२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

ब्रिक्समार्फत प्रकट चिनियाँ प्रभाव

बेइजिङ डायरी
चेतनाथ आचार्य

काठमाडौँ — यही भदौ १८ गते चीनको दक्षिणपूर्वमा पर्ने फुचियान प्रान्तको स्यामनमा सुरु भएको नवौँ ब्रिक्स शिखर सम्मेलन भदौ २० गते सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले ब्रिक्स खुलस्त, पारदर्शी र साझा हितयुक्त हुनुका साथै कुनै तेस्रो पक्ष लक्षित नभएको बताए ।

ब्रिक्समार्फत प्रकट चिनियाँ प्रभाव

घुमाउरो अर्थमा उनले ब्रिक्सलाई सबै विकासोन्मुख राष्ट्रहरूको साझा संस्था बनाउन चाहेको संकेत गरेका छन् । एक दशकअघि स्थापित ब्रिक्स अहिले विश्वको महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित भएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका ब्राजिल, रूस, भारत र चीनका विदेशमन्त्रीहरूले सन् २००६ सेप्टेम्बरमा न्युयोर्कमा एउटा ‘साइड लाइन’ बैठक गरेका थिए, जसले चारवटा मुलुकको एउटा समूह बनाउने निर्णय गर्‍यो । त्यसमा चार वर्षपछि दक्षिण अफ्रिका पनि प्रवेश गर्‍यो । २००८ मा अमेरिका र युरोपमा आर्थिक मन्दी आउनुपूर्व विकसित देशहरूले विकासोन्मुख मुलुकलाई हेय भावले हेर्थे । अमेरिका, युरोप, अष्ट्रेलिया, जापान लगायतका मुलुकहरूले भर्खर विकासको पथमा हिँड्दै गरेका अन्य मुलुकलाई गरेको भेदभावपूर्व व्यवहार र आर्थिक दादागिरीकै कारण ब्रिक्सको जन्म भएको थियो ।

सन् २०१५ को तथ्याङ्क अनुसार ब्रिक्स मुलुकहरूको जनसंख्या ३ अर्ब ६० करोड छ, जो विश्व जनसंख्याको ४० प्रतिशत हो । त्यसैगरी यी पाँच मुलुकहरूको एकीकृत कुल गार्हस्थ उत्पादन १६.६ ट्रिलियन डलर छ । यो विश्वको २२ प्रतिशत हिस्सा हो । चीनको पहलमा ब्रिक्स विकास बैंक स्थापना भएको तीन वर्ष भयो । अहिले यसको नाम फेरेर न्यु डेभलपमेन्ट बैंक राखिएको छ । चीनको साङहाईमा मुख्यालय रहेको यो बैंकमा ब्रिक्स आबद्ध पाँच मुलुकले १० अर्ब डलरका दरले ५० अर्ब डलरको पुँजी व्यवस्था गर्ने सहमति भएको छ । यो बैंकलाई विश्व बैंकको प्रतिस्पर्धी मानिन्छ ।
ब्रिक्सको फैलँदो आर्थिक प्रभाव र महत्त्व बुझेर यसमा प्रवेश गर्नका लागि अफगानिस्तान, अर्जेन्टिना, इन्डोनेसिया, मेक्सिको र टर्की व्यग्र प्रतीक्षामा छन् । एक दशक पूरा गरेर अगाडि बढ्ने क्रममा स्यामन शिखर सम्मेलनमा आइपुगेको ब्रिक्सले थुप्रै प्रगति हासिल गरेको छ । ब्रिक्सकै इतिहासमा स्यामन शिखर सम्मेलन सबभन्दा ठूलो मञ्च बनेको छ, जहाँ व्यापार तथा लगानी, बैङ्किङ सहयोग तथा विकास, आर्थिक अन्तसञ्जाल निर्माण लगायतका विषयमा गहन छलफल भयो । स्यामन सम्मेलनमा ब्रिक्स मुलुक बाहेक विभिन्न विकासोन्मुख मुलुकका आमन्त्रित नेता, संयुक्त राष्ट्र संघ, नयाँ विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संगठनका पदाधिकारी आदि गरी २५ मुलुकका एक हजार दुई सयजना सहभागी थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले ब्रिक्स सहयोगी प्रणाली गहन रूपमा विकास भएको दस वर्षमा चीनको सुधारलाई पनि गहन बनाइएको बताएका छन् । विगत दस वर्षमा चीनको आर्थिक मात्रा २३९ प्रतिशत बढेर विश्वको दोस्रो आर्थिक समूह बनेको तथ्यले चीनको सुधारलाई गहन बनाइएको पुष्टि भएको र त्यसलाई अझै गहन बनाइने उनले औँल्याए । चीनले आयोजित हरेक अन्तर्राष्ट्रिय सभा, सम्मेलनमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को अवधारणालाई प्रवेश गराउने गर्छ । ब्रिक्स सम्मेलनमा उठाइएका सबैजसो एजेन्डाहरू बीआरआईकै सेरोफेरोमा छन् । पछिल्लो समय चीनले विदेशमा गर्ने लगानी, व्यापार, वित्तीय सहयोग, प्रविधि हस्तान्तरण, आपसी आदान–प्रदान, उद्योग सञ्चालन लगायतका सबै क्षेत्रमा बीआरआईमार्फत जाने एकद्वार नीति अवलम्बन गरेको छ । तसर्थ स्यामन सम्मेलनमा बीआरआईको नाम नलिई चीनले ती एजेन्डाहरू सदस्य मुलुकसामु पेस गरेको छ । यसो हुनुको मुख्य कारण भारत अझसम्म पनि बीआरआईमा प्रवेश नगर्नु हो । स्यामन सम्मेलनका एजेन्डाले भारतलाई अन्ततोगत्वा बीआरआईमा आउन प्रेरित गर्ने कतिपयको बुझाइ छ । यस अघि चीनको अग्रसरतामा खुलेको र बीआरआईका उद्देश्यलाई पूरा गर्ने साधन बनेको एसियाली पूर्वाधार लगानी बैंकमा भारत संस्थापक सदस्य बनिसकेको छ ।

विश्वमा चीनको बढ्दो आर्थिक प्रभाव र चिनियाँ नरम शक्तिको फैलावट पश्चिमा जगत विशेषगरी अमेरिकाको टाउको दुखाइ बनेको छ । चीनले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमार्फत आफूलाई अझै सशक्त रूपमा उभ्याउन थालेको छ । बुद्धिजीवीहरूले चीनका यस्ता गतिविधिलाई आर्थिक कूटनीतिको नाम दिने गरेका छन् । पछिल्लो समय चीनले एसिया प्यासिफिक इकोनमिक कोअपरेसन (एपेक), जी–२०, साङहाई कोअपरेसन, बोआवो, ब्रिक्सजस्ता मञ्चलाई प्रयोग गर्दै अर्थ–कूटनीतिमार्फत आफ्नो ‘सफ्ट पावर’ विस्तार गर्दैछ ।

चीनको विश्वमा फैलँदो आर्थिक विकास अमेरिकाका लागि रुचिकर छैन । तसर्थ पछिल्लो समय चीन र अमेरिकाबीच थुप्रै विवादहरू बढेका छन् । अमेरिकाले फिलिपिन्सलाई उक्साएर विवाद सिर्जना गरेको दक्षिण चीन सागरको विवादलाई चीन र फिलिपिन्सबीच सम्पन्न आर्थिक कूटनीतिले समाधान गरेको छ । चीन र फिलिपिन्सबीच सम्बन्ध सुध्रिएपछि अमेरिका चीनसँग थप चिढिएको छ । अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि जलवायु परिवर्तनमा पेरिस सम्मेलनले पारित गरेको घोषणाबाट अमेरिका अलग बनेको छ । पेरिस घोषणा विशेषगरी चीनको पहलबाट आएको थियो । अमेरिकाले दक्षिण कोरियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली ‘थाड’ स्थापना गरेको छ । थाड आफू लक्षित रहेको भन्दै चीनले बारम्बार विरोध गर्दै त्यसलाई हटाउन दबाब दिँदै आएको छ । अमेरिकाले भने उत्तर कोरियालाई चीनले संरक्षण गरेको आरोप लगाउँदै आएको छ । अमेरिका विश्वमा सैनिक शक्ति र हतियारबाट आफ्नो हैकम कायम राख्न चाहन्छ भने चीन आर्थिक गतिविधिबाट विश्वमा प्रभाव फैलाउँदैछ ।

भारत र चीनबीच दोक्लाम क्षेत्रमा देखिएको तनावपूर्ण विवाद दुई महिनापछि साम्य भएको छ । उक्त विवाद यही ब्रिक्स सम्मेलनले सुल्झाएको देखिन्छ । ब्रिक्सका मुख्य हिस्सेदार चीन र भारत दुवैलाई यो सम्मेलन अगाडि दोक्लाम द्वन्द्वलाई सुरक्षित अवतरण गर्न अति आवश्यक थियो । विश्वको ध्यान तानिरहेको दोक्लाम विषय तत्कालका लागि समाधान भएपछि विश्वले चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हात मिलाएको दृश्य निकै रुचिपूर्वक हेरेको छ । विवाद कायम रहेको अवस्थामा ब्रिक्स सम्मेलन भएको भए यसका एजेन्डालाई दुई देशको विवादको विषयले ओझेलमा पार्ने थियो ।

चिनियाँ आर्थिक नीतिलाई विश्वका अधिकांश विकासोन्मुख मुलुकहरूले रुचाएका छन् । विकसित मुलुकहरू पनि बाध्य भएर चिनियाँ आर्थिक गतिविधिमा समाहित हुनथालेका छन् । चीनमा थुप्रिएको पुँजी र विकसित प्रविधि अब विकासोन्मुख मुलुकका लागिमात्र नभई विकसित मुलुकलाई पनि अपरिहार्य बन्न थालेको छ । चिनियाँ उत्पादनले विश्व बजार पिटेको छ । अमेरिका र भारतले चीनसँग जतिसुकै मतभेद राखे पनि आयात–निर्यातमा चीनसँग सहकार्य गर्नुपर्ने बाध्यता छ । चीनले पनि आफ्ना उत्पादन र लगानीलाई ठूलो बजार रहेको भारततिर केन्द्रित गर्न थालेको छ । यस्तो अवस्थामा ब्रिक्सको विकास र प्रगति नै चीनको आर्थिक प्रभावलाई विश्वमा फैलाउने एक महत्त्वपूर्ण साधन बनेको छ ।

नवौँ ब्रिक्स सम्मेलनले ५० करोड चिनियाँ युआन बराबर ब्रिक्स आर्थिक तथा प्राविधिक सहयोग आदान–प्रदान योजना खडा गरेको छ । साथै ब्रिक्सले स्थापना गरेको नयाँ विकास बैंकलाई ४० लाख अमेरिकी डलर बराबर तयारी कोष उपलब्ध गराउने पनि निर्णय गरेको छ । यसो गर्नुको उद्देश्य ब्रिक्समा चीनको वर्चस्व स्थापित गराएर विश्वमा चिनियाँ दबाब बढाउने काम गर्न खोजिएको हो भनी शिखर सम्मेलनको समापनपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा केही पत्रकारहरूले प्रश्न गरेका छन् । यसको जवाफमा ब्रिक्स मुलुक बीचको सहयोगले साझा हितको संरक्षण गरेर साझा अपेक्षालाई प्रतिविम्बित गरिएकाले व्यापक विकासोन्मुख मुलुकको साझा आवाजलाई उठाइएको चीनले बताएको छ । नवस्थापित बजार मुलुक तथा विकासोन्मुख मुलुकको प्रतिनिधित्व गरेका ब्रिक्स मुलुकका पाँच सदस्यले विश्वको आर्थिक सञ्चालन तथा सुधारलाई अघि बढाउँदा शृङ्खलाबद्ध उपलब्धि हासिल भएका छन् र ती कदमहरू विश्वको शान्ति र स्थिरता, विश्व अर्थतन्त्रको स्थिर विकास गर्नका लागि हितकर भएको प्रमाणित भएको चीनले स्पष्ट पारेको छ ।
आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली सेवा, बेइजिङमा कार्यरत छन् ।
[email protected]

प्रकाशित : आश्विन २०, २०७४ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?