चङ्गाको विश्व कीर्तिमान

त्रिचन्द्र प्रतीक्षा

काठमाडौँ — दसैँको आगमनसँगै आकाशमा रङ्गीचङ्गी साना–ठूला चङ्गा उडिरहेका देखिन्छन् । एकछिन भए पनि आकाशमा उडेको चङ्गा हेर्दा कसलाई रमाइलो नलाग्ला ? बालक, युवा र वृद्धहरूसमेत चङ्गा उडाएर मनोरञ्जन लिने गर्छन् ।

एकले अर्काको चङ्गालाई ‘चेट’ गर्ने होडबाजी निकै मनोरञ्जन र रोमाञ्चक हुन्छ। चङ्गा उडाउनु पनि एउटा कला मानिन्छ। नेपालमा मात्र होइन, विश्वका थुप्रै देशमा चङ्गा उडाउने गरिन्छ।

चङ्गाको शाब्दिक अर्थ खोज्न शब्दकोश पल्टाउने हो भने मनमा उड्ने रहर पलाउन थाल्छ। चङ्गाको अर्थ ‘कागज–कपडाको चारकुने टुक्रामा घुमाउरो पाराले एउटा र ठाडो एउटा सिन्के काम्रो हाली बनाइएको र धागो गाँसेर हावामा उडाइने खेलौना वा खेलको साधन वा खेल’ उल्लेख गरिएको पाइन्छ। शारीरिक तन्दुरुस्तीको निरोगी नाचलाई चङ्गाले नै प्रदर्शन गर्न सक्छ। स्वच्छ वातावरणको मिठो स्वाद चङ्गाले नै प्रदान गर्न सक्छ। स्वतन्त्र मनको वास्तविक अभिव्यक्ति चङ्गाको आकाशमै खुल्छ। नेपालभाषा (नेवारी) मा ‘भुटुमाली’, हिन्दीमा ‘गुड्डी पतंग’ भनिने चङ्गाको अङ्ग्रेजी नामचाहिँ ‘काइट’ नाम गरेको चराबाट नामकरण गरिएको मानिन्छ।
१८६८ नोभेम्बर २१ का दिन अमेरिकी नागरिक फिलिप आर. र जय पी. कुञ्ज मिलेर ६,८६० देखि ८,५३० मिटरमाथिसम्म चङ्गा उडाएका थिए। अमेरिकी हेनरी हेल्थले स्वीट्जरल्यान्डका ए.ई.सँग मिलेर १८९८ फरवरी २८ मा १२,४७१ फिटमाथि चङ्गा पुर्‍याएर विश्व कीर्तिमान कायम गरे। विश्व कीर्तिमान राख्ने क्रममा सबैभन्दा ठूलो चङ्गा बढी समयसम्म उडाएर नेदरल्यान्डका हरमन वानडेन ब्रोएपक र जोन पाइटर क्युएलले १९७८ अगस्ट ८ का दिन कीर्तिमान खडा गरे। उनीहरूले ८५२ वर्गफिट क्षेत्रफलको चङ्गा २२ मिनेटसम्म उडाएका थिए। सन् २००० मा अमेरिकाका रिचर्ड सिनर्जीले पुरानो हेनरी हेल्थको विश्व रेकर्डलाई तोडेको छ। रिचर्ड सिनर्जीले २००० अगष्ट १२ का दिन २७० वर्गफिटको नाइलनद्वारा बनेको आधुनिक चङ्गा १३ हजार ६ सय नौ फिट माथि उडाएर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए।
सबैभन्दा ठूलो १०,९६८.४ वर्गफिट क्षेत्रफलको चङ्गा २००५ फेब्रुअरी १५ का दिन अब्दुल रहमना अल फारसी र फारिस अल फारसीले बनाएको उक्त चङ्गा कुवेत सिटी, कुुवेतमा त्यहाँका जनताले उडाएका छन्। यस्तै धेरै टाढासम्म चङ्गा उडाएर विश्व कीर्तिमान कायम गर्ने व्यक्ति हुन्, मोरक्कोका क्रिष्टी जोनास। उनले जुलाई १५, २००७ मा मोरक्कको लान्जारोटेदेखि टारफायासम्म करिब १४९ माइल अर्थात् २३९ किलोमिटर र ७४१ मिटर चङ्गा उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखेका छन्।
सन् १९२६ मा जापानको नारुतो सहरमा संसारकै सबैभन्दा ठूलो चङ्गा बनाइएको थियो। १६५ वर्गमिटरको उक्त चङ्गा बनाउन करिब तीन हजार एक सय ताउ कागज लागेको थियो। उक्त चङ्गाको वजन २५ सय किलोग्राम थियो। त्यो चङ्गाको नाम ‘वानवान डाको’ अर्थात् ‘विशाल चङ्गा’ राखिएको थियो। उक्त चङ्गा नयाँ वर्षका लागि सयौं जापानी युवाहरू मिलेर उडाएका थिए। सबैभन्दा धेरै चङ्गा उडाउने व्यक्ति जापानका शादाओ हरादा हुन्। उनले एकैपटक ११ हजार २ सय ८४ वटा चङ्गा लस्करै एउटै डोरीमार्फत उडाएर अनौठो कीर्तिमान कायम गरेका थिए। उनले चङ्गा १९९० अक्टोबर १८ तारिखका दिन उडाएका थिए। १९९८ सेप्टेम्बर २० का दिन जापानको इनामी स्कुलका विद्यार्थीहरूले तोयोहासी सहरमा १५ हजार ५ सय ८५ वटा चङ्गा लस्करै एउटै डोरीमार्फत उडाएर पुरानो रेकर्डलाई तोडेका थिए।
सबैभन्दा गह्रौं वस्तु उचाल्ने चङ्गा अमेरिकी नागरिक जी. विलियम दिरेलले उडाएको चङ्गालाई मानिन्छ। उनको चङ्गाले १९८४ सेप्टेम्बर २३ मा ३३०.३१ किलोग्राम वजन उचालेको थियो भने सबैभन्दा लामो समयसम्म चङ्गा उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम अंकित गर्ने वासिङटन अमेरिकास्थित एडमन्ड्स कम्युनिटी कलेजको एउटा टोली हो। उक्त टोलीले १९९२ अगस्ट २१ देखि २९ सम्म चङ्गा उडाएको थियो। यसको जम्मा समय एक सय असी घन्टा सत्र मिनेट थियो। अमेरिकी हेनरी हेल्थले स्वीट्जरल्यान्डका ए.ई.सँग मिलेर १८९८ फेब्रुअरी २८ मा १२, ४७१ फिटमाथि चङ्गा उडाएर बनाएको कीर्तिमानलाई २०१४ सेप्टेम्बर २३ का दिन अष्ट्रेलियाका रोवर्ट मौरद्वारा कोवो न्यु साउथवेल्समा १६,००९ फिट उचाइसम्म चङ्गा उडाएर पुरानो रेकर्ड तोडेका छन्।
सबैभन्दा लामो ६ हजार लामो ड्रागन आकृतिको चङ्गा उडाएर रेकर्ड कायम गरेका छन्। एक लाख युआनको लागतमा दुई वर्ष लगाएर बनाएको उक्त चङ्गा चीनको चोङकिङ अन्तर्राष्ट्रिय पितृ चङ्गा महोत्सवमा ‘चीनको सपना’ नाम दिइएको उक्त चङ्गा गिनिज बुकमा रेकर्ड राख्न सफल भएको छ।

Yamaha

Esewa Pasal

प्रकाशित : आश्विन १९, २०७४ १५:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विश्वास बलियो होस्

डा. ऋषिकुमार काफ्ले

काठमाडौँ — जब रोग लाग्छ, तब उपचार गर्नुपर्ने हुन्छ । अनि डाक्टरको सल्लाह लिने गरिन्छ । कोही छिटो निको हुन्छन्, कसैको लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ, कतिको त अप्रेसन गर्नुपर्ने हुन्छ ।

अधिकांश निको हुन्छन्, तर केहीको मृत्युसमेत हुन्छ। कसैको मृत्यु कहाँ, कतिबेला कुन अवस्थामा हुन्छ, रहस्यमय छ। तर सबैको मृत्यु हुन्छ, रोग लागोस् या नलागोस्, उपचार गरिएको होस् वा नगरिएको होस्, जन्म लिनेको मृत्यु हुन्छ। यो शाश्वत सत्य हो।

रोगको उपचार सही हुँदैमा मृत्यु टार्न सकिँदैन। तर रोगीको उपचार नगरेमा मृत्यु छिटो हुने सम्भावना दिन–प्रतिदिन बढ्दै जान्छ। उपचार गराउने जिम्मा लिएका डाक्टरहरूले अचम्मसँग रोग पत्ता लगाउँछन्, उपचार गर्छन्, परेमा अप्रेसन पनि गर्छन्, बिरामीलाई निको पार्छन्। साधारण मानिस छक्क पर्छ, कस्तो ज्ञान? कस्तो उपचार? मानिसले भगवानको सृष्टि देखेको छ, भगवानलाई भेटेको छैन। अनि आफ्ना आँखाले नदेखिने थाहा पाउन नसकिने रोगको उपचार गर्ने डाक्टर पनि भगवानझैँ लाग्छ, मान्छेलाई। तर सत्य के हो भने डाक्टर सृष्टि गर्ने भगवानसरह होइन, ऊ त्यस विषयमा विशेष ज्ञान, सीप आर्जन गरेको मानिस नै हो।
डाक्टरको जिम्मेवारी आफूले आर्जन गरेको ज्ञान प्रयोग गरेर उपचारमा लाग्नु हो। सफल हुने–नहुने उसको हातमा मात्र छैन। गीतामा भगवानले भन्नुभएको छ।
‘कर्मण्येवा धिकाररस्ते मा फलेषु कदाचन।
मा कर्मफल हेतु भुर्मा ते संगोस्त्व कर्मणी।।’
अर्थ– तिमीलाई कर्म गर्ने अधिकारमात्र प्राप्त छ, फलमा भने कदापि छैन, मेरा कर्मको यस्तो फल मिलोस् भन्ने धारणा या हेतु मनमा लिएर आफू काम गर्ने खालको नबन र साथै कर्म नगर्नेतिर आशक्ति पनि नगर।
उपचार गर्ने कर्म डाक्टरले गर्छ। उपचार वर्तमान क्षणमा हुन्छ। उपचारमा संलग्न डाक्टरले बिरामीलाई निको पार्ने उद्देश्य लिई जति राम्रोसँग उपचारमा जुट्छ, त्यति नै राम्रो फल प्राप्त हुन्छ। फल जहिले पनि भविष्यमा प्राप्त हुन्छ। फल जहिले पनि प्रकृति या विराट ऊर्जाले दिन्छ। राम्रो फलको आस गर्दैमा राम्रै फल पाइने होइन। तर राम्रो या नराम्रो फल आफूद्वारा गरिएको उपचार कर्ममा निर्भर गर्ने रहेछ। जति गहिरो श्रद्धा डाक्टरलाई आफूले गरेको उपचार विधिप्रति छ, त्यति नै उपचार सफल हुने रहेछ। त्यसैले डाक्टरसहित उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू उपचार विधिको लागि जिम्मेवार ठहरिन्छन्।
कैयौँ अस्पतालमा लेखिएको पाइएको छ :
हामी उपचार गर्छौँ।
ईश्वरले निको पार्छ।
लेख्ने मात्र होइन, त्यहाँ त्यो भाव व्यक्त पनि हुने गर्छ र उपचार गर्ने र गराउनेबीच समझदारी कायम हुने रहेछ। हाम्रो सुन्दर देशमा विगत केही समयदेखि अस्पतालमा, क्लिनिकमा भएका उपचारलाई लिएर विवाद उत्पन्न हुँदा द्वन्द्व पैदा हुने गरेको छ। डाक्टरहरू आन्दोलित छन्। पीडितहरू आक्रान्त छन्। जनता अलमलमा छन्। हामी भगवान कृष्णले भन्नुभएको भन्दा फरक रूपमा कर्ममा भन्दा फलमा ध्यान दिनपुगेका छौँ। डाक्टरले गरेको उपचारको कसी मृत्युमात्र भएमा डाक्टरको सही मूल्यांकन हुन सक्दैन। कसी उसको कर्म अनि उसले गरेको उपचारको विधि हुनुपर्छ, जुनमा उसले दक्षता हासिल गरेको छ। मृत्युको घडीमा धैर्य कहाँ मिलोस्? उपचार गर्दागर्दै मृत्यु भएपछि लापरबाही भएन र? मृत्यु हुने उपचार पनि उपचार हो र? प्रश्न उठ्नु स्वाभाविक हो। तर लापरबाही त्यसबेला भन्न मिल्छ, जहाँ डाक्टरले आफूले जानेको ज्ञान नै प्रयोग नगरोस् वा उपचार विधिमा त्रुटि गरोस्, बिरामीको उपचार गर्दा मृत्यु हुनु नै लापरबाहीको परिभाषा गर्न खोजिएको छ, सायद यो सही होइन कि?
जुनसुकै उपचार गर्दा पनि मृत्युको सम्भावना लुकेको हुन्छ। यसबारे उपचार अगाडि न डाक्टर बोल्छन् न बिरामी र उनका आफन्तहरू सुन्न चाहन्छन्। मृत्युपछि दिइएका विश्लेषणात्मक व्याख्याले चित्त बुझ्दैन, किनभने यो विषयमा सुरुमा छलफल नै गरिएन। त्यसैले उपचार विधिबाट हुनसक्ने सबै सम्भावना दर्शाइएको ‘उपचार मञ्जुरीनामा’ राम्रोसँग पढ्ने, मनन गर्ने बेला आएको छ। बिरामीका आफन्तहरूले स्वस्थ मनस्थितिमा सही गरेको मञ्जुरीनामा ठाडै नकार्न तब सकिन्छ, जब त्यहाँ लेखिएको कुरा पढिँदैन, मनन गरिँदैन, केवल रित पुर्‍याउन सही गरिन्छ। उपचार गर्न आउने, गराउने बीचको समझदारी नै सही उपचारको विधि हो। अधिकांश उपचार यसरी नै चलिरहेछ। विज्ञानको प्रगतिसँगै उपचार पद्धति परिमार्जित हुँदैछ, राम्रो हुँदै गएको छ। साथै चुनौतीपूर्ण पनि हुँदैछ। महँगा उपचार पद्धति भित्रिएका छन्। अङ्ग प्रत्यारोपण समेत सहज बन्दै गएको छ। हिजो उपचार गर्न/गराउन नसकिने कुरा आज सरलीकरण भएको छ। उपचार सबैको पहँुचमा पुर्‍याउने प्रयास जारी छ।
विभिन्न रोग एउटै व्यक्तिमा भएका रोगीको समेत उपचार तथा जटिल शल्यक्रिया सम्भव भएको छ। यसले उपचारमा जटिलता पनि थपेको छ। यो प्रगति हो। अगाडि बढ्नैपर्छ, तर साथसाथै यस्ता बिरामीको उपचार सफल नहुन पनि सक्छ। समझदारी कायम राख्न ठूलो चुनौती छ।
उपचार लिने बिरामी र उनका आफन्तले उपचार क्रममा हुनसक्ने सबै सम्भावनाबारे जानकारी लिन जरुरी देखिएको छ। साथै उपचार गर्ने डाक्टर लगायत स्वास्थ्यकर्मीले उपचारक्रममा हुनसक्ने सम्भावनाबारे बिरामी र आफन्तले बुझ्ने भाषामा बताउनैपर्ने आवश्यकता देखिएको छ।
उपचार गर्ने डाक्टर लगायतका स्वास्थ्यकर्मी र उपचार लिने बिरामी र तिनका आफन्तबीच विश्वास बलियो भएमा समझदारी स्वत: हुनेछ। यसरी उपचार सहज र सरल गराउने वातावरण बन्नेछ।
काफ्ले मिर्गौला रोग विशेषज्ञ हुन्।

प्रकाशित : आश्विन १९, २०७४ १५:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT