कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

विज्ञानको कसीमा श्राद्ध कर्म

भेषराज पोखरेल

काठमाडौं — सोह्र श्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्म सूर्य कन्या राशिमा भएको अवस्थामा आफ्ना समस्त पितृको श्राद्ध गर्नाले उनीहरू मुक्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

विज्ञानको कसीमा श्राद्ध कर्म

श्राद्ध गर्दा पितृको कल्याणमात्र हुँदैन, श्राद्ध गर्ने सन्तानलाई पनि आशीर्वादबाट कल्याण गर्छन्, कार्य सफल हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ भन्ने पुराणहरूमा वर्णन गरिएको छ । श्राद्ध अर्थात् पितृयज्ञ वेदसम्मत छ । यो विज्ञानसम्मत पनि छ ।

मृत्यु तिथिमा गरिने एकोदिष्ट श्राद्ध हो । अर्को शरद ऋतु, आश्विन महिनाको पितृपक्षमा गरिने पार्वण श्राद्ध वा महालय श्राद्ध हो । एकोदिष्ट श्राद्धमा मुख्यत: तर्पण, पिण्डदान सम्बन्धित मृतात्मालाई मात्र गरिन्छ । पार्वण श्राद्धमा भने आफ्ना दिवंगत समस्त पितृलाई तर्पण र पिण्डान गरिन्छ । त्यसैले पार्वण श्राद्धको विशेष महत्त्व छ । समस्त पितृको तर्पण र पिण्डदानद्वारा उद्धार गरिने हुनाले यसलाई ठूलो पुण्यकार्य मानिएको छ । हाम्रो धर्मसंस्कार अनुसार पितृ शक्ति पनि ईश्वरीय शक्तिको एउटा अंश हो । त्यसैले पितृ देवो भव: भनिएको हो । पितृकार्य यज्ञ त हो तर अरू देवयज्ञ र पितृयज्ञमा भिन्नता छ । देवत्व शक्ति अलि व्यापक हुन्छ, पितृशक्ति अलि सीमित हुन्छ र आफ्ना सन्तानसम्म मात्रै त्यो शक्तिको अन्तरक्रिया हुन्छ । त्यसैले देवशक्तिको विधिअनुसार पूजा गर्न सकिएन भने मनले सम्झे, भजन गरे पनि भगवत् शक्तिको नजिक पुग्न सकिन्छ । पितृलाई भने त्यसो गरेर मात्र पुग्दैन, जल तर्पण र पिण्ड दान गर्नैपर्छ ।

पितृसम्बन्धी वैज्ञानिक पक्ष होलान् र ? प्रश्न उठ्नु स्वाभाविकै हो । मान्छेलाई जन्मसँगै प्रकृतिका अनेक रूप र स्वरूपसँग अनेक अन्तरक्रिया गरिरहनुपर्छ । समाजसँग पनि अनेक कार्यव्यवहार गरिरहनुपर्छ । कार्यव्यवहारका क्रममा कहिले खुसी हुन्छ, कहिले रिसाउँछ । केही प्राप्ति गरेर मनलाई प्रफुल्लित बनाउने र गुमाउँदा मन दुखित बन्ने क्रम चलिरहन्छ । अनेक कार्यव्यवहार गर्ने, सोच्ने, योजना बनाउने क्रम जीवनभर चलिरहन्छ । जब मान्छे मर्छ, जिउँदो छँदा सोचिएका, गरिएका कामले मनमा दिने सकारात्मक, नकारात्मक प्रभाव मान्छेको दैनिकीको प्रभाव सपनामा परेजस्तै मृत्युपछिको आत्मासँग सँगै जान्छन् र तिनै कार्यप्रभाव अनुसारको सूक्ष्म शरीर बन्न जान्छ । यो कुरा गीताको चौधौं अध्यायमा यसरी भनिएको छ– रजसी प्रलयं गतत्वा कर्मसंगिषु जायते । तथा प्रलीनस्तमसि मूढयोनिषु जायते ।। अर्थात् मृत्युपछि मान्छेको सूक्ष्म शरीरसहितको आत्मा मुक्त अवस्थामा पुग्छ, जब ऊ जिउँदो छँदा आफूलाई मानव र प्रकृतिसँग उच्च व्यवहार गरेर शुद्ध र मुक्त बनेको छ ।

मध्यम खालको अर्थात् रजो गुणमा रमाएका मनिस मरेपछि सकाम कर्मयुक्त शरीर प्राप्त गर्छ । प्रकृति र मानव तथा समस्त प्राणीप्रति दुव्र्यवहार, लोभ, लालच, मद, मात्सर्यमा भुलेको छ अर्थात् तामसी व्यवहार गरेको छ भने त्यस्तो व्यक्ति मरेपछि मूढ अवस्थामा भड्किरहन्छ । त्यस्तो मूढ विचारसहितको आत्मा अर्थात् आत्मिक अशुद्धशक्ति जिउँदो छँदा लामो समय माया र भरोसा गरेका आफ्ना सन्तानको नजिक आइरहन्छ । यो स्वाभाविक छ, विज्ञानसम्मत छ । मान्छेले दिनभरि जस्तो काम गर्छ, पहिलेदेखि जस्तो चाहना राखेको छ, त्यस्तै सपना देख्छ भने मृत्युपछि त्यस्तै हुनु स्वाभाविकै भयो । भड्किरहेको आत्मिक अशुद्धि र अतृप्त आत्मालाई वैदिक विधिअनुसार गरिने तर्पण, पिण्डदानद्वारा तृप्त पार्न सकिने वैदिक मान्यता हो ।

मान्छे मरे, शरीर डढाइयो, पानी र अन्नका डल्ला पल्टाएर कसरी पाउने, कसरी अघाउने ? पृथ्वीका यावत् प्राणीमध्ये मान्छेको मानसशक्ति अत्यन्तै शक्तिशाली र क्रियाशील हुन्छ । मान्छेले आफ्नो मनलाई एकत्रित गरी ध्यान गर्दा अपार शक्ति प्राप्त हुन्छ भन्ने कुरा प्राचीन वा आधुनिक ऋषिमुनी र महात्माहरूले प्रमाणित गरेका छन् । ओमकारको जप, ध्यानमा अपार शक्ति हुन्छ भन्ने कुरा पश्चिमा वैज्ञानिकहरूले पनि स्वीकारिसकेका छन् । पाराशक्ति (आत्मिक शक्ति) विज्ञानको खोजको विषय नै हो । असाध्य बिरामीलाई टाढाका शुभचिन्तकले सन्चो होस् भनेर कामना गरे पनि उसलाई आराम भएको कुरा पश्चिमा अध्ययनले समेत पुष्टि गरेको छ । आधुनिक वैकल्पिक उपचार पद्धति ‘रेकी’ पनि मन र प्राकृतिक शक्तिसँगको अन्तरक्रिया नै हो । यी सबै कुराले पितृशक्ति पनि मनशक्तिको एउटा रूप नै हो भन्ने देखाउँछ भने शुद्ध मनले पवित्र सामग्री जांै, तिल, कुशको जल, सेता, पहेंँला फूल, गाईको दूध, तामाका भाँडा, खीर आदि प्रकृतिका विशिष्ट गुणयुक्त सामग्री प्रयोग गर्दा त्यही भड्किरहेको पाराशक्तिलाई एकत्रित गर्न सक्छ । यी कुराले सन्तुष्टि पनि दिन्छ ।

केही वर्ष पहिले युरोपका वैज्ञानिकहरूले ‘हिग्सबोसोन’ (गड पार्टिकल– ईश्वरीय कण) पत्ता लगाए । जुन कण अदृश्य छ, जसले कुनै पनि वस्तुलाई अस्तित्वपूर्ण बनाउँछ र यसैका कारण वस्तुले तौल प्राप्त गर्छ । यो ईश्वरीय कण अस्थिर पनि छ । यसले पनि भड्किरहेको अति सूक्ष्म शरीर प्राप्त आत्मशक्ति हुन्छ भन्ने पनि प्रमाणित गर्छ । तिल र कुशसहित जलले तर्पण गर्दा ‘तृपतामिदं तिलोदकं तस्मै स्वधा’ भनेर दायाँ हातको बूढी अंगुठाबाट जल दिइन्छ । त्यस्तै पिण्ड ‘यस पिण्डो अमृतस्वरूपो अक्षयतृप्ति हेतोस्ते स्वधा’ भनेर दिइन्छ ।

पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ । अघिल्लो दिनदेखि नै सात्विक भोजन र ब्रह्मचर्य आवश्यक पर्छ । अनेकतिर भड्किरहेको मन, अशुद्ध शरीर र वचन सूक्ष्म शक्तिसँग जोडिन सक्दैन । अशुद्ध अवस्थाले अशुद्धताका कारण भड्किरहेको आत्मालाई सकारात्मकतातिर लैजान सकिन्न । सकारात्मक अवस्थामा छ भने झन् विकृत हुनसक्छ ।

ब्रह्माण्डमा विकृत आत्मशक्ति रह्यो भने सबैलाई असर गर्छ । त्यसलाई शुद्ध बनाउन सबैले प्रयत्न गर्नुपर्छ । त्यसैले आफ्ना मातृपितृ मात्र नभएर पृथ्वीभरका सबै पितृको कल्याणका लागि ‘अतीतकुलकोटिनाम् सप्तद्वीप निवासिनाम् आब्रह्म भुवनांल्लोकानिदमस्तु तिलोदकम्’ भनिएको छ । अर्थात् धेरै पहिलेदेखि करोडौं कुलका जो सातै द्वीपमा बस्थे, तिनीहरूलाई पनि मैले तिलसहितको जल अर्पण गरेको छु भनेर जल अर्पण गरिन्छ । समस्त मृतात्मा अर्थात् पितृशक्ति यो ब्रह्माण्डको देवत्व शक्तिको एउटा अंश भएको वेदले बताएको छ । महर्षि दयानन्द सरस्वतीले आफ्नो सत्यार्थ प्रकाशमा श्राद्ध गर्नु आवश्यक छैन, देवशक्ति मात्र पुज्य हुन्छ भनेका छन् ।

अन्य केही सन्त, महन्त, धर्मगुरुले पनि त्यसमा बल दिएका छन् । उनीहरूले त्यसो भने पनि वेदअनुसार शक्ति सन्तुलन खल्बलिन्छ । वेदले पितृशक्तिलाई बेवास्ता गर्दा ब्रह्माण्डमा असन्तुलन आउँछ भनेको छ । प्रकृतिमा देवशक्ति मात्र नभएर पितृशक्तिका साथै अन्य शक्तिपुञ्ज पनि छन्, ती सबै शक्तिको सन्तुलनबाट मात्र प्रकृति ससत रूपमा अघि बढ्छ भनेको छ । होमसहित अन्य यज्ञ गर्दा सबैलाई समान रूपमा आह्वान तथा पुजन गर्नु पनि यसको प्रमाण हो । तसर्थ पितृशक्तिलाई पनि तृप्त, स्थिर र प्रफुल्लित रूपमा राखे सबैको कल्याण हुन्छ भन्ने वैदिक मान्यता छ । अतृप्त र विकृत शक्ति ब्रह्माण्डमा रहँदा सबैलाई सधैं दु:ख दिइरहन्छ । यो विज्ञानसम्मत कुरा नै हो ।

प्रकाशित : आश्विन २०, २०७४ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?