशोधनसहित ल्याइएको मुलुकी ऐन छोरीको अंशका विषयमा जंगबहादुरको पालाको जति पनि उदार हुन सकेन। र भनियो– पंैतीस वर्ष उमेर पुगेकी विवाह नभएकी छोरीले छोराले पाउने अंशको आधी अंश पाउँछे। अंश लिएपछि विवाह भयो वा आफै विवाह गरेर गई भने उसले पाएको अंशबाट ऐन बमोजिम विवाह खर्च पर सारी बांँकी ऐनले हक पुग्नेले पाउंँछ (दफा १६)।

यो विभेद विरुद्ध त्यसै बेलादेखि निरन्तर आवाज उठिरह्यो। ती आवाजको आंशिक रूपमा सुनुवाइ गर्दै २०३३ सालमा मुलुकी ऐनमा संशोधन गरी ३५ वर्षसम्म विवाह नगरी बसे छोरीले पनि बराबरी अंश पाउने, तर अंश पाइसकेपछि विवाह भए पुन: दाजुभाइमा फर्कने व्यवस्था गरियो, जुन १९१० को कानुनभन्दा पछौटे व्यवस्था थियो।

२०३५/३६ पछि नेपाली कम्युनिष्ट आन्दोलनको पाटोका रूपमा महिला आन्दोलन सशक्त हुँदै गयो। यसको एउटा ज्वलन्त माग सम्पत्तिमा समान हक थियो, जसमा कम्युनिष्ट पार्टीहरूको पूर्णत: सहमतिमात्र होइन, संलग्नता नै थियो। तर बहुदल आएपछि यस विषयलाई कानुनमा समावेश गर्ने काम सहज रूपमा गरिएन। २०५२ सालमा मिरा ढुंगानाले दायर गरेको मुद्दाउपर सर्वोच्च अदालतले आदेश दिएपछि मात्र मस्यौदा बनाउने काम भयो। फेरि पनि संसद्मा छलफल गर्नै वर्षौं लगाइयो र २०५८ मा मुलुकी ऐनको एघारौं संशोधन सम्पत्तिमा छोरीलाई न्याय दिने बारेमा एक कदम अगाडि बढ्दै– विवाहपूर्व छोरीको पनि पैतृक सम्पत्तिमा छोरासरह अधिकार हुने व्यवस्था गरियो। तर विवाहपछि उक्त अधिकार कटौती गर्दै पुन: दाजुभाइमा फर्काइने प्रावधान राखियो। यसरी प्रजातन्त्र र समाजवादको सपना बोकेका दलहरू सत्तामा आउँदासमेत विवाहपछि छोरीका लागि आफू हुर्के–खेलेको आँगनलाई पराइ नै कायम गराइयो। जन्मघर दु:खको सहारा हुनुपथ्र्याे। तर हाम्रो विभेदित कानुनका कारण छोरीलाई ‘सुखको पाहुना र दु:खको पराइ’ नै बनाउने काम गरियो।

पहिलो पटक पैतृक सम्पत्तिमा छोरा र छोरीको समान हक हुने कुरा २०६३ को अन्तरिम संविधानको महिलाको हक (धारा २०–४) मा उल्लेख गरियो। २०७२ असोज ३ गते घोषणा भएको संविधानमा पनि दलहरूको नीति र घोषणापत्र समेतका आधारमा समानता सम्बन्धी हकमा सबै सन्तानको बराबर हक हुनेछ (धारा १८–५) भन्ने प्रावधान राखियो। त्यसपछि लैंगिक हिंसा अन्त्य गर्ने सम्बन्धी ऐन, २०७२ ले २०६३ मा बनेको ऐनमा भएको ‘छोरीको विवाहपछि पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने’ व्यवस्था खारेज गर्दैै संविधान अनुसार छोरा र छोरीले पैतृक सम्पत्तिमा पाएको समानताको हक व्यवहारमा लागू हुने कानुनी व्यवस्था गर्‍यो। यसरी सात दशकको निरन्तर प्रयासपछि छोरा र छोरीले सम्पत्तिमा समान हक पाउने व्यवस्था केही समय अगाडिमात्र लागू भएको हो, जुन कुरा अझै व्यवहारमा सहज हुनपाएको छैन।

सम्पत्ति अधिकार र राजनीतिक दल
स्थापनाकालदेखि नै समानताको कुरा गर्दै आए पनि व्यवहारमा नदेखिएपछि २०६२ भदौको बैठकमा एमालेभित्रका महिलाले स्पष्ट रूपमा ‘जेन्डर एजेन्डा’को सूची पेस गरे। जसमाथि व्यापक छलफल गर्दै केन्द्रीय कमिटीबाट आठबुँदे जेन्डर एजेन्डा पारित भयो। जसमा पैतृक सम्पत्तिमा समान हकको विषयलाई महत्त्वका साथ समावेश गरिएको थियो। २०६२/६३ को आन्दोलनको ठिक अगाडि तत्कालका सात दलले पनि यस बुँदालाई साझा रूपमा अनुमोदन गरे। तत्कालीन अवस्थामा विद्रोहीका रूपमा रहेको माओवादी पार्टी पनि यस बुँदामा सहमतै थियो। २०६४ मा बनेको पहिलो संविधानसभामा इच्छापत्र सहितको देवानी संहिताको विधेयक पेस भयो। महिला सांसदहरूले संशोधन राखे। तर संशोधनमा छलफल हुन नपाउँदै संसद् विघटन भयो। त्यसयता सबै प्रमुख दलले आफ्नो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका छन्। २०७० को निर्वाचनमा पुन: घोषणापत्र जारी भए। संसद्मा इच्छापत्रसम्बन्धी प्रस्ताव आइसकेपछि सम्पन्न सबै दलका महाधिवेशनबाट पारित दस्तावेज र निर्वाचन घोषणापत्रमा फेरि पनि सम्पत्तिमाथि समान अधिकार लागू गर्ने कुरा नै उल्लेख छ। इच्छापत्र बारे चर्चासमेत गरिएको छैन। नत त्यसपछिका दिनमै दलगत रूपमा नीति निर्णय तहमा यो विषयमा औपचारिक छलफल नै गरिएको छ।

नेतृत्वको कुरा गर्ने हो भने सदनमा यस विषयमा विवाद देखिएपछि पार्टीको धारणा स्पष्ट पार्दै नेकपा एमालेका अध्यक्षले साउन २५ गते इलाममा इच्छापत्रको व्यवस्थामा जाने समय नभइसकेको सार्वजनिक रूपमै बताउनुभएको छ। सुनिए अनुसार, यस महिनाको सुरुमा प्रादेशिक र संघीय निर्वाचनबारे छलफल गर्न बसेको तीन दलका शीर्षनेताको बैठकमा एमाले अध्यक्षले विषयान्तर गर्दै
अहिले नै इच्छापत्रमा जाने समय नभइसकेको जनाउँदै विधेयकबाट उक्त प्रावधान हटाउन राखेको प्रस्तावमा तीनै दलका शीर्षनेता सहमत भएका छन्। उक्त सहमति अन्तिमसम्म कायम रहन गए नेपाली छोरीहरूले नयाँ संविधानलाई मनैदेखि अनुभूत गर्न पाउनेछन्।

प्रस्तावले उब्जाएका केही प्रश्न
पार्टी नीतिमा समावेश नभएको र संरचनामा छलफलै नभएको विषयमा दलको प्रतिनिधित्व गर्दै संसद्मा गएका केही सांसद इच्छापत्रबारे वकालत गर्नेमात्र होइन, पारित गर्न संसद्भित्र दबाब सिर्जना गर्दैछन् भन्ने चर्चा बाहिर आएको छ। यसले समानताका लागि क्रियाशील अभियन्ताहरूको मनमा गम्भीर प्रश्न खडा गरेको छ। यो कसको आड, प्रभाव र इच्छामा भइरहेको छ? अनि छोरीले बराबरी हैसियतमा अंश पाउने सुनिश्चितताको संविधान र कानुन बनेपछि मात्र इच्छापत्रमा जाने चेत कसरी जाग्यो? १६४ वर्षदेखि कानुन नै बनाएर छोराहरूले पैतृक सम्पत्तिमा एकछत्र राज गर्दा दिदी–बहिनीमाथि अन्याय भयो कि भन्ने चेत किन कसैको मन–मस्तिष्कमा आएन? अनि यो विषय ल्याउनु नै थियो भने अहिलेसम्म पार्टी संरचनाहरूमा छलफलको विषय किन बनाइएन? र अझ महत्त्वपूर्ण कुरा जीवनभर सामाजिक न्याय र समानताको पक्षमा लडेका महिला नै अन्तिम हस्ताक्षर गर्ने स्थानमा भएकै समयमा यो दबाब किन सिर्जना गरिँदैछ? यी प्रश्नको तर्कगत मात्र होइन, तथ्यसंगत उत्तरको समेत खोजी हुनु जरुरी छ।

नीतिगत छलफल र समयगत व्यवहार गर्दै जाने क्रममा तथ्य, तर्क, हाम्रो सामाजिक बनावट, पारिवारिक व्यवहार, उत्पादन प्रणाली र तत्कालीन परिवेश सबै कुराले इच्छापत्रमा जानुपर्ने समय आएको अनुभूत गरायो भने त्यतिखेरै यसबारे सोच्न सकिन्छ। तर आज संविधानले गरेको व्यवस्था व्यवहारको कसीमा परीक्षण हुनै नपाई रूपान्तरित संसद्बाट इच्छापत्रमा जाने कानुन बनाउने कुरा सान्दर्भिक छैन। र आन्दोलनको हरेक मोर्चामा साथ–साथ अगाडि बढेको महिला आन्दोलन र समानता अभियन्ताका लागि मान्य हुनै सक्दैन।

Esewa Pasal

प्रकाशित : आश्विन २२, २०७४ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मेडिकल शिक्षाको बेथितिमा बोलौं

डा अरुणा उप्रेती

काठमाडौँ — हामीमध्ये धेरै नेपालीलाई डा. गोविन्द केसी केका लागि लडिरहेका छन् भन्ने हेक्का नै छैन । हेक्का भइसक्दा बेर भइसक्नेछ ।

जब हाम्रा केटाकेटी गलत औषधी परेर छट्पटाउनेछन्, जब सुत्केरी बुहारी रगतको आहालमा पर्नेछिन्, जब मानसिक रूपमा बिरामी भाइलाई गलत औषधी परेर आत्महत्या गर्नेछन्, जब निमोनिया भएकी बहिनीलाई जन्डिसको औषधी दिइनेछ, त्यो बेला पशुपतिले बचाए त ठिकै छ, नत्र त नेपालीको भाग्य नै त्यस्तो भने हात बाँधेर नै बसिरहनु पर्नेछ।

त्यही बेला दलका नेताहरूचाहिँ पेरिस र लन्डन जानेछन् अनि आफ्नो स्वास्थ्य जाँच गराएर फकर्नेछन्। उनीहरूलाई पैसाको कुनै मतलब हुने छैन। रुकुमकी शोभा, भोजपुरकी रोमा, जनकपुरकी जानकी, ओखलढुङ्गाकी मंगला जब बिरामी भएर तड्पिरहन्छन्, नेताहरूलाई कुनै मतलब हुने छैन।

नेता र उनका परिवार समस्या पर्दा वीर अस्पतालसमेत जाँदैनन्, किनभने त्यहाँ अस्पताल त गरिबका लागिमात्र हो। राजनेताले वीर अस्पताललाई यसरी बिगारिदिएका छन् कि बिचरो बूढो वीर अस्पताल भएभरका पीडा बोकेर ठिङ्ग उभिएको छ। त्यहाँको फोहोर शौचालयको गन्ध सँुघ्न कर्णालीदेखि मेचीसम्मका बिरामी आउँछन्। नेतापुत्र/पुत्री बिरामी भएर जाने भए पो त वीर अस्पतालका शौचालय सफा गरिन्थ्यो। त्यसैले नेताजीहरूले नेपालमा जतिसुकै मेडिकल कलेज खुलुन्, जहाँ खुलुन्, किन टाउको दुखाउनु र? कलेजमा पूर्वाधार पुगेको छ कि छैन, पढाउने शिक्षक कस्ता छन् भनेर छलफल किन गरिरहनुपर्‍यो र?

नेपालका विभिन्न स्कुलको नाम विदेशी भयो भनेर वितण्डा मच्चाएर स्कुल बन्द गराउने विद्यार्थी संगठनहरू अहिले मेडिकल शिक्षाको दुर्गति हँुदा चुपचाप लागेर बसेका छन्। विद्यार्थी संगठनहरूले वास्तवमा विद्यार्थीहरूको प्रतिनिधित्व गरेकै छैनन्। तिनीहरू त भ्रातृ र भगिनी संगठन मात्र हुन्, दलका नेताहरूले स्वार्थ सिद्धि गर्ने। तर भ्रातृ संगठनहरूका विद्यार्थीले किन बिर्सेका होलान्, उनीहरूको परिवार बिरामी हँुदा उनीहरू मेदान्त र सिंगापुर जान सक्ने छैनन्। उनीहरू त यहींका सरकारी अस्पतालमा जँचाउनुपर्छ। यस्ता अस्पतालमा कमजोर पूर्वाधार भएका मेडिकल कलेजमा पैसाको आडमा पढेका डाक्टरको बाहुल्य हुने जोखिम देखिँदैछ।

गलत तरिकाले जथाभावी मेडिकल कलेज खोल्ने प्रवृत्तिको विरोध विद्यार्थी संगठनहरूले गर्नु पर्दैन?
मेडिकल शिक्षा र सुविधा सर्भसुलभ हुनुपर्छ, योग्यताको आधारमा डाक्टर र नर्स बन्न पाउनुपर्छ भनेर आवाज उठाउनु पर्दैन? विचार गर्नुस् त विद्यार्थीहरू, तपाईको बुबालाई दमको व्यथा लागेर कुनै अस्पतालमा उपचार गर्न लाँदा डाक्टरले गलत औषधी–उपचार गरिदियो भने के हुन्छ? त्यो बेला बल्ल विद्यार्थी नेतालाई थाहा हुन्छ, मूकदर्शक भएर बस्दा चुकाउनुपरेको मूल्य। त्यसैले मेडिकल शिक्षालाई गलत व्यापार बनाउन नदिन विद्यार्थी संगठनहरू अहिले नै बोल्ने हो कि?

प्रकाशित : आश्विन २२, २०७४ १५:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT