२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

खानपानमा विविधता आवश्यक

पूर्णचन्द्र वस्ती

काठमाडौँ — हाम्रो समाजमा खानाका लागिमात्र होइन, संस्कार चलाउन, चाडबाड मनाउन चामलको ठूलो महत्त्व छ । देवी–देउताको लागि चामलको टीका नभई हुँदैन । अरू बेला मकैको ढिँडो, मकैको भात (च्याँख्ला) आदिले छाक टारे पनि चाडबाडमा त धानको भात चाहिन्छ ।

खानपानमा विविधता आवश्यक

मासु पकाएको दिन पनि धानको भात नै चाहिन्छ । मासुभात भनेर जुन स्वाद हाम्रो जिब्रोमा बसेको छ, त्यो मासुको झोल र धानको भात नै हो । सानैदेखि भात खाएको भएर होला, हामी नेपालीलाई भातको लत नै लागेको छ । भातको सट्टा अरू खाना खाँदा के नभए जस्तो के नपुगेजस्तो असन्तुष्टि भइरहेको हुन्छ ।

धानको भात सम्पन्नताको प्रतीकको रूपमा पनि लिइन्छ । हिमाल तथा पहाडमा जोसुकैको धान फल्ने खेत हुँदैन । धान फल्ने खेत अलि धनीमानीको मात्र हुन्छ । वर्षैभरि धानको भात खान पाउनु भनेको धनी हुनु हो, सम्पन्न हुनु हो । त्यसैले हिमाल, पहाडबाट अलि केही पैसाको जोरजाम भइसकेपछि मधेस खेती किन्ने चलन थियो र अझै पनि यो चलन छँदैछ । मधेसमा बसाइँ–सराइ बढ्नुमा हिमाल, पहाडमा हुने अरू दु:ख पनि होलान् । तर मकै, कोदोको खान्कीबाट मुक्ति पनि बसाइँ–सराइको एउटा कारण हुनसक्छ । पहाडतिर ‘मधेसमा दु:ख पाए पनि धानको भात खान पाइन्छ’ भन्ने कुरा धेरैजनाको मुखबाट अझै पनि सुन्ने गरिन्छ । तर अहिले हिमाल, पहाड जताततै चामल पुगिसकेको छ । धानको भात धेरैजसो नेपालीको दैनिक छाक टार्ने खाना बनिसकेको छ । बरु विभिन्न स्वाद र गुणस्तरमा पाइने चामल र त्यसको मूल्यका आधारमा हैसियत अनुसारका भान्छामा पुग्लान् । तर धेरैजसोका भान्छामा धानको भात नै पाक्ने गर्छ । धानको भात हामी सबै नेपालीको जीवनको अभिन्न अङ्गका रूपमा स्थापित भइसकेको छ ।

भात मिठो हुन्छ, अनि पचाउन पनि सजिलो हुन्छ, त्यसै हुनाले यो यति धेरै लोकप्रिय छ । बिरामी हुँदा चामलको जाउलोले बिरामीलाई तंग्रिन सघाउँछ भने चामलको जाउलो वा भात बाल–वृद्ध सबैलाई सुपाच्य र स्वादिलो हुन्छ । संसारभर नै गहुँबाट बनेका परिकारको विविधता धेरै छ । चाउचाउ, बिस्कुट, पास्ता, केक, पाउरोटी जस्ता खानेकुरा बजारमा प्रशस्तै छन् । गहुँका परिकार धेरै पाइए पनि यी खानेकुरा सबैलाई त्यत्तिकै सुपाच्य हुँदैनन् ।

पौष्टिक हिसाबले पनि चामल एक महत्त्वपूर्ण अन्न हो । चामलमा शक्ति, क्याल्सियम, आइरन, भिटामिन बी १, भिटामिन बी ५, फोलिक एसिडर भिटामिन इ अरू अन्नमा भन्दा बढी मात्रामा पाइन्छ । चामलमा प्रोटिनको मात्रा अरू अन्नमा भन्दा केही कम भए पनि यसमा हुने प्रोटिनको गुणस्तर अरू अन्नको भन्दा राम्रो हुने गर्छ । अझ ब्राउन राइस, ब्ल्याक राइसजस्ता रङयुक्त चामलको त पौष्टिकताभन्दा पनि स्वास्थ्यका लागि बढी लाभदायक हुने कुरा हालसालैका अनुसन्धानहरूले प्रमाणित गरेका छन् । त्यतिमात्र होइन, कृषि प्रविधिको माध्यमबाट भिटामिन ए युक्त चामल गोल्डेन राइसको सफलतापूर्वक विकास भइसकेको छ भने आइरन तथा जिङ्कयुक्त चामलसमेत विकास भइसकेका छन् । चामलमा पाइने प्रोटिनको गुणस्तर अझै बढाउने काममा समेत वैज्ञानिकहरू प्रयत्नरत छन् । खाद्य प्रविधिका माध्यमबाट उसिना चामल बनाउनाले चामलको पौष्टिक तत्त्व जोगाउन सकिन्छ भने थप पौष्टिक बनाउन विभिन्न भिटामिन तथा खनिज तत्त्व मिसाउने कार्य कतिपय देशमा सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

सामान्यतया मिलमा कुटेको सेतो चामलमा पेट भर्ने, शक्ति या क्यालोरी दिने तत्त्व कार्बोहाइड्रेट धेरै मात्रामा पाइने र अन्य पौष्टिक तत्त्व जस्तै भिटामिन तथा खनिज तत्त्वहरू एकदमै कम पाइने हुन्छ । शक्तिकै लागि त कोदो, फापर, मकै, गहँु, जांै, आलु, पिँडालु, तरुल जे खाए पनि हुन्छ । चामलमा भन्दा गहुँको आँटा, कोदो या फापरको पिठो, मकैको पिठो तथा च्याँख्ला, जौंको पिठो या सातु आदिमा बढी मात्रामा प्रोटिन, भिटामिन तथा खनिज तत्त्व पाइन्छन् । सेतो चामलमा भन्दा अरू सबै अन्नबाट बनेका खानेकुरामा रेशायुक्त पदार्थ या फाइबर बढी पाइन्छ, जुन रक्तसञ्चार एवं पाचन प्रणाली लगायत मधुमेहका लागिसमेत फाइदाजनक हुन्छ । साथै चामलमा भन्दा अरू अन्नमा क्याल्सियम तथा आइरनजस्ता आवश्यकीय खनिज तत्त्व बढी मात्रामा पाइन्छन् । यस तथ्यले चामलभन्दा अरू अन्न पौष्टिक दृष्टिकोणले उत्तम हुन्छन् भन्ने देखाउँछ ।

चामल लगायतका अन्नको आविष्कार अहिलेको मानव सभ्यताको जग हो । अन्न उत्पादनले एकातिर मानव जीवनमा सहजता आयो, खानेकुरा खोज्न टाढा–टाढासम्म भौंतारिनु परेन । तर अर्कातिर लामो समयदेखि उपभोग हँुदै आएका फलफूल, तरकारी, सागपात, माछामासु, बदाम र ओखरजस्ता खानेकुरा दुर्लभ हुनथाले । लाखौं वर्षसम्म विविध खानेकुरामा बानी परेको मानव शरीर अन्न या अन्नबाट बनेका खानेकुराबाट पेट भर्दा पहिले पाइरहेका पौष्टिक तत्त्व पाइन छाडे, जसले गर्दा विभिन्न किसिमका कुपोषणले सताउन थाल्यो । हाल पनि यी समस्या जनस्वास्थ्य समस्याकै रूपमा छन् भने अन्न र अन्नबाट बनेका खानेकुराको असीमित उपभोग, चिल्ला र गुलिया खाद्य वस्तुको प्रचुर मात्रामा उपलब्धता एवं उपभोग, शारीरिक परिश्रम बिनाको आधुनिक जीवनशैलीले गर्दा मोटोपनमा व्यापक वृद्धि भई हृदयरोग, मधुमेहजस्ता रोगमा व्यापक वृद्धि हुनाले मानवपुँजी निर्माणमा ठूलो बाधा पुगेको छ ।

भातलाई पछिल्लो समयमा मोटाउने खाना भनेर दोष पनि लगाउन थालिएको छ । भात खाएर मोटाइने हाम्रो खाने बानीले गर्दा हो । सहरको बसाइ, गाडी या मोटरसाइकल चढाइ, अनि बेलुकीको खाना मज्जाले खुवाइ थाहै नपाई जीउको मोटाइ । यही हो, हाम्रो समस्याको जड । बिहान हतार–हतार दुई–चार गाँस च्यापेर काममा जान हतार, दिउँसो हल्काफुल्का खाजा, साँझपख कहिलेकाहीं साथीभाइसँग जमघट अनि बेलुका मस्तको खाना । मस्तको खाना भन्नाले अघाउँजी खाने भन्ने बुझिन्छ । नानीदेखि लागेको बानी, अघाउँजी नखाए चित्तै नबुझ्ने ।

भातले यो गर्‍यो, त्यो गर्‍यो भनेर सत्तोसराप गर्नुभन्दा हामीले खानपानमा थोरै सुधार गर्नसके हामी स्वस्थ हुन्छौं । त्यसको लागि हामीले भात खाने होइन, खाना खाने बानी विकास गर्नुपर्‍यो । एक छाक भात, एक छाक रोटी खानुपर्‍यो । धान, गहुँमात्र होइन, अन्य विभिन्न किसिमका अन्नबाट बनेका खानेकुरालाई समेत भान्सामा भित्र्याउनुपर्‍यो । मकैका च्याँख्ला, कोदोको रोटी या ढिँडो, फापरको रोटी या ढिँडोजस्ता खानेकुरा नियमित रूपमा खाने गर्नुपर्‍यो । दाल, गेडागुडीलाई भात या रोटीसँग खाने होइन कि भात या रोटी बराबरजस्तै खान थाल्नुपर्‍यो । माछा, मासु, अन्डा, दूध नियमित रूपमा उपभोग गर्नुपर्‍यो । यी खानेकुरा विशेषगरी बढ्दो उमेरका केटाकेटीलाई नियमित ख्वाउनुपर्‍यो । हरिया सागपात सके हरेक छाक नसके हरेक दिन उपभोग गर्नुपर्‍यो । फलफूल पनि हरेक छाक या हरेक दिन खानैपर्ने खाना हुन् । हरेक छाकमा केही न केही फलफूल खाने गर्नुपर्‍यो । महङ्गा फलफूल नै खानुपर्छ भन्ने छैन । मौसम अनुसार पाइने अनि कम मूल्यका फलफूल बढी पोषिला हुन्छन् ।

भातभन्दा अरू खाना पोषिला हुन्छन् भन्दैमा हामीलाई बानी परेको खाना चटक्क छोड्न पनि सकिँदैन । खानपानमा ‘भात’को एकाधिकार अन्त्य गर्दै सबै खानालाई समान पहिचान दिई विविधता र समावेशिता अपनाउन जरुरी भएको छ । त्यसले मात्र खानपानबाट सिर्जना हुने रोगबाट मुक्ति पाइन्छ । स्वस्थ व्यक्ति, स्वस्थ परिवार, स्वस्थ समाज निर्माणमा पनि सहयोग पुग्छ ।
वस्ती खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हुन् ।

प्रकाशित : आश्विन ४, २०७४ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?