कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परदेशिएको दसैं

प्रतिमा बाँस्कोटा

काठमाडौँ — दिनै गन्ने हो भने नेपाल छाडेर परदेशिएको दुई वर्ष पुग्न अब केही दिनमात्र छ । अर्थात तिहारको भाइटीकाको दिन दुइटा सुटकेस लघार्दै म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएकी थिएँ ।

परदेशिएको दसैं

त्यसपछिको दसैं बुबा स्वर्गवास हुनुभएका कारण मनाइएन । सायद त्यही भएर होला, अघिल्लो सालको दसैं खासै वास्ता भएन । तर यो पटकको दसंैले मनमा आँधीहुरी चलाइरहेको छ । यस्तो कुनै पल छैन, मन नेपाल नपुगेको होस्, घर नपुगेको होस् ।

टेलिभिजनको देब्रे पट्टीको कुनामा अक्षता र जमरा टाँसिएको देख्दा मन हुरुक्कै भएर आउन थालेको छ । फेसबुक नचलाएको एक वर्ष नै हुनथाल्यो । नत्र फेसबुकमा आउने शुभकामना सन्देशले मनलाई अझै भुट्भुट्याउँथे होला । मन बुझाउन युट्युबबाट गीत निकालेर पेनड्राइभबाट गाडीमा बजाउँछु । गाडी चलाइरहँदा गीतसंँगै आफूलाई पनि नेपालमै भएको महसुस गराउँछु ।

हुन त नेपालमा पनि आमाबुबासँगै घरमा बसेको त कहाँ हो र ? पाँचथरबाट भविष्य खोज्दै आएपछि वर्षको एकपटक दसैंमा घर जाने गरिएको थियो । दसैं आउन दुई महिना बाँकी हुँदादेखि आमाबुबाले फोन गर्दा खसी कत्रो छ ? दसैंमा लुगा के किनिदिएको छ ? भन्दै सोधथ्यौँ । लुगा आफैं किनेर लगाउने त भएकी थिएँ, तर आमाबुबाले किनेर दिएको अलि खास हुन्थ्यो ।

घरमा बसेका बुबाआमा छोराछोरी आउँछन् भनेर ६ महिना पहिलादेखि नै खसीको जोहो गर्न थाल्नुहुन्थ्यो । माइलो दादा (दाजु) सेकुवा पोल्ने झिर बनाउन लाग्नुहुन्थ्यो । हुँदाहुँदा फिदिममा झिर राम्रो भएन भनेर असनबाट किनेर लैजानुहुन्थ्यो । अन्तिम पटक घर जाँदा टीकाको तेस्रो दिन बुबा बित्नुभएपछि दसैंको उमंग यतिकै सकियो । बुबा बिनाको पहिलो दसैं यो पाला मेरो घरमा मानिँदैछ । बुबा त संसारमा नै हुनुहुन्न, म भएर पनि टीका लगाउन घर जान सक्तिन । जानै नसक्ने बाध्यता नभए पनि परिस्थिति नमिल्ने रैछ ।

यो दसैंलाई पनि खसी तयार भइसक्यो रे, आमाले तँ त आउँदिनस् नि छोरी भन्दै सोध्दा मन कटक्क खायो । अर्को साल आउँछु भनिदिएँ । ‘राम्रो भविष्य’ खोज्दै हिँड्दा घरपरिवार मात्र होइन, आफू हिँडेडुलेको सडक, माटो र माटोको बासना झलझली याद आउने रैछ । भविष्य काठमाडौंमा पनि नभएको होइन, दुईछाक खान पुगेकै थियो । असन्तोकी मनको अझ राम्रो खोज्दै हिँड्ने चाहनाले यहाँसम्म ल्यायो । काठमाडौंमा वर्षा रोकिने बित्तिकै चाडबाड आएको महसुस हुन्थ्यो । उदाएको निलो आकाश र आसपासका डाँडाले अझ मन रोमाञ्चित बनाउँथ्यो । भूकम्पले ढालेको कान्तिपुरको तिनकुनेस्थित भवनको चौथो तलाबाट डाँडाकाँडा हेर्दै दसैं आएको महसुस गरिन्थ्यो । काठमाडौं हुँदाताका सधैं काम गरेको साथी हिजो भेट हुँदा भन्दै थियो, नौरथ सुरु हुँदा बोनस आयो होला जस्तो लाग्यो रे । नौरथसँगै साथीभाइको दसैं पार्टी सुरु हुन्थ्यो । तास खेल्ने, रमाइलो गर्ने हुन्थ्यो ।
काठमाडौं बस्ने दाजुभाइले नाइट बसको टिकट काटिसके रे । घर जान एक महिनाअघि नै काँकडभिट्टा पुग्ने बसको टिकट काटेपछि लाग्थ्यो, दसैं आइसक्यो । त्यसपछि हरेक दिन घरमा जान यति दिन बाँकी भन्दै औंला गनिन्थ्यो । काठमाडौं बसेर पनि घर जान नपाउने मान्छे साह्रै अभागी भनिन्थ्यो । अहिले दसैं आएको महसुससमेत गर्न नपाउँदा मन अत्तासिएको छ । मलाई मात्रै दसैंले यस्तो बनाएको हो कि सबै परदेशीलाई यस्तो हुने हो, थाहा छैन ।

भारतले गरेको चरम नाकाबन्दीले बस नपाउँदा चक्रपथ चल्ने बसमा २१ घन्टा लगाएर अन्तिम पटक घर पुगिएकी थिएँ । नाइट बस चढेर घर जाँदा बिहान उज्यालो हुने बेला सप्तकोशी छेउछाउको बाजेको पेडातिर पुगिन्थ्यो । बसका सहचालकले शौचालय जानेहरू ओर्लिम–र्ओलिम भन्दै गाडीको ढोका ढकढक्याइले ब्युँझिएपछि मलाई शीतले माटो भिजाएर आउने सुगन्धले तान्थ्यो । नाकलाई आराम नदिइकन त्यो माटोको बासना लिन्थेँ । मानौं, बासना सकिँदैछ । फेरि बस कुद्न थालेपछि झ्यालको सिसा खोलेर आधा टाउको बाहिर निकाल्दै त्यो बासना नाकभित्र तान्थेंँ । घर पुगेपछि माहोल अर्कै हुन्थ्यो । बिहानै आमा र बुबाले चिया खान आओ भन्दै आँगनबाट बोलाएपछि आँखा मिच्दै तल झर्थ्यो । खाटमा बस्नुभएको बुबाको अनुहार हेरेर कुरा गर्न मिल्नेगरी हामी सिकुवाको पेटीमा बस्थ्यौं । अनि सुनाउँथ्यौं, काठमाडौंको जिन्दगी । काम, कमाइ, बसाइ आदि–आदि ।

म पहिलो पटक आईए पढ्न काठमाडौं आएपछि एक महिनाका अन्तरालमा घर फर्किंदा बुबाले मेरो हात समात्दै हेरेर ‘मेरी चोर्नीका आँखा दुब्लाएछन्’ भन्दा दाजु, दिदीहरू सबै गललल हाँसेका थियौं । मेरा आँखा त दुब्लाएका थिए–थिएनन् थाहा छैन, तर बुबाका आँखा भने छोरीलाई हेर्न तर्सिएका पक्कै थिए । छोराछोरी घुम्ने कुर्सीमा बसेर काम गरेको हेर्ने रहर बुबालाई साह्रै थियो । घुम्ने मेचमा बसेर काम गर्छु भन्दा बुबाका आँखा रसाएका थिए । नरसाओस् पनि किन, दिनको ८ घन्टा हिँडेर हुलाकीको काम गर्ने बुबालाई छोराछोरीको प्रगति देख्दा हर्षका आँसु त आउने नै थिए । बिहान झिसमिस नहुँदै पछाडि झोला बोकेर लठ्ठी टेक्दै घरबाट ४ घन्टा लाग्ने बाटोमा पैदल हुलाक जानुहुन्थ्यो, अनि त्यही दिन अर्को ४ घन्टा हिँडेर त्यही लठ्ठी टेक्दै फर्कनुहुन्थ्यो ।

अस्ति यहाँ (क्यालिफोर्निया) मा अलिकति पानी परेर बाटोको धुलो मारेको थियो । त्यसपछि आएको बासनाले मलाई नाइट बसको यात्रा सम्झायो । नेपालमा झैं दसैं त अमेरिका पनि आएकै छ । तर बिहान उठ्दा नेपालमा जस्तो महसुस गर्न नसकिने । लिंगेपिङ खेल्ने कुरा त परै जाओस्, टीका थाप्न जाने ठाउँको पनि समस्या पर्दोरैछ । टीका थाप्ने ठाउँ हुँदा पनि लगाइदिने मानिसको समय हेर्न पर्नेरैछ । परदेशमा याद आउनेभन्दा पनि बिर्सिन गाह्रो हुने यही चाडबाडका यादहरू रैछन् ।

प्रकाशित : आश्विन १९, २०७४ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?