२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नैतिकताको मूल आधार

रमेश नेपाल

काठमाडौं — नैतिकताको विषय आज फेरि हाम्रो देश तथा अन्तर्राष्ट्रिय जगत्मै अत्यन्त जल्दोबल्दो भएर आएको छ । नैतिकताको कुरा त सबैले गर्छन्, तर यसलाई परिभाषाको दायरामा राख्न भने अत्यन्त कठिन छ । यो बुझ्न जरुरी छ कि नैतिकता देशाचार या लोकाचार हो वा यो छुट्टै विषय हो ।

नैतिकताको मूल आधार

यसैगरी रीतिरिवाज, पूजापाठ, भजन–कीर्तन, उपवास, तीर्थाटन, धर्म, दानपुण्य आदि नैतिकताभित्र पर्छन् कि पर्दैनन् ? योग, प्राणायाम, ध्यान पनि नैतिक विषय हुन् या अलग अथवा भनौं परानैतिक विषय हुन् ? यस्ता प्रश्न मनमा उठ्नु स्वाभाविक हो ।

लोकाचार, समयाचार, देशाचार या रीतिरिवाज कर्मकाण्ड विधि आचरण या अनुशासन जस्ता सद्गुणबाट नैतिकताको जन्म हुँदैन, अपितु नैतिकवान व्यक्तिबाट सहज रूपमा यी सद्गुणको जन्म र विवेकपूर्ण प्रयोगचाहिँं हुन्छ । लोकाचार एउटा देश र एउटा समयमा ठिक मानिन्छ, त्यही अर्को देश या समयमा गलत मानिन्छ । त्यसकारण मूल नैतिकता अलग विषय हो भने देशाचार, लोकाचार र समयाचारद्वारा स्थापित या आरोपित मान्य या अमान्य व्यवहार या शिष्टता अलग विषय हुन् । यी तथ्यहरूको विश्लेषणबाट नैतिकताका तीन मुख्य आधार भेटिन्छन्–

सामाजिक आधार
व्यक्तिहरूबीच कार्यविभाजनको हिसाबले समाज करिब पूर्ण हुन्छ भने व्यक्ति सदा अपूर्ण हुन्छ । किनभने व्यक्तिले आफ्नो प्रतिभा अनुसारको एउटा विषयमा काम गरिरहेको हुन्छ । तर व्यक्ति–व्यक्ति मिलेर समाज बन्ने भएकाले समाजमा धेरै विषयको कार्य भइरहेको हुन्छ र यो लगभग पूर्ण हुन्छ । एउटा व्यक्तिमा विविध क्षमता र प्रतिभा हुन सक्छन्, तर कुनै पनि व्यक्तिले आफ्ना सबै क्षमता एवं प्रतिभालाई प्रकटीकरण गरेर प्रयोग गर्नु प्राय: असम्भव हुन्छ । त्यसकारण प्रत्येक व्यक्तिले आफूमा निहित मूल क्षमता तथा प्रतिभा पहिचान गरेर तदनुरूपको भूमिका निर्वाह गरेको हुन्छ, जसको फलस्वरूप एउटा व्यक्तिका सम्पूर्ण शारीरिक एवं मानसिक आवश्यकता समाजले पूर्ति गरेको हुन्छ या पूर्ति गर्ने राजनीतिक आश्वासन दिएको हुन्छ ।

जसरी पूर्ण स्वस्थ मानव शरीर विभिन्न मानव अंगको स्वभावगत पूर्ण क्रिया एवं तिनको गहिरो सहकार्य अथवा कर्मबाट मात्र सम्भव हुन्छ, त्यसैगरी एउटा स्वस्थ समाजका लागि समाजका अंगहरू जस्तै– व्यापार–व्यवसायी, राष्ट्रसेवक, सुरक्षाकर्मी, कृषक, वकिल, चिकित्सक, पत्रकार, समाजसेवी, दार्शनिक, चिन्तक, लेखक, राजनीतिज्ञ आदिको स्वभावगत पूर्ण कर्म आवश्यक हुन्छ । हाम्रो शरीरमा कुनै एक अंगले ठिकसँग काम गरेन भने सम्पूर्ण शरीरको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ, त्यसैगरी समाजमा रहेका कुनै एक व्यक्तिले आफ्नो कर्म या व्यक्तिगत भूमिका ठिकसँग पूरा गरेन भने त्यसको नकारात्मक प्रभाव सम्पूर्ण समाजमा पर्छ । यसको अर्थ मेरो सुख, सुविधा, शान्ति र समृद्धि समाजमा रहेका प्रत्येक व्यक्तिको सकारात्मक कर्मफल रहेछ भन्ने यथार्थ बोधबाट उत्पन्न कृतज्ञता भावलाई आत्मसात गर्दै आफ्नो सामाजिक र व्यावसायिक इमानदार भूमिकाको गहनतम कर्तव्यबोध नै नैतिकताको सामाजिक आधार हो ।

भौतिक आधार
जब हाम्रो आन्तरिक नैतिक मन बाहिरी रूपमा एउटा दैहिक तथा भौतिक जीवन अख्तियार गरेर बाँच्छ, तब त्यो भौतिक जीवनको निर्वाह प्रकृतिका भौतिक सम्पदाहरू तथा क्रियाकलापबाट मात्र सम्भव हुन्छ । यसको अर्थ हो, हाम्रो भौतिक जीवन प्रकृतिप्रदत्त संसाधन तथा कर्मबाट हुन्छ । प्रकृतिभित्र त्यसका विभिन्न अवयवको गहन र स्वाभाविक अन्तरक्रिया चक्रको रूपमा चलिरहेको छ । आध्यात्ममा यसैलाई यज्ञ भनिन्छ । यज्ञ तत्त्वलाई नबुझिकन नैतिकतालाई नत बुझ्न सकिन्छ, न आत्मसात गर्न नै ।

दुर्भाग्य, आज यज्ञको मूल अर्थ लुप्त भएको छ । मन्त्रोच्चारणपूर्वक अग्निमा हव्य सामग्री होम गर्नुलाई मात्र हामी यज्ञ ठान्छांै । तर यज्ञ त यो सम्पूर्ण सृष्टिचक्रको सहज लीला प्रक्रिया हो, जसमा सूर्य, चन्द्रमा, तारा, नक्षत्र, समुद्र, बादल, वर्षा, वनस्पति, पशुपन्क्षी, किरा–फट्यांग्रा, मानिस, जलचर, थलचर, नवचर सबैले आ–आफ्ना स्वभावजन्य कर्माहुति निरन्तर अर्पित गरिरहेका छन् ।

यस्तो यज्ञबाट सम्पूर्ण सृष्टिको उद्भव, पालन तथा संहार सम्भव भएको छ । एउटा स्थान विशेषमा अग्नि प्रज्वलित गरी मन्त्रोच्चारणपूर्वक हव्य सामग्री हवन गर्नु त्यो शाश्वत एवं सर्वव्यापक सहज स्वचालित यज्ञचक्रको एउटा प्रतिकात्मक अभ्यास मात्र हो । त्यो पूर्ण अथवा वास्तविक यज्ञ हैन । वास्तविक यज्ञ त यो विराट सृष्टि लीलाचक्रमा आफ्नो योगदानको आवश्यकता बुझ्नु र उसमा आफ्नो विशिष्ट भूमिका आत्मसात् गर्नु अनि त्यो भूमिका शतप्रतिशत पूरा गर्नुमा निहित हुन्छ । किनभने हाम्रो जीवनको उदय, अस्तित्व तथा अवसान यसै चक्र अन्तर्गत मात्र सम्भव छ ।

यसकारण हामी यो यज्ञचक्रप्रति ऋणी छांै र सदा कृतज्ञ रहनुपर्छ । यो लीलाचक्रप्रति हाम्रो ऋणीभाव अथवा कृतज्ञताभाव नै हाम्रो नैतिकताको भौतिक आधार हो । यो यज्ञचक्रबाट निरन्तर केही न केही लिएर मात्र बाँचेका हुन्छौं र आफ्नो विकास पनि यसैबाट गरेका हुन्छौं । अत: यो सृष्टिचक्र ब्रह्मयज्ञ अथवा यज्ञचक्रमा आफ्नो भूमिका ठिकसँग चिन्नु र आफ्नो भूमिका निष्ठापूर्वक पूरा गर्नु नै मूल नैतिकता हो । किनभने जहाँ हामीमध्ये कुनै एउटाले मात्र यो विराट सृष्टिको लीलाचक्रमा आफ्नो भूमिका निर्वाह गरेन, त्यहीँ यो सृष्टि लीलाचक्रमा विघ्नबाधा, विकृति या व्यवधान उत्पन्न हुन्छ, जसको दुष्प्रभाव समस्त विराट सृष्टिचक्रले अथवा हामीले भोग्नुपर्छ । यो सृष्टिमा हामीले पुर्‍याएको व्यवधान हामीतिरै फर्कन्छ र हाम्रो जीवनलाई अस्तव्यस्त बनाउँछ । यसकारण नैतिकताको ध्येय तथा अर्थ परोपकार तथा उदारता मात्र हैन, नैतिकता गहिरो आत्मरक्षा तथा निज हित साधनाको पनि सर्वश्रेष्ठ उपाय हो ।

आध्यात्मिक आधार
मूल नैतिकता भनेको हामीभित्र लुकेर बसेको आत्माको स्वच्छता, स्वास्थ्य या उसको पवित्रतालाई सदैव कायम राख्नु हो । नैतिकताको प्रारम्भ एउटा विशिष्ट समझबाट सुरु हुन्छ कि म शारीरिक अथवा भौतिक जीवनमात्र बाँचिरहेको छैन, मभित्र एक आन्तरिक आत्माको जीवन समानान्तर रूपमा चलिरहेको छ । त्यो आन्तरिक जीवनको रक्षा तबमात्र हुन्छ, जब हाम्रो बाह्य व्यवहार पनि आन्तरिक चेतनाको प्रतिविम्बको रूपमा नैतिक बन्छ । एउटा नैतिक मानिसले आफ्नो सूक्ष्म आन्तरिक जीवनको शान्ति, स्वच्छता, स्वास्थ्य तथा पवित्रताको लागि भौतिक जीवनमा पनि त्याग, तपस्या, सेवा र साधना गर्नुपर्ने हुन्छ ।

अब बुझ्नैपर्ने कुराचाहिँ के हो भने हामीभित्र जुन आत्मा छ, उसको प्रतिति अलग–अलग शरीरमा अलग–अलग हुन्छ । तर जुन मूल आत्माको प्रतिति आफूभित्र हुन्छ, त्यो मूल आत्मा अलग–अलग शरीरमा अलग–अलग हैन कि सबैका आत्मा बीचमा एउटा मौलिक या तात्त्विक एकताको सूत्रको रूपमा हुन्छ । जसरी बलिरहेका दीयोहरू जतिवटा भए पनि, मधुरो या चहकिलो जसरी बले पनि बलेको चाहिँ तेल नै हुन्छ, त्यसैगरी शरीरहरू जति भए पनि जुनसुकै आकार–प्रकारका भए पनि एउटै परमात्मा–चेतनाले सञ्चालित हुन्छ । यो आत्मबोधबाट आफू र समष्टिप्रति गहिरो प्रेम एवं समत्वभावको जन्म हुन्छ । यो प्रेम एवं समत्वभाव नै मूल नैतिकता हो ।
नैतिकताका मुख्य तीन आधार हाम्रो जीवनमा जताततै स्पष्ट देखिन्छन् । पहिलो, हाम्रो भौतिक जीवनभित्र एउटा समानान्तर आन्तरिक आत्मिक जीवन निरन्तर सञ्चालित छ । दोस्रो, त्यो आन्तरिक जीवन नै मूल जीवन हो । त्यही शाश्वत तथा साध्य जीवन हो । बाहिरी जीवन त त्यो जीवनको अस्थायी साधनमात्र हो । तेस्रो, त्यो आन्तरिक जीवनमा हामी सबै नै मौलिक रूपमा एउटै छौं, भिन्न या असमान छैनौं । हामी सबैभित्र एउटै तत्त्व छ, जो अभिन्न छ । त्यो भित्री आत्मा नै हाम्रो मूल जीवन हो र त्यसैलाई एकताको आधार मानेर गरिने व्यवहार सहज रूपमै नैतिक हुन्छन् । साथै सुख, प्रसन्नता र आनन्दको उत्पत्ति पनि यहींबाटै हुन्छ । यो नै नैतिकताको मूल अर्थात् आध्यात्मिक आधार हो । अब आफैलाई सोध्ने र हेर्ने बेला आएको छ कि नैतिकताको यो कसीमा मेरो जीवन कहाँनेर उभिएको छ ।

प्रकाशित : आश्विन २०, २०७४ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?