मिथिला संस्कारमा नवरात्रि

अनिता यादव

काठमाडौँ — नवरात्रिमा प्रत्येक दिन दुर्गा माताका नौ स्वरूपको पूजा हुन्छ । मिथिलाञ्चलमा देवालयसहित प्रत्येक घरमा माताको पूजा–अर्चना गरिन्छ । माताको पूजा जुन दिन सुरु हुन्छ, त्यस दिनलाई मिथिलाञ्चलमा ‘कलश स्थापन’ भनिन्छ ।

मिथिला संस्कारमा नवरात्रि

यस दिन माता दुर्गाको फोटो या प्रतिमा अगाडि माटोको भाँडोमा जौं एवं तिल छरिन्छ तथा अष्टमी या नवमीमा कन्या पूजनका समय यो माटोको भाँडोबाट निकालिन्छ । यसलाई मैथिली भाषामा जयन्ती भनिन्छ । जयन्ती निकाल्नुको अर्थ माता दुर्गाले सबैलाई शक्ति दिउन् र अन्न, धन तथा आरोग्य रहनुको कृपा बनाइराखुन् भन्ने हुन्छ । मिथिला क्षेत्रमा कलश यात्रासहित घटस्थापना गरिन्छ । धार्मिक महत्त्वका नदी र तलाउबाट घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिन्छ । मन्दिरमा जौं, तिल, धान, मकैसहितको जमरासमेत राखिन्छ ।

जसरी संसारको रचना ब्रह्माण्डको अन्धकार गर्भबाट नौवटा ग्रहका रूपमा भयो, त्यसरी नै मानव जीवनको रचना पनि माताको गर्भमा नौ महिनाको अन्तरालमा हुन्छ । मनुष्य योनिका लागि गर्भका यी नौ महिना नवरात्रिकै सरह हुन्छन् । नवरात्रिको अर्थ शिव र शक्तिका नौ दुर्गाका रूपसँग सम्बन्धित छ, जसले संसारलाई प्रारम्भकालदेखि नै जीवनमा ऊर्जा प्रदान गरेका छन् । साथै संसार र प्रकृतिको बनावटमा स्त्रीशक्ति तथा माताको शक्तिको प्रधानतालाई स्पष्ट गरिदिएको छ । दुर्गा माताका विभिन्न स्वरूपको पूजा–अर्चना गर्न एक काठको फलियामा रातो कपडा बिछ्याएर त्यसमा चामलको गणेश, षोडश मातृका एवं नवग्रह बनाउनुपर्छ । पूजा स्थलको इशान कोणमा कलशको स्थापना गर्नुपर्छ । कलश तामा या माटोकै हुनुपर्छ । कलश मुनि बालुवा एवं गाईको गोबरको मिश्रणमा जौं मिलाएर पानीले त्यसलाई राम्ररी भिजाइदिनुपर्छ । यसो गर्नाले कलशमुनि अति सुन्दर जौं उम्रिन्छ । यसरी उम्रेकोलाई जमरा अथवा जयन्ती भनिन्छ ।

काठको फलियामाथि दुई जलपात्र राख्नुपर्छ । एक जलपात्रमा पाँच पात भएको आँपको पल्लव लगाएर माटो, चाँदी या कासाको भाँडोमा घिउको दीयो जलाउनुपर्छ । कलश मुनि तेलको ज्योति जलाउनुपर्छ । किनकि तेलको ज्योतिले पापको नाश हुन्छ र घिउको दीपक जलाउनाले घरमा खुसी एवं आनन्द बनिरहन्छ । यी दुइटै ज्योति अखण्ड लगातार नौ दिनसम्म जल्दैरहनुपर्छ । ताकि माता भगवती दुर्गा हरहमेशा आफ्ना भक्तका सामु नै रहुन् । तेस्रो कलशमाथि पाँच आँपका पात भएको पल्लव लगाउनुपर्छ, काँचो नरिवल छिलेर स्वस्तिक चिन्ह बनाइराख्नुपर्छ एवं माटोको कलशमाथि पनि पाँच पात भएको पल्लव राखेर नरिवललाई राख्नुपर्छ । कुनै राम्रो एवं विद्वान ब्राह्मणद्वारा नवरात्रिको प्रतिपदाका दिनदेखि पूजापाठ गराउनुपर्छ र यो संकल्प लिनुपर्छ कि– हे माता मलाई तीनरूपी बलको प्राप्ति होस् ।

अष्टमी या नवमीका दिन नौ कन्याको पूजा गरेर उनलाई भोजन गराउनुपर्छ । माताका सबै नौ रूपलाई रातो वस्त्र, रोली, रातो चन्दन, सिन्दूर, नयाँ रातो सारी, नयाँ रातो चोली, आभूषण तथा खानापिनाका सबै पदार्थ जुन रातो रङ्गका होउन्, उही अर्पित गर्नुपर्छ, किनकि रातो रङ्ग मातालाई धेरै मनपर्छ ।

नौ दिनसम्म लगभग हर घरमा माता दुर्गाका नौवटा रूपको विधिवत् पूजा–अर्चना हुन्छ । जो मानिस कलश स्थापना गरेर पुरै नवरात्रि व्रत बसेर माता दुर्गाको उपसना गर्छन्, उसलाई नौ दिनसम्म माताका स्वरूप अनुसार रङ्गहरूका लुगा प्रयोग गर्नाले विशेष लाभ मिल्ने विश्वास लिइन्छ ।

पहिलो दिन– नवरात्रिको पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ । शैलपुत्रीको लुगाको रङ्ग रातो हुन्छ । यसैले नवरात्रिको प्रथम दिन रातो रङ्गको लुगा लगाउँदा राम्रो हुन्छ ।
दोस्रो दिन– माता ब्रह्मचारिणीको पूजा गरिन्छ । यस दिन नवरात्र साधकहरूले निलो लुगा प्रयोग गर्नुपर्छ ।
तेस्रो दिन– माता चन्द्रघण्टाको आराधना गरिन्छ । यसैले यस दिनमा साधकले पहेंँलो लुगा ज्यादा प्रयोग गर्दा राम्रो हुन्छ ।
चौथो दिन– माता दुर्गाको चौथो स्वरूप कुष्माण्डा देवी हुन् । यस दिन कुष्माण्डा देवीको स्तुति तथा पूजा गरिन्छ । यसैले चौथो दिन साधकहरूले हरियो लुगाहरूमा ज्यादा ध्यान दिनुपर्छ ।
पाँचौं दिन– माता स्कन्दमाताको उपासना गरिन्छ । यस दिन साधकहरूले खैरो रङ्गका लुगा लगाउनुपर्छ ।
छैठौं दिन– माता दुर्गाको छैठौं स्वरूपको नाम कात्यानी देवी हो । यस दिन माता कात्यानी देवीको पूजन–अर्चन गरिन्छ । साधकहरूले सुन्तला रङ्गको लुगा लगाउनुपर्छ ।
सातौं दिन– कालरात्रिको उपासना गरिन्छ । यस दिन साधकहरूले सफेद रङ्गका लुगा लगाउनाले लाभ मिल्छ ।
आठौं दिन– दुर्गाको आठौं शक्ति महागौरीको पूजा गरिन्छ । महागौरीको स्वरूप गुलाबी रङ्गको हुन्छ, यसैले यो दिनमा साधहरूले गुलाबी रङ्गका लुगाहरूको अधिक प्रयोग गर्दा लाभ मिल्छ ।
नौवौं दिन– आदि शक्तिको नवौं स्वरूप माता सिद्धदातृको आराधना गरिन्छ । माता सिद्धदातृको रङ्ग पूर्ण गौर वर्ण छ । यसैले नवौं दिन साधकहरूले सेतो लुगा लगाउनाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।
नवरात्रिमा अक्सर मान्छेहरू पुरै नौ दिनको व्रत बस्छन् । उपवास बस्दा पाचन प्रणालीसँग जोडिएका अङ्गहरूलाई आराम मिल्छ । यसबाट बचेको ऊर्जाको उपयोग आत्मचिकित्सा र आत्ममर्मतमा हुन्छ ।

प्रकाशित : आश्विन १९, २०७४ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?