कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमजोरी चिकित्सकको मात्रै ?

डा. सुजितकुमार झा

काठमाडौँ — ‘राज्य कमजोर छ, मेडिकल माफियाको विगविगी छ, प्राविधिक पक्ष डाक्टरतर्फ लाग्छ । मान्छे मरेपछि ५/७ लाखको औषधी मगाउँछ, बिरामी रिफर गर्न मान्दैन, पैसा नपाई लास उठाउन पनि दिँदैन । शक्ति यिनकै हातमा छ ।

कमजोरी चिकित्सकको मात्रै ?

अनि हुलहुज्जत विना केही हुँदैन । के गर्ने तिमी पनि डाक्टर, म पनि डाक्टरकै लापरबाहीले हात गुमाउन पुगेंँ । हामीले हुलहुज्जत गरेनौं, पैसा पनि लिएनौं, तर छानबिन पनि भएन, म जीवनभर अपांग भएँ, डाक्टरको कारणले । आजसम्म यो ५० वर्षमा कुनै एक चिकित्सकको लाइसेन्स खारेज भएको थाहा छैन ।’

यी हरफ एक पढेलेखेका व्यक्तिले मेरो फेसबुकमा लेख्नुभएको थियो । गुम्सिएको पीडा पोखिएका छन्, यी हरफमा । सधैं जस्तो सञ्चार माध्यममा आउने चिकित्सकीय लापरबाहीका घटनाले सायद धेरै नेपाली आजित छन् । धेरैजना नेपालको स्वास्थ्यसेवा प्रवाहको व्यवस्थामाथि नै सशंकित छन् । हामी सबैले खोजेको र बस्ने देश नेपाल नै हो भने हामी सबै मिलेर यसको समाधान खोज्न अग्रसर हुनुपर्छ । मानिस बिरामी हुनु, जन्म र मृत्यु समान शाश्वत सत्य हुन् । ढिलो–चाँडो अस्पताल जोकोही पुग्नुपर्छ । त्यसैले समाचारमा रमाउनेभन्दा पनि व्यवस्थालाई नियालेर गर्नसक्ने सकारात्मक काम गरौं ।
बिरामीको उपचार : सामूहिक प्रयास
आफ्नो लक्षण पहिचान गरेर स्वास्थ्योपचारको आवश्यकता महसुस गर्नसक्ने बिरामी, बिरामीको अवस्था अनुसार स्वास्थ्योपचारको चाँजोपाँजो मिलाउन सक्ने आफन्त, बिरामीलाई सही समयमा अस्पताल पुर्‍याउन सक्ने एम्बुलेन्स, बिरामीको रोग पत्ता लगाएर सही सल्लाह दिने चिकित्सक, विभिन्न स्याहार गर्ने परिचारिका, उपचारका लागि आवश्यक उपकरण र औषधी मिलाउन सक्ने प्रशासन संयन्त्र लगायत धेरै निकाय बिरामीको प्रत्यक्ष उपचारमा संलग्न व्यक्तिहरू हुन् । यिनीहरू मध्ये कोही एक पक्षमात्र पनि गैरजिम्मेवार भए उपचारमा बाधा पर्छ । बिरामीको उपचारमा सोझो भूमिका राख्ने चिकित्सकको जिम्मेवारी अरूभन्दा अवश्य पनि बढी हुन्छ । छाती दुख्न थाल्दा हर्ट एट्याक हो कि भनेर अस्पताल समयमा पुग्नसके धेरै जोखिम न्युनीकरण गर्न सकिन्छ । तर ढिलो पुगे चिकित्सकले गर्नसक्ने उपचार धेरै सीमितमात्र बाँकी रहन्छ ।

लापरबाही भन्नेलाई भन्न धेरै गाह्रो नलागे पनि लापरबाही शब्द वास्तवमै गहन छ । चिकित्सकले उपचारमा संलग्न भई उपचार कार्यबाट विमुख भएर बिरामीको स्वास्थ्यमा क्षति भए लापरबाही भएको मान्नुपर्छ । हेर्दा सजिलै देखिने बिरामी, हिँडेर अस्पताल पुगेका पनि चिकित्सकले नचाहँदा पनि उपचारको पृथक तर अवश्यम्भावी पाटोका कारण मृत्युवरण गर्न पुग्छन् । हरेक औषधी र शल्यक्रियाको आफ्नै साइड इफेक्ट र नोक्सान हुन्छ । परिस्थिति अनुसार स्वास्थ्योपचारमा फाइदा बढी देखिए जोखिम उठाएर त्यस्ता शल्यक्रिया गर्ने र औषधी चलाउने चलन चिकित्सा विज्ञानमा छ । त्यही बमोजिम सुसूचित मञ्जुरिनामा दिने गरिन्छ र जोखिम बोकेर उपचार गर्ने निर्णयमा चिकित्सक र बिरामी पुग्छन् । सामान्य वा जटिल, प्राकृतिक वा लापरबाहीपूर्ण एवं मृत्युको कारण वैज्ञानिक तरिकाले छानबिन हुनुपर्छ ।

चिकित्सकीय लापरबाही हुन्न ?
हरेक विधामा हुने विकृत कार्यजस्तै चिकित्सा विधा पनि यस्ता आपराधिक तत्त्वबाट अछुतो छैन । विभिन्न प्रलोभन र दबाबमा गलत अभ्यास गर्ने स्वास्थ्यकर्मी र चिकित्सक छन् । तर अनुमान र आफूले चाहे बमोजिमको उपचार प्रतिफल नआउँदैमा लापरबाही भएको ठहर गर्नु अत्यन्त गलत हुन्छ । विचारणीय कुरा छ, चिकित्सकको लापरबाहीमा आफन्त ज्यान गुमाएको महसुस गर्नेले पक्कै पनि त्यस्तो चिकित्सकलाई आवश्यक कारबाही गराएर आफूजस्तै अरूलाई पनि कमसल चिकित्सकको सिकार हुनबाट जोगाउनुपर्ने हो । अप्रिय घटना घटे हुल जम्मा गर्ने, चिकित्सकको हुलहुज्जत गर्ने, अस्पताल तोडफोड गर्ने क्रियाकलाप हुन्छन् । छानबिनका लागि उजुरी गर्ने कता, न्याय पाउने कहिले र प्राविधिक रूपमा र पहुँचमा सबल अस्पताल र चिकित्सकसँग जित्न सकिने वा नसकिने अन्योलताको अवस्था छ । त्यसैले हुलदङ्गा नै धेरैले रोज्ने गरेको देखिन्छ । तर कहिलेसम्म ? सम्मुन्नत समाजको परिकल्पना गर्ने हो भने न्याय व्यवस्थाबाट टाढा बसेर हुँदैन ।

उपचारका क्रममा हुने लापरबाही देखिने घटनाको व्यावहारिक, वैज्ञानिक र छरितो न्यायिक छानबिन गर्न उच्चस्तरीय आयोग व्यवस्था गर्न जरुरी छ । रोगको उपचारका क्रममा हुने मानवीय क्षतिका विभिन्न कारण हुन्छन् । रोग निदान गर्ने क्रममा हुनसक्ने जोखिमप्रति हरेकपटक चिकित्सकलाई कारण मानेर सामाजिक, मानसिक र आर्थिक दबाब दिइरहे उच्च जोखिममा रहेका बिरामीलाई जोखिम मोलेर उपचार गर्ने चिकित्सकको आँट निरुत्साहित हुन्छ र यसको प्रत्यक्ष असर जनतामा पर्छ ।

चिकित्सकीय लापरबाहीबाट हुने मानवीय क्षतिको जिम्मेवारी पक्कै पनि चिकित्सक स्वयं हुने र त्यसको सजाय पनि चिकित्सकले भोग्नुपर्ने हुन्छ । तर भिडले तय गरेको आरोपका आधारमा हरेक मानवीय क्षतिलाई चिकित्सकको लापरबाहीको संज्ञा दिएर भिडतन्त्रलाई प्रोत्साहित गर्नेगरी चिकित्सकसँग आर्थिक असुली गर्ने मन्त्रिपरिषदको निर्णय अत्यन्त अवैज्ञानिक र अदूरदर्शी छ । चिकित्सकको लापरबाही नहुने होइन, तर सबै घटना लापरबाहीले हुने हैन । र लापरबाही भएको हो वा होइन, यसको फैसला छानबिनबाट हुनुपर्छ, भिडबाट होइन । जिम्मेवार र नियमनकारी निकायले छानबिन आयोगको परिकल्पना गरिहाल्ने समय आएको छ ।
डा. झा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा कार्यरत छन् ।

प्रकाशित : आश्विन ६, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?