लेनिनका नाममा नक्कल–झक्कल

राजेन्द्र महर्जन

काठमाडौँ — कार्लमाक्र्सलाई सबैभन्दा मनपर्ने उक्ति हो : ‘डाउट एभ्रिथिङ’ अर्थात् सबै चिजमाथि सन्देह गर ।’ आफूलाई माक्र्सवादी ठान्ने नेपाली कम्युनिस्टहरू भने सन्देहदेखि दस हात पर भाग्छन् ।

लेनिनका नाममा नक्कल–झक्कल

कसैले कम्युनिस्ट आन्दोलन र राजनीतिबारे सन्देह, प्रश्न र बहस गर्न थालेमा विचारकै निरोध गर्न थाल्छन् । कुनै पनि कोणबाट सन्देह, प्रश्न र बहस उठेमा गहन अध्ययन र व्यापक चिन्तनका साथ अन्तरक्रिया गर्नुपर्नेमा फरक मत राख्नेहरूलाई निषेध गर्ने काम कदापि माक्र्सवादी हुनसक्दैन ।

यस बीचमा चैतन्य मिश्र, राम कार्की र प्रदीप गिरीसँगै पुरुषोत्तम दाहाल कम्युनिस्ट आन्दोलन, राजनीति र पार्टीबारे विचार पस्कँदै बहसमा उत्रिएका छन् । भिन्नाभिन्नै जोडकोणका ती विचारले गहन अध्ययन र व्यापक चिन्तनसँगै निरन्तर अन्तरक्रिया मागेका छन् । यहाँ कम्युनिस्ट आन्दोलन र राजनीतिको सेरोफेरोमा रहेर कम्युनिस्ट पार्टी, त्यसको ढाँचा र नामकरणबारे मात्रै आफ्नो मत राख्ने कोसिस गर्नेछु ।

हब्सबामको आँखामा लेनिनवादी पार्टी
नेपाल लगायत विश्वका कम्युनिस्ट पार्टी, तिनका संरचना र नामकरणमा सोभियत संघको कम्युनिष्ट पार्टी (बोल्सेभिक) को छाया प्रबल छ । ‘द एज अफ एक्स्टि्रमस’मा ब्रिटिस माक्र्सवादी इतिहासकार एरिक हब्सबामले लेखेका थिए, ‘विश्व क्रान्तिको शक्ति संगठन सम्बन्धी कम्युनिस्ट ढाँचामा निहित छ ।’ बोल्सेभिक संगठन देखेर उनले किटान गरेका थिए, ‘त्यो ढाँचा भनेको लेनिनको नयाँ किसिमको पार्टी हो, जुन बीसौं शताब्दीको सोसल इन्जिनियरिङको ‘फरमिडेबल’ प्रवत्र्तन थियो, जसलाई मध्ययुगका इसाई मठ र अन्य सम्प्रदायका आविष्कारसँग दाँज्न सकिन्छ ।’

सन् १९१७ मा विश्वमा उत्पीडक वर्गको शासन सत्ताविरुद्ध पहिलोपटक सफल क्रान्ति सम्पन्न गरेको बोल्सेभिक पार्टीको ढाँचा नै धेरैजसो कम्युनिस्ट पार्टीको संरचना बनेको छ । संसार हल्लाउने क्रान्ति गरेको पार्टीको ढाँचालाई अन्य देशमा पनि नक्कल गरिनु र मोडलका रूपमा कोमिन्टर्नबाट निर्यात गरिनु अनौठो होइन । सर्वहारा वर्ग र तिनको पार्टीको अग्रदस्ताका रूपमा रहने कार्यकर्ताको क्रान्तिकारी स्पिरिटले पनि धेरैजसोलाई ताकेको थियो । हब्सबामका अनुसार, बोल्सेभिक पार्टी एउटा सानो संगठन भए पनि अत्यधिक प्रभावशाली थियो । किनभने यसका सदस्य पार्टीप्रति असाधारण निष्ठा र आत्म–उत्सर्गको भावनाले लैस थिए, उनीहरूमा अधिक मात्रामा सैन्य अनुशासन र साहचर्यको गुण थियो, अनि उनीहरूमा पार्टीको निर्णय कुनै पनि मूल्यमा लागू गर्ने अविचलित संकल्प थियो ।

लेनिनले रूसी साम्राज्यको नोकरशाहीतन्त्रको प्रतिरोधका लागि त्यही ढाँचाकाँचामा बनाएको नयाँ पार्टी भूमिगत कार्य र सशस्त्र विद्रोहका लागि निकै उपयोगी भएको थियो । मार्ता हार्नेकरले उल्लेख गरेअनुसार, लेनिनले पनि पटक–पटक चेताएका थिए, संगठनको सिद्धान्तको मामिलामा कुनै सर्वव्यापी फर्मुला छैन । सामाजिक परिवर्तनका लागि सिद्धान्त र राजनीतिको जति महत्त्व छ, संगठनको पनि उत्तिकै महत्ता छ । किनभने पार्टी संगठन आफै पनि राजनीतिक विषय हो, खालि ढाँचाकाँचा मात्रै होइन । पार्टी संगठनले वर्गसंघर्षलाई राजनीतिक दिशा दिन्छ भने वर्गसंघर्ष देशको विशिष्ट स्थिति अनुसार, समाजको विशेष ऐतिहासिक र राजनीतिक अवस्था अनुसार गरिन्छ । त्यसको अर्थ देशको विशिष्ट वस्तुस्थिति, वर्गसंघर्षको स्वरूप र माग अनुसार नै संगठनको ढाँचा निर्माण गर्नु जरुरी हुन्छ ।

लेनिनको आग्रह विपरीत गएर अन्य देशमा उनकै ढाँचाको नक्कल गरियो । त्यसको अनुभवले देखाएको छ : पिछडिएको समाज र निरंकुश राजनीतिक सत्ता भएको रूसको भन्दा भिन्न परिस्थिति र विशिष्ट खालको क्रान्तिको प्रक्रिया चलिरहेको थियो । त्यस ढाँचालाई आआफ्नो देशमा जस्ताको तस्तै लागू गर्न खोज्दा ‘फिट’ भएन, नत क्रान्ति नै भयो । देशको विशिष्ट वस्तुगत स्थिति र वर्गसंघर्षको आवश्यकता अनुसार संगठनको ढाँचा बनाउनुको साटो रूसी ढाँचालाई यान्त्रिक ढंगले आयात गर्दा पटक्कै उपयोगी भएन । आजसम्म पनि त्यही पुरानो रूसी ढाँचालाई अति नै सरल ढंगले नक्कल गर्दै, बोल्सेभिक संरचनालाई जडसूत्रका रूपमा जप्दै हिंँड्दा पार्टी नै नष्ट भएको वर्तमान जिउँदै छ ।

नोकरशाही ढाँचामाथि पुनर्विचार
नेपालका अधिकांश पार्टीको ढाँचा पनि रूसी प्रशासनकै नोकरशाही संरचनासँग मिल्दोजुल्दो छ । यस्तो पिरामिड शैलीको पार्टी संगठनमा शिखर बलियो हुन्छ भने अग्रदस्ताको नाममा नेतृत्व नै सर्वाेपरि हुन्छ । शिखरमा बस्ने नेतृत्वको मुठ्ठीमा कैद रहने नोकरशाही ढाँचाले तलका कार्यकर्तालाई नियन्त्रित गर्छ । यस्तो एकाधिकार र नियन्त्रणको समस्या देख्दादेख्दै पनि कुनै पुनर्विचार गरिएको छैन । कतिसम्म भने माथिल्लो नेतृत्वलाई अंकुश लगाउने कुनै संयन्त्र बनाइएको छैन, नत नोकरशाही ढाँचालाई कमजोर बनाउने कुनै लोकतान्त्रिक र पारदर्शी प्रक्रिया नै थालिएको छ । अब विचारणीय पक्ष हो, पार्टीको नोकरशाहीकरण कसरी कम गर्ने ? त्यसलाई लोकतान्त्रिक र जनमुखी कसरी बनाउने ?

जुनसुकै पिरामिड शैलीको पार्टीको संगठनात्मक ढाँचाको शिखरमा केही नेता विराजमान हुने गर्छन् । उनीहरूले निर्वाचनका लागि अभ्यास गर्ने लोकतान्त्रिक विधि र प्रक्रिया भनेको घुमिफिरी ‘सेलेक्सन’ नै हो, ‘इलेक्सन’ होइन । परिवर्तनको सिद्धान्त निर्माण र प्रयोगमा अब्बल इमानदार र प्रतिबद्ध भएर निर्वाचित हुनुको सट्टा उनीहरू गणितीय जोड–घटाउ र गुटबन्दीकै हिसाब–किताबका आधारमा शिखरमा पुग्छन् । यस्तो अलोकतान्त्रिक ढाँचा र प्रक्रिया समाजवादी लोकतन्त्रको वकालत गर्ने कम्युनिस्ट पार्टीहरूमा व्याप्त छ । आफूलाई सबैभन्दा ठूला क्रान्तिकारी र समावेशी मान्ने पार्टीहरूले पनि संगठनको ढाँचा र पद्धतिबारे प्रश्न गरेका छैनन् । उनीहरूले पनि पार्टीको नाम, नेतृत्वको ढाँचा, चयन र पद्धतिमा देशको विशिष्ट सामाजिक अवस्थालाई हेक्का राख्दै नयाँपना दिनु जरुरी मानेको देखिँंदैन । उनीहरूको नेतृत्वको ढाँचा, चयन र पद्धति समाजवादी लोकतन्त्र अनुरूप छन् कि छैनन् भनी सोधिएको छैन । नेपालकै एक पार्टीले अध्यक्ष–मण्डल बनाएर नेतृत्वलाई केही हदसम्म सामूहिक प्रणालीमा ढाल्न खोजेको थियो । तर सामूहिक नेतृत्वको पक्षधर मान्ने कम्युनिस्ट पार्टीले त्यसलाई अनुशरण गरेको पाइँदैन । अध्यक्ष–मण्डलमात्रै बनाइएको भए पनि नेतृत्वको हानाथाप कम हुन्थ्यो ।

आन्तरिक लोकतन्त्रको खोजी
यहाँ विभिन्न विचार, स्वार्थ र हितको अस्तित्व र द्वन्द्वका आधारमा गुट बनेका छन् । प्रश्न उठेका छन् : ती कति हदसम्म वैचारिक समूह वा हित–समूह वा स्वार्थी गुट हुन् ? यस्ता समूह/गुटको परिणामस्वरूप नेतृत्वमाथि केही अंकुश लागेको र पार्टीमा पारदर्शिता देखिएको पनि छ । तर पार्टीभित्र विचार–समूह पनि हुन्छन्, तिनलाई सैद्धान्तिक–वैचारिक–राजनीतिक अन्तरक्रियाका लागि चलखेल गर्न दिइयो भने आन्तरितक लोकतन्त्र बलियो हुन्छ भन्ने मान्यता दबिएको छ । विचार समूहलाई पनि गुटमात्रै ठान्ने मानसिकता र गुटकै रूपमा मात्रै अभ्यास गर्ने दुवै खाले अतिवादी विचार र व्यवहार भने उचित होइनन् ।

चाल्र्स बेटेलहाइमका अनुसार, बोल्सेभिक पार्टीमा सन् १९२०–२१ सम्म विचार–समूहको सही अभ्यास रहेको थियो । त्यतिखेरसम्म पार्टी ‘जनवादी केन्द्रीयता’को वास्तविक लिकमा रह्यो । बोल्सेभिक पार्टीको दसौं महाधिवेशनदेखि त्यसलाई छाडेर एकमनावादी संगठनात्मक ढाँचा र पद्धति लादियो । त्यसपछि संगठन रुढ, नोकरशाही र गैरजनवादी बन्न थाल्यो । लेनिनले रसियन सोसल डेमोक्रेटिक लेबोर पार्टीमा लामो समयसम्म विचार–समूहको अभ्यास गरेका थिए । उक्त पार्टी बोल्सेभिक र मेन्सेभिकको रूपमा फुटको सर्तमा पनि उनले समूहगत वैचारिक द्वन्द्व जारी राखेका थिए । उनले बोल्सेभिक पार्टीमा पनि त्यसलाई निषेध नगरी विचार फुल्ने र फैलिने आन्तरिक लोकतन्त्रवादी पद्धतिलाई निरन्तरता दिएकै थिए । तर पार्टी सत्तासीन भएपछि विचार–समूहको अभ्यासलाई बौद्धिक विलास ठान्ने र क्रान्तिकारी सत्ताको निरन्तरताका लागि घातक मान्ने स्तालिन प्रवृत्ति बढेपछि समस्या बढ्यो । अन्तत: ‘पार्टी भनेको तर्कवितर्क गर्दै बस्ने वादविवाद क्लब होइन’ भन्दै उनले पनि निषेधात्मक काम गरे । त्यसपछि एकमना विचार र ढाँचा बनाउने अभ्यासले अन्तत: क्रान्ति र पार्टीलाई नै खाइदियो ।

नेपालको सन्दर्भमा विचार–समूहको खासै अभ्यास छैन, त्यसबाट नयाँ वैकल्पिक विचार निर्माण गरिएको विगत छैन । त्यसको साटो गुट निर्माण गर्दै पार्टीको सत्ताशक्तिका लागि मोलमोलाइ गर्ने वा फुटका लागि गुटबन्दी गर्ने अभ्यास प्रबल छ । गुटबन्दी त्याग्ने वा निषेध गर्ने नाममा विचार–समूहलाई नै निषेध गरियो भने जनवादी केन्द्रीयता वा आन्तरिक लोकतन्त्रसँगै विचार निर्माण पनि भर्सेलामा पर्ने निश्चित छ ।

नामकरणको शास्त्र
कम्युनिस्ट पार्टीको नाम र त्यसका पुच्छरको सन्दर्भमा पनि घरिघरि प्रश्न उठ्ने गरेको छ । ‘कम्युन’बाट बनेको कम्युनिस्ट पार्टीको नाममा नेपालको विशिष्टतालाई ध्यान दिएर सोच्ने मतलाई अन्यथा लिनु हुँदैन । विदेशी विचार वा नाम लिनै हुँदैन भन्ने कट्टरता वा संकीर्णता स्वीकार्य हुनसक्दैन, नत लोकतान्त्रिक नै हुनसक्छ । तर नामलाई नेपाली समाजमा जारी अन्तरविरोध, त्यसलाई रूपान्तरण गर्न चाहने पात्र/प्रवृत्ति/विरासतसँग जोडिएको भए भुइँतहमा राजनीति प्रवेश गर्ने सम्भावना बलियो हुन्थ्यो ।

ल्याटिन अमेरिकी देशहरूमा अगस्तो सिजर सान्डिनो, टुपाक अमारु, इमिलियानो जापाताको नाममा पार्टी, आन्दोलन र संगठनको नाम राख्ने अभ्यास भएको छ । त्यसरी गरिएको नामकरणसँगै वस्तुगत अवस्था र तिनको रूपान्तरणकारी शक्तिसँग गाँस्ने कोसिस नेपालका सन्दर्भमा पनि उत्तिको प्रभावशाली हुनसक्छ । यसै क्रममा उल्लेखनीय पक्ष के हो भने यहाँ अब पुच्छर गाँस्ने प्रवृत्ति त्याग्ने क्रम थालिएको छ । माक्र्स थरले मात्रै नपुगेर लेनिन र माओको नाम पनि जोड्ने तथा देशीय नेताको गुटका आधार थप पुच्छर झुन्ड्याउने प्रचलन तोडिने सिलसिलासँगै नाममै पुनर्विचार गरियो भने त्यसले धेरै अर्थ र सान्दर्भिकता राख्छ ।

प्रकाशित : आश्विन १९, २०७४ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?