१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राष्ट्रवादको मूल्य र चुनाव

मेखराज परियार

काठमाडौँ — राष्ट्रवाद भनेको राष्ट्र या देशप्रतिको माया र सम्मान हो । राष्ट्रवादका निम्ति राष्ट्र चाहिन्छ र राष्ट्र या देशका निम्ति जनता र भूगोल अनिवार्य हुनैपर्छ ।

राष्ट्रवादको मूल्य र चुनाव

जनता भनेका नागरिक, अनागरिक, भिन्न जाति, वर्ग, लिङ्ग, क्षेत्र, धर्म, समुदाय इत्यादि हुन् । अनागरिकको अर्थ नागरिकता प्रमाणपत्र या राष्ट्रद्वारा जारी कुनै आधिकारिक परिचय पत्र प्राप्त गर्न नसकेका तर त्यही राष्ट्रको भूगोलभित्र पुस्तौं बसोबास गर्ने जनता भन्ने बुझ्नुपर्छ ।

हाम्रो देशको राष्ट्रियता के हो ? राष्ट्रवादी हुन के–के गर्नुपर्छ र के–केचाहिँ गर्नुहुन्न ? असली राष्ट्रवादी शक्ति कुन हो ? राष्ट्रियताको आधार के–के हुन् ? गैर–राष्ट्रवादी (छन् भने) को हो ? हामीले हाम्रो राष्ट्रवादको परिभाषा निर्धारण गर्नसकेका छौं ? के छिमेकको बोली–व्यवहारबाट निर्धारण गरिने राष्ट्रवाद सही हो ? हामी लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेसँगै यस्ता सवालमा स्पष्ट हुनु जरुरी छ ।

प्रदेश नं. २ मा असोज २ गतेका निम्ति स्थानीय तहको निर्वाचन तोकिएको छ र यो तेस्रो चरणको निर्वाचन हो । ६ वटा प्रदेशका स्थानीय तहमा दुई चरणमा जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । जहाँ नेकपा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो बन्नपुगे । निर्वाचन सम्पन्न भई परिणाम आए लगत्तैदेखि विभिन्न दलका चुनावी समीक्षा र आफ्नो दल कमजोर बन्नाका कारणहरू पत्ता लगाउने कार्यले आजपर्यन्त तरंगित छ, देश । अन्तरघातदेखि तालमेलमा घात गरेका, पार्टीका आन्तरिक गुट मौलाएको, टुटफुटका तितो अनुभव, पैसाको चलखेल आदि–इत्यादि । एमाले पहिलो पार्टी बन्नुमा उसले उठाएको राष्ट्रवादको मुद्दा निकै महत्त्वपूर्ण छ भन्ने सन्दर्भमा दुईमत नहोला । त्यसो भए उसले उठाएको राष्ट्रवाद सम्बन्धी मुद्दा के हो ? उसले उठाएको एक जात र क्षेत्रको स्वार्थपूर्ण राष्ट्रवाद के सही हो ?

विचारको संघर्ष समाप्त भएको वर्तमान अवस्थामा लोकतान्त्रिक शासन पद्धति र समाजवादी आर्थिक नीतिको विकल्प छैन । कृषिमा आधुनिकीकरण, कृषिजन्य र साना उद्येगहरूको विस्तार स्वरोजगारमा प्रबद्र्धन, राष्ट्रिय उत्पादन र आत्मनिर्भरता, आन्तरिक एकता जरुरी छ । स्वाभिमानी, स्वावलम्बी, आत्मनिर्भर, स्थिरता, स्थायित्व, शान्तिपूर्ण, आन्तरिक एकता मजबुत भएको राष्ट्रमात्रै राष्ट्रवादमा टिक्न सक्छ । आफ्नो राजनीतिक, आर्थिक लगायतका समस्या आफै समाधान गर्नसक्ने क्षमतायोग्य राष्ट्र निर्माण गरेमात्रै राष्ट्रवादको नारा औचित्यपूर्ण हुनपुग्छ । मधेसीलाई भारत, विहारी, उत्तर प्रदेशका विदेशी देख्ने, दलित, उत्पीडित वर्गलाई होच्याउने, आरक्षण लगयतका हक–अधिकारको विरोध गर्ने एकांकी, एक जात क्षेत्र, वर्ग र समुदायको मात्रै पृष्ठपोषण गर्ने साम्प्रदायिक राजनीति गलत हो । यस्ता घृषित राजनीतिलाई राष्ट्रवादको नाम दिँदैमा हाम्रो राष्ट्रियता मजबुत हुने नभई झन् कमजोर बन्न पुग्छ । अतिवाद, घृणा, आक्रोश, सेन्टिमेन्टको बलमा कुनै दलले एक चुनाव त जित्ला, तर त्यस्तो व्यवहार र उद्देश्य दीर्घकालीन भविष्यका निम्ति घातक सिद्ध हुनेछ । यो राष्ट्र सबै जात, जाति, लिङ्ग, क्षेत्र, धर्म, संस्कृति, वर्ग र समुदायको समान सम्पत्ति हो । यी सबैको एकता र समृद्धिद्वारा मात्रै हाम्रो राष्ट्रवाद सफल हुनसक्छ ।

विगतमा हाम्रो देशको शासक, राजा कुलको सत्ता स्वार्थबाट परिचालित थियो, हाम्रो परराष्ट्र नीति । राष्ट्रिय स्वार्थ र हितलाई समेत ती सामन्ती सत्ताको निरन्तरताका निम्ति कुण्ठित बनाइयो । तसर्थ हाम्रो राष्ट्रको आफ्नो मापदण्ड, मूल्य–मान्यता र राष्ट्रियताका क्षेत्र, सीमा विशेषतासमेत स्पष्ट पार्ने आवश्यकता ठानिएन । सधैं परनिर्भर अन्य मुलुकसँग आश्रित, दयाबाट मागेर विकास गर्ने सपना देख्ने मुलुकमा सीमित बनाइयो । आन्तरिक समानता, मतभेदको अन्त्य, साझा धारणाका निम्ति खास पहल हुनै सकेन । यस्तो गम्भीर विडम्बनाबाट गुज्रिएको राष्ट्रमा जनता भने राष्ट्रिय भावनाप्रति अत्यन्तै संवेदनशील देखिन्छन् । त्यसैको कारण जोकोही शक्तिले राष्ट्रवादको नारा उरालेर सत्ता स्वार्थ पूरा गर्दै आइरहेको यथार्थ हाम्रोसामु छ । यसले नत राष्ट्रिय हित सम्भव छ, न जनता बीचको आन्तरिक एकता नै ।

पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण त गरे, तर भिन्न जातजाति, भाषा, धर्म, संस्कृति, वर्ग, समुदायको एकता दमन र छलपूर्वक हुन दिइएन । त्यस कालयता राष्ट्रका भिन्न भावनाको एकीकरण गर्ने उत्तम समय यही लोकतन्त्र प्राप्तिपछिको समय हो । त्यसबेला टुटेका मन, भावना अब जोड्नैपर्छ । एक धर्म, एक देश, संस्कृति, एक भाषा, नीति अबको आधुनिक नेपालमा टिक्दैन । सबै जाति, वर्ग, क्षेत्र, समुदायको पहिचानको संरक्षण, सम्मान र सम्बद्र्धनको खाँचो छ । यसले मात्रै राष्ट्रवादको जगेर्ना गर्छ । आन्तरिक एकता सम्मानद्वारा प्राप्त हुन्छ, नकि घृणा र विद्वेषद्वारा ।
सबै जातजाति, वर्ग, लिङ्ग, क्षेत्र, समुदाय, प्रवृत्ति समान हुन् । जनता सार्वभौमसत्ता सम्पन्न राष्ट्रिय एकता, शासन, संविधान राष्ट्रिय स्वाधीनताका स्रोत र मालिक हुन् । यस्तो भन्दै गर्दा जनता बीचको समानता, न्याय, सम्मान र एकता झनै महत्त्वपूर्ण सवाल हो । जनतालाई जोड्न सम्पन्न, सक्षम बनाउने कुरा राष्ट्रवाद हो । शिक्षित, सभ्य, मानवता, न्याय, विधि, विवेकी जनता भएमात्रै राष्ट्रवाद जीवित रहन सम्भव छ ।

समग्रमा मधेस केन्द्रित दल या राजपा, संघीय फोरम, लोकतान्त्रिक फोरममात्रै मधेस होइन । आज पनि मधेसमा एमाले लगायतका राष्ट्रिय राजनीतिक दलका नेता, कार्यकर्ता, समर्थक छन् । आस्था र विचारको राजनीति जहाँतहीं छ । स्वतन्त्र नागरिकदेखि आन्तरिक सामन्तवादको सिकार बन्न पुगेका भोका, नाङ्गा, गरिब, निमुखा जनता छन् । जमिनदारी, दहेज, महिला, दलित, पिछडा वर्गमाथि गरिने दमन, विभेद, अन्याय, अत्याचार छँदैछ । पुस्तौंदेखि बसोबास गर्दै आइरहेका तर नागरिकता प्रमाणपत्र प्राप्त गर्न नसकेका लाखौं जनता छन्, मधेसमा । त्यही कारणले वैदेशिक रोजागारीमा जानबाट समेत बञ्चित बन्नपुगेको विडम्बना छ । यसप्रति स्थानीय तहको मतपरिणाम बमोजिम देशकै ठूलो दल एमाले र यस दलका अध्यक्ष केपी ओलीले गम्भीर ध्यान दिन आवश्यक छ ।

द्वन्द्वरत मुलुक नेपालको शान्ति प्रक्रियामा समाहित गर्न र द्वन्द्वको अन्त्यका निम्ति प्रमुख भूमिका निर्वाह गर्ने दल नेपाली कांग्रेस र नेकपा माओवादी (हालको केन्द्र) हुन् । संक्रमणकालको अन्त्य, लोकतान्त्रिक गणतन्त्र लगायतका आधुनिक नेपाल निर्माणको मात्रा, जनउपलब्धि र जनाधारको प्रक्रियागत विकासमा यी दुई दलको ऐतिहासिक भूमिका छ । एमाले लगायतका दलको सहायक र सहयोगी भूमिका रहँदै आएको हो । तत्कालीन ओली नेतृत्वको सरकारले भारतीय नाकाबन्दीको सामना गरेको घटना बाहेक अन्य विशाल राष्ट्रवादी छवि एमालेसँग छैन । सबै क्षेत्र र पक्षको एकता र सम्मानबाट मात्रै हाम्रो देशको राष्ट्रवाद जीवन्त एवं चीरस्थायी बन्न सक्छ ।

प्रकाशित : आश्विन २०, २०७४ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?