कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सडकहरुको अनियन्त्रित घुइँचो

डा. तारानाथ शर्मा

काठमाडौँ — अचेल नेपालभित्रका सडकहरूको घुइँचो र गाडीहरूको अनियन्त्रित हँकाइले पाँच–दस मिनेटमै पुगिने बाटो घन्टौं कुर्नुपर्ने बाध्यताले गर्दा सर्वसाधारण जनताको कन्तबिजोकै भएको छ ।

सडकहरुको अनियन्त्रित घुइँचो

विशेषगरी राजधानी काठमाडौंका मुख्य सडकहरू त सवारी नियन्त्रण नै नभएर छिचोल्नै नसकिने सिस्नै–सिस्नाले भरिएका डरलाग्दा जंगल भएका छन् । एकातिर सवारी चालकहरूले नियम नजानेर हो वा मान्दै नमानेर हो, जताततै भयावह दुर्घटनाको त्रास बढेको छ भने अर्कातिर हाम्रा सवारी नियन्त्रणमा खटिएका प्रहरी बन्धुहरू एकतमासले चौबाटामा हातका औंला हल्लाउँदै ठिंग उभिएका उभिएकै देखिन्छन् । चाहे सर्वसाधारण पैदल यात्री हुन्, चाहे सवारी चालक नागरिक हुन् अथवा चाहे सवारी नियन्त्रण गर्दै छु भनेर हातका औंला नचाउँदै उभिने प्रहरी भाइहरू हुन्, सबै नै डरलाग्दो दुर्घटनाका आकस्मिक घटनामा घेरिएका छन् । नियमहरू पालन नगरेपछि अथवा सवारी सम्बन्धी नियमहरूको फुट्टी ज्ञान नभएपछि समस्त जनताको यस्तै कन्तविजोक हुन्छ !

कन्तविजोकको ज्वलन्त उदाहरण गौशालाको चौबाटो हो । विमान बिसाउनीतिरबाट बग्रेल्ती बस, ट्रक, ट्याक्सी, निजी गाडीहरू, मोटरसाइकल, टेम्पो र साइकलहरूका साथै यात्री र सामान ओसारपसार गर्ने रिक्साहरू हुइँकिइरहेका हुन्छन् । अटेसमटेस गरेर, तँछाड–मछाड गरेर तथा नियमहरू उल्लंघन गर्दै अरुलाई छिर्नै नदिने गरेर कुदाइएका यी सवारी साधनले गर्दा हुने दुर्दान्त घुइँचो काठमाडौंली भाषामा ‘जाम’ शब्दले चिनाइन थालेको छ । वास्तवमा ‘जाम’ नेपाली होइन, अंग्रेजी शब्दको उच्चारण नजानेर जनसाधारणले प्रचलनमा ल्याएको ‘घुइँचो’ बुझाउने शब्द हो, जुन अंग्रेजीमा ‘ज्याम’ हो ।

यस्तो ‘ज्याम’को प्रमुख उत्तरदायी सवारी नियन्त्रणमा खटिएका प्रहरीहरू नै हुन् भन्दा तपाईहरू छक्क पर्नुहोला, तर वास्तविकता त्यही नै हो । मेरा भाइहरू बानेश्वर, बत्तीसपुतलीतिर बस्छन् । उनीहरूलाई बेलुकातिर भेटेर जब म ज्योति विकास बैंक हुँदै सरस्वती नगरतिर फर्कनलाग्दा ट्याक्सी लिन खोज्छु, ‘कति दिनुहुन्छ ?’ भन्दै ठाडै चार–पाँच सय रुपैयाँ भाडा माग्ने र ट्याक्सीमा देखिने मूल्यमा मान्दै–नमान्ने जस्ता तर्कहरू गरेर र खाली छँदा पनि ट्याक्सी खाली नै छैन भन्दै चालकहरू अर्कातिर लागेर म अभरमा पर्ने गरेको छु । किनभने ट्याक्सी होस्, बस होस्, टेम्पो होस् वा अरु नै सवारी हुन्, तिनलाई सवारी नियन्त्रण गर्न उभिएका गौशाला चौबाटाका प्रहरीहरूले बिना विच्चका घन्टौं रोकेर हुनसम्म सास्ती दिन्छन् । विमान बिसौनीतिरबाट आएको अविरल लर्कालाई दाहिने हातका चार औंलाले आऊ–आऊ, नरोक–नरोक, कुदाउ–कुदाउको इसारा गर्दै र अरुतिरका चालकहरूलाई छिर्नै नदिएर धुरुक्कै रुवाउँदै प्रहरी दंग पर्छ ! विमान बिसौनीबाट आउने बीस वा पच्चीस सवारीलाई जान दिएपछि अर्कापट्टिका सवारीहरूलाई त्यसरी नै गन्दै बीस वा पच्चीस गाडीहरूलाई गुड्न दिए त्यस्तो कन्तविजोक हुने नै थिएन, तर सवारी नियन्त्रक प्रहरी एकोहोरो अड्बांगो हात हल्लाएर एकातिरका लामहरूलाई मात्रै अनुमति दिइरहन्छन्, दिइरहन्छन् ! यस अनियमितता, अन्याय र एकोहोरो कृत्यका साथै सडकमा खण्ड छुट्याउन बनाइएका पहेँला धर्काहरूको सवारी चालकहरू पटक्कै पालना गर्दैनन् । आफ्नो खण्ड (अथवा अंग्रेजीमा ‘लेन’) मिच्नु हुँदैन, तर यहाँ त ‘खण्ड’को के कुरो अर्कापट्टिको अर्थात् उल्टापट्टिको बाटामा पनि गाडी छिराएर उधुम मच्चाइन्छ ! झन् साइकल र मोटरसाइल चालकहरू त अलिकति खाली ठाउँ देख्ने बित्तिकै आफ्नो खण्ड छाडेर त्यसमा सुटुसुटु छिर्छन् । उनीहरूमा कस्तो अनौठो र दर्दमनीय पक्का विश्वास छ भने साना–साना गाडीहरू (साइकल, मोटरसाइकल) जहिले पनि र जहाँ पनि छिराउन पाइन्छ ! उनीहरूलाई कुनै सवारी नियन्त्रणको नियम लागू नै हुँदैन । उनीहरू आफूलाई जहाँ हाँक्न पनि स्वतन्त्र छौं भनेजस्तो मनपरी घुमाउने, छिराउने र कुदाउने गर्नाले डरलाग्दो त्रास सडकमा नाचिरहेको हुन्छ ।

वास्तवमा जुनसुकै खालको सवारीले पनि नियमको मर्यादापूर्ण रूपले पालन गर्नुपर्छ । ठूलठूला मिनिबस, ट्रक अथवा ट्याक्सी, टेम्पो र जस्तासुकै सवारी पनि आफ्नै खण्डमा सीमित रहेर (अर्थात् आफ्नै ‘लेन’ र ‘दिशा’को नियममा पूर्णरूपले रहेर) कुदाइनुपर्छ । झन् साइकल, मोटरसाइकल जस्ता ससाना सवारीले त सवारी नियमलाई पटक्कै नाघ्नु हुँदैन । भ्रमबाट सबै चालक जोगिनुपर्छ । दुर्घटना जस्तै सवारीले पनि सानो–ठूलो जस्ताले पनि निम्त्याउँछ र नियम भनेको सबैका लागि हो ।

मैले यताउता यात्रा गर्दा देखेको अति दुर्दमनीय, त्रासपूर्ण र नियम उल्लंघनमा पूर्ण संलग्नचाहिंँ हाम्रा बसहरूमै देख्दै आएको छु । यात्री चढाउँदा सडक छेउको तोकिएको फराकिलो ठाउँमा रोकेर बाटामा हिँंड्ने, सवारीमा गुड्ने वा अरु कुनै प्रकारका व्यक्ति र सवारीलाई बाधा नपर्नेगरी बोलाउनु र बसभित्र छिराएर लानुपर्छ । उसरी नै कुनै बसयात्री ओर्लेर बाहिर जान चाहन्छ भने पनि उसलाई उसरी नै फराकिलो छेउमा कुनै अरु सवारी साधन वा पैदल यात्रीलाई बाधा नपर्नेगरी ओर्लन दिनुपर्छ । तर हाम्रा बस सञ्चालक भद्र पुरुषहरू व्यस्तस्थलमा ओराल्ने र चढाउने गर्छन् र नियमहरूको पूर्ण उल्लंघन गर्दै त्रास उत्पन्न गर्छन् । यस कुराको हेक्का होस् र निर्दाेष पैदल यात्री र सवारी चलाउनेहरूको कन्तविजोग हेर्नु नपरोस् !!

प्रकाशित : आश्विन १९, २०७४ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?