कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

परम्परा तोडेर भएको जन्म

सन्दर्भ : बीपी जयन्ती
जगत नेपाल

काठमाडौँ — सवा सय वर्षअघिको कुरा हो । चन्द्रशमशेर शासन सत्तामा थिए । कसैले राष्ट्रको कुरा गर्‍यो भने उनी भन्ने गर्थे ‘ए राष्ट्र,
त्यो त मै हु।’

परम्परा तोडेर भएको जन्म

चन्द्रशमशेरसँग राम्रो सम्बन्ध भएका कारण सिन्धुलीबाट विसं १९५० को दशकमै विराटनगर झरेका कृष्णप्रसाद कोइरालाले व्यापारमा सफलता चुमिरहेका थिए । त्यो समय तराई झर्नुलाई कालको मुखमा जानुसरह मानिन्थ्यो । बीसौं शताब्दीको अन्त्यसम्म पनि कालो पानीको आतंक यस्तो थियो कि सरकारी कर्मचारीहरू थर्थर कापेर भन्ने गर्थे, ‘जेसुकै बेहोर्नुपरोस्, मोरङ त गइँदैन ।’ मोरङको एक थोपा पानीको मुखभित्र नपार्ने अठोटका साथ बडाहाकिमहरू कलकत्ताबाट सोडा वाटर झिकाएर खान्थे ।

अहिलेको विराटनगरलाई गोग्राह नामले चिनिन्थ्यो । रंगेली मुख्य बजार थियो । गोग्राहबाट रंगेली जाने र फर्किने दैनिकी थियो कृष्णप्रसादको । गोग्राहको विकास गर्नुपर्छ भनेर कालीको मन्दिर स्थापना गरी उनले काम सुरु गरे । स्कुल स्थापना गरी कलकत्ताबाट शिक्षक झिकाए । अनि विद्यार्थीलाई नि:शुल्क खाने, बस्ने व्यवस्था गरिदिए । अनि गोग्राहलाई विराटनगरका रूपमा विकसित गर्ने अभियान सुरु भयो । ४० लाख जनसंख्या भएको मुलुकका लागि काठमाडौंमा एउटा मात्र दरबार हाइस्कुल भएका बेला विराटनगरमा आदर्श स्कुल खोल्नु चानचुने कुरा थिएन ।
उनले विराटनगरमा अस्पताल स्थापना गरे र कलकत्ताको एउटा अखबारमा विज्ञापन छापेर डाक्टर छनोट गरे ।

राज्यको प्रशासनिक संयन्त्र बनिनसकेकाले ‘त्यस बेला भन्सार अड्डालाई ठेक्कामा दिने चलन थियो ।’ मेचीदेखि महाकालीसम्मका भन्सारको ठेक्का उनैले पाएका थिए । चन्द्रशमशेरको नाममा स्थापना गरिएको चन्द्रगन्ज (सप्तरी) भन्सार अड्डा कृष्णप्रसादको एक प्रमुख व्यापारिक केन्द्र थियो । जहाँ उनको जीवनका महत्त्वपूर्ण निर्णय भएका थिए ।

समाज सुधार
श्री ३ चन्द्र आफूसँग खुसी भएकाले मुलुकलाई क्रमश: प्रजातान्त्रीकरणतर्फ लैजानुपर्छ भन्ने सुझाव दिंदै कृष्णप्रसाद बिन्तीपत्र पठाइरहन्थे । हरेक विषयका खुलेर छलफल गर्ने र निर्णयमा पुग्ने परिपाटी बसाएका थिए उनले । बिहान उठेर परिवारका सदस्य एकै ठाउँमा भेला हुने र चिया पिउँदै दुनियाभरका विषयमा चर्चा गर्ने परम्परा कोइराला परिवारमा उनैले चलाएका हुन् ।

यस्तै एउटा बैठकमा कृष्णप्रसादकी कान्छी श्रीमती दिव्याले नेपालका महिलाहरूको अवस्था अत्यन्त दयनीय भएकाले केही गर्नुपर्ने विचार अघि सारिन् । कृष्णप्रसाद सहमत भइहाले । अनि महिलाको हितमा काम गर्ने एउटा संस्था बनाउने र त्यसको संरक्षकमा प्रधानमन्त्री चन्द्रशमशेरकी कान्छी बडामहारानीलाई संरक्षक राख्न उचित हुने ठहर गर्दै त्यही व्यहोराको बिन्तीपत्र दिव्याको नामबाट सिंहदरबारमा पठाइयो ।
‘नारी पुरुष एउटै रथका दुई पांग्रा हुन्, एउटाको अभावमा रथ चल्न सक्दैन भन्ने कुरा पनि पत्रमा लेखिएको थियो ।’

बडामहारानी संरक्षक बस्न राजी भई संगठनलाई चाहिने आर्थिक सहयोगसमेत गर्ने वचन दिएको सन्देश पाएपछि बडामहारानी अध्यक्ष र दिव्या सचिव रहेको मुलुककै पहिलो संस्था खुल्यो ।

बाह्र वर्ष वनबास
प्रसिद्ध हिन्दी साहित्यकार फणिश्वरनाथ रेणुले शिक्षाको विकास र समाजसेवातर्फ सक्रिय भएपछि कृष्णप्रसादप्रति चन्द्रशमशेरले वक्रदृष्टि लगाएको उल्लेख गरेका छन् । रेणुका अनुसार बेलायत भ्रमणमा रहँदा श्री ३ चन्द्रले आफ्नो सम्मानमा आयोजित रात्रिभोजमा भने रे, ‘तपाईंहरूले आफ्नो साम्राज्य भारतका कैयौं सहरमा स्कुल र कलेज खोल्न छुट दिनुभएको छ । तर पनि भारतीयहरू स्वतन्त्रता आन्दोलन नगरून् भन्ने चाहनुुहुन्छ । यो पनि सम्भव हुने कुरा हो र ? हाम्रो नेपालमा हेर्नुस् त कलेजको कुरै छोडौं पाठशालासमेत खोल्न दिएका छैनौं । तपाईंहरू पनि शासन टिकाउन चाहनुहुन्छ भने जनतालाई मूर्ख बनाएर राख्नुस् ।’ उनको कुरा सुनेर बेलायती नेताहरूले हाँसो रोक्न सकेनन् रे । एक बेलायती मित्रबाट यो कुरा थाहा पाएपछि कृष्णप्रसाद शिक्षाको विकासमा लागिपरे । उनको त्यही काम चन्द्रशमशेरलाई मन परेन र कृष्णप्रसादलाई पक्राउ गर्ने आदेश चन्द्रशमशेरले जारी गरे ।
हुन पनि चन्द्रशमशेरको २८ वर्षे कार्यकालमा १९७५ भदौ ५ एउटा मात्र शिक्षण संस्था त्रिचन्द्र कलेज स्थापना भयो ।

कलेज उद्घाटन सकी सिंहदरबार फर्कंदा ‘आज मेरो खुट्टामा मैले नै बन्चरो हाने’ भनेर उनले भारी पश्चात्ताप व्यक्त गरेका थिए ।


फाटेका लुगा उपहार
१९७४ सालको जाडो याममा एक दिन कृष्णप्रसाद चन्द्रगन्जको कचहरीमा थिए । हिउँदका बेला पहाडीहरूको ठूलो समूह मधेस झर्ने गथ्र्यो । परिवारका लागि आवश्यक नुन, तेल, कपडा किन्न । तीमध्ये अधिकांश ढाक्रे कामको खोजीमा हुन्थे । ‘गरिबीको चक्रमा पिल्सिएका धेरै हिन्दुस्तान जान्थे ।’
चन्द्रगन्जको कचहरीमा छलफल चलिरहँदा सडक ढाक्ने गरी एक हूल ढाक्रे देखा परे । कृष्णप्रसादका एक साथीले त्यही हूल देखाउँदै भने, ‘ल हेर्नुस् त ती पनि हाम्रै नागरिक हुन् ।’ त्यही वचनले कृष्णप्रसादको हृदय नै बदलियो ।
तत्काल एकजना ढाक्रेसँग उसका फाटेका झुत्रा कपडा किने । ढाक्रेलाई नयाँ कपडा र केही रुपैयाँ दिएर बिदा गरे । अनि जुम्रा र लिखाले भरिएका तिनै झुत्रे कपडाको पार्सल बनाउन लगाए । अनि प्रधानमन्त्री चन्द्रशमशेरका नाममा सिंहदरबार पठाइदिए ।
कोइराला निवासबाट हरेक वर्ष दसैंमा राणा सरकारलाई डालीमा राखेर रेशमी वस्त्र पठाउने चलन थियो । त्यो वर्ष रेशमी वस्त्रको साटो फाटेका कपडाका साथ पार्सल पुग्यो । चिठीमा भनिएको थियो, ‘प्रजाले लगाउने लुगा यिनै हुन् । यी लुगासँग सरकारका पोसाक तुलना गर्नुहोस् । मैले महाराजको अवहेलना गर्न यी लुगा पठाए भन्ने सम्झिनुहुने छैन । प्रजाहरूको हालत के छ र उनीहरू कस्तो अवस्थामा बाँचेका छन् भन्ने जानकारी गराउन मात्र खोजेको हुँ ।’
पार्सल पाएपछि क्रुद्व चन्द्रशमशेरले कृष्णप्रसादलाई पक्राउ गर्न मानिस खटाइहाले ।

राणाकालका प्रशासक भीमबहादुर पाँडेले श्री ३ चन्द्रका बारेमा लेखेका छन्, ‘राजकाजमा अति चनाखा, धूर्त, व्यवहारमा निकै होसियार र कामकाजमा पक्का । उनको मूलमन्त्र थियो सबैको सुन्नु भर कसैको नपर्नु ।’
नभन्दै कृष्णप्रसादले लिइराखेको त्रिशाला (तीनवर्षे) भन्सार ठेक्का म्याद नपुग्दै तोडेर सरकारी कर नबुझाएको आरोपमा उनलाई गिरफ्तार गर्ने आदेश जारी भयो ।
त्यो बेला चन्द्रशमशेरका बारेमा एउटा भनाइ प्रसिद्ध थियो, ‘चन्द्रे हाँस्यो कि नास्यो ।’

पक्राउ आदेश जारी भए पनि कृष्णप्रसादलाई भने थाहा थिएन । विराटनगरका बडाहाकिम कर्णेल जितबहादुर केसीमाथि धेरै विश्वास भएकाले कृष्णप्रसाद प्राय: उनलाई भेट्न गैरहन्थे । १९७४ को दसैंअघि एक दिन उनी बडाहाकिमलाई भेट्न पुगे । बडाहाकिमले सोधे— आफ्नो व्यापार हेर्न कलकत्ता जाने होइन ? कृष्णप्रसादले भनेछन्— जानु छ तर दसैं सिध्याएर जाने विचारमा छु ।

बडाहाकिमले फेरि भने तिम्रो त कलकत्तामा धेरै व्यापार छ, किन जाँदैनौ कलकत्ता ? धेरै भयो तिमी नगएको पनि । बडाहाकिमको आशय बुझेर उनले भने ठीक छ घर गएर जान्छु । बडाहाकिमले भन्न थाले— हैन, घर किन जानुपर्‍यो । मेरो घोडा लिएर हिँडिहाल ।
‘बडाहाकिमको घोडा चढेर उनी आफ्नो पसल र अफिसमा पुगे । जम्मा भएको पैसा लिएर सीधै जोगवनीतर्फ हानिए । उनले सीमा काटे भन्ने सूचना पाउनासाथ यता विराटनगरमा बडाहाकिले कृष्णप्रसादलाई पक्राउ गर्न आदेश जारी गरे । त्यति बेला बीपी मात्र तीन वर्षका थिए । दोस्रो श्रेणीको टिकटमा भागदौड गरी आफूहरू बनारस पुगेको बीपीले उल्लेख गरेका छन् ।

त्यसपछि कोइराला ‘परिवारका सबै सदस्यहरूका नाममा पक्राउ पुर्जी मात्र काटिएन, सबै सम्पत्ति जफत भयो ।’ कृष्णप्रसादका ऋणीहरूको ऋण माफ गर्दै चुक्ता नगर्न आदेश भयो । उनको मातहतमा काम गर्ने कर्मचारीहरू सबै खोसुवामा परे ।
हरप्रकारका सुख–सुविधाले सम्पन्न कोइरालालाई साँझ–बिहानको छाक टार्नसमेत धौ–धौ हुन थाल्यो । परिवारका सदस्य र आफन्त गरी ४५ जना उनीसँग आश्रित थिए । रामचन्द्र अधिकारी (पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका पिता) र बोधप्रसाद कोइराला (पूर्वप्रधानामन्त्री सुशील कोइरालाका पिता) को परिवार पनि कृष्णप्रसादकै साथ प्रबासिएका थिए । भारतका विभिन्न भागमा १२ वर्ष कष्टकर जीवनयापन गरेपछि श्री ३ चन्द्रको मृत्यु भयो र त्यसपछिका प्रधानमन्त्री भीमशमशेरले कृष्णप्रसादलाई नेपाल बोलाए ।


जन्मदै विद्रोह

कृष्णप्रसादका तीन श्रीमतीमध्ये जेठीको प्रसूति व्यथाका क्रममा मृत्यु भएको थियो । ‘त्यसपछि उनले काठमाडौं धुनीबेसीकी कन्यासँग विवाह गरे । ‘दोस्रो विवाह गरेको पाँच सात वर्षपछि उनले ‘बालाजु डुक्रिने पानी’ की आचार्य कन्यासँग तेस्रो विवाह गरे ।’
दिव्या गर्भवती भएसँगै उनलाई सुविधासम्पन्न अस्पतालमा लगेर प्रसूति गराउन चाहन्थे कृष्णप्रसाद । सुत्केरी हुने बेला जेठी श्रीमतीको मृत्यु भएकाले पनि उनी फेरि त्यस्तो घटना नदोहोरियोस् भनेर चिन्तित थिए । त्यो समय नेपालमा सुविधासम्पन्न अस्पताल थिएनन् । न त सुत्केरीलाई अस्पताल लैजाने चलन नै । कृष्णप्रसादका हितैषी एक बंगाली डाक्टरले कलकत्तामा श्रीमतीको चाँज गराउन सुझाव दिएका थिए ।

तर अस्पतालमा बच्चा जन्माउने चलन नै नभएको त्यो जमानामा हिजोआज जस्तो कुनै आमालाई अस्पतालमा भर्ना गर्ने चलन थिएन । स्वयं बीपीकै भनाइमा कुनै आमालाई सुत्केरी गराउन अस्पताल लैजाने कुरा कल्पनामा नआउने एउटा नखराजस्तै मानिन्थ्यो ।
गर्भवती श्रीमतीलाई बच्चा जन्माउने बेलामा कष्ट नहोस् भन्नेमा कृष्णप्रसाद सचेत थिए । तर उनले श्रीमतीलाई अस्पताल पठाउने प्रसंग उठाएकै दिनदेखि परिवारमा गाइँगुइँ चलिसकेको थियो । परिवारका सदस्यले नै उनलाई भन्न थाले, ‘सबै स्वास्नी मानिस आमा हुन्छन् कोही पनि त सहर जाँदैनन् । सानोबाबुको नखरा पनि बयानको छैन, अरू कसैले पहिले बिहे नगरेको जस्तो ।’ परिवारका सदस्यकै यस प्रकारको भनाइले उनी हच्किए ।

परम्परा र मर्यादाको पनि ख्याल हुने र श्रीमतीलाई अस्पताल लग्न पनि सकिने उपाय एकैपटक निकाले उनले । त्यो बेला धार्मिक प्रकृतिका मानिसहरू बूढो भएपछि सबै सांसारिक विषयहरूलाई त्यागेर तीर्थस्थल काशी अर्थात् बनारस गई बाँकी जीवन बिताउने चलन थियो ।
उनले पनि पहिला वृद्व आमालाई काशीवासका लागि बनारस पठाए । अनि सासूको सेवाका लागि भनेर दिव्यालाई बनारस जाने बाटो खुलाइदिए । ‘उनको त्यो चलाखीपूर्ण निर्णयले परिवार र समाजको मर्यादा पनि जोगियो, पत्नी प्रेमका उपर न्याय पनि सम्भव भयो ।’

सासूको सेवा गर्दै दिव्या बनारसमा कोखको बच्चा हुकाइरहेकी थिइन् । संयोगले उनको प्रश्रव अत्यन्त जटिल हुन गयो । बीपीका अनुसार बालक र आमाको प्राण रक्षाका लागि डाक्टरलाई घरमै बोलाइयो । शल्यक्रियाबाट उनले छोरालाई (बीपी) जन्म दिइन्, विसं १९७१ साल भदौ २४ गते । अप्रेसन नगरेको भए आमा र बालकको ज्यान जान सक्थ्यो । बीपीले भनेका छन्, ‘आमाको शल्यक्रिया नगरेको भए मैले प्रकाश नै देख्न पाउने थिइनँ, आमा पनि जीवित रहनुहुने थिएन । मैले संसारमा प्रवेश गर्दा परिवारको एउटा परम्परालाई तोडें ।
नेपाली मध्यमवर्गीय परिवारका लागि शल्यक्रियाबाट सुत्केरी गराउनु त्यो जमानाका लागि एउटा क्रान्तिकारी कदम थियो ।

बीपीको जन्मसँग अर्को संयोग पनि जुरेको छ । एउटा युगको अन्त्य गरी विश्वलाई नयाँ युगतर्फ लैजाने प्रथम विश्वयुद्व त्यो बेला भर्खर सुरु भएको थियो । विश्वयुद्ध सुरु भएको पहिलो महिनामै उनी जन्मिए । पण्डितहरूले नक्षत्र गणनाअनुसार बालकको नाम चूडामणि जुराइदिए । बीपीले भनेका छन्, ‘तर बनारसमा जन्मिएका कारण काशीका आदिदेव महादेवको प्रसाद ठानेर ठूला बुवाले मेरो नाम विश्वेश्वरप्रसाद राखिदिनुभयो ।’


बाल्यकालमै राजद्रोह
दु:खमेलो गरेर मातृका र बीपीलगायत केटाकेटीहरू बनारसको वातावरणमा हुर्कंदै थिए । प्रारम्भिक शिक्षाका लागि दुवैलाई एउटा सरकारी स्कुलमा भर्ना गरियो । गान्धीको नेतृत्वमा अंग्रेज सरकारलाई हरेक क्षेत्रमा असहयोग गर्ने र अंग्रेज धपाउने आन्दोलन जारी थियो । विदेशी कपडा छोडेर घरबुना खादीका कपडाको प्रयोग गर्ने अभियान नै चलेको थियो । कोइराला परिवारमा पनि खादी आन्दोलनको प्रभाव परेको थियो । भएका सबै महँगा कपडा सबै जलाइएका थिए ।

गान्धीको प्रभाव
तिनताका केटाकेटीहरूका लागि हिजोआजजस्तो मनोरञ्जन गर्ने विकल्प थिएन । केटाकेटीहरू बनारसको एक बगैंचामा सधैंजसो हुने नौटंकी हेरेर रमाइलो गर्थे । मातृका र बीपी स्कुलबाट फर्कंदा प्राय: त्यहाँ पुगिहाल्थे ।

संयोगले एक दिन त्यहाँ गान्धीको सभा चलिरहेको थियो । अल्लारिँदै पुगेका दुई भाइ गान्धीको भाषणबाट प्रभावित भइहाले । नौ वर्षका मात्रिका र सात वर्षका बीपीले गान्धीको आह्वानमा तत्क्षण सरकारी स्कुल छाड्ने निर्णय सुनाए । सभामा उभिएर पहिले बीपीले भने, ‘मैले आजदेखि सरकारी स्कुल छोडें ।’ लगत्तै मातृकाले पनि त्यही घोषणा गरे । बीपीको ‘आफ्नो कथा’ अनुसार तालीको करतल ध्वनिले उनीहरूको स्वागत मात्र भएन, गान्धी आफैंले बीपीलाई मञ्चमा लिएर गए । नमुना विद्यार्थीका रूपमा सम्मान गरी फूलमाला लगाइदिए । उनको परिचय लिइयो र मञ्चमा बसेका अर्का एक नेताले उनलाई काखमा राखेर सोधे, ‘यत्रो निर्णय लिनुअघि बा, आमालाई सोध्यौ त ?’ बीपीलाई काखमा राख्ने नेता जवाहलाल नेहरू थिए । जो अंग्रेजबाट भारत मुक्त भएपछि भारतको प्रधानमन्त्री बने ।

प्रकाशित : आश्विन २०, २०७४ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?