कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

जसले विविधताको ऐना देखाइदिए

हरि थापा

काठमाडौँ — डोरबहादुर विष्टलाई मैले टाढैबाट देखेको हुँ, नजिकबाट भेट्न पाइनँ । २०५२–५३ सालतिर मानवशास्त्र, समाजशास्त्रमा रुचि बढ्दै जाँदा उनी मेरो मानसपटलमा छाए । मैले समाजशास्त्र/मानवशास्त्र औपचारिक रूपमा त पढिनँ तर उनको खोज भने निरन्तर रह्यो ।

जसले विविधताको ऐना देखाइदिए

जब मैले डोरबहादुरबारे चासो राख्न थालेको थिएँ, उनी हराइसकेका थिए । २०६० पछि मैले उनलाई साँच्चै खोज्न थालें । चौधबिसा पुगें, कीर्तिपुरका फाँटहरू डुलें । ललितपुरका गाउँमा, कालीगण्डकीका थकाली बस्तीमा, खुम्बु क्षेत्रमा, सुर्खेततिर, दैलेखका गाउँगाउँमा, राउटे बस्तीमा, डडेलधुरामा उनका पदचिह्न नियाल्न खोजें । नेपाली प्राज्ञ र उनका विद्यार्थीसँग, उनले संगत गरेका केही विदेशीसँग, परिवारसँग र उनका पुस्तक र लेखहरूमा उनलाई खोजें ।

डोरबहादुर हराएको आउने पुस २७ गते २१ वर्ष पुग्छ । मैले मात्रै होइन, उनलाई धेरै मानिसले धेरै प्रकारले खोजे, खोजिरहेका छन् । हराएका–नहराएका कमै विद्धान्ले यो प्रकारको राष्ट्रिय चासो पाएका छन् । उनका परिवार र शुभचिन्तकहरू अझै उनी फर्कने आसमा छन् ।

सुरुआत
डोरबहादुर विष्टको जन्म १९८३ माघ ४ गते ललितपुरको झरुवारासीमा भएको हो । सैनिक पिताका छोरा डोरबहादुर परम्परागत धार्मिक, सांस्कृतिक वातावरणमा हुर्के । पाटन माविबाट एसएलसीपछि उनले त्रिचन्द्र कलेजबाट बीए पास गरे । २००९ सालमा विष्टले पाटन मंगलबजारस्थित आदर्श कन्या निकेतन स्कुलमा हेड टिचर भएर जागिरे जीवनको सुरुआत गरे । केही वर्ष उनको सक्रियता शिक्षा क्षेत्रमै रह्यो ।

२०१३ सालमा उनको जीवनमा एउटा मोड आयो । लन्डन युनिभर्सिटीमा साउथ एसियन कल्चरका विज्ञ प्रोफेसर क्रिस्टोफ भोन फिउअरर हाइमेन्डर्फ शेर्पासम्बन्धी अध्ययन गर्ने विचारले नेपाल आए । आफ्ना लागि सहयोगी खोजिरहेका हाइमेन्डर्फसँग उनले भेट्ने अवसर पाए । डोरबहादुरले प्रोफेसर जिम फिसरलाई दिएको अन्तर्वार्तामा भनेका छन, “जब मैले हाइमेन्डर्फबारे थाहा पाएँ, उनलाई भेटें र भनेँ— ‘तपाईंले मलाई आफूसँग आउने अनुमति दिनुभयो भने म धेरै खुसी हुनेछु । मैले मेरो आफ्नै देश र समाज मेरा दुइटा आँखा र कानले मात्रै होइन, लन्डन विश्वविद्यालयका प्रतिष्ठित प्रोफेसरका दुइटा आँखा र कान थपेर देख्न पाउनेछु । यसको बदलामा तपाईं जे भन्नुहुन्छ म गर्न तयार छु ।’ यसरी मैले आफ्नो सेवाको प्रस्ताव राखेको थिएँ ।”

डोरबहादुरले त्यस बेला पूरै एक वर्ष हाइमेन्डर्फसँग बिताए । सात महिना खुम्बु, दुई महिना पूर्वी पहाडी जिल्लाहरू, दुई महिना लमजुङ र कास्कीमा र एक महिना काठमाडौंको दक्षिण भेगका क्षत्री समुदायसँग ।

२०१७ सालमा उनले लन्डन जाने अवसर पाए । लन्डन पुगेपछि उनलाई मानवशास्त्र पढ्ने इच्छा भयो । तर हाइमेन्डर्फले यो कुरा रुचाएनन् । जसोतसो उनी मानवशास्त्र विभागमा अन्डरग्राजुएट कोर्सका लागि भर्ना भए । उनले इन्डियन इथ्नोग्राफीमा पढाइ पूरा गरे । थप अध्ययनका लागि हाइमेन्डर्फले सहयोग गरेनन् । बरु आफूसँग काम गर्न नेपाल फर्काए । तर, यसबेला डोरबहादुर ग्राजुएट स्टुडेन्टका रूपमा भर्ना भइसकेका थिए । हाइमेन्डर्फले उनलाई मास्टर्सका लागि पनि सहयोग गर्ने वचन दिएर आफूसँग काम गर्न नेपाल फर्काएका थिए । नेपाल फर्केर काम सकेपछि यी ब्रिटिस प्रोफेसरले विष्टलाई लन्डन नलैजाने प्रपञ्च रचे ।

यसै समयदेखि हाइमेन्डर्फसँग डोरबहादुरको मन कुँडियो । र, उनको जीवनमा अर्को अध्याय सुरु भयो ।

‘पिपल अफ नेपाल’
डोरबहादुरले हाइमेन्डर्फसँग घुमेका सबै ठाउँमा पुन: आफू घुमेर तथ्यांक संकलन गरे । तीबाहेकका ठाउँ पनि घुमे । विभिन्न जातजातिसम्बन्धी जानकारी लिए । र, २०२३ सालमा ‘पिपल अफ नेपाल’ पुस्तक प्रकाशित गरे । जति बेला नेपाली समाज निरंकुश पञ्चायती व्यवस्थामा जकडिएको थियो, एक भेष, एक धर्म, एक भाषा र एक संस्कृतिको चंगुलमा परिसकेको थियो, त्यही बेला डोरबहादुरले विविधताको ऐना देखाइदिए ।

‘पिपल अफ नेपाल’ प्रकाशित भएपछि नेपाली विविधताको झलक नेपाली र विदेशीमाझ प्रकट भयो । पुस्तकले नेपालका जातजातिको विविधता छर्लङ्ग पारे पनि विविधताविरोधीलाई यो कुराले खुसी बनाएन । उनीविरुद्ध दरबारमा उजुरी पर्‍यो । उनका जेठा छोरा मानवशास्त्री डा. हिक्मत विष्टले बताएअनुसार, उजुरीको आशय ‘डोरबहादुरले राष्ट्र भाँड्न लाग्यो, राष्ट्र फुटाउन लाग्यो, यसलाई अराष्ट्रिय तत्त्व घोषणा गर्नुपर्‍यो’ भन्ने थियो । त्यसपछि अराष्ट्रिय तत्त्व घोषणा गर्नुपर्ने हो कि होइन भनेर डोरबहादुरको खोजी सुरु भयो ।

उनका माहिला छोरा, पूर्वमन्त्री केशरबहादुर विष्टका अनुसार, पुस्तक सार्वजनिक भएको समयमा डोरबहादुर अमेरिकामा थिए । उनलाई फर्कनेबित्तिकै विमानस्थलबाटै पक्रने योजना बनेको थियो । ‘पिपल अफ नेपाल’ सूचना विभागले छापेको थियो । तत्कालीन युवराज वीरेन्द्रले विदेशीहरूमाझ यो पुस्तकका धेरै प्रति वितरण गरिसकेका थिए । त्यसैले पनि डोरबहादुरलाई अराष्ट्रिय तत्त्व घोषणा गर्न वा पक्रन असम्भव थियो । तर, यो पुस्तकले प्रोफेसर क्रिस्टोफ भोन फिउअरर हाइमेन्डर्फलाई भने झस्कायो ।

डोरबहादुरले यसरी तरंग ल्याएर आफ्नो प्राज्ञिक अभियान सुरु गरे । उनको नेपाल अध्ययन, नेपालका विभिन्न ठाउँको यात्रा र नेपालको विकासमा जातीय विविधताको महत्त्वसम्बन्धी लेखरचना प्रकाशन र प्रवचन निरन्तर रह्यो । दुर्गम क्षेत्र विकास समितिको कार्यकारी निर्देशक हुँदा होस् वा ल्हासाका लागि महावाणिज्य दूत हुँदा, उनको नेपाल अध्ययन अनवरत चलिरह्यो । ‘रिपोर्ट फ्रम ल्हासा’ र अन्य साहित्यिक कृतिहरू पनि प्रकाशित भइ नै रहे ।

मानवशास्त्रका ‘पिता’
डोरबहादुर मानवशास्त्र पढ्ने पहिलो नेपाली हुन् । उनको आफ्नो अध्ययन र अनुसन्धान त चलि नै रहेको थियो, मानवशास्त्रप्रति गहिरो रुचिका कारण त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्र र समाजशास्त्रको अध्ययनको सुरुआतको पहल पनि उनैले गरे । समाजशास्त्र/मानवशास्त्र विभागको गठन भयो । उनले एमए समाजशास्त्र/मानवशास्त्रको पाठ्यक्रम तयार गर्न पनि महत्त्वपूर्ण भूमिका खेले ।

उनी २०३८ सालमा नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास) को कार्यकारी निर्देशक नियुक्त भए । सिनासमार्फत उनले थुप्रै युवा अनुसन्धानकर्तालाई अवसर दिलाए । उनी २०३८ देखि २०४५ सालसम्म त्रिवि मानवशास्त्र विभागमा प्राध्यापक र विभागीय प्रमुखका रूपमा सक्रिय रहे । फिल्ड एन्थ्रोपोलोजिस्टका रूपमा त उनले ख्याति कमाएका थिए नै, सिनास र त्रिवि मानवशास्त्र विभागमा सक्रिय हुँदा उनलाई नेपालका सांस्कृतिक सबलताहरू र समस्याहरूको अध्ययन गर्ने खास मौका मिल्यो ।

विभिन्न अनुसन्धान, व्यापक अन्तरक्रिया र विद्यार्थीका शोधपत्रहरूमार्फत नेपाली विविधतामा लुकेका सामथ्र्य र समस्याहरूको यथार्थ तस्बिर हेर्न पाए उनले । सिनासमै उनलाई त्रिविको मानवशास्त्र विभागका पहिलो प्राध्यापकका रूपमा सम्मानित गरियो । प्राध्यापक डोरबहादुर विष्टलाई नेपालमा मानवशास्त्रका पिता भनिन्छ । प्राध्यापक डा. ओम गुरुङको भनाइ छ, ‘विष्टलाई हामीले नेपालको मानवशास्त्रका पिता र नेपाल स्कुल अफ एन्थ्रोपोलोजीका पनि पिता र अभिभावककै रूपमा लिएका छौं ।’ नेपालको आफ्नै विशेषतायुक्त मानवशास्त्रको विकासमा योगदान गरेका कारण विष्टलाई नेपालको मानवशास्त्रका पिता
भनिएको हो ।

‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट’
विकसित देशहरूको विकास झन् तीव्र गतिमा भइरहेको र नेपाल झनझन् पछौटेपनको सिकार हुँदै गएको अवस्थाबाट प्राध्यापक विष्ट भित्रभित्रै छटपटिइरहेका थिए । विकास गतिविधिहरू, नीति र योजना तर्जुमा र कार्यान्वयन पक्षहरूलाई उनले नजिकबाट नियालेका थिए । यिनै समस्याजन्य प्रश्नहरूले घोच्दै जाँदा उनको ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट : नेपाल्स स्ट्रगल फर डेभलपमेन्ट’ पुस्तकको जन्म भयो । यसले नेपालले विकसित हुन गर्नुपरेको संघर्षमा बाधक पक्षहरू औंल्याएको छ । पुस्तकले एउटा वादको परिकल्पना गर्‍यो— ‘बाहुनवाद’ । पण्डित्याइँ गर्ने ब्राह्मणहरूमार्फत फैलाइएको भाग्यवादले नेपालको विकास प्रक्रिया अवरुद्ध पारेको जिकिर पुस्तकमा छ ।

पुस्तकले नेपालको बौद्धिक जगत्मा ठूलो हलचल ल्यायो । यसका पक्ष–विपक्षमा मानिसहरू देखिए । तर, प्रभावकारी प्राज्ञिक बहस भने भएन । प्राध्यापक डा. नोबलकिशोर राईले एक ठाउँमा भनेका थिए, ‘डोरबहादुर विष्टले हाम्रो देशमा, समाजमा भएका कुरालाई प्राज्ञिक हिसाबले देखाइदिनुभयो । उहाँमा त्यो क्षमता थियो । हाइट थियो । बर्गत थियो ।’ तर, आफ्नो नामका पछाडि ब्राह्मण थर जोडिएका प्राज्ञहरूलाई यो कुरा पच्न गाह्रो भयो । धेरैले डोरबहादुरले ‘मलाई नै भनेको हो’ जसरी पुस्तकको आलोचना गरे । ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट’ पुस्तक प्रकाशित भएलगत्तै सिनास जर्नलमा प्रकाशित प्राध्यापक डिल्लीराम दाहालको समीक्षा पनि आलोचनाले भरिएको थियो । डा. दाहालले लेखेका छन्, ‘समग्रमा पुस्तक असान्दर्भिक आधारहरूको वर्णनको उपज हो र यसले बहुसंख्यकमा निराशा र असमझदारी मात्रै बढाउनेछ ।’

प्रगतिवादी नेपाली प्राज्ञहरूले पुस्तकको तारिफ गरे । अन्तर्राष्ट्रिय रूपमा पुस्तक चर्चित भयो । तर, पुस्तकको विरुद्धमा राजसंस्था नै जोडिएकाले डोरबहादुर कतै–कतै निराश पनि भए ।

राजा वीरेन्द्रप्रति उनको ठूलो भरोसा देखिन्छ । राजाहरू मगरका सन्तान हुन् भन्ने यथार्थलाई हार्वर्डबाट शिक्षित राजाले अनौठो मान्लान् र चासोको विषय बन्ला भन्ने उनको अनुमान देखिन्छ । तर, यसो किन हुन्थ्यो ? भाग्यवादको संरक्षक र जातीय विविधतालाई नै नकार्ने व्यवस्थाको संरक्षक संस्थाले उनको आलोचना गर्न थाल्यो । पञ्चायतकालमा अराष्ट्रिय तत्त्व घोषित नभएका डोरबहादुर बहुदलीय व्यवस्थामा दरबार छिर्न प्रतिबन्धित भए ।

२०६४ पुसमा आयोजित ‘बिना डोरबहादुरका १२ वर्ष’ विषयक कार्यक्रममा प्राध्यापक अभि सुवेदीले भनेका थिए, ‘फ्याटालिज्म भनेको घनचक्करवाद पनि हो । केही होलाजस्तो हुन्छ तर अगाडि नै बढ्दैन । समाजलाई आफ्नो आधिपत्यमा राख्न खोज्ने र यथास्थितिमा राख्न चाहने शक्तिशाली मानिसहरूका मान्यता र चिन्तनलाई डोरबहादुरले बाहुनवाद भन्नुभएको हो ।’ उनको सिद्धान्तको प्रतिवाद गर्नेहरूलाई डोरबहादुरले दिने जवाफ हुन्थ्यो, ‘संसारका विभिन्न देश विभिन्न कारणले अविकसित भए होलान् । भाग्यवादी त्यतातिर पनि होलान् । तर, नेपालको विकास नहुनाको वास्तविकता भनेको यहाँ ब्राह्मणवादले रोपेको भाग्यवाद हो ।’

नेपालमा निरन्तरता केहीको पनि छैन । डोरबहादुरले एउटा तरंग ल्याए । कब्जा गरेर बसेकाहरू झस्के । उनीहरूले डोरबहादुरलाई एक्ल्याए । सकेसम्म अपमानित गरे । उनी हराएपछि उनको अभियान पनि लगभग हरायो । जनजाति आन्दोलनले एउटा उचाइ लियो । तर, त्यहाँ पनि राजनीतिक विभाजन र गुटगत विभाजनले गर्दा मुख्य मुद्दा नै हरायो ।

डोरबहादुरले नेपाली समाजलाई अधोगतितिर धकेल्ने तत्त्वहरूको इमानदारीपूर्वक बयान गरेका थिए । सबैलाई थाहा भएको, सम्राटको नदेखिने कपडाजस्तै, चाकरी, आफ्नो मान्छे संस्कृति र भाग्यवादले ग्रस्त नेपाली समाजका विषलाई उनले सबैका अगाडि राखिदिए । यो कुरा सबैलाई पहिलेदेखि नै थाहा भए पनि उनले ठूलो स्वरमा भनिदिए । उनले भनेका कुराबाट समाजको एउटा तप्का निकै भयभीत भयो । चाकरी, चाप्लुसी र भाग्यवादकै आडमा समाजको उच्च वर्गमा गनिने त्यो समुदायलाई उनका कुरा पच्ने कुरै भएन ।

अहिले मुलुक गणतन्त्रमा गएको छ । संघीयता कार्यान्वयनको थालनी भएको छ । मुलुकको व्यवस्था सञ्चालनको ‘प्याराडाइम सिफ्ट’ भएको यो अवस्थामा अब त केही सोच्ने हो कि ? कहिलेसम्म रेमिट्यान्सले मुलुक धान्छ ? किन हामी संसारको एउटा गरिबतम राष्ट्रमा दरिंदै छौं ? व्यापार घाटा किन अकासिँदै छ ? लगानीको प्रतिफल किन प्राप्त हुँदैन ? परियोजनाहरू समयमै किन पूरा हुँदैनन् ?

डोरबहादुरले आफ्ना कुरा लेखेर मात्रै छाडेनन् । चिच्याईचिच्याई भनिरहे, लेखिरहे । भाग्यवादको कुरा पनि पुस्तकमा मात्रै सीमित भएन । यो एउटा अभियान नै थियो । जुम्लाको चौधबिसामा यसको व्यावहारिक परीक्षणको थालनी गरे ।

पुस्तक प्रकाशित भएलगत्तै कर्णाली इन्स्टिच्युट नामक संस्था स्थापना गरेर डोरबहादुरले चौधबिसामा अनुसन्धान र गाउँको विकास कार्य थाले । एउटा उद्देश्य त उक्त पुस्तकको व्यावहारिक प्रयोग गर्नु थियो भनेर डोरबहादुरले उल्लेख गरेको पाइन्छ । बिजुली, खानेपानी, विद्यालय भवन निर्माण, घट्ट सुधार, माछापालन, स्याउखेती आदि र मुख्य रूपमा समाज सुधारको अभियानको थालनी चौधबिसा र आसपासका गाउँमा सुरु भएको थियो । त्यहाँ रहँदा उनी मानवशास्त्रका पिता, मानवशास्त्रका ख्यातिप्राप्त प्राध्यापक भनेर चिनिएनन् । सबैले नजिकमा बुवा भन्थे । टाढाबाट फुलेका बड्डा ।

डोरबहादुरको त्यहाँ मुख्य कार्य खस समुदायमाथिको अध्ययन थियो । तर ‘जनयुद्ध’ को समयमा चौधबिसामा रहेको कर्णाली इन्स्टिच्युटको भवनमा माओवादीहरूले आगजनी गरे । त्यहाँका सम्पूर्ण पुस्तक र दस्तावेज जलाइदिए । डोरबहादुरले २७ वर्षअगाडि प्रतिपादन गरेको सिद्धान्त र उल्लेख गरेका कुरा अहिले पनि लगभग उत्तिकै सान्दर्भिक छन् । तत्कालीन समयमा त दरबारसमेतको आडमा उनको विरोध भयो । व्यवस्था परिवर्तन भए पनि चाकरी, चाप्लुसी, आफ्नो मान्छे र भाग्यवादी संस्कृतिको बोलवाला चली नै रहेको छ । नयाँ नेपाल निर्माणका लागि उनका कर्महरू सम्झने र भाग्यवादविरुद्ध बहस थाल्ने समय घर्किसकेको छैन । यो देशको सुन्दर भविष्य देख्न चाहने डोरबहादुरलाई व्यावहारिक रूपमा सम्झने समय आएको छ ।

प्रकाशित : आश्विन ७, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?