रिसइबी साध्ने नियत

सम्पादकीय

काठमाडौं — नेपाल–भारत सीमा दशगजामा खाँडो खोलाको मुहान बन्द हुने गरी भारतीय पक्षले गत वर्ष एकतर्फी बाँध बनाउन थालेपछि प्रतिरोध गरेका सप्तरी, कोइलाडी तिलाठी–२ का देवनारायण यादव छोरासहित सीमापारि भारतमा पक्राउ परेका छन् ।

रिसइबी साध्ने नियत

भारतीय प्रहरीले आइतबार पक्राउ गरेका देवनारायण र उनका छोरा अजयलाई अपहरण तथा शरीर बन्धक मुद्दामा सोमबार जेल चलान गरिएको छ । भारतीय प्रहरीले जेजस्ता आरोप/बहानामा देवनारायण र अजयलाई पक्राउ गरे पनि गत वर्षको घटनाकै बदला लिन खोजेको देखिन्छ । गत वर्ष साउन १३ गते देवनारायणलगायत सीमावर्ती क्षेत्रका नेपालीले अवरोध गरेपछि भारतीय पक्ष बाँध निर्माणबाट पछि हट्नुपरेको थियो । अवरोध गर्ने क्रममा झडप हुँदा देवनारायण घाइते भएका थिए । त्यो घटनाले उनलाई राष्ट्रियस्तरमा चर्चितसमेत बनाएको थियो । सरकारले उपचार खर्चसँगै उनलाई सच्चा राष्ट्रवादीको सम्मानपत्रसमेत दिएको थियो ।

दशगजामै जोडिएको सीमापारिको आदर्श ग्राम पञ्चायतमा सांस्कृतिक कार्यक्रम हेर्न गएका बेला भारतीय प्रहरीले अजयलाई रक्सी खाएर होहल्ला गरेको झूटो आरोपमा पक्राउ गरेपछि छुटाउन जाँदा देवनारायण पनि पक्राउ परेका हुन् । गत वर्षको घटनापछि भारतीय सुरक्षाकर्मीले जुनसुकै बेला बदला लिन सक्ने आशंकामा असुरक्षित महसुस गर्दै आएका बेला उनीहरू पक्राउ परेका छन् । उनीहरू पक्राउ पर्नुको कारण अपहरणसम्बन्धी जाहेरी रहेको भारतीय प्रहरीको दाबी छ । भारतको विहारस्थित कुनौली १ की ज्योति कुमारीलाई अपहरण गरेको व्यहोराको जाहेरी उनकै दाजुले दिएको बताइएको छ । अजय र ज्योतिले छ महिनाअघि भागेर विवाह गरेका थिए । अहिले अजयसँगै कोइलाडी तिलाठीमा बस्दै आएकी ज्योतिले राजीखुसीले बिहे गरेको बताउँदै आएकी हुनाले अपहरण गरेको पुष्टि हुने आधार नै छैन । त्यसैले देवनारायण पक्राउ पर्नुमा अपहरणको विषय देखावटी मात्र रहेको र पुरानो रिसइबी नै साध्न खोजेको देखिन्छ । पक्राउ गरेपछि उनीहरूलाई हत्कडी लगाएर अपमानजनक ढंगले डोरीले बाँधिएको थियो जुन निन्दनीय छ । 

सीमावर्ती क्षेत्रमा रहेका दुई देशका नागरिकबीच प्राय: सौहार्दपूर्ण सम्बन्ध रहने गरे पनि भारत सरकारले निर्माण गर्ने संरचनाका कारण बेला–बेला तनावपूर्ण अवस्था निम्त्याउने गर्छ । यस्तो अवस्थामा प्राय: सीमावारिका नेपालीले मर्का खेप्नुपर्छ । खासगरी तराईका सीमावर्ती क्षेत्रमा बाँध/तटबन्ध निर्माण विवादका कारण बन्ने गरेका छन् किनभने त्यस्ता संरचनाले सीमावारि क्षेत्रलाई वर्षायाममा डुबानमा पार्ने गर्छ । सिमानाकै विषयमा पनि तराईका विभिन्न क्षेत्रमा विवाद छ । त्यसैले भारतीय पक्षले सिमानामा एकतर्फी रूपमा बाँध/तटबन्धजस्ता भौतिक संरचना निर्माण गर्दा नेपाल सरकार प्राय: मौन रहनाले प्रभावित क्षेत्रका बासिन्दा प्रतिकारमा उत्रनुपर्ने अवस्था आइपर्छ र नेपाली नागरिक भारतीय सुरक्षाकर्मीबाट असुरक्षित बन्नुपर्छ । सप्तरीको कोइलाडी तिलाठीमा पनि त्यही भएको हो । 

सीमावर्ती क्षेत्रमा यस्ता तनाव हुने र नागरिक असुरक्षित बन्ने अवस्था नदोहोरिने गरी दिगो समाधान खोज्न जरुरी छ । सीमाक्षेत्रमा संरचना निर्माण दुईदेशीय सहमतिका आधारमा मात्र हुनुपर्छ । सीमासम्बन्धी विद्यमान विवादका विषयलाई नेपाल पक्षले भारतीय पक्षसँगको उच्चस्तरीय छलफल र वार्तामा राखेर समाधान गर्नुपर्छ । सीमाक्षेत्रमा समस्या उत्पन्न भइहाले उच्चस्तरबाटै तत्काल पहलकदमी थालिनुपर्छ ताकि नागरिक प्रतिरोधमा उत्रनुपर्ने अवस्था नआओस् । तत्कालका लागि भने सुपौलको वीरपुर जेलमा राखिएका देवनारायण र उनका छोरा अजयलाई रिहा गराउन सरकारले प्रभावकारी पहल गर्न जरुरी देखिएको छ । अहिले जिल्लास्तरबाट प्रयत्न भइरहे पनि प्रभावकारी बन्न सकेको छैन । त्यसैले केन्द्रीय तहबाटै उनीहरूलाई जतिसक्दो छिटो सम्मानपूर्वक रिहा गराउन पहल गर्नुपर्छ । बदलाको नियतले आफ्ना नागरिकविरुद्ध यस्तो क्रियाकलाप नदोहोरिने अवस्थासमेत सुनिश्चित गराउनुपर्छ । 

प्रकाशित : आश्विन १८, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?