२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

चङ्गाको विश्व कीर्तिमान

त्रिचन्द्र प्रतीक्षा

काठमाडौँ — दसैँको आगमनसँगै आकाशमा रङ्गीचङ्गी साना–ठूला चङ्गा उडिरहेका देखिन्छन् । एकछिन भए पनि आकाशमा उडेको चङ्गा हेर्दा कसलाई रमाइलो नलाग्ला ? बालक, युवा र वृद्धहरूसमेत चङ्गा उडाएर मनोरञ्जन लिने गर्छन् ।

चङ्गाको विश्व कीर्तिमान

एकले अर्काको चङ्गालाई ‘चेट’ गर्ने होडबाजी निकै मनोरञ्जन र रोमाञ्चक हुन्छ । चङ्गा उडाउनु पनि एउटा कला मानिन्छ । नेपालमा मात्र होइन, विश्वका थुप्रै देशमा चङ्गा उडाउने गरिन्छ ।

चङ्गाको शाब्दिक अर्थ खोज्न शब्दकोश पल्टाउने हो भने मनमा उड्ने रहर पलाउन थाल्छ । चङ्गाको अर्थ ‘कागज–कपडाको चारकुने टुक्रामा घुमाउरो पाराले एउटा र ठाडो एउटा सिन्के काम्रो हाली बनाइएको र धागो गाँसेर हावामा उडाइने खेलौना वा खेलको साधन वा खेल’ उल्लेख गरिएको पाइन्छ । शारीरिक तन्दुरुस्तीको निरोगी नाचलाई चङ्गाले नै प्रदर्शन गर्न सक्छ । स्वच्छ वातावरणको मिठो स्वाद चङ्गाले नै प्रदान गर्न सक्छ । स्वतन्त्र मनको वास्तविक अभिव्यक्ति चङ्गाको आकाशमै खुल्छ । नेपालभाषा (नेवारी) मा ‘भुटुमाली’, हिन्दीमा ‘गुड्डी पतंग’ भनिने चङ्गाको अङ्ग्रेजी नामचाहिँ ‘काइट’ नाम गरेको चराबाट नामकरण गरिएको मानिन्छ ।
१८६८ नोभेम्बर २१ का दिन अमेरिकी नागरिक फिलिप आर. र जय पी. कुञ्ज मिलेर ६,८६० देखि ८,५३० मिटरमाथिसम्म चङ्गा उडाएका थिए । अमेरिकी हेनरी हेल्थले स्वीट्जरल्यान्डका ए.ई.सँग मिलेर १८९८ फरवरी २८ मा १२,४७१ फिटमाथि चङ्गा पुर्‍याएर विश्व कीर्तिमान कायम गरे । विश्व कीर्तिमान राख्ने क्रममा सबैभन्दा ठूलो चङ्गा बढी समयसम्म उडाएर नेदरल्यान्डका हरमन वानडेन ब्रोएपक र जोन पाइटर क्युएलले १९७८ अगस्ट ८ का दिन कीर्तिमान खडा गरे । उनीहरूले ८५२ वर्गफिट क्षेत्रफलको चङ्गा २२ मिनेटसम्म उडाएका थिए । सन् २००० मा अमेरिकाका रिचर्ड सिनर्जीले पुरानो हेनरी हेल्थको विश्व रेकर्डलाई तोडेको छ । रिचर्ड सिनर्जीले २००० अगष्ट १२ का दिन २७० वर्गफिटको नाइलनद्वारा बनेको आधुनिक चङ्गा १३ हजार ६ सय नौ फिट माथि उडाएर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए ।
सबैभन्दा ठूलो १०,९६८.४ वर्गफिट क्षेत्रफलको चङ्गा २००५ फेब्रुअरी १५ का दिन अब्दुल रहमना अल फारसी र फारिस अल फारसीले बनाएको उक्त चङ्गा कुवेत सिटी, कुुवेतमा त्यहाँका जनताले उडाएका छन् । यस्तै धेरै टाढासम्म चङ्गा उडाएर विश्व कीर्तिमान कायम गर्ने व्यक्ति हुन्, मोरक्कोका क्रिष्टी जोनास । उनले जुलाई १५, २००७ मा मोरक्कको लान्जारोटेदेखि टारफायासम्म करिब १४९ माइल अर्थात् २३९ किलोमिटर र ७४१ मिटर चङ्गा उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखेका छन् ।
सन् १९२६ मा जापानको नारुतो सहरमा संसारकै सबैभन्दा ठूलो चङ्गा बनाइएको थियो । १६५ वर्गमिटरको उक्त चङ्गा बनाउन करिब तीन हजार एक सय ताउ कागज लागेको थियो । उक्त चङ्गाको वजन २५ सय किलोग्राम थियो । त्यो चङ्गाको नाम ‘वानवान डाको’ अर्थात् ‘विशाल चङ्गा’ राखिएको थियो । उक्त चङ्गा नयाँ वर्षका लागि सयौं जापानी युवाहरू मिलेर उडाएका थिए । सबैभन्दा धेरै चङ्गा उडाउने व्यक्ति जापानका शादाओ हरादा हुन् । उनले एकैपटक ११ हजार २ सय ८४ वटा चङ्गा लस्करै एउटै डोरीमार्फत उडाएर अनौठो कीर्तिमान कायम गरेका थिए । उनले चङ्गा १९९० अक्टोबर १८ तारिखका दिन उडाएका थिए । १९९८ सेप्टेम्बर २० का दिन जापानको इनामी स्कुलका विद्यार्थीहरूले तोयोहासी सहरमा १५ हजार ५ सय ८५ वटा चङ्गा लस्करै एउटै डोरीमार्फत उडाएर पुरानो रेकर्डलाई तोडेका थिए ।
सबैभन्दा गह्रौं वस्तु उचाल्ने चङ्गा अमेरिकी नागरिक जी. विलियम दिरेलले उडाएको चङ्गालाई मानिन्छ । उनको चङ्गाले १९८४ सेप्टेम्बर २३ मा ३३०.३१ किलोग्राम वजन उचालेको थियो भने सबैभन्दा लामो समयसम्म चङ्गा उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम अंकित गर्ने वासिङटन अमेरिकास्थित एडमन्ड्स कम्युनिटी कलेजको एउटा टोली हो । उक्त टोलीले १९९२ अगस्ट २१ देखि २९ सम्म चङ्गा उडाएको थियो । यसको जम्मा समय एक सय असी घन्टा सत्र मिनेट थियो । अमेरिकी हेनरी हेल्थले स्वीट्जरल्यान्डका ए.ई.सँग मिलेर १८९८ फेब्रुअरी २८ मा १२, ४७१ फिटमाथि चङ्गा उडाएर बनाएको कीर्तिमानलाई २०१४ सेप्टेम्बर २३ का दिन अष्ट्रेलियाका रोवर्ट मौरद्वारा कोवो न्यु साउथवेल्समा १६,००९ फिट उचाइसम्म चङ्गा उडाएर पुरानो रेकर्ड तोडेका छन् ।
सबैभन्दा लामो ६ हजार लामो ड्रागन आकृतिको चङ्गा उडाएर रेकर्ड कायम गरेका छन् । एक लाख युआनको लागतमा दुई वर्ष लगाएर बनाएको उक्त चङ्गा चीनको चोङकिङ अन्तर्राष्ट्रिय पितृ चङ्गा महोत्सवमा ‘चीनको सपना’ नाम दिइएको उक्त चङ्गा गिनिज बुकमा रेकर्ड राख्न सफल भएको छ ।

प्रकाशित : आश्विन १९, २०७४ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?