विश्वास बलियो होस्

डा. ऋषिकुमार काफ्ले

काठमाडौँ — जब रोग लाग्छ, तब उपचार गर्नुपर्ने हुन्छ । अनि डाक्टरको सल्लाह लिने गरिन्छ । कोही छिटो निको हुन्छन्, कसैको लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ, कतिको त अप्रेसन गर्नुपर्ने हुन्छ ।

विश्वास बलियो होस्

अधिकांश निको हुन्छन्, तर केहीको मृत्युसमेत हुन्छ । कसैको मृत्यु कहाँ, कतिबेला कुन अवस्थामा हुन्छ, रहस्यमय छ । तर सबैको मृत्यु हुन्छ, रोग लागोस् या नलागोस्, उपचार गरिएको होस् वा नगरिएको होस्, जन्म लिनेको मृत्यु हुन्छ । यो शाश्वत सत्य हो ।

रोगको उपचार सही हुँदैमा मृत्यु टार्न सकिँदैन । तर रोगीको उपचार नगरेमा मृत्यु छिटो हुने सम्भावना दिन–प्रतिदिन बढ्दै जान्छ । उपचार गराउने जिम्मा लिएका डाक्टरहरूले अचम्मसँग रोग पत्ता लगाउँछन्, उपचार गर्छन्, परेमा अप्रेसन पनि गर्छन्, बिरामीलाई निको पार्छन् । साधारण मानिस छक्क पर्छ, कस्तो ज्ञान ? कस्तो उपचार ? मानिसले भगवानको सृष्टि देखेको छ, भगवानलाई भेटेको छैन । अनि आफ्ना आँखाले नदेखिने थाहा पाउन नसकिने रोगको उपचार गर्ने डाक्टर पनि भगवानझैँ लाग्छ, मान्छेलाई । तर सत्य के हो भने डाक्टर सृष्टि गर्ने भगवानसरह होइन, ऊ त्यस विषयमा विशेष ज्ञान, सीप आर्जन गरेको मानिस नै हो ।
डाक्टरको जिम्मेवारी आफूले आर्जन गरेको ज्ञान प्रयोग गरेर उपचारमा लाग्नु हो । सफल हुने–नहुने उसको हातमा मात्र छैन । गीतामा भगवानले भन्नुभएको छ ।
‘कर्मण्येवा धिकाररस्ते मा फलेषु कदाचन ।
मा कर्मफल हेतु भुर्मा ते संगोस्त्व कर्मणी ।।’
अर्थ– तिमीलाई कर्म गर्ने अधिकारमात्र प्राप्त छ, फलमा भने कदापि छैन, मेरा कर्मको यस्तो फल मिलोस् भन्ने धारणा या हेतु मनमा लिएर आफू काम गर्ने खालको नबन र साथै कर्म नगर्नेतिर आशक्ति पनि नगर ।
उपचार गर्ने कर्म डाक्टरले गर्छ । उपचार वर्तमान क्षणमा हुन्छ । उपचारमा संलग्न डाक्टरले बिरामीलाई निको पार्ने उद्देश्य लिई जति राम्रोसँग उपचारमा जुट्छ, त्यति नै राम्रो फल प्राप्त हुन्छ । फल जहिले पनि भविष्यमा प्राप्त हुन्छ । फल जहिले पनि प्रकृति या विराट ऊर्जाले दिन्छ । राम्रो फलको आस गर्दैमा राम्रै फल पाइने होइन । तर राम्रो या नराम्रो फल आफूद्वारा गरिएको उपचार कर्ममा निर्भर गर्ने रहेछ । जति गहिरो श्रद्धा डाक्टरलाई आफूले गरेको उपचार विधिप्रति छ, त्यति नै उपचार सफल हुने रहेछ । त्यसैले डाक्टरसहित उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू उपचार विधिको लागि जिम्मेवार ठहरिन्छन् ।
कैयौँ अस्पतालमा लेखिएको पाइएको छ :
हामी उपचार गर्छौँ ।
ईश्वरले निको पार्छ ।
लेख्ने मात्र होइन, त्यहाँ त्यो भाव व्यक्त पनि हुने गर्छ र उपचार गर्ने र गराउनेबीच समझदारी कायम हुने रहेछ । हाम्रो सुन्दर देशमा विगत केही समयदेखि अस्पतालमा, क्लिनिकमा भएका उपचारलाई लिएर विवाद उत्पन्न हुँदा द्वन्द्व पैदा हुने गरेको छ । डाक्टरहरू आन्दोलित छन् । पीडितहरू आक्रान्त छन् । जनता अलमलमा छन् । हामी भगवान कृष्णले भन्नुभएको भन्दा फरक रूपमा कर्ममा भन्दा फलमा ध्यान दिनपुगेका छौँ । डाक्टरले गरेको उपचारको कसी मृत्युमात्र भएमा डाक्टरको सही मूल्यांकन हुन सक्दैन । कसी उसको कर्म अनि उसले गरेको उपचारको विधि हुनुपर्छ, जुनमा उसले दक्षता हासिल गरेको छ । मृत्युको घडीमा धैर्य कहाँ मिलोस् ? उपचार गर्दागर्दै मृत्यु भएपछि लापरबाही भएन र ? मृत्यु हुने उपचार पनि उपचार हो र ? प्रश्न उठ्नु स्वाभाविक हो । तर लापरबाही त्यसबेला भन्न मिल्छ, जहाँ डाक्टरले आफूले जानेको ज्ञान नै प्रयोग नगरोस् वा उपचार विधिमा त्रुटि गरोस्, बिरामीको उपचार गर्दा मृत्यु हुनु नै लापरबाहीको परिभाषा गर्न खोजिएको छ, सायद यो सही होइन कि ?
जुनसुकै उपचार गर्दा पनि मृत्युको सम्भावना लुकेको हुन्छ । यसबारे उपचार अगाडि न डाक्टर बोल्छन् न बिरामी र उनका आफन्तहरू सुन्न चाहन्छन् । मृत्युपछि दिइएका विश्लेषणात्मक व्याख्याले चित्त बुझ्दैन, किनभने यो विषयमा सुरुमा छलफल नै गरिएन । त्यसैले उपचार विधिबाट हुनसक्ने सबै सम्भावना दर्शाइएको ‘उपचार मञ्जुरीनामा’ राम्रोसँग पढ्ने, मनन गर्ने बेला आएको छ । बिरामीका आफन्तहरूले स्वस्थ मनस्थितिमा सही गरेको मञ्जुरीनामा ठाडै नकार्न तब सकिन्छ, जब त्यहाँ लेखिएको कुरा पढिँदैन, मनन गरिँदैन, केवल रित पुर्‍याउन सही गरिन्छ । उपचार गर्न आउने, गराउने बीचको समझदारी नै सही उपचारको विधि हो । अधिकांश उपचार यसरी नै चलिरहेछ । विज्ञानको प्रगतिसँगै उपचार पद्धति परिमार्जित हुँदैछ, राम्रो हुँदै गएको छ । साथै चुनौतीपूर्ण पनि हुँदैछ । महँगा उपचार पद्धति भित्रिएका छन् । अङ्ग प्रत्यारोपण समेत सहज बन्दै गएको छ । हिजो उपचार गर्न/गराउन नसकिने कुरा आज सरलीकरण भएको छ । उपचार सबैको पहँुचमा पुर्‍याउने प्रयास जारी छ ।
विभिन्न रोग एउटै व्यक्तिमा भएका रोगीको समेत उपचार तथा जटिल शल्यक्रिया सम्भव भएको छ । यसले उपचारमा जटिलता पनि थपेको छ । यो प्रगति हो । अगाडि बढ्नैपर्छ, तर साथसाथै यस्ता बिरामीको उपचार सफल नहुन पनि सक्छ । समझदारी कायम राख्न ठूलो चुनौती छ ।
उपचार लिने बिरामी र उनका आफन्तले उपचार क्रममा हुनसक्ने सबै सम्भावनाबारे जानकारी लिन जरुरी देखिएको छ । साथै उपचार गर्ने डाक्टर लगायत स्वास्थ्यकर्मीले उपचारक्रममा हुनसक्ने सम्भावनाबारे बिरामी र आफन्तले बुझ्ने भाषामा बताउनैपर्ने आवश्यकता देखिएको छ ।
उपचार गर्ने डाक्टर लगायतका स्वास्थ्यकर्मी र उपचार लिने बिरामी र तिनका आफन्तबीच विश्वास बलियो भएमा समझदारी स्वत: हुनेछ । यसरी उपचार सहज र सरल गराउने वातावरण बन्नेछ ।
काफ्ले मिर्गौला रोग विशेषज्ञ हुन् ।

प्रकाशित : आश्विन १९, २०७४ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?