कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देवी पूजनका आयाम

भेषराज पोखरेल

काठमाडौँ — दसैं पक्ष चलिरहेको छ । नेपालमा दसैंले सबै जातजाति र समुदायलाई छुने गर्छ । नेपालको सबैभन्दा ठूलो चाड भएकाले धार्मिकमात्रै नभएर यसले आर्थिक र सामाजिक रूपमा पनि विशेष प्रभाव छाड्छ । यो समयमा नेपालमा कपडा, खाद्यान्न तथा मासुजन्य पदार्थको अत्यन्तै ठूलो व्यापार हुन्छ ।

देवी पूजनका आयाम

विशेषत: यो हिन्दु चाड हो नै तर नेपालको जातीय संरचना र सांस्कृतिक निकटताले गर्दा यो चाड सबै जातजाति र समुदायको बन्न पुगेको छ । दसैंका कतिपय पक्षलाई हेर्दा नेपालमा विविध संस्कृति र संस्कार हुँदाहुँदै पनि एउटै नेपाली संस्कृतिमात्र छ कि भन्ने भान हुन्छ । यसले थप सद्भाव बढाएको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि दसैं सुरु हुन्छ र यसको समाप्ति पूर्णिमामा हुन्छ । प्रतिपदादेखि नवमीसम्म देवीका विभिन्न नौ रूपको पूजा हुन्छ । यिनलाई नवशक्ति पनि भनिन्छ । प्रतिपदाको दिन शैलपुत्री अथात् पार्वतीको पूजा हुन्छ । त्यस दिन दसैंको पूजा गर्ने स्थानमा सफा गरेर वा लिपेर जमरा राखिन्छ र त्यहीं देवीको घट अर्थात् कलश स्थापना गरिन्छ । कलशमा विधिविधानसहित पूजा गरेर दसैंको अनुष्ठान हुन्छ । दोस्रो दिन ब्रह्मचारिणीको पूजा हुन्छ भने तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिन्छ । चौथो दिन कुश्माण्डाको पूजा गरिन्छ । पाँचौं दिन स्कन्दमाताको पूजा गरी छैठौं दिन कात्यायनीको पूजा गरिन्छ । सातौं दिनलाई अलि विशेष रूपमा लिइन्छ । सायद नेपालमा तान्त्रिक विधि र मान्यतालाई पनि बढी नै प्राथमिकता दिइने भएकाले कालरात्रिको अथात् काली देवीको पूजा गरिन्छ । कतिपय जातजातिले यी देवीलाई कुलदेवीका रूपमा पूजा गरेको देखिन्छ ।

यसै दिन नवपत्रिकाको फूलपाती भित्र्याइन्छ । काठमाडौंको वसन्तपुर दसैं घर तथा देशभरका कोत र देवीस्थानमा यसलाई विशेष बाजागाजाका साथ भित्र्याइन्छ । नेपालमा बौद्ध धर्म मान्ने समुदायले पनि काली र भैरवलाई बलिसहित पूजा गरेको देखिन्छ । यो काठमाडौंका नेवार समुदायमा छ नै, मगर, गुरुङ जातिले पनि बलि दिन्छन् भने किरात समुदायमा पनि बलिको प्रचलन छ । कालरात्रि सबैको महत्त्वपूर्ण दिन हो । आठौं दिन महागौरी तथा नवौं दिन सिद्धिदातृ भगवतीको पूजा हुन्छ । नेपालमा तान्त्रिक विधि र प्रचलन सशक्त भएकाले यस दिन पनि बलिद्वारा देवीको पूजा हुन्छ । यसका अलावा बलि नदिएर फूल, चन्दन, अक्षता र अन्य सामग्रीले पूजा गर्नेको संख्या पनि उल्लेख्य छ । कुभिन्डोजस्ता फलफूलको बलि दिने चलन पनि छ । दसमीका दिन प्रतिपदाको दिन स्थापना गरेर देवी पूजा गरेको कलश विसर्जन गरिन्छ र कलशको जलले सेचन गर्दै टीका, जमरा प्रसादस्वरूप लगाउने गरिन्छ । काठमाडौंको नेवार समुदायभित्रका महर्जन आदि केही समुदायले दीपबाट तयार पारेको कालो टीका पनि साथै लगाउने चलन छ । दसैंमा आफूभन्दा ठूला मान्यजनबाट टीका, जमरा लगाई आशीर्वाद लिने विधान छ । दसैंको टीका नेपालको पूर्वक्षेत्रमा पाँच दिन चल्छ भने पश्चिमाञ्चल क्षेत्रमा एक दिनमात्र लगाउने चलन छ ।

केही समययता बलिसहित दवीको पूजा गर्ने प्रचलन राम्रो होइन, बलि हटाउनुपर्छ भन्ने आवाज आउन थालेका छन् । उनीहरूले ‘बलि दिएर देवी पूजा गर्नु अत्यन्तै नराम्रो हो, यो असभ्य संस्कार हो । देवी सबैकी साझा हुन्, सबैकी माता हुन्, उनले आफैं बलि माग्दिनन् । मान्छे आफ्नो स्वार्थपूर्तिका लागि निरीह पशुको बलि दिएर रमाउनु राम्रो होइन’ भनिरहेका छन् । बलि नदिएर सात्विक सामग्रीबाट पूजा गर्नु, ध्यान गरेर सिद्ध गर्नु अवश्य पनि राम्रो हो । नेपालको संस्कार, संस्कृतिभित्र पसेर गम्भीर अध्ययन गरी विभिन्न आयामलाई नहेरी कुनचाहिँ ठीक र कुन बेठीक भन्नु भने राम्रो होइन ।

देवीको पूजा वैदिक, लौकिक र तान्त्रिक तीनै विधिबाट गरिन्छ । दुर्गा सप्तसतीमा महिषासुर राक्षस अत्यन्तै शक्तिशाली भएको र उसले तमो गुणसहित नकारात्मक काम गरिरहेका बेला उसलाई जित्न मानिस र देवत्वशक्ति दुवैलाई कठिन पर्‍यो । सामान्य रूपमा उसको शक्ति र त्यो नीच गुणलाई जित्न नसकिने भएपछि देवताहरूले सबैको शक्ति एकत्रित गरी देवीरूपी दुर्गा महाशक्तिको उत्पत्ति गराए । यो कुरा सप्तसतीको दोस्रो अध्यायमा यसरी भनिएको छ, ‘अतुलं तत्र तत्तेज: सर्वदेवशरीरजम् । एकस्थं तद्भून्नारी व्याप्त लोकत्रयंत्विषा ।।’ यी पुराणमा देवीलाई असीम शक्ति भएकी, अति क्रोधसाथ राक्षसगणको नष्ट गरेको वर्णन छ । त्यो भोको तथा उग्ररूपको पूजा तथा आराधना गर्नेले बलि दिने भए ।

उग्ररूप शिवशक्ति पनि हुन्, त्यस रूपको पूजा तान्त्रिक रूपमा बलि दिएर गर्ने भए । अर्को, देवीशक्ति उग्रमात्र होइन, सौम्य रूप पनि हो । कुनै प्रयोजनबिना सधैं यो प्रकृति सञ्चालन गर्ने देवीशक्तिको सौम्य रूप हो । त्यही रूपको पूजन, ध्यान गर्नु उत्तम हो । पुराणहरू यही भन्छन् । प्रकृति सञ्चालनका लागि गरिने विभिन्न कामका लागि भने देवीका अनेक रूप पनि हुन्छन् । सौम्य रूपको पूजा बलि नदिई सात्विक सामग्रीबाट वैदिक विधिद्वारा गर्नुपर्छ । सम्बन्धित काम अर्थात् कुनै काम पूरा गर्न गरिने पूजा भने देवीका रूप र स्वभाव अनुसार फरक–फरक हुने नै भए । यो मान्यता हो, चलन हो, कुनै गलत काम होइन ।

नेपालमा केही समययता यही बलिपूजालाई जोडेर नेपालीको पूरै संस्कृति विकृत छ । यस्तो काम मूर्खले मात्रै गर्छन्, यो धार्मिक काम हुँदै होइन भनेर प्रचार गरिँदैछ । यसले बाह्य जगतमा पनि नेपालीहरू मूढ हुन् भन्ने व्यापक प्रचार भइरहेको छ । जुन गलत छ । नेपालमा प्राय: ब्राह्मणहरूले बलि दिँदैनन् तर बलि दिने देवीस्थानमा भने पूजाव्यवस्था गरिदिएको पाइन्छ । नेपालमा यज्ञ अनुष्ठान, पूजा आराधना मुख्यत: वैदिक विधिद्वारा गरिन्छ । नेपाल शिवशक्ति क्षेत्र भएकाले तन्त्र विधि पनि बलियो भएको हो । यो विधिले सबै जातजातिलाई समेटेको पनि छ । वैदिक विधिले मात्रै नेपालका सबै जातजातिलाई जोड्न मुस्किल छ । बलिप्रथा हटाउन सकिन्छ तर अपमान गरेर होइन । आमरूपमा सबै जातिमा वैदिक विधि भिजाएर सबैले अपनाउने र विश्वास गर्ने बनाउन सक्नुपर्‍यो । त्यतातिर केही नगर्ने मात्र आम संस्कृतिलाई अपमान गर्दा नेपाली संस्कृति पूरै लोप हुन बेर लाग्दैन । यसलाई पूरै बदल्न आम्दानीका स्रोत, खाने बानी, शिक्षा, स्वास्थ्य तथा सोचाइ प्रक्रिया र प्रचलनलाई पूरै बदल्न सक्नुपर्छ । सांख्य दर्शनले पनि सत्व, रज र तम तीनै गुणको सन्तुलन नै प्रकृति हो भनेको छ । शक्ति सन्तुलनका लागि तीनै गुणको समान महत्त्व छ ।

नेपालमा देवीका अनेक आयाम छन् । काठमाडौंकी भद्रकाली आसामको कामक्षाबाट तान्त्रिक विधिद्वारा ल्याइएकी हुन् भने तुलजा भवानी भारतको मध्यप्रदेशबाट । अन्य देशभर भएका देवीहरू कुनै न कुनै जातिका शुद्ध मन भएका कन्याको असामयिक मृत्युपछि दैवी रूपमा परिणत भएको मान्यता छ । जस्तो– काठमाडौंको दक्षिणकाली, गोरखाको मनकामना, अर्घाखाँचीको सुपादेउराली, बाराको गडीमाई तथा देशभर यस्ता अनेक देवीस्थान छन्, जुन अत्यन्तै श्रद्धासाथ आम सर्वसाधारण पूजा–आराधना गर्छन् । यसको अर्थ हो, मान्छेको मनशक्ति सर्वशक्तिमान छ, त्यो पनि देवत्वशक्ति हुनसक्छ भन्ने हो ।

प्रकाशित : आश्विन १९, २०७४ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?