ड्राइभर हुन नदिने रोग

डा. विश्वबन्धु शर्मा

काठमाडौँ — आधुनिक यन्त्र र उपकरण परिचालन गर्नै नहुने कैयौंले आज संसारभरि जहाज, पानीजहाज, रेल, यात्रुवाहक बस र कार चलाइरहेका छन् र तिनका हातमा हजारौंको जीवन खतराको दोसाँधमा गुडिरहेको हुन्छ ।

जुन व्यक्तिलाई जे काम गर्न निषेधित छ या उपयुक्त छैन, त्यो त्यही गर्न लालायित हुन्छ। यस्तो विसंगतिको परिणाम सम्बन्धित व्यक्तिले मात्र होइन, निर्दोषहरूले पनि भोग्नुपर्छ।

यस्तै एउटा घटनाको प्रत्यक्षदर्शी म आफैं भएको छु। धेरै वर्षअघिको घटना हो। म खैरेनीटारबाट पोखरा जाँदै थिएँ, बस चढेँ। सिटै थिएन। ड्राइभरको आडैमा च्यापिएर खडा भएँ। बसभित्रको भीडमाथि केही यात्रुले चुरोटको धूवाँ पनि मिसाइदिएकाले सास फेर्नै कठिन भइरहेको थियो। त्यस्तैमा बस स्टार्ट भयो। बसले ‘पिक–अप’ लिन के थालेको थियो, बिस्तारै बायाँतिर मोडिन थाल्यो। दायाँ–बायाँ पनि समतल चउर भएकाले बसले बाटो छाडेर पनि एकछिन गुड्यो। एक नम्बर गियरमै हुनाले स्टार्ट आफैं बन्द भएछ।

बसका ड्राइभर त काठजस्तै दह्रो भएर हातखुट्टा, टाउको बटारेर अचेत अवस्थामा लडिसकेका रहेछन्। उनको मुखबाट फिँज आइरहेको थियो। एकैछिनपछि दह्रो भएको शरीर, हातखुट्टा, टाउकामा झड्का दिंँदै काम्न थाल्यो। सास थुनिएर शरीर नीलो हुन थालिसकेको थियो। जीउ काम्न थालेपछि घ्यार–घ्यार गरी लामो सास आउन थाल्यो।

Yamaha

त्यतिबेलासम्म बसभित्र हल्लीखल्ली मच्चिइसकेको थियो। कति यात्री झ्यालबाट फाल हान्न थाले। कोही रुने, कराउने गर्न थाले। अधिकांश यात्रु निस्किसकेका थिए। मैले पनि निस्कन कोसिस गरेंँ, तर ड्राइभरसँगै भिडको बीचमा भएको र बस रोकिइसकेकाले जहाँको त्यहीं खडा भएँ। मसँगै उभिएका एक–दुई यात्रुले जुत्ता फुकालेर अचेत चालकलाई सुँघाउन खोज्दै थिए। उनको गलबन्दी मागेर त्यसैको टुप्पोले ड्राइभरको मुखमा भरिएको फिँज र रगत पुछिदिएँ, शिर पछाडि फर्काएर मिलेसम्म उनको शरीर कोल्टो पारिदिएँ र उनलाई सास लिन अलि सजिलो भयो। मेरो हाउभाउबाट खलाँसी, कन्डक्टर र बाँकी एक–दुईजना यात्रुलाई म डाक्टर रहेछु भन्ने लागेर होला, चुपचाप मैले सहयोग गरेको हेरेर बसे। केही मिनेटपछि ड्राइभरले आँखा खोले। उनले लरबराएको स्वरमा बरबराए, ‘आज त दिउँसै गाडीमै छोपेछ।’ त्यतिकैमा बेस्सरी बान्ता पनि भयो। त्यसैबेला बाहिरबाट ड्राइभरलाई हेरिरहेका यात्रुहरू कराउन थाले, ‘यसले रक्सी पिएरै गाडी हाँकेको रहेछ, गोद यसलाई। खोस यसको लाइसेन्स।’

केही समयमा भिड आफैं शान्त भयो र आफ्नो बाटो लाग्यो। बसभित्र ड्राइभर, कन्डक्टर, खलाँसी र ममात्र बाँकी थियौं। ड्राइभर यतिन्जेलसम्म पूरा सन्तुलनमा आइसकेका थिए। आखिर त्यो बस पोखरा जानेवाला थियो। मलाई पनि त्यहाँ पुग्नैपर्ने। मैले त्यही बसमा यात्रा गर्ने निर्णय गरेको देखेर कन्डक्टरले जिल्ल परेर सोधे, ‘हामी त स्टाफ भयौं, सँगै जानै पर्‍यो। यस्तो देखीदेखी तपाईं किन सँगै जान लाग्या नि?’

मैले भनेँ, ‘डर त मलाई पनि लाग्छ, तर यो रोग तुरुन्तै दोहोरिने विरलै सम्भावना रहन्छ। पोखरा नपुगुन्जेल फेरि छोप्ने चान्स कमै छ। तर गाडी बिस्तारै हाँक्ने भए मात्र यसमा जान्छु।’ उनीहरूले मेरो कुरा माने। हामी बिस्तारै पोखरातिर लाग्यौं। बाटामा कुरा गर्दै जाँदा मलाई ड्राइभरको रोगको पूरा जानकारी भयो। उनलाई यस्तो रोग १५/१६ वर्ष पहिले भएको थियो रे। सुरु–सुरुमा ५/६ महिनामा मात्र हुन्थ्यो रे, पछि गएर झन्डै हप्ताको १/२ पटक छोप्न थालेछ। ‘हिजो अस्तिसम्म त सधैं राति निदाएको बेला मात्र हुने गथ्र्यो, तर आज त दिउँसै समातेछ,’ ड्राइभरले भने। त्यस्तो हुँदा जिभ्रो, ओठ टोकिने, दिसा–पिसाब छुट्ने, जीउ कम्पन हुने आदि हुँदोरहेछ।

यिनले ड्राइभरी पेसा गर्न थालेको पनि ३/४ वर्ष भइसकेछ। श्रीमतीले छोप्ने रोग छ, गाडी हाँक्ने काम खतरा हुन्छ, नगर्नोस् भनेर विरोध पनि गरेकी रहिछन्। तर दिनमा कहिल्यै नहुने र रातो कपडा देख्दा या बाख्राको मासु खाँदा पनि केही फरक नपरेको हुँदा यो छारेरोग हुँदै होइन भनेर ड्राइभरी पेसा सुरु गरेछन्। अब छिट्टै काँकडभित्ता लामो रूटको नाइट बस चलाउने सुरसारमा रहेछन्। आजसम्म उनले हाँकेको गाडीमा चढेका यात्रु र उनका नाइट बसका भावी यात्रु सम्झेर मेरो मनमा कहाली लाग्यो। खलाँसीले आफ्नो अनुभव पनि बतायो, ‘गुरुजी होटलमा सुत्दा बेला–बेलामा निद्रामा कामेको त मैले पनि देखेको छु। तर मलाई त रोग भन्ने पत्तै थिएन।’

दिउँसो जागा अवस्थामा त्यो पनि गाडी हाँक्दा त्यस्तो भएकोमा ड्राइभर निकै आश्चर्य मानिरहेका थिए। कुरा के परेछ भने अघिल्लो साँझ उनले अलि बढी नै पिएका रहेछन्, साथीहरूको करले रातभरि तास खेलेर जागा बसेका रहेछन्। रक्सी, अनिद्रा, भोको सब कुरा मिल्यो। मैले सम्झाएँ, ‘राम्रोसँग औषधी गर्‍यो भने छारेरोग पूरा निको हुन्छ। यसमा उपचार पनि सरल र सस्तो छ। त्यस बाहेक माथि भनेझैं जाँड–रक्सी खान, भोको र जागा बस्न हुँदैन। उपचार नगरी यी सब कुराको वास्ता नगर्ने हो भने त्यस्तो अवस्था खतरनाक हुन्छ र मृत्यु पनि हुनसक्छ। तर उपचार र पथपरहेजमा बस्ने व्यक्ति अरू व्यक्तिसरह नै सामान्य हुन्छ, घरजम गर्न सक्छ, एक/दुई पेसा छाडेर जे काम पनि गर्न सक्छ। ती एक/दुई पेसामा एक नम्बरमा ड्राइभिङ पर्छ।’ उनी तर्से। मैले थप्दै गएँ, ‘हो, छारेरोग लागेको व्यक्तिले ड्राइभिङ लगायत मेसिनरी चलाउने काम गर्नै हुँदैन। रोग निको भएपछि डाक्टरको सल्लाहले मात्र सीमित रूपमा गर्न हुन्छ। त्यस बाहेक आगोको नजिक या खस्न सक्ने अग्लो ठाउँ र डुब्न सक्ने पानीमा पनि काम गर्न हुँदैन।’

बाटोभरि उनलाई छारे रोगबारे धेरै सम्झाएँ। उपचार नगरी सतर्कता पनि नअपनाउँदा अपांग भएका, आगोमा परेर अन्धो भएका, सवारी चलाउँदा दुर्घटना भएका विवरण सुनाएँ। साथै यो रोग मेरो आफ्नै विषय भएको कुरो पनि खोलेंँ। सायद त्यति लामो परामर्श पाएर होला, पोखरा पुगिसक्दा ड्राइभरको मन पनि बदलिएको थियो। मैले उनलाई सर्वप्रथम उपचार गरेर निको हुने प्रयास गर्न अनुरोध गरेंँ र बिदा हुने बेलामा आफ्नो ठेगाना पनि दिएँ। उनी मलाई भेट्न आउलान् भन्ने सोचेकै थिइन, तर केही दिनपछि आए। केही दिनभित्रै उनको रोग सामान्य औषधीबाट नियन्त्रण भयो। उनले ड्राइभरी छाडे, तर गाडीप्रतिको प्रेमले मैले मिस्त्री बन्ने सल्लाह दिएँ।

छारे रोगका अधिकांश बिरामीको कहानी यिनै ड्राइभरको जस्तै हुन्छ। धेरैजसो यसलाई रोग हो नै भन्दैनन्। बोक्सी, भूत, पिशाच या कुलदेवताको प्रभाव भन्छन्। जसले यसलाई रोग भन्ने ठान्छन्, तीमध्ये कतिले त यसको उपचार नै हुँदैन भन्ने विश्वास गर्छन् र जसले उपचारको खोजी गर्छन्, तिनीहरू पनि डाक्टरी औषधीले छुने रोग होइन भनी पाठपूजा, झारफुक, जन्तर–मन्तर गर्नतिर लाग्छन्।

छारेरोग प्राय: बाल्यकालमा या किशोरावस्थामा सुरु हुन्छ। यसलाई केटाकेटीको रोग भने पनि हुन्छ। तर कहिलेकाहीँ उमेर छिप्पिसकेपछि पनि सुरु हुन्छ। छारे रोगका विविध रूप हुन्छन्। माथि वर्णन गरिएको रूप सबैभन्दा प्रचलित छ। तर त्यसरी सम्पूर्ण शरीर काँपेर बेहोश हुनुको सट्टा शरीरको एक अंग (हात–खुट्टा) या एक भाग (दाहिने–देब्रे) मात्र कम्पन हुने र बिरामी पुरै होशमै रहने हुन्छ। कहिलेकाहीँ यसरी सीमित अंग काम्दा–काम्दै पुरै जीउ काम्न थाल्छ र मानिस बेहोश हुन्छ। छारे रोगबाट पीडित बच्चाहरूमा एउटा भिन्नै लक्षण देखिन्छ। उनीहरू २–३ सेकेन्ड बेहोश हुन्छन्, तर लड्दैनन्। बेहोश भएको बेला टोलाउने, आँखा झिम्क्याउने, हात, ओँठ, जिभ्रो चलाउने आदि गर्छन्। केही क्षणमै होश खुलेपछि उनीहरूलाई घटनाको याद रहँदैन। यस्तो रोगबाट पीडित बच्चाहरू दिनमा कैयौंपटक यसरी बेहोश भएर टोलाउँछन्। यस किसिमको छारे रोगबाट पीडित व्यक्तिलाई यदि उपचार नगरेमा, बेहोश भएर लड्ने र शरीर कम्पन हुने समस्या पनि देखिन सक्छ।

छारे रोगलाई उपचार नगरेमा कालान्तरमा यसबाट पीडित व्यक्तिको मनस्थिति, व्यवहार विकृत हुँदै जान्छ र कहिलेकाहीँ विक्षिप्त नै देखिन्छ। यदि छारेरोग थियो भन्ने जानकारी नहुने हो भने साँच्चिकै पागलपन हो कि छारेरोग हो, छुट्याउन सकिँंदैन।

छारेरोग मानिसको मस्तिष्कमा पैदा हुने विकृतिबाट निस्कन्छ। त्यस्तै नाम्ले जुकाले गिदीमा प्रवेश गरेर बसेको ठाउँ पनि छारे रोगको कारण हुनसक्छ। तर धेरैजसो बिरामीमा त्यस्तो केन्द्र अति सूक्ष्म हुन्छ र कुनै उपकरण या परीक्षणबाट पत्ता लाग्दैन। कहिलेकाहीँ ब्रेन क्यान्सर, ब्रेन ट्युमरजस्ता रोग सुरु हुँदा पनि छारेका लक्षण देखिन सक्छन्। तर यी बिरामीमा छिट्टै अरू लक्षण पनि देखापर्छन् र बिरामीलाई छारेबाट भन्दा अरू गम्भीर असरबाट बढी प्रभावित पार्छ। राम्रोसँग उपचार गरेमा अधिकांश छारेरोगी पूर्णतया निको हुन्छन्। यसको उपचार विधि पनि सरल र सस्तो छ। राम्रोसँग उपचार गरिरहेका छारेरोगीहरू अरू सर्वसाधारण जस्तै घरजम गर्ने, व्यवसाय गर्न स्वतन्त्र हुन्छन्। रोग पूर्ण नियन्त्रण नभएसम्म आगो, पानी, उचाइ, मेसिनरीबाट सतर्क हुनुपर्छ। लागूपदार्थ सेवन नगरी ठिक समयमा खाना खाने र सुत्ने (भोक, अनिद्रा नखप्ने) गर्न जरुरी छ।

Esewa Pasal

प्रकाशित : आश्विन १९, २०७४ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रक्सी किन यति प्रिय ?

डा. विश्वबन्धु शर्मा

डाक्टरकहाँ जाने हामी सबैले सधैं नबिर्सी सोध्छौं, ‘औषधी केसँग खाने ? तातो कि चिसो पानीसँग खाने ? खाना खाएपछि या खानु अगाडि ?’ त्यस बाहेक एउटा प्रश्नचाहिँ अनिवार्य राख्छौं, ‘के–के कुरा बार्नुपर्छ ?’ जसरी रोगीले प्रश्न राख्छ, त्यसैगरी प्रत्येक चिकित्सकले प्रत्येक रोगीलाई टेप गरेजस्तै भन्छ, ‘अमिलो, पिरो, चिल्लो, भुटेको र रक्सी र चुरोटचाहिँ छुनै हुँदैन । धूमपान र मदिराले निरोगीलाई पनि हानि गर्छ, यो सबैलाई थाहा भएकै कुरा हो ।’

रक्सीको प्रसंग उठाउँदा कहिलेकाहीं डाक्टर आफैं पनि असजिलोमा पर्छन् । ३५ वर्षको मेरो डाक्टरी जीवनमा कैयौंपटक यस्ता अनुभव आफैंले भोगेको छु । एक पटक एक ‘आधुनिक’ भेषभूषाका युवकलाई पिउने गर्नुहुन्छ कि भनेर सोध्दा स्तब्ध पार्ने जवाफ पाएँ, ‘तपाईं पनि के प्रश्न गर्नुहुन्छ, आजको जमानामा नपिइकन काम चल्छ ? बरु कति पिउनुहुन्छ भनेर सोध्नोस् न !’
एकजना मदिरा दुव्र्यसनी आफ्नो गल्ती पटक्कै स्वीकार्दैनथे । आफूलाई ठिक देखाउन उनी उदाहरण दिन्थे, ‘ठूलाबडाका घरमै रक्सी बढी खान्छन् । राष्ट्रपति, मन्त्रीजस्ता ठूला पाहुनालाई रक्सीबाटै स्वागत गर्छन् । महान लेखक, कलाकारले दिल खोलेर पिउँछन् ।’ मैले भनेंँ, ‘तपाईं पनि त्यस्तै महान हुन सिर्जना गर्दै पिउनु होला, तर आफ्नो कमजोरी लुकाउन आफूले आदर गरेका व्यक्तिको सहारा लिनु त झन् उनीहरूमाथि नै अन्याय र तिरस्कार गर्नु हो ।’

मदिरा सेवन मानव सभ्यता सुरु भएदेखि नै हुँदै आएको छ । कतिपय समाजमा यसको प्रयोग धार्मिक र सामाजिक रूपले पनि मान्य छ । नेपालका केही समुदायमा कुखुराको भाले, कुखुराको फुल र मदिरा शुभकार्यमा अनिवार्य छ । विभिन्न धार्मिक शक्तिपीठमा मदिरा पनि चढाइन्छ र त्यहाँको जल या प्रसाद सम्पूर्ण हिन्दुहरूका लागि पवित्र मानिन्छ । त्यस्तै क्रिस्चियन धर्मको बाइबलका कथाहरूमा प्रभु इशुले पानीलाई मदिरामा परिणत गरी आफ्नो दैवीशक्ति र चमत्कार देखाएका वर्णनहरू छन् । यसरी धार्मिक र सामाजिक परम्परासँगै जोडिएर आएको हुनाले आजको समाजमा पनि विविध औपचारिक स्थान र समयमा यसको सेवनले ठाउँ पाएको छ । सायद यिनै ऐतिहासिक, धार्मिक, सामाजिक मान्यताले गर्दा नशालु पदार्थ हुँदाहुँदै पनि मदिराको प्रश्न जटिल र द्विविधायुक्त भई अझै यसको उपभोगले वैधानिक छुट पाएको छ ।

हिजोआज बिरामीसँग मदिराबारे चर्चा गर्दा एउटा नयाँ तर्क पनि सुन्न पाइन्छ । थोरै मात्रामा अड्कलेर पिउने गरे यसले मुटुका रोगीहरूलाई फाइदा गर्छ रे ! रोग लागिसकेकालाई त फाइदा गर्छ भने झन् रोग नै नलागेका निरोगीले पनि थोरै–थोरै सधंै पिउने गरे मुटुको रोग नै लाग्दैन होला ! तर यस तर्कभित्र खतरनाक कुतर्क लुुकेको छ । जब कुनै वस्तुको लाभको चर्चा गरिन्छ, त्यसबाट हुने प्रत्यक्ष–अप्रत्यक्ष हानि र त्यसले उत्पन्न गर्ने खतरासँग जोड–घटाउ गरेर मात्र शुद्ध लाभको मूल्याङ्कन गर्नुपर्छ ।

मदिरा सेवनबारे जनमानसमा केही भ्रम छन् । रक्सी पिएका बेला मन आँटिलो भएको, फुर्ती आएको र गाह्रो काम गर्न जोश–हिम्मत बढेको अनुभव हुन्छ आदि । रक्सीले मानिसको मस्तिष्कलाई धुमिल्याइदिने, सतर्कता, होशियारी र खतराको महसुसलाई कमजोर पारिदिने हुनाले आफू आँटिलो भएको अनुभव हुन्छ । खाल्टै–खाल्टा भएको जमिनमा हिंँड्दा खाल्टामा परिन्छ कि भनेर हामी सतर्क हुन्छौं, तर वर्षापछि छिपछिपे पानीले त्यही जमिन ढाक्यो भने खाल्टाहरू देखिँंदैनन्, सबै समतल देखिन्छ । त्यस्तो अवस्थामा आँटिलो भएर हिँड्दैमा खाल्टामा परिने खतराबाट बचिँदैन र पानीले भरिएको जमिन देखावटी रूपमा मात्र समतल देखिन्छ । त्यस्तै मदिरा सेवन गरेका बेला आउने आँट, जोश पनि देखावटी मात्रै हो र यसले झन् ठूलो खतरा निम्त्याउन सक्छ ।

अर्को एउटा प्रचलित गलत धारणा रक्सीले यौनशक्ति बढाउँछ भन्ने छ । मदिरा सेवनले यौनशक्ति झन् कमजोर बनाउँछ । वास्तवमै जवान स्वस्थ व्यक्तिको शक्ति कमजोर भएको छ भने त्यसका मुख्य कारण हुन सक्छन्– मानसिक तनाव, मधुमेह र मदिराको दुव्र्यसन । आफू कमजोर भएको कारणले नै जँड्याहाहरूले आफ्नी पत्नीलाई ‘मबाट नपाएको सन्तुष्टि अरूसँग लागेर लिने गरेकी हुनुपर्छ’ भन्ने शंकाबाट प्रेरित भई पिछा गर्ने र पिट्ने गर्छन् ।

मदिराले गर्ने आर्थिक, सामाजिक, व्यावसायिक, नैतिकजस्ता बृहत् क्षेत्रका हानिका अतिरिक्त व्यक्तिविशेषमा पार्ने प्रत्यक्ष प्रतिकूल असरहरू भयावह नै हुन्छन् । समग्रमा भन्नुपर्दा रक्सीले व्यक्तिको शरीर र मन दुवैलाई नष्ट पार्दै लैजान्छ । रक्सीले सबभन्दा बढी क्षय पुर्‍याउने अंग कलेजो हो । मदिरा दुव्र्यसनीको कलेजो फुलेको हुन्छ र यसको भित्री बनावट खल्बलिएको हुन्छ । कलेजोले काम गर्न छोडेपछि विविध समस्यासहित पेटमा पानी जम्मा हुन्छ (जलग्रह) र खोक्दा रगत बान्ता हुन्छ । शारीरिक असरभन्दा पनि मानसिक असर झन् डरलाग्दो हुन्छ । शारीरिक विनाश अलिपछि र विस्तारै बढ्दै जान्छ भने मानसिक क्षय दुव्र्यसनको पहिलो चरणबाटै सुरु हुन्छ ।

रक्सीको दुव्र्यसनी काँतर, असभ्य, नकच्चरो बन्छ । रक्सीको दुव्र्यसनी भइसकेपछि त्यस्ता व्यक्तिको न बोलीको विश्वास हुन्छ, न कामको जिम्मेवारी । क्रमश: व्यक्ति सामाजिक, वैचारिक, नैतिक रूपले गिर्दै जान्छ । दुव्र्यसन अत्यधिक गम्भीर हुनथालेपछि मानसिक रोग सुरु हुन्छ । पिउने बानी विस्तारै पर्दै जाँदा बढी आनन्दित हुन मात्रा बढाउँदै रक्सी नभई नहुने, नशा लाग्न मदिराको मात्रा थप्दै जानुपर्ने, रक्सी खान बन्द गर्दा अप्रिय, पीडादायक नयाँ रोग देखापर्छ । सुरुको अवस्थामा निद्रा नलाग्ने, टाउको दुख्ने, हात काँप्ने, पसिना आउने, चिड्चिडाहट मात्र हुनसक्छ भने दुव्र्यसन गम्भीर भएको अवस्थामा पागलजस्तो हुने, नभएका कुरा देख्ने र सुन्ने, उत्तेजित र आक्रामक हुने, बरबराउने, छारे रोगजस्तै मुच्र्छा पर्ने हुन्छ ।
रक्सी धेरै पिएर दुव्र्यसनी बनेपछि यसैबाट मानसिक रोग– साइकोसिस हुनसक्छ, तर मानसिक रोगबाट पीडित भएपछि पनि व्यक्ति मदिराको शरणमा पुग्छ । मानसिक रोग भनेको मनको पीडा, चिन्ता, पीर, डर, शंका आदिले भरिएको मन हो । यस्तो अवस्थामा पिएर मन भुलाउने इच्छा लाग्छ । विशेषगरी डिप्रेसन र न्युरोसिसका बिरामीहरू यो कुलतमा फँस्ने डर बढी हुन्छ । मदिराको कुलत थपिएपछि मानसिक रोग जटिल बन्छ, मदिरा दुव्र्यसन अटुट हुन्छ । साइकोसिस (विक्षिप्त अवस्था) मा रक्सी पिएपछि बिरामी झन् आक्रामक उत्तेजित र असहिष्णु बन्छ । न्युरोसिसमा रक्सीको नशाले डर, बेचैनी केही छिन हल्का भए पनि रोग झन् गहिरिँदै जान्छ । छारे रोगमा रक्सी पिउन थालेपछि रोग कहिल्यै निको हुँदैन र स्वभावमा विकृति देखिन थाल्छन् ।

मानिस किन मदिरा दुव्र्यसनी बन्छ भन्ने प्रश्नको जवाफ दिन सजिलो छैन । मानसिक रोग र मदिराको सम्बन्ध यतिमा अन्त्य हुँदैन । मदिरा सेवन गर्ने मानसिक रोगीहरूलाई उपचार गर्न धेरै गाह्रो हुन्छ र निको पार्न झन्डै असम्भव भइदिन्छ । मदिराको वास्तविक खतरा र यसभित्र लुकेको मोहनी भ्रमलाई मनन गरेर होशियारीसाथ मात्र यसको सीमित संगत गर्नुपर्छ ।

प्रकाशित : असार १०, २०७४ ०८:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT