ग्लोबल नेपाली

सुजीव शाक्य

काठमाडौँ — बैंककको एमबीके मार्केट, खावसान मार्केट वा प्रातुनाम मार्केटतिर जाँदा नेपाली गीत र नेपाली भाषा सुनेर सबै अलिक स्तब्ध हुने गरेको देखिन्छ । भारतीय र नेपाली पर्यटकले मनपराउने बजारहरूमा नेपाली वा हिन्दी बोलेर थाई भाषा पनि बोल्ने, बुझ्ने र बोल्नेसँग किनमेल गर्न कति सजिलो भनेर धेरैले भन्छन् ।

बैंककको एमबीके मार्केट, खावसान मार्केट वा प्रातुनाम मार्केटतिर जाँदा नेपाली गीत र नेपाली भाषा सुनेर सबै अलिक स्तब्ध हुने गरेको देखिन्छ। भारतीय र नेपाली पर्यटकले मनपराउने बजारहरूमा नेपाली वा हिन्दी बोलेर थाई भाषा पनि बोल्ने, बुझ्ने र बोल्नेसँग किनमेल गर्न कति सजिलो भनेर धेरैले भन्छन्।

मेरा थाई साथीहरू प्रश्न गर्छन्– के नेपालीहरू संसारभरि व्यापार गरेर हिँड्ने जाति हो? कम्बोडियाको राजधानी नोमपेनमा प्राय: सबै इन्डियन रेस्टुरेन्टहरू नेपालीहरूकै छ। कम्बोडियन साथीहरूले मलाई सोधे– नेपालीहरू रेस्टुरेन्ट व्यवसायी हुन् र? अमेरिका र युरोपमा इन्डियन रेस्टुरेन्ट भन्ने बित्तिकै नेपालीले चलाएको वा नेपाली कामदारहरूको बाहुल्य रहेको पाइन्छ।

Yamaha

अफ्रिकाको रुवान्डा र अन्य अफ्रिकी देशहरूमा पनि संयुक्त राष्ट्र संघसँग आबद्ध संस्थाहरूमा नेपालीहरूको बाहुल्यले गर्दा नेपालीहरूको चिन्हारी नै अर्को छ। जिम्बाब्वेमा त राष्ट्र संघको प्रमुख नै नेपाली छन्। हामी आफैं पनि रुवान्डामा पाँच वर्षदेखि काम गर्दैछौं र यो नेपाली चिन्हारीले हामीलाई धेरै आदर–सत्कार मिलेको छ। ‘नेपथ्य’ जस्तो नेपाली ब्यान्डले संसारका ठूलठूला सहरका ख्यातिप्राप्त ठाउँहरूमा कार्यक्रम गर्ने गर्छ। दीपक रौनियारको सिनेमा न्युयोर्कका हलहरूमा हेर्न सकिन्छ। नेपाली अनुहारहरू संसारका बिभिन्न टेलिभिजन स्क्रिनमा देख्न सकिन्छ भने नेपालीहरू अब भारतका पुस्तक प्रकाशक गृहहरूमा सम्पादकका रूपमा भेटिन्छन्। भारतीय फिल्म र टिभीदेखि अमेरिकाका रंगमञ्चमा नेपालीहरू देखिन थालेका छन्। २०–२५ वर्षअघि नेपालीहरूको विदेशमा पहिचान गोर्खा सैनिकको रूपमा प्रचलित थियो भने अहिले विविध पहिचान बोकेर नेपालीहरू संसारमा चिनिन थालेका छन्। तर प्रश्न छ, कसरी यो पहिचानलाई समेटेर विश्वमा नेपाली चिन्हारीको काँचुली फेर्ने?

नयाँ सोच, नयाँ पहिचान१५ वर्षअघि संसारमा चार–पाँच लाख नेपालीहरूको हितको निम्ति खोलिएको संस्था ‘एनआरएनए’ हाँकिरहेका हालका अध्यक्ष शेष घलेले नेपालीहरूको पहिचान परिवर्तनका लागि ‘भिजन–२०२०’ नाम दिएर अभियान थालेका छन्। नेपालीहरूको चिन्हारीमा परिवर्तन ल्याउने हो भने नयाँ पुस्तालाई समेट्न जरुरी छ। हामी नेपालीले अरू मुलुकबाट सिकेर स्वदेशमै सकारात्मक परिवर्तन ल्याउनुको साटो नेपालमै उन्मूलन गर्नुपर्ने गलत बानी र आचार–व्यवहारसमेत विदेशतिर लगेका छौं। गतवर्ष एनआरएनएको अमेरिका, न्युजर्सीमा भएको कार्यक्रममा आसन ग्रहणको ताँती, नेपालमा जस्तै समयको वास्तै नगर्ने प्रवृत्ति, नेपालका राजनीतिक नेताहरू लगेर राजनीतिक भाषण चुट्न लगाउने, एमाले, माओवादी र कांग्रेसको रेखाले विभाजित समाजको झल्को देखाउने जस्ता घटनाहरू देख्दाम त स्तब्धै भएँ। अमेरिकालाई आफ्नो कर्मभूमि मानेर बसेका मेरा एक मित्रले सोधे, ‘मेरा छोराछोरीले यस्तोमा आएर के गर्ने? के सिक्ने?’

नेपालीहरूको जनसंख्या नेपाल बाहिर द्रुतगतिले बढ्दैछ। कतारमा नेपाली जनसंख्या भुटानको कुल जनसंख्याभन्दा बढी भइसक्यो। नेपाल बाहिर रहेका ४०–५० लाख नेपालीहरू अब दुई भागमा विभाजित छन्। एउटा सानो समूह, जो नेपालमा आफ्नो राजनीतिक भविष्य कहिल्यै साकार हुन नसकेकाले विदेश पुगेर त्यहीं नेपाली संस्थाहरू खोलेर पुरानो धोको पूरा गर्नेमा लागेको छ। अर्कोले चाहिँं नेपाली चिन्हारीलाई घरमै थन्काई परिवारजन र साथीहरूको सानो समूहबीच आफ्नो चिन्हारी साँचेर राख्ने गर्दैछ। अमेरिकामा हुर्केर त्यहीं एउटा ठूलो बैंकको ठूलो पदमा रहेका व्यक्तिले मलाई भने, ‘दाइ, म एनआरएनएको वेबसाइटमा जान्छु, सबै नेपालीमा छ, केही बुझ्दिन। मलाई नेपाल र नेपालीहरूका निम्ति केही गर्न मन छ, तर मलाई न लामो भाषण हुने कार्यक्रममा जान मन छ, नत चुनावको राजनीतिमा होमिन।’

अबको नेपाली पहिचान भनेको यी ‘ग्लोबल नेपाली’हरू हुन्, जसले संसारको कुनाकाप्चामा गएर हामी पनि विश्वको सबभन्दा श्रेष्ठ काम, पद वा व्यापारमा प्रतिस्पर्धा गर्न सक्छौं भन्ने सामथ्र्य राख्छन् र आफू नेपाली भएकोमा गौरव पनि गर्छन्। अब नेपालीहरूको यो चिन्हारी संसारसामु पेस गर्ने नयाँ अभियानकर्ताहरूको खाँचो छ। घाँटीमा माला, अनुहारमा अबिर, छातीमा ब्याज र आसन ग्रहणको फितुरो गर्नेहरूले सायद योगर्न सक्दैनन्।

नेपाल फर्कनुपर्ने बेला सहकर्मी राजेश श्रेष्ठले मलाई सोच्न बाध्य पार्ने कुरा राख्यो– हामी नेपालीहरूको आफ्नो राष्ट्रियता झल्काउने एउटा दिन पनि भएन। हुन पनि हो, हामी रुवान्डामा हुँदा होस् वा कम्बोडियामा वा अमेरिकामा, सोच्छौं– अन्य मुलुकहरूले झैं हामीले पनि नेपालको राष्ट्रिय दिवस भनेर, मानिसहरू बोलाएर, रातो चन्द्र फहराएर, सयौं थुंँगा बजाएर, नेपाली परिकार पस्केर आफ्नो देशलाई चिनाउन पाए कस्तो राम्रो हुन्थ्यो। तर राजेशले भनेझैं त्यो कुन दिनलाई मान्ने– फागुन ७? गणतन्त्र दिवस? वा संविधान दिवस? यी तीनमध्ये एक वा अर्कै कुनै दिनलाई नेपालको ‘नेसनल डे’ वा राष्ट्रिय दिवस बनाउनुपर्‍यो, जुन दिनलाई संसारभरिका नेपालीहरूका निम्ति आफ्नो राष्ट्रियता र पहिचान सम्झने/सम्झाउने अवसर बनोस्।

कोलकातामा पढ्दाताका सन् १९८७ को साफ गेम्समा नेताजी इन्डोर स्टेडियममा नेपाली खेलाडीहरूलाई हाम्रो राष्ट्रिय झण्डा लहराएर सानो समूह भए पनि ‘रातो चन्द्र र सूर्य...’ गाएर त्यस बखतको युवा रगत तातेको झझल्को अहिले पनि आउँछ। हामीलाई राष्ट्रिय चिन्हारीको खाँचो छ। संसारभरिका नेपालीहरूलाई जोड्ने सञ्जालको खाँचो छ। फेसबुक र अन्य सामाजिक सञ्जालमा गालीगलौज, नकारात्मक सन्देशहरूको बाढीभन्दा सकारात्मक नेपाल निर्माण गर्नसक्ने सोचहरूको खाँचो छ।

संसारमा त्यस्तो मुलुक विरलै होला, जहाँ विदेशमा बसोबास गरेर फर्केकाले देशलाई अघि बढाउन मद्दत नगरेका हुन्। हामीकहाँ २०४६ पछि विदेशमा बस्न सक्ने र बसिसकेकाहरू नेपाललाई नै कर्मथलो बनाएर फर्के। र धेरै क्षेत्रमा परिवर्तन ल्याए– स्वास्थ्य, मिडिया, शिक्षा, प्रविधि आदिमा। अहिले नेपालको पछिल्लो संक्रमणकालको अन्त्य हुनलागेको छ। विदेशमा दक्षता हासिल गरेका नेपालीहरू अब फेरि स्वदेश फर्केर इतिहासको नयाँ अध्याय लेख्न तयार हुनुपर्छ।
www.sujeevshakya.com

प्रकाशित : आश्विन ५, २०७४ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारत भ्रमण कि नख:ट्या: ?

सुजीव शाक्य

भारतमा पहिले राजा र अहिले नेताहरू विशेष गरिकन प्रधानमन्त्री नै जानलाग्दा धेरै चासोको विषय हुने नै भयो । भ्रमणमा नेपालले केही उपलब्धि नपाए पनि केही नेपालीले अवश्य उपलब्धि हासिल गर्नेछन् ।

विमानमा प्रधानमन्त्रीसँंग पछिपछि गार्ड राखेको सेल्फी खिच्नुका साथै एक–दुई डिल पनि भैहाल्छ कि ? दिल्लीमा ओर्लेर त हामी नेवा:हरूको नख:ट्या: गएजस्तो भइहाल्छ । खानपिनको कमी हुँदैन, रमाइलो त भइहाल्ने नै भयो, आफूजन माझ । एक–दुई ठाउँमा खोक्न पनि बोलाउँछन् । दोसल्ला ओड्यो, दंग ।

मसलाको पोका लिएर फिर्ता
अहिलेसम्मका भारत भ्रमणमध्ये कति साँच्चिकै ‘वाह’ भन्ने खाले भएका छन् ? राजा, प्रधानमन्त्री, नेताहरूले भाषण दिएका ठाउँका कति व्यापारी नेपालमा लगानी गर्न आएका छन् ? दसकौंदेखि दस लाख पर्यटक भनेर बगाएको हजारौं बोतल रेड लेबलको प्रतिफल खोइ ? सत्तरी वर्षदेखि ३० किलोमिटर रेलबाहेक अरु सबै रिपोर्टको लिक बने । पेट्रोलियम बग्ने पाइपको नक्साहरू पाइपमै थन्के । काठमाडौं–कोलकाता उडान संख्या साताको चार काट्न सकेन । सीमा पार गर्दा तेर्सिने बन्दुकहरू छेउ लागेनन् । महाकालीको परियोजना परीहरूको योजना नै भए, धरातलतिर आउने देखिएन । प्रत्येक भ्रमणपछि सफल भयो भनेर पत्रकार सम्मेलनमार्फत ढ्याङ्ग्रो पिटिन्छ । भारतले केही रुपैयाँ भोजमा आएकालाई मसलाको पोका दिएको जस्तै दिएको देखाएर दंग पर्छन् । स्वतन्त्र भारतसंँगको ७० वर्षको इतिहासमा विरलै योभन्दा धेरै फरक कुरा भएको पाइन्छ ।
चीन भारतलाई प्रतिस्पर्धी ठान्दैन
यसपटकको भारत भ्रमण त अझै रोचक हुनेछ । गतसाता दिल्लीमा एयरपोर्टबाट होटलतिर लिएर जाने ट्याक्सी चालकले मलाई सोध्यो, ‘यो चीन र भारतको हुनलागेको लडाइँमा तिमी नेपालीहरू कुन पक्षतिर छौ ?’ पछि यो प्रश्न मलाई केही प्रबुद्ध व्यक्तिहरूले पनि सोधे । भारतीय टेलिभिजन च्यानलमा भारतीय जनतालाई युद्ध हुने भानलाई अझ झकझकाइरहेछ । अब नेपाल र नेपालीले पनि कुनै पक्ष लिनुपर्ने बाध्य भएको झैं लाग्छ । मैले धेरै ठाउँमा भनेँ, ‘युद्ध भयो भने चीनतर्फ नेपाली सैनिक ढल्किएको त कसैलाई थाहा छैन, तर जब–जब भारतले सेना, आफ्नो देशमा होस् वा विदेशमा, परिचालन गर्छ, मर्नेमा धेरै त नेपाली नै हुन्छन् । अब हामी कतातिर हो भन्ने ? हाम्रो प्रधानमन्त्रीले यो कुरोलाई सधैं सम्झेर कुरा गरिदिए जाती ।’
जसरी हामी नेपालमा बसेर सोच्छांै कि दिल्लीमा प्रमुख व्यक्तिहरूको काम नै कसरी नेपालमा हस्तक्षेप गर्ने भन्ने विषयमा छ । त्यसरी नै भारतीयहरूले चीनको काम नै भारतसंँग कसरी प्रतिस्पर्धा गर्ने भनेर सोच्नु भन्ने ठान्छन् । दुवै गलत हुन् । दिल्लीमा नेपालको विषयमा चासो राख्ने व्यक्तिहरूको संख्या हातमा गन्न सक्छांै । बेइजिङमा भारतको विषयमा प्रोपोगान्डा गर्न खटिएका बाहेकलाई केही वास्ता छैन । चीन अमेरिकालाई विश्वको सबभन्दा ठूलो अर्थतन्त्र भनेर विस्थापित गर्ने खेलमा व्यस्त छ । नेपालले आफ्नो स्थिति तसर्थ बुझ्न आवश्यक छ । दुई मध्ये एकलाई चुन्ने होइन र दुइटालाई प्रतिस्पर्धीको रूपमा हेर्ने होइन । तर एउटालाई शताब्दीदेखिको व्यापारिक पार्टनर र अर्कोलाई उदाउँदै गरेको भविष्यको सबभन्दा ठूलो व्यापारिक साझेदारका रूपमा हेर्नुपर्छ । दोक्लम जस्तो सानो कुरोको पक्ष–विपक्षमा उभिएर होइन, तर अबको बीस–तीस वर्षको दुवैतिरको सम्बन्ध सोचेर अगाडि बढ्नुपर्छ । 
साँघुरो दृष्टिमा परिवर्तन
नाकाबन्दी ताका नेपालीलाई जतिकै वा त्योभन्दा बढी सीमापारि भारतीयलाई मर्का पर्‍यो । विहार र 
उत्तर प्रदेशको प्रतिव्यक्ति आय नेपालीको भन्दा कम छ, तसर्थ भारतीयहरू व्यापार र कामको सिलसिलामा नेपालमा धेरै आउनु स्वाभाविक हो । खुला सीमाले भारतीयलाई नेपालीलाई सरह आर्थिक सहयोग पुर्‍याएको छ । सीमा पारिका बजारमा नेपाली किनमेल गर्न जान्छन् र त्यहाँ नेपालीले किन्ने सामान त्यहींका भारतीयले कति किन्ने गर्छन् ?
राष्ट्रवाद, जातीयताभन्दा धेरै गहिरोगरी यो सम्बन्धलाई हेर्न जरुरी छ । दिल्लीको एउटा विश्वविद्यालयमा लेक्चर गर्दा मलाई एक विद्यार्थीले खुला सीमाका कारण भारतमा आतंककारीहरू नेपालबाट आउने विषयमा प्रश्न गरे । मेरो जवाफ सरल थियो, सायद खुला सीमाले होला, नेपालमा हुने धेरै अपराधीहरू कताबाट आउँछन् भनेर हामी पनि सोच्ने गर्छौं । हाम्रा दिमागहरू एकतर्फी मात्र घुम्ने गर्छन् । खुला सीमालाई हामीले जहिले पनि बाधकको रूपमा हेर्‍यौं । खुला सीमासँंग जोडिएका व्यक्तिहरूको आवाज सुन्नुपर्‍यो, उनीहरूले जीविकालाई सुधार्नतिर सोच्नुपर्‍यो । दिल्ली र काठमाडौंको साँघुरिएको दृष्टिमा परिवर्तन आउनुपर्‍यो ।
नयाँ सोच नयाँ अभिप्राय:
दिल्लीको अर्को एउटा कार्यक्रममा भारत–नेपालको सम्बन्ध कसरी सुधार्ने भनेर मलाई सोधियो । मैले एउटा सानो उदाहरण लिएर सुधारको थालनीका विषयमा कुरा राखँे । लैनचौरस्थित भारतीय दूतावासको गेटमा हुने कुराकानीबारे धेरैले टिप्पणी गर्छन् । काठमाडांैस्थित सबै दूतावासमा जाँदा प्रथम कुराकानी नेपालीमै हुन्छ । त्यहाँ खटिएका सुरक्षाकर्मी वा कर्मचारीले नेपालीमै कुराकानी गर्छन् । अहिले त धेरै दूतावासका कूटनीतिज्ञ र राजदूतले पनि नेपाली सिकेका छन् । तर गेटमा हिन्दीमा आउने प्रश्नको बौछार कसले थेग्ने ? अरे, नेपाली त भारतमा पनि आधिकारिक भाषा हो । मैले निवेदन गरँे, यो सानो अभिप्राय:ले मनमुटाव अलिक भए पनि घट्ला कि ? भारतले नेपालीलाई गरेको भूकम्पपछिको सहयोग, वर्षाैंदेखि गरिआएको आर्थिक सहयोग, छात्रवृत्ति कार्यक्रमहरूबाट आएको परिवर्तन यी सबैलाई सकारात्मक रूपमा ग्रहण गर्न सक्नुपर्‍यो । सायद केही बोलीचाली, हावभावमा अलिअलि परिवर्तन ल्यायो भने सम्बन्ध सुधारमा निकै टेवा पुग्ला कि ?
नेपाल र भारतले सम्बन्ध सुधार गरेर भविष्यमा कायापलट गर्ने नै हो भने आर्थिक सम्बन्ध सुदृढ पार्नुपर्छ । भारतमा भएको नोटबन्दी त्यसपश्चात जीएसटी कर प्रणाली लागू हुनाले ‘दुई नम्बरी’ काम गर्न धेरै कठिन बन्दै गएको छ । भारत र नेपालको व्यापार ढाँचा तस्करीमुखीका रूपमा विकास गरिएको हो । सीमामा दुवैपट्टि सरलता विरोधी प्रणाली अपनाइए । अब भारतमा भएको सुधार र सीमामा निर्माण पूरा हुनलागेको आईसीपी (इन्टिग्रेटेड कस्टम्स प्वाइन्ट) ले आयत–निर्यात प्रक्रियामा काँचुली फेर्नेछ । अब साँच्चै व्यापारीहरू होइन, उद्यमीहरू लाग्नेछन् । सीमा अब दुई देशको आर्थिक प्रगतिको स्रोत बन्न सक्छ । नहिच्किचाई छाती फुलाएर बिना रोकटोक आफ्नो उद्यमशीलता फष्टाउने अवस्था बनाउन सकिन्छ । सुरक्षा अबको प्रविधिले प्रदान गर्न सक्छ र त्यसले दुवै देशको कर आर्जनमा पनि सघाउ पुर्‍याउनेछ । 
दुवै पक्षलाई आर्थिक रूपमै द्विपक्षीय सम्बन्ध सुधार्नतिर धकेलिनुपर्छ भन्ने लाग्यो भने 
सायद नाकाबन्दीको घाउ पनि निको होला र कुनै भारतीयले हामी युद्धमा कुन पक्षतिर उभिएका छांै 
भनेर नसोध्लान् । सायद त्यसपश्चात् नेपालमा भारत विरोधी हुनु नै नेपालको राष्ट्रवाद हो भनेर दशकौं यही मुद्दामा राजनीति गरेर टिकिरहेकाहरूको स्थानमा नयाँ युवा अनुहार हेर्न पाइएला । सानो पाइलाबाटै ठूलो यात्राको सुरुवात हुन्छ । 
www.sujeevshakya.com

प्रकाशित : भाद्र ७, २०७४ ०८:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT