कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निर्वाचित कुलीनतन्त्रको जगजगी

चन्द्रदेव भट्ट

काठमाडौँ — भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ । दूरदराजमा बसोबास गरेर जीवनयापन गर्नेहरू अब साँच्चै प्रजातन्त्र र विकासको अनुभूति गर्न पाइनेछ र जीवनयापन गर्न सजिलो हुनेछ भन्ने आश लिएर बसेका छन् ।

निर्वाचित कुलीनतन्त्रको जगजगी
तर प्रजातन्त्रले साँच्चै नागरिकका यी चाहनाको परिपूर्ति कुन हदसम्म गर्छ भन्नेचाहिँ भोलिका दिनमा हामी आन्तरिक राजनीति र बाह्य चुनौतीलाई कसरी सम्बोधन गर्छौं भन्नेमा निर्भर हुनेछ । त्यसैगरी हामीमा अन्तरनिहित राजनीतिक संस्कारलाई कसरी प्रयोग गर्छौं भन्ने कुराले पनि प्रजातन्त्रको भविष्य निर्धारण गर्नेछ ।

प्रजातन्त्रका लागि संसारमा सबैभन्दा बढी आन्दोलन र उथलपुथल भएका देशहरूमध्ये नेपाल अग्रपङ्क्तिमै पर्छ । संसारका धेरैजसो आन्दोलन ‘स्वतन्त्रता’का लागि भएका छन्, तर पछिल्लो समय प्रजातन्त्रको लहरसँगै अधिकारमा आधारित पहिचानको राजनीतिले अग्रस्थान ओगटेको देखिन्छ । पहिलेका धेरै आन्दोलन बाह्य शक्ति (साम्राज्य शक्ति) विरुद्ध भएका थिए भने पछिल्ला आन्दोलनहरू राष्ट्र–राज्यभित्रै भएका छन् । शीतयुद्धको अन्त्यपछि विकास भएको खुल्ला राजनीतिक वातावरणले अवसर र चुनौती दुवै ल्याएको देखिन्छ ।

यो बीचमा राजनीतिको व्यवस्थापन गर्न नसक्ने राष्ट्रहरू आन्तरिक सङ्घर्ष तथा द्वन्द्वको चपेटामा परेका छन् । धेरैजसो सङ्घर्ष र द्वन्द्व अधिकार र पहिचानका लागि भएका छन् । परिणमस्वरूप नयाँ–नयाँ राज्यको जन्म हुनपुगेको छ । संयुक्त राष्ट्र संघको स्थापना हँुदा यसका सदस्य राष्ट्रहरूको संख्या ५५ थियो । तर राष्ट्र संघको स्थापना र शीतयुद्धको अन्त्यपछि संसारमा स्वतन्त्र राष्ट्रहरूको संख्या पनि बढ्दै गएको छ र यो क्रम जारी छ । शीतयुद्धपछिको समस्या भनेको ‘राष्ट्र र राज्य’ बीचको व्यवस्थापनको हो । यसलाई समाधान गर्न एउटै उपाय आन्तरिक राजनीतिको सही व्यवस्थापन र प्रजातन्त्रलाई निश्चित भूगोल (देश) भित्र बसोबास गर्ने सबै नागरिकले अनुभूति गर्ने वातावरण सिर्जना गर्नु हो ।

यति हँुदाहँुदै पनि हामी नेपालीले गौरव गर्ने कुरा के हो भने विगतमा नेपालमा भएका विभिन्न किसिमका आन्दोलनको असर राष्ट्रिय स्वाधीनता र अखण्डतामा परेन । हामी राष्ट्र–राज्यको रूपमा अटल भएर विश्व मानचित्रमा रहँदै आएका छौं । संसारका धेरै राष्ट्र विश्व मानचित्रबाट हराएका छन् । हाम्रो समस्या के हो भने हामीले पटक–पटक प्रजातन्त्रका लागि आन्दोलन गर्‍यौं । सुगौली सन्धिपछि हामी आन्तरिक कलहले ग्रसित भयौं । हामीकहाँ द्वन्द्व आन्तरिक बढी देखिन्छ । यसको अर्थ के हो भने हामीमा आन्तरिक समस्या निश्चय नै बढी छन् । यी आन्तरिक समस्याको पछाडिका कारणहरू हामीले कहिल्यै खोज्ने कोसिस गरेनौं । हामीले एकपछि अर्काे सत्ता परिवर्तनमा मात्र राजनीतिलाई केन्द्रित गर्‍यौं । तर प्रजातन्त्रका अन्तरवस्तुहरू कसरी व्यवहारमा ल्याइएका छन्/ल्याइनुपर्छ, त्यतातिर हाम्रो ध्यान कम गएको देखिन्छ । सायद यही कारणले होला, अहिलेसम्म नेपाली नागरिकले सही अर्थमा प्रजातन्त्रको अनुभूति गर्न सकेका छैनन् ।

त्यसो त संसारका प्रजातान्त्रिक रूपले बलियो मानिएका देशहरूमा पनि उदारवादी प्रजातन्त्रमा समस्या देखिएको छ र उदारवादी प्रजातन्त्रको केन्द्रविन्दु मानिएका ‘पश्चिमा राष्ट्रहरू’मै ठूलो भूकम्प आएको छ । त्यहाँ पनि प्रजातन्त्रप्रति जनताको गुनासो बढ्दैछ । यसका पछाडि मूलत: दुइटा कारण छन्– पहिलो, बसाइँ–सराइ र प्रविधिले सामाजिक संरचनामा ल्याएको परिवर्तन । दोस्रो, राजनीतिक अर्थतन्त्रमा आएको परिवर्तन । पहिलो कारणले ती राष्ट्रहरूलाई पनि परम्परागत तरिकाबाट प्रजातन्त्रलाई सञ्चालन गर्न नसक्ने अवस्थामा पुर्‍याएको छ ।

हाल नवआगन्तुक नागरिक र तिनका संस्कृति, परम्परा र रहनसहनलाई पनि स्थान दिनुपर्ने अवस्था देखिएको छ । तर योसँगै आएको राष्ट्रियताको पुनर्जागरणले प्रजातन्त्रमाथि ल्याउनुपर्ने समसामयिक परिवर्तनलाई पछाडि धकेलिदिएको छ । राष्ट्रियतामा आएको यस्तो पुनर्जागरण पछाडिको मुख्य कारण सामाजिक संरचनामा आएको परिवर्तन नै हो । दोस्रो कारण, पटक–पटकको आर्थिक मन्दी र आर्थिक असमानता हो । यसले गर्दा प्रजातन्त्रको उपभोग सर्वसाधारण नागरिकले गर्न पाएनन् र यो एउटा ‘अभिजात्य’ वर्गको लागिमात्र सीमित हुनपुग्यो । पछिल्ला दिनमा अर्थराजनीति सम्बन्धी लेखिएका प्राज्ञिक पुस्तकहरूमा यसको व्यापक बहस भएको देखिन्छ । जे भए पनि आज आएर पश्चिमा उदारवादी प्रजातन्त्रमा ठूलो सङ्कट आइपरेको छ र यसको असर संसारका अरू देशमा पनि प्रस्टै देख्न सकिन्छ ।

नेपालको प्रजातन्त्रमा पनि आन्तरिक र बाह्य चुनौती प्रशस्त देखिन्छन् । आन्तरिक रूपमा हामीले राजनीतिको सही व्यवस्थापन गर्नसकेका छैनौं, जसले गर्दा राजनीतिक अस्थिरता निम्तिएको छ । पटक–पटकका राजनीतिक परिवर्तनहरूले एउटा फरक प्रकृतिको राजनीतिक र सामाजिक अवस्था सिर्जना भएको छ । नयाँ–नयाँ किसिमका अधिकारको पनि हामीले संविधानमा व्यवस्था गर्दै आएका छौं । यो साँच्चै राम्रो पक्ष हो, तर यसको अर्को पाटो भनेको संविधानमा प्रदत्त यी अधिकार परिपूर्ति गर्न चाहिने आधारभूत विषयवस्तुमा हामीले खासै ध्यान दिनसकेका छैनौं ।

यसले गर्दा हामीकहाँ पनि प्रजातन्त्र केही वर्ग र व्यक्तिका लागिमात्र सीमित हुनपुगेको छ । यी परिवर्तनले सिर्जना गरेको परिस्थितिलाई गन्तव्यस्थानसम्म पुर्‍याउन हामीलाई हम्मे–हम्मे परेको देखिन्छ । उदाहरणका लागि २०६२/६३ को जनआन्दोलनले मुलुकमा एउटा फरक राजनीतिक व्यवस्था ल्याएको छ ।

तर यसले ल्याएको परिवर्तनलाई व्यवस्थापन गर्ने न क्षमताको अभिवृद्धि भएको छ, नत राजनीतिक संस्कार नै विकास भएको छ । यसले गर्दा केही समयपछि हामी आफू परिवर्तन हुनुभन्दा व्यवस्था परिवर्तन गर्ने अवस्था सिर्जना गर्नतर्फ अगाडि बढ्छौं । यो हाम्रो विगतको अभ्यास पनि हो ।
प्रजातन्त्रलाई सही अर्थमा बुझ्न नसक्नु र बुझे पनि त्यसलाई व्यवहारमा लागू गर्न नसक्नु हाम्रो अर्को समस्या हो । प्रजातन्त्रको बुझाइको सवालमा हामी धेरै हदसम्म शब्दजालमै अल्झिएका छौं, यसको सारमा पुग्ने कोसिस गरेका छैनौं । उदाहरणका लागि हामीले प्रजातन्त्रलाई राजासँग जोड्यौं र लोकतन्त्र शब्द प्रयोगमा ल्यायौं । राजमार्गलाई लोकमार्ग बनायौं, तर दुवै शब्दको सही अर्थ खोज्ने कोसिस हामीले कहिल्यै गरेनौं । ‘प्रजनन’ प्रक्रियाबाट जन्मेकालाई ‘प्रजा’ भनिन्छ । प्रकर्षेण जायते इति प्रजा: भनेर शास्त्रमा स्पष्ट रूपमा व्याख्या गरिएको छ ।

तर हाम्रा कुनै पनि विद्वानले यो कुरा बाहिर ल्याएनन् र झुटलाई नै सत्य प्रमाणित गर्ने कोसिस गरे । यस्तो कमजोर र पूर्वाग्रही बुझाइ भएको समाजमा प्रजातन्त्रजस्तो संवेदनशील र जटिल शासन व्यवस्थालाई सफल अभ्यास गर्न सकिएला भन्ने कुनै निश्चित छैन । त्यसैगरी पछिल्ला दिनमा ‘निर्वाचित कुलिनतन्त्र’ (ओलिगार्की) अथवा प्रजातान्त्रिक कुलिनतन्त्रको विकास भएको छ र यसले शासन व्यवस्थाप्रति अविश्वास पैदा गरेको छ । भ्रष्टाचार, राजनीतिक असन्तुष्टि र राजनीतिक अस्थिरता सबै समाजमा हुन्छन् । रामराज्य रामको पालामा पनि थिएन, तर भ्रष्टाचार, अस्थिरता र अन्याय नै समाजको पहिचान र राष्ट्रका संरचनाहरूलाई नै त्यसको लागि प्रयोग गरिन्छ भने यो साँच्चै चिन्ताको विषय हो ।

पछिल्लो समय राजनीति र आन्दोलन पेसाका रूपमा विकसित भयो र यी दुइटै क्षेत्रमा लागेकाहरूले सबै सुविधा उपभोग गर्न पाए । तिनीहरूको आर्थिक प्रगति दिन दुगुना रात चौगुना भयो । अर्थात् राजनीतिमा लाग्ने अधिकांशले आफ्नो कर्तव्य छाडेको देखिन्छ । यस क्षेत्रमा लागेको एउटा व्यक्तिले अर्को व्यक्तिको र एउटा वर्गले अर्को वर्गको संरक्षण गर्ने परम्परा विकास भएको छ र यो सबै क्षेत्रमा व्याप्त छ ।

त्यो दायराभित्र पर्न नसक्नेहरूका लागि प्रजातन्त्र भनेको आन्दोलन, सत्ता परिवर्तन र निर्वाचन मात्र हो । अहिले धेरैजसो राजनीतिक दलमा कार्यकर्तालाई मात्र नागरिक सम्झिने प्रवृत्ति हावी भएको छ र यस्तो प्रवृत्तिले कार्यकर्तालाई मात्र संरक्षण गर्दै आएको छ । योग्यता, आवश्यकता र अन्य यस्तै पक्ष अहिलेको सन्दर्भमा गौण भएर गएका छन् । यहाँनिर चाणक्यको भनाइ सान्दर्भिक देखिन्छ । उनले भनेका छन्, ‘पूज्य हुनुपर्ने व्यक्तिको जहाँ अनादर हुन्छ, अपूज्य अर्थात् सजाय पाउनुपर्नेहरू जहाँ पुरस्कृत र सम्मानित हुन्छन्, त्यो मुलुकमा दुर्भिक्ष, मरण र भय यी तीन कुरा सदा रहिरहन्छन् र समाजमा न्यायको स्थापना हुनसक्दैन ।’ नेपाल यही चक्रव्यूहमा अल्झिएको छ ।

हाम्रो अर्को समस्या भनेको राष्ट्रियताले ल्याएको तरङ्ग हो । राष्ट्रियता कसरी बुझ्ने ? यो कसको लागि हो र कसको लागि होइन ? यी अति संवेदनशील प्रश्न हुन्, तर हामीसँग यी प्रश्न अनुत्तरित भएर गएका छन् । राष्ट्रियता र प्रजातन्त्रलाई सँगै लैजानु ठूलो चुनौती भएको छ । किनभने प्रजातन्त्रले स्वतन्त्रताको वकालत गर्छ भने राष्ट्रियताले संकुचनको परिकल्पना गर्छ । राष्ट्रियताचाहिँ ‘तिमी र म’ भन्ने भावनामा आधारित हुन्छ ।

यस अर्थमा राष्ट्रियताको बुझाइलाई सही दिशामा लैजान सकिएन भने राष्ट्र द्वन्द्वमा फँस्ने सम्भावना बढ्दै जान्छ । अर्कोतर्फ भूमण्डलीकरण र सूचनामा आएको परिवर्तनले सबै देशको शास्त्रीय मान्यतामा आधारित राष्ट्रियतामा सङ्कट ल्याएको छ र राष्ट्रिय नीतिहरू धेरै हदसम्म एकअर्काे देशबाट प्रभावित हुनगएका छन् । यो अहिलेको यथार्थ हो । तर धेरैजसो राष्ट्रले तीनवटा विषय राजनीति, न्याय र नीतिलाई केही हदसम्म आफ्नो नियन्त्रणमा राखेका छन् । यसले प्रजातन्त्र र राष्ट्रियतामाथि बाहिरबाट पर्नजाने प्रभावको न्युनीकरण गर्ने काममा मद्दत गर्छ । यस परिप्रेक्ष्यमा हामी कमजोर देखिन्छौं ।

प्रजातन्त्र र राष्ट्रियतासँग अर्को व्यापक छलफलमा आएको विषय हो– आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप । नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप छ । यो सत्य हो । तर यसका पछाडि विभिन्न कारण छन् । पहिलो कारण भनेको आन्तरिक राजनीतिक अस्थिरता नै हो । यसले गर्दा बाह्य शक्तिहरूलाई पनि आन्तरिक राजनीतिमा चलखेल गर्ने अवसर मिलेको छ । यसैगरी आन्तरिक राजनीतिक अस्थिरताले गर्दा बाह्य चुनौतीलाई सम्बोधन गर्ने क्षमतामा ह्रास आएको छ । हाम्रो मुलुकमा हुने गरेको आन्तरिक राजनीतिमा बाहिरी हस्तक्षेपको परिप्रेक्ष्य हेर्ने हो भने उर्दूमा प्रचलित सायरी बढी सार्थक देखिन्छ–

हमें तो अपनों ने ही लुटा, गैरों में कहाँ दम था
मेरी कश्ती भी वहीँ डुबी, जहाँ पानी कम था ।

यो पङ्क्ति कुन अर्थमा सान्दर्भिक हुन जान्छ भने धेरैजसो बाह्य हस्तक्षेप हामी आफंैले निम्त्याएका छौं । विगतमा पुर्खाहरूले अङ्ग्रेजसँग लडेर यो देशको सार्वभौमिकतालाई अक्षुण्ण राखेका थिए । त्यसैगरी हाम्रो आर्थिक परनिर्भरता त्यस्तो बेला कमजोर हुन गएको छ, जुन बेला हामीसँग आधुनिकताका सबै वस्तु उपभोग गर्ने सामथ्र्य देखिएको छ । तर बदलिँदो विश्व अर्थराजनीतिले ल्याएका अवसरलाई आन्तरिक कलहका कारण उपभोग गर्नबाट वञ्चित हुनपुगेका छौं ।

अन्त्यमा, जसरी शान्ति किन्न सकिँदैन र किनेको शान्तिले व्यक्तिको आत्मसम्मानमा ठूलो धक्का पुर्‍याउँछ र सत्यलाई ढाकछोप गर्ने कोसिस गर्छ, त्यसैगरी ‘बनिबनाउ’ प्रजातन्त्रले पनि नागरिकको भलो गर्ने सम्भावना न्युन हुन्छ । किनेको शान्ति र बनिबनाउ प्रजातन्त्र दुवै चिरस्थायी हुँदैनन् । प्रजातन्त्र निरन्तर अभ्यासबाट परिष्कृत हुँदै जाने विषय हो । तर परिष्कृतीकरणको लागि प्रजातन्त्रवादी (व्यवहारमा, सिद्धान्तमा मात्र होइन) आवश्यक पर्छ । प्रजातन्त्रवादी संस्कारबाट मात्र प्रजातन्त्रको समृद्धि र जनताले आफ्ना अधिकारहरूको प्रत्याभूति गर्ने अवस्थाको निर्माण हुन्छ ।

प्रकाशित : आश्विन १९, २०७४ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?