१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नगरवासीको आस नमरोस्

डा. ढुण्डिराज पौडेल

काठमाडौँ — २ ० वर्षपछि मोफसलका जस्तै काठमाडौं उपत्यकाका ४० लाख बासिन्दाले अधिकार सम्पन्न एवं निर्वाचित स्थानीय सरकार पाएका छन् । काठमाडौं उपत्यकाभित्र दुई महानगर, एक उपमहानगर र केही नगरपालिका रहेका छन् ।

नगरवासीको आस नमरोस्

भौगोलिक एवं जनघनत्वको हिसाबले काठमाडौं महानगर नै ‘न्युक्लियस’ अर्थात केन्द्रबिन्दुमा रहेको छ । उपत्यकाको विकास काठमाडौं महानगर एक्लैको प्रयासबाट मात्रै सम्भव नभएकाले एकीकृत विकासको माध्यमबाट उपत्यकाका सबै इकाइबीच समन्वय राखी यातायात, ढल, पानी, फोहोर विसर्जन आदि कार्यको समुचित व्यवस्थापन आवश्यक छ ।

काठमाडौं महानगरले आफूलाई मोडलको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता छ । मोनोरेल र स्मार्ट सिटीका सपनाहरू सुनाउनु पनि नाजायज छैन । तर सूर्योदयले दिनको संकेत गर्छ भनेजस्तो अल्पकालीन र अति आवश्यक सुधारका पाइलाहरू नचालिँंदा, जिम्मेवारहरू कुहिरोका काग बनिदिँंदा, आफू काठमाडौंका केही मतदाताको मात्रै प्रतिनिधि हुंँ भनिदिंँदाचाहिँ ४० लाख नागरिकमा निर्वाचित प्रतिनिधि र सम्बद्ध पार्टीप्रति वितृष्णा जाग्न सक्छ । अरू चुनाव त भविष्यमा सम्पन्न हुन बांँकी नै छन् । त्यसैले काठमाडौं उपत्यकाका सबै महानगर, उपमहानगर या नगरपालिकाहरूले अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गरी तत्काल कार्यान्वयनमा लैजानु वाञ्छनीय हुन्छ ।

फोहोर व्यवस्थापन : काठमाडौंमा जम्मा हुने फोहोर ६० देखि ७० प्रतिशत सड्ने खालको भएकाले त्यसलाई ‘रिसाइकल’ गरी विभिन्न प्रकारका उपयोगी वस्तुहरू निर्माण गर्न सकिन्छ । यो कार्य खासै अप्ठ्यारो छैन ।

सडक, पानी, ढल, केबुल यी तीन कुराबीच पटक्कै समन्वय छैन । सडक निर्माणमा अत्यन्तै उदेकलाग्दो चरित्र र प्रवृत्ति देखिन्छ । आर्थिक वर्षको अन्त्यतिर अनि वर्षा सुरु हुने बेलामा सडक निर्माण या मर्मत गर्ने भन्दै भत्काइने गरिन्छ । तर त्यो अत्यन्तै कमजोर हुने गर्छ, जसको दोष लगत्तै पैदा हुने वर्षालाई दिने गरिन्छ । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा मुलुक प्रविष्ट गरे पनि लुटतान्त्रिक प्रवृत्ति झन्–झन् घनिभूत हुँदै गएको छ ।

पटक–पटक सरकार फेरिइरहनाले केही वर्षदेखि मुलुकमा विपक्षीरहित अवस्था सिर्जित भएको छ, जुन लोकतन्त्र र विकासका निम्ति प्रतिकूल छ । सार्वजनिक निर्माण या ठेक्कामा देखिने गरेका अनियमितता उजागर हुँदा पनि तिनको सुनुवाइ हुने गरेको छैन । राजधानीको मुटु महांकालस्थान, भोटाहिटी, असन, वीर अस्पतालको वरपर वर्षांैदेखि ढल फुटी पैदा भएको दुर्गन्धको हिँड्ने जसले पनि अनुभूति गर्छ । त्यो त उदाहरण मात्रै हो । सडक, ढल, केबुल बिछ्याउने आदि निर्माण कार्यबीच नियतवश नै संयोजन हुने नगरेको प्रतीत हुन्छ ।

प्लास्टिक र हानिकारक वस्तुमाथि बन्देज : प्लास्टिक नकुहिने मात्रै नभई यसमा विभिन्न विषालु रसायन हुन्छन् । धेरै अफ्रिकी मुलुकमा प्लास्टिक वस्तुको प्रतिबन्ध लागिसकेको छ । ती मुलुकमा हवाई उडानबाट जाने यात्रुलाई जहाजभित्रै यसको जानकारी दिइन्छ । नेपालमा पनि भूकम्प जानुअघि निश्चित मापनको प्लास्टिकको प्रतिबन्ध लागेको थियो । जनताको हित अनुकूल हुने त्यो प्रतिबन्ध किन फुकुवा गरियो ? कसको स्वार्थका खातिर जनतालाई हानि हुने वस्तुको उपयोगमा निरन्तरता दिइन्छ ?

सडकभरि जताततै भारतको विहारमा समेत प्रतिबन्ध लागेका वस्तुहरू जस्तो– खैनी, गुट्खा आदिका खाली प्याकेटहरू देख्न सकिन्छ । सुर्तीजन्य लगायतका हानिकारक वस्तुको उपयोगको गाम्भीर्यता ती खाली प्याकेटहरूको परिमाणले स्पष्ट पार्छ । एकातिर सुर्ती, सुपारी गुट्खाजस्ता हानिकारक वस्तुहरू अनि अर्कोतर्फ तिनका खाली प्लास्टिकका प्याकेटहरूबाट सिर्जित हुने हानि गम्भीर प्रकृतिको छ ।

खानेपानीको व्यवस्थापन : खानेपानी भन्ने बित्तिकै स्वच्छ र हानिकारक किटाणुरहित भन्ने बुझ्नुपर्छ । काठमाडौंका जनता वर्षौंदेखि काकाकुलझैं तड्पिइरहेका छन् । मेलम्ची आयोजनाको निर्माणले दुई दशक नाघ्न थालिसक्यो । जनताले ठूलो मूल्य चुकाइसकेको मेलम्चीको पानी ढिलो–चाँडो आउला । तर त्यसले पनि दीर्घकालीन आवश्यकता पुरा गर्न मुस्किल छ । एकातिर आवश्यकताको अनुपातमा अत्यन्तै न्यून परिणाममा खानेपानी उपलब्ध छ भने अर्कोतर्फ त्यसको दुरुपयोग हुने र प्रदूषित बन्ने गरेको छ ।

यातायात व्यवस्थापन : काठमाडौंको सडकको कुल लम्बाइभन्दा यहांँका सवारी साधनहरूको लम्बाइको जोड बढी छ । तत्कालै सडक फराकिलो गर्न सम्भव छैन । नयाँ सडकहरू निर्माण गर्न पनि मुस्किल छ । त्यसैले उत्तम उपाय भनेको ट्राफिक व्यवस्थापन नै हो ।

सार्वजनिक यातायातमा व्यवस्थापन, कार्यालय, विद्यालय जाँदा र आउँदाको समयमा सवारी साधनको विशेष व्यवस्थापन गर्न सकिन्छ । अमेरिकाको राजधानी वासिङटनदेखि वरपरको मार्गमा अफिस खोल्ने समयमा सवारी साधनमा एक्लै यात्रा गर्न पाइँदैन । हामीकहाँं सुविधाभन्दा पनि शान, शौकतको लागि थोत्रा, विशाल, धेरै इन्धन खपत गर्ने सरकारी गाडीमा एक्लै गजधम्म गरेर विभिन्न ओहदामा आसिनहरू सवार गरिरहेका हुन्छन् । यस्ता गाडीहरूको व्यवस्थापन कसरी गर्ने ?

होचा उभिन नमिल्ने माइक्रोबसहरूमा सिट संख्याभन्दा धेरै बढी यात्रुहरू कोच्चिएर अत्यन्तै कष्टसाथ यात्रा गर्नुपर्ने स्थिति छ । गाडी किन्न स्वीकृति दिनुअघि पार्किङको समेत व्यवस्थापन हुन जरुरी छ ।

बजारको व्यवस्थापन : बिहान कार्यालय समयबाट सुरु भएको सवारी साधनको चाप सांँझ पर्दासम्म धेरै खुकुलो हुने गरेको छ । बिहान कार्यालय समयदेखि साँझसम्मको केही घन्टाभित्र नै कार्यालयदेखि विद्यालय चल्नेमात्रै होइन, पसल, सुपरमार्केट, सपिङ मल आदिमा खरिदारी हुने गरेको छ । विदेशका सहरहरूमा मार्केटिङ सांँझदेखि राति अबेरसम्म चल्ने गरेको हुन्छ । तर हामीकहांँ साँंझ सात बजेसम्म पसलहरू समेत बन्द हुने गरेका छन् । यसको पछाडि सुरक्षाको सवाल र सार्वजनिक सवारी साधनको अभाव कारक हुन सक्छन्, जसको सहजै निरुपण गर्न सकिन्छ । मासु लगायतका खाद्य सामग्री स्वस्थकर हुनुपर्छ । मिसावटको निगरानी वैज्ञानिक प्रविधिबाट हुनुपर्छ । त्यसैगरी केही वर्षअघि राजधानीको न्युरोडस्थित मिठाइ पसलहरूको अनुगमनमा देखिएको बेथिति अद्यावधिक छैनन् भन्न सकिन्न ।

सहरी स्वास्थ्य एवं नगर अस्पताल : अधिकार सम्पन्न र जिम्मेवारपूर्ण महानगरपालिकाहरूले नगरबासी र विशेषगरी असहाय र गरिबहरूको स्वास्थ्योपचारप्रति गम्भीर हुनैपर्छ । अझैसम्म नगर अस्पताल नरहेको स्थितिमा अन्य सार्वजनिक अस्पतालहरूसँंग समन्वय राखी स्वास्थ्यसेवाको प्रवाह हुनसक्छ ।

केन्द्रीय सरकारको भूमिका : राजधानीमा मुलुककै १५ प्रतिशतजति स्वदेशी नागरिकमात्रै नभई विभिन्न देशका नागरिकसमेत बस्ने भएकाले केन्द्रीय सरकारले पनि राजधानीप्रति विशेष दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । २० वर्षपछि स्थापित भएका अधिकार सम्पन्न स्थानीय सरकारप्रति जनताले आशा राखेका छन् । यसको पुष्टि मतदानमा देखिएको सहभागिताले गर्छ । तर जनताको त्यो आशामा तुषारापात गरिनुहुन्न, जनतालाई निराश बन्न नदिनेतर्फ प्रयास हुनुपर्छ ।

प्रकाशित : आश्विन १९, २०७४ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?