कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदाताका आँखामा पट्टी

अनुमा कोइराला

काठमाडौँ — हाम्रो देशमा थुप्रै राजनीतिक परिवर्तन भइसके तर सामाजिक र आर्थिक परिवर्तन भने अपेक्षित दरमा हुन सकेको छैन । उल्टै मुलुक दलदलमा फस्दै गएको आभास हँ‘दै छ । हाम्रा अधिकांश कलकारखाना धराशायी छन् । बिलाउँदो निर्यात र फस्टाउँदो आयातले हाम्रो अर्थतन्त्र घाइते भएको छ ।

मतदाताका आँखामा पट्टी

परनिर्भरता बढ्दै गएको छ । हाम्रा पूर्वाधार फितला छन् । गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सम्पन्न वर्गको मात्र पहुँच छ । आपूर्तिमा असमानता छ । कैयौं नागरिकले खाद्यान्नलगायत न्यूनतम आधारभूत आवश्यकताकै लागि संघर्ष गर्नु परिरहेको छ । पछिल्लो समय आएको पहिरो, बाढी र भूकम्पका कारण हजारौंको मृत्यु भयो, धेरै विस्थापित पनि भए । पीडितका लागि राहत वितरण, पुन:स्थापना तथा पुनर्निर्माण कार्य अपेक्षित रूपमा हुन सकेन । छिमेकी मुलुक भारतले लगाएको करिब पाँच महिना लामो नाकाबन्दीले आलो घाउमा नुन र खुर्सानी दलेजस्तै बनाइदियो । मुलुक र नागरिकको यो हविगत हुँदा समेत राजनीतिक नेतृत्व गम्भीर देखिँदैन । त्यसैले यो देशको जिम्मेवार नागरिकका हैसियतले हामीले आफ्नो दृष्टिलाई बदल्न आवश्यक छ ।

हामीकहाँ आँखा चिम्लिएर कुनै एक दललाई समर्थन गर्ने र भोट हाल्ने प्रवृत्ति छ । पार्टीको वाद, सिद्धान्त र दस्ताबेज एकातिर भए पनि गतिविधि अन्तैतिर मोडिएको देखिन्छ । तैपनि त्यस्ता दललाई समर्थन गर्न छाडेको पाइँदैन । जिम्मेवार नागरिकले पार्टीभन्दा माथि उठेर देशका लागि चिन्तन गर्न‘पर्ने होइन र ? चुनावी घोषणापत्रमा लेखिएका कुरा कार्यान्वयन गराउन राजनीतिक दल र नेताहरू प्रतिबद्ध देखिँदैनन् । अधिकांश नेता आफूलाई विश्वास गरेर जिताउने मतदाताप्रति जवाफदेही नै बन्न सकेका छैनन् । उल्टो संवेदनहीन देखिन्छन् । पछिल्लो समय त सरकार सञ्चालकहरू शासक हैन, माफियाहरूको सेवकका रूपमा देखिन थालेका छन् । नेपाल आयल निगमको जग्गा खरिद, त्रिभुवन विश्वविद्यालयको कलेज सम्बन्धन प्रकरण, कर फस्र्योट आयोग, साझा प्रकाशनका अनियमितता सार्वजनिक हुँदा पनि सरकार छानबिन र कारबाहीमा तत्पर देखिएन जसका कारण लुटतन्त्रलाई सरकारबाटै पोषण गरिरहे जस्तो देखिन्छ । भ्रष्टाचारका रूखमा पानी हाल्दै गर्दा नेताले आफूलाई नागरिकले ठूलो जिम्मेवारी सुम्पेर पठाएको बिर्सिएका छन् । नागरिकले पनि चुनाव आएपछि यस्ता विषयलाई बिर्सिदिन्छन् ।

चुनावमा भोट हाल्ने बेला भन्ने गरिन्छ, ‘फलानो उम्मेदवार त हाम्रो दाइको ससुराली, उसैलाई दिनुपर्छ भोट । हाम्रो काम गराउन सजिलो हुन्छ ।’ यस्ता मानसिकता भएका मतदाता तपार्इं हामीबीच धेरै भेटिन्छन् । उनीहरूले उम्मेदवारको पृष्ठभूमि, योग्यता/क्षमता र घोषणापत्रलाई नहेरी/नबुझी आँखा चिम्लेर भोट हाल्छन् । खास उनीहरूले आफ्ना खुट्टामा आफैं बन्चरो हानेका हुन्छन्, अनि पछि होसमा आएपछि थाहा पाउँछन् । यस्तै, ‘तिम्रो पार्टीलाई भोट हालेर के गर्न‘, जित्दैन, अनि मेरो भोट खेर जाँदैन त ?’ भन्नेहरू पनि हुन्छन् । निर्वाचन परिणामपछि अबिर दलेर बाजामा नाच्न पाउनु नै हाम्रो भोटको सदुपयोग हो र ? विजयी उम्मेदवारले चुनावका बेला गरिएका प्रतिबद्धता भुल्दै आफ्नो अधिकार चरम दुरुपयोग गरे भने हाम्रो भोट खेर गएजस्तै भएन र ?

अब हामीले आँखामा बाँधेको पट्टी तुरुन्त खोल्ने साहस गर्नुपर्छ । मुलुकलाई समृद्ध बनाउन सक्ने ‘भिजन’ र दृढ इच्छाशक्ति भएको नेता पहिचान गर्नुपर्छ र उनीहरूलाई नै चुनावमा जिताउनुपर्छ । अनि मात्र आफ्नै कालमा समृद्ध नेपाल देख्न सक्छौं ।

प्रकाशित : आश्विन १९, २०७४ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?