हेरेर सिक्ने विद्यार्थीलाई सुनेर सिकाउने शिक्षक

काठमाडौँ — कम्प्युटर शिक्षण आफैमा रमाइलो र अप्ठ्यारो विषय हो । प्राविधिक विषय हुनाले यसको अध्ययन र अध्यापनमा निरसपन हुँदैन । अंग्रेजी वा गणितजस्तो विद्यार्थीले सम्झन अल्छी मान्ने खालको विषय पनि होइन यो । एउटा शिक्षकले जसरी विद्यार्थीलाई गणित पढाउँदा दिक्कलाग्दो हुन्छ, त्यस विपरीत कम्प्युटर पढाउँदा विद्यार्थीहरू बढी रमाउँछन् ।

हेरेर सिक्ने विद्यार्थीलाई सुनेर सिकाउने शिक्षक

किनकि यो विषय सैद्धान्तिक ५० प्रतिशत र प्रयोगात्मक ५० प्रतिशत आफैले तत्काल परिणाम निकाल्न सक्छन् ।

म एक दृष्टिविहीन शिक्षक । एउटा ‘माउस प्वाइन्टर’को सहायताले गर्नुपर्ने सबै काम कि बोर्डको सहायताबाट मात्र गर्नुपर्दा ग्राफिक्स कार्य स्वाभावैले कठिन हुन्छन् । तर ‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेजस्तै यो पनि असम्भव भने छैन । म आफैले कम्प्युटरमा विभिन्न चित्र बनाउन त सक्दिन, तर मैले गरेको निर्देशनको पालनाबाट मेरा विद्यार्थी भने यो कार्य सहजै गर्न सक्छन्, गरिरहेकै छन् । मैले मेरो ल्यापटपमा रहेको ‘स्क्रिन रिडर सफ्टवेयर, जेएडब्लुएस, एनभीडीए’को माध्यमबाट कम्प्युटरका निर्देशन र कमाण्ड सुन्छु र विद्यार्थीलाई सोही बमोजिम गर्न लगाउँछु । यसरी विद्यार्थीले सहजै रूपमा सिक्नसकेका छन् ।

सानो कक्षादेखि सुरु गरिएको कम्प्युटर शिक्षा तल्ला कक्षाहरूमा प्रयोगात्मक कार्यभन्दा बढी जानकारीमूलक छ । सानो कक्षामा अध्ययनरत विद्यार्थी उमेरका हिसाबले पनि माथिल्ला कक्षाका भन्दा भिन्न र चञ्चले स्वभावका हुन्छन् । उनीहरूको जिज्ञासु तर अति नै चञ्चल स्वभावको सन्तुलन मिलाएर उनीहरूलाई प्राविधिक ज्ञान हासिल गराउनु त्यति सजिलो भने हुँदैन । त्यतिमात्र होइन, बेलाबेला देखिने हार्डवेयर मर्मतको पक्ष अझै ठूलो समस्याका रूपमा देखापर्छ । यसले गर्दा धेरै कम्प्युटर सानो हार्डवेयर समस्याका कारण नचल्ने समस्या भोग्नुपरेको छ ।

अर्काको देखासिकी गरी सिक्ने विषयलाई निर्देशनकै भरमा सिकाउनु आफैमा बढी मिहिनेत गर्नुपर्ने कुरालाई अन्यथा मान्नु भएन । हाम्रा सरकारी विद्यालयका विद्यार्थी संख्या र राज्यको लगानीको सन्तुलन त मिलेको छैन नै, यसमा पनि सहरिया र गाउँले परिवेश धेरै भिन्न छ । स्रोत–साधनमा व्यक्तिका पहुँचका हिसाबले पनि गाउँ र सहर २०:८० को अनुपातमा छ । सोही पाठ्यक्रममा निर्धारित पाठ्यपुस्तकलाई शैक्षिक सामग्री सम्पन्नतामा अध्यापन गराउनु र पुस्तक हेरेर मात्र अध्यापन गर्नु धेरै अन्तर हुन्छ ।

कोरा सैद्धान्तिक विषय पढाउनुभन्दा प्रयोगात्मक सहितको प्राविधिक विषय पढाउनु फरक र दु:ख छ । किनकि सैद्धान्तिक विषयमा विद्यार्थीले ज्ञान हासिल गरे/नगरेको मापक केवल परीक्षाको मार्कसिट हो, तर प्रयोगात्मक विषयको मापक त तत्काल उसलाई प्रयोगशालामा परीक्षण गरी हेर्न सक्छ । मैले अनुभव गरेको अर्को कठिनाइको पक्ष हो, विद्यार्थीले तयार गरेको गृहकार्य वा उनीहरूले कम्प्युटर ल्याबमा तयार गरेका ग्राफिक्स परिणामको उचित मूल्याङ्कन गरी तत्काल सुझाव दिन पनि गाह्रो पर्छ ।

कम्प्युटर एउटा विद्युतीय मेसिन हो । यसलाई प्रयोग गर्न विद्युतीय शक्ति आवश्यक पर्छ । करेन्टकै आधारमा मात्र चलाउन सकिने यस्ता मेसिन दृष्टिविहीन शिक्षकद्वारा चलाउनु आफैमा जोखिम पनि हुन्छ । त्यसै त साना विद्यार्थीलाई यसको खतराबाट टाढा राख्नुपर्नेमा उनीहरूकै सहायताबाट विद्युतीय कार्य गर्नु अति नै संवेदनशील काम हो । हेरेर सिक्ने र भनेर सिकाउने बीचको कठिनाइ सहज रूपमा महसुस गर्न सुनेर वा पढेर होइन, सम्बन्धित ठाउँमा उपस्थित भएर मात्र गर्न सकिन्छ ।

पहुँचयुक्तताका हिसाबमा सामान्य स्क्रिन रिडर बाहेक कुनै साधानस्रोत नभएको अवस्थामा आफ्नो निजी ल्यापटपको स्क्रिन रिडरको सहायताले कक्षा २ देखि ८ सम्मका विविधतायुक्त विद्यार्थीको आवश्यकता पूरा गर्नु त्यति सजिलो छैन । ससाना विद्यार्थीले जथाभावी प्रयोग गरेर ल्याउने समस्या त्यसको नियमित मर्मत–सम्भारको अभाव दैनिक भोगिएका यथार्थ नै हुन् । राज्यले अन्य विद्यालयसरह दिने सुविधा बाहेक केही दिनुपर्छ भन्नेसम्मको चेतनासमेत सम्बन्धित निकायमा नरहेको देखिन्छ । दृष्टिविहीन शिक्षक र देख्ने विद्यार्थी बीचको तालमेल अनि विद्यार्थीले स्वाभाविक रूपमा गर्ने बदमासी सामान्य र यथार्थ नै हुन् ।

निर्धारित पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तथा निर्देशिकाहरू पनि दृष्टिविहीन मैत्री छैनन् । आम शिक्षकलाई मध्यनजर गरी निर्धारण भएका पाठ्य र प्रयोग सामग्रीको प्रयोग गरी आधारभूत तहको शिक्षा प्रदान गर्नु एक दृष्टिविहीन शिक्षकलाई ठूलै चुनौती र अवसर हो । पाठ्यक्रम विकास केन्द्रले सरकारको पाठ्यक्रमलाई एमपी ३ फम्र्याटमा उत्पादन गरी दृष्टिविहीन शिक्षकहरूलाई वितरण नगरिएको त होइन । तर यो अति सीमित छ । केही संघ, गैरसरकारी संस्थाहरूले सीमित रूपमा तयार गरेका अडियो एमपी ३ र डेजी भर्सनका पाठ्य पुस्तकहरूमा बाहेक सरकारले कुनै चासो राखेको छैन ।

संविधानले आधारभूत तहको शिक्षा सबैका लागि निशु:ल्क र अनिवार्य गरेको भए पनि पाठ्यक्रमले यसलाई सर्वसुलभ गराउनसकेको छैन । हुन त नीति निर्माण तहमा जबसम्म दृष्टिविहीनको उपस्थिति र हस्तक्षेपकारी पहुँच पुग्दैन, त्यतिबेलासम्म अपाङ्गतामैत्री परिवेशको परिकल्पनासम्म पनि गर्न सकिन्न । यसका लागि सम्बन्धित वर्गका संघ/संस्थाको समयोचित ‘एडभोकेसी’ जरुरी पर्छ ।

हुन त दृष्टिविहीन शिक्षकले देख्ने विद्यार्थीलाई प्राविधिक विषय अध्यापन गराउनेको संख्या थोरै होला । यसो भनेर राज्यले आफ्नो लाचारीपन ढाकछोप गर्न मिल्दैन । प्राविधिक विषयको शिक्षण गर्ने दृष्टिविहीन शिक्षक कम भए पनि गैरदृष्टिविहीन विद्यार्थीलाई विभिन्न विषय अध्यापन गराउने दृष्टिविहीन शिक्षकको संख्या भने आधा हजारजति छ । चाहे सामाजिक, नेपाली, गणित, नैतिक वा अंग्रेजी अध्यापन गर्ने शिक्षक जोकोही किन नहोउन्, उनले दृष्टिविहीन मैत्री शैक्षिक सामग्री प्राप्त गर्नसकेको छैन ।

आदिम कालतिरका अपाङ्गता भएकाहरू जसरी समाजमा घृणित व्यवहार सहन बाध्य थिए, त्यो व्यवहार आजको एक्काइसौं शताब्दीमा पनि महसुस गर्न विवश हुनुहुँदैन । आजको युग सबै नागरिक उत्पादनमूलक हुनुपर्ने युग हो । राज्यले भत्ता ख्वाएर पाल्नुपर्ने दृष्टिविहीनको ठूलो हिस्सा आम नागरिकसरह देश निर्माणमा सरिक छन् । थोरै अनुकूलताको व्यवस्था राज्यले मिलाउने चेष्टामात्र गरिदिने हो भने पनि देशभरका सबै उच्चशिक्षा हासिल गरेका दृष्टिविहीन मुलुक निर्माणमा अन्य आम नागरिकसरह योगदान गर्न तयार छन् । यसका लागि राज्यले नीति निर्माण र कार्यान्वयन तहमा सबैको पहुँचको उचित प्रबन्ध मिलाई हरेक संयन्त्र संविधानको मर्मअनुरूप समावेशी बनाउनुपर्छ । प्राविधिक शिक्षणलाई पहुँचयुक्त बनाउनुपर्छ ।

राज्यका हरेक सूचना दृष्टिविहीनले थाहा पाउन वा पढ्न सक्ने फम्र्याटमा उपलब्ध हुनुपर्छ । सबै सरकारी कागजातका इ–कपी कम्तीमा युनिकोडमा राखिनुपर्छ । पाठ्यक्रम विकास केन्द्रले जारी गरेका सबै पाठ्यक्रम युनिकोडमा राखिदिँदा के आपत्ति छ ? युनिकोडमा राखिएका सबै दस्तावेज दृष्टिविहीन बाहेक अन्य नागरिकले पढ्न त कुनै बाधा पर्दैन नि ।

राज्यले दृष्टिविहीन मैत्री र पहुँचयोग्य वातावरण सिर्जना गरी सबै नागरिकलाई वास्तविक समानताको व्यवहार गर्ने मनसाय राखोस् । हामी जस्ता दृष्टिविहीन शिक्षकले पनि अपनत्वका साथ मुलुकका सबै सूचना ग्रहण गर्न सकौं र मुलुकलाई केही न केही योगदान गर्नसक्ने वातावरण बनोस् । सबै प्राविधिक शिक्षा/शिक्षण सर्वसुलभ र दृष्टिविहीनमैत्री बनाइयोस् ।

प्रकाशित : आश्विन ६, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?