कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेपाली राजनीतिका मिथक

सन्दर्भ : गणेशमान सिंह स्मृति दिवस
लोकेश ढकाल

काठमाडौँ — संयोगले गणेशमान सिंहको २० औं पुण्य–स्मृति दिवसका दिन आज प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुँदैछ । गणेशमान सिंहको आफ्नो पुरै जीवन जनताका निर्वाचित प्रतिनिधिले शासन गर्ने प्रजातान्त्रिक पद्धतिका लागि संघर्ष गरेर देश र जनताको पक्षमा समर्पण गरेर बित्यो ।

नेपाली राजनीतिका मिथक

तर दुर्भाग्य सिंहको निधनको २० वर्षपछि पनि देशमा उनले कल्पना गरे बमोजिम प्रजातन्त्रले स्थायित्व पाउनसकेको छैन । देशले राजनीतिक स्थायित्वसँगै समृद्धिको बाटो लिनसकेको छैन ।

सिद्धान्तनिष्ठ, साहस, वीरता र संघर्षको अर्को नाम गणेशमान सिंह हो । विचार, सिद्धान्त र लगनशीलतामा अत्यन्त हठी स्वभावका सिंहको संघर्षले भरिएको गौरवशाली जीवनगाथा एक प्रकारले सिङ्गो नेपाली राजनीतिको मिथक हो । निश्चय नै उनले प्रजातान्त्रिक आन्दोलनमा खेलेको गौरवशाली जीवनगाथा र राजनीतिक जीवन युवा पुस्ता र भविष्यका लागि कुनै तिलश्मी दन्त्यकथाको नायकजस्तै काल्पनिक तथा अलौकिक पात्रजस्तै लाग्न सक्छ ।

निरंकुश राणा शासनकालमा गणेशमानले खेलेको साहस, सुरता र वीरता निश्चय नै अहिले यथार्थभन्दा कुनै तिलश्मी घटनाजस्तै लाग्न सक्छ । कठोर राणाकालमा जेलको पर्खाल नाघेर भागेर भारत पुग्नु त्यसबेलाको कठोर राजनीतिक परिवेश र सामाजिक वातावरणमा पत्याउनै नसकिने एक अद्भुत एवं चमत्कारी राजनीतिक घटना बनेको थियो ।

लामो राजनीतिक क्रान्ति र प्रजातान्त्रिक आन्दोलनमा गणेशमान सिंहले देखाएको अदम्य साहस, खेलेको भूमिका, व्यवहार र चरित्रअनुसार सबैभन्दा धेरै उपनाम वा सम्मानबाट विभूषित हुने सम्भवत: गणेशमान सिंह रोचकमात्र हो । दह्रो र अटल राजनीतिक अडान, नेतृत्वदायी क्षमता र आमस्वीकार्यताले लौहपुरुष, सर्वमान्य नेता, सर्वोच्च नेता, शिखर पुरुष आदि उपनामले उनको छुट्टै विशिष्ट परिचय बनेको थियो ।

राजनीतिमा लागेको मानिसको लागि प्रधानमन्त्री पद नै सबैभन्दा ठूलो वा उच्च अवसर हो । हातमा आएको देशको सबैभन्दा उच्च कार्यकारी पद त्याग गर्नु, राजनीतिक इतिहासमा एउटा दुर्लभ राजनीतिक घटना हो । अहिले गणेशमान सिंहका कथित अनुयायीहरू पार्टीको देशप्रेम, सिद्धान्त, आदर्श, निष्ठा र सदाचारलाई विलकुलै पर्वाह नगरी मन्त्री, प्रधानमन्त्री पद प्राप्त गर्न हुने/नहुने जे गर्न पनि तयार भइरहेको अवस्थामा उनले हातमा आएको प्रधानमन्त्री पद अस्वीकार गर्नु र आफ्नो साथीलाई उक्त अवसर प्रदान गर्ने घटना त्यागको अतुल्य उदाहरण हो । उनको त्यागको सम्बन्धमा सन्तनेता कृष्णप्रसाद भट्टराईको शब्दमा, ‘त्यतिबेलासम्म पदप्रतिको गणेशमान सिंहको चाहनाबारे मैले सुनेको र अनुभव गरेको थिएँ । तर राजनीतिक सफलताको सर्वोत्कृष्ट पुरस्कार ठानिने प्रधानमन्त्री पद पनि यति सहज निष्ठुरतासाथ त्याग गर्न सक्नुहुन्छ भनी मैले सपनामा पनि सोचेको थिइन ।’ भट्टराईको यो प्रतिक्रियाबाट पुष्टि हुन्छ, गणेशमान सिंह त्यागका प्रतिमूर्ति थिए, त्यसका एक महान मिशाल थिए ।

गणेशमान सिंह राजनीतिक रूपमा जति कठोर थिए, मनको त्यतिकै कोमल र सहृदयी पनि थिए । अहिले राजनीतिक पहुँच हुनेले सुविधा र अवसर खुब पाएका छन् । नेताले व्यक्तिगत तवरमा कार्यकर्तालाई कुनै सहयोग गर्नुपरेको छैन । डनशाली र धनशाली कार्यकर्ताको बाहुल्यता रहेको अहिलेको जमानामा कार्यकर्ताले नेता होइन कि नेतालाई कार्यकर्ताले पोस्ने समय हो । त्यसबेलाको पार्टी प्रतिबन्धित कालमा बिरामी, नि:सहाय दीनदु:खी कार्यकर्तालाई नेताले हेर्नुपथ्र्यो । त्यस मामिलामा अन्य नेताभन्दा गणेशमान सिंह धेरै नै अगाडि थिए । कार्यकर्ताहरूलाई सहयोग गर्नेमात्र होइन, उनी लेखक, पत्रकार, साहित्यकार आदि राष्ट्रिय स्तरका प्रतिभाहरू बिरामी पर्दा घर वा अस्पताल पुगेर उपचारमा चासो राख्ने, सहयोग गर्ने र सहयोग जुटाउने काम पनि त्यतिकै गर्थे । उनमा दया, करुणा र सहयोगको भाव प्रचुर मात्रामा थियो । त्यस्तो नेता अब कहाँ पाउनु र ?

गणेशमान सिंह कति प्रजातन्त्रवादी थिए, त्यो त भन्नै परेन, त्यसैका लागि जीवन समर्पण गरे । तर उनी त्योभन्दा पनि महान राष्ट्रप्रेमी थिए । राणाकालमा सम्भ्रान्त काजी परिवारको मान्छे भएर पनि उनी राष्ट्रप्रेमको भावनाबाट ओतप्रोत भएर नै प्रजातन्त्र स्थापना गर्ने बाटोमा अग्रसर भए । राणाहरूले देशलाई जर्जर बनाएका छन्, देशलाई त्यसबाट मुक्त नगरी उन्नतिको बाटो समाउन सकिँदैन भन्ने उनको मान्यता थियो । उनको राष्ट्रप्रेम वा भक्ति कस्तो थियो भन्ने विषयमा कवि केदारमान व्यथितले सुनाएको ००७ सालको क्रान्तिपूर्ण भएको एउटा रोचक एवं मर्मस्पर्शी घटनाको प्रसङ्ग नै पर्याप्त हुन्छ– ‘गर्मीको बेला थियो, एकदिन भारतको जयनगरस्थित नेपाली राष्ट्रिय कांग्रेसको कार्यालय अगाडि हामी ८ जनाजति एउटै घरमा बस्यौं । राति सुतेको ठाउँको बाहिर खस्याक–खुसुक गरेको आवाज आयो । के भयो भनी हल्लाखल्ला भयो । सबैजना बाहिर निस्केर हेरेको त अँध्यारोमा एकजना मान्छे सबैको जुत्तामा अड्केको माटोलाई ब्रसले झार्दै गरिरहेको रहेछ । ‘यो के गरेको आधा रातमा ?’ अत्तालिँंदै सबैजना कराउन थाले । ‘तिमीहरू मलाई मातृभूमि फर्कन नदिने, पक्रन्छ भन्ने, तिमीहरू चाहिँ जान्छौ, फर्किन्छौ, जुत्तामा अड्केको माटो मेरो मातृभूमिको हो भनी छाम्दा पनि मलाई मेरै देशमा पुगेको झैं लाग्छ, यही धुलो छामिरहेको ।’ गणेशमानले आँखामा आँसु पार्दै भने ।’ अहा ! गणेशमान सिंहमा कति ठूलो मातृभूमिप्रतिको प्रेम र समर्पण ।

१९९३ देखि ०४६ सालसम्म निरन्तर रूपमा निष्ठापूर्वक मूल्य–मान्यता, सिद्धान्त र आदर्शको राजनीति गर्दै प्रजातन्त्रको लागि संघर्षको राजनीति गरेका सिंहको जीवनमा उनको नेतृत्वमा ०४६ सालको राष्ट्रिय जनआन्दोलन सफल भएर प्रजातन्त्र पुन:स्थापना भएपछि निश्चय नै लोकप्रियताको चरम उत्कर्षमा पुगे, तर पनि उनको संघर्ष रोकिएन । संघर्षको रूपमात्र परिवर्तन भयो । विधि र पद्धतिका लागि उनले आफ्नै पार्टीभित्र संघर्ष गर्नुपर्‍यो ।
आधा शताब्दीभन्दा लामो समय गणेशमानले प्रजातन्त्रको लागि संघर्ष गरे । त्यसमा उनले कहिल्यै पराजय भोग्नु परेन । उनकै नेतृत्वमा भएको क्रान्तिले निरंकुश राणाशाही सत्ता र निरंकुश पञ्चायती सत्ता धराशायी भए । तर दुर्भाग्य ०४६ सालमा प्रजातन्त्र पुन:स्थापनापछि भने उनी आफ्नैबाट परातित हुनुपर्‍यो ।

आफ्नैबाट पराजयकै परिणाम गणेशमान सिंहले आफै समेतले स्थापना गरेको र सिङ्गो राजनीतिक जीवन बिताएको देशको प्रजातान्त्रिक आन्दोलनको पर्याय बनेको ऐतिहासिक गौरवशाली दल नेपाली कांग्रेस पार्टीबाट नै गह्रौं र कुँडिएको मन लिएर दु:खपूर्वक अलग भएर बस्नुपर्‍यो ।

निश्चय अवसरले दिएको प्रधानमन्त्री पद त्याग गर्ने गणेशमानले ०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन उठ्ने कुरै थिएन । तत्कालीन पार्टी सभापति एवं अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले निर्वाचनमा पराजित भएपछि स्वभावले नै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । तर सरकार स्वेच्छाचारी ढङ्गले चल्न थालेपछि गणेशमानले सतर्क गराउन थाले । तर उनको कुरा सुनिन छोडेपछि उनले चित्त दु:खाउन थाले ।

पार्टीबाट चित्त दु:खाएर ०५३ सालमा भएको नेपाली कांग्रेसको ९ औं महाधिवेशनमा गणेशमान सहभागी बनेनन् । त्यसबेला ९ औं महाधिवेशनको अवसरमा प्रकाशित हुनलागेको स्मारिकालाई, स्मारिका प्रकाशन समितिको संयोजकको नाताले यो पंक्तिकारले सिंहलाई शुभकामना सन्देश दिन गरेको अनुरोधलाई गह्रौं मनले स्वीकार गर्दै दिएको शुभकामना सन्देशमा भनेका थिए, ‘पार्टीलाई व्यक्तिवादी तथा जालझेलमुखी अराजक प्रवृत्तिबाट मुक्त गरी सैद्धान्तिक निष्ठा एवं तदनुरूप नीति तथा कार्यक्रमको बाटोमा अघि बढाउन सक्दामात्र कुनै पनि महाधिवेशनको सार्थकता प्रमाणित हुन्छ र त्यसैमा संगठनको सशक्तता, जीवन्तता एवं भविष्यसमेत निर्भर हुन्छ । महाधिवेशनका अवसरमा सहभागीहरूले यो सत्य आत्मसात् गर्नसकेमा नै पार्टीको भलो हुन सक्नेछ ।’

पार्टीले त्यसबेला आफ्नो लोकलाज जोगाउन यो पंक्तिकारले स्मारिकाका लागि लिएको शुभकामनालाई नै महाधिवेशनमा गणेशमानको शुभकामना सन्देश भन्दै उद्घाटन सत्रमा प्रस्तुत गरेको प्रसङ्ग विशेष उलेख्य घटना थियो । सम्भवत: औपचारिक रूपमा गणेशमानको पार्टी र पार्टीका कार्यकर्ताका लागि यो नै अन्तिम सन्देश पनि थियो ।

त्यसको करिब डेढ वर्षपछि गणेशमानले यो धर्तीबाट बिदा लिए । गणेशमानको निधनमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले शोक सन्देश जारी गर्दै, ‘स्वर्गीय गणेशमान सिंहले राणाशासन विरुद्ध १९९६ सालदेखि सुरु गर्नुभएको राजनीतिक संघर्षको यात्रा ०४६ सालको जनआन्दोलनको सफलतामा आफ्नो चरम विन्दुमा पुगेको थियो । मलाई लाग्छ, त्यो त्याग, तपस्या र बलिदानले भरिएको उहाँको लामो संघर्षपूर्ण यात्राले नेपालको वर्तमान र भावी युवा पिढीलाई प्रजातन्त्रको विकास र सुदृढीकरणका लागि काम गरिरहन सदैव प्रेरणा दिइरहनेछ ।’

गणेशमानको त्याग, तपस्या र संघर्षपूर्ण गौरवशाली जीवनगाथाबाट प्रजातन्त्रको विकास र सुदृढीकरणका लागि अहिले कांग्रेस कति प्रेरित छ ? भनिरहनु पर्दैन । आज कांग्रेसले नत बीपी विचार र चिन्तनलाई पछ्यारहेको छ, न सन्तनेता भट्टराईको त्याग र समर्पणबाट सिकिरहेको छ, नत गणेशमानको त्याग, समर्पण र संघर्षको गौरवशाली गाथाबाट सिकिरहेको छ । कांग्रेस आज विचारशून्य सत्ता स्वार्थको भुमरीमा रूमलिएको छ ।

प्रकाशित : आश्विन १९, २०७४ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?