कुपोषणविरूद्ध सजगता आवश्यक

डा. अरुणा उप्रेती

काठमाडौँ — केही दिनअधि काठमाडौंको एक स्कुलमा मलाई बालबालिकाको पोषणबारे छलफल गर्न बोलाइयो । मैले अभिभावकले छोराछोरीलाई चाउचाउ र कुरमुरे खाजामा दिएर पठाउने हुनाले यस्तो खराब बानी छाड्न आग्रह गरें ।

कुपोषणविरूद्ध सजगता आवश्यक

त्यही सिलसिलामा एक महिलाले सोधिन्, ‘मेरो ४ वर्षको छोरालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदा बालभिटाको प्याकेट पनि खानदिए । बालभिटा खुवाएपछि बच्चाको दिमाग तेज हुन्छ, बच्चा हलक्क बढ्छ भनेका थिए । तर मेरो बच्चाले खान मानेन, अनि मैले त खुवाउनै छाडिदिएँ । बालभिटा खुवाउनैपर्ने हो ? के त्यसले बच्चाको दिमाग बढाउँछ ?’ म छक्क परें ।

पेटभरि दाल, भात, तरकारी, मोही, लिटो, कोदो, फापर आदि खाद्य तत्त्वले बरु शारीरिक र मानसिक स्वास्थ्य राम्रो पार्छ । तर यस्ता खाद्यवस्तुको बारेमा समुदायलाई ज्ञान दिँदा कम्पनीको व्यापार नबढ्ने भएकाले यस्तो वस्तुबारे स्वास्थ्य मन्त्रालयले केही वास्तै गर्दैन । अहिलेसम्म मैले २/३ जनामन्त्री, ३ जना सचिव योजना आयोगका सदस्य र मुख्य सचिवसमेतलाई यस्तो प्याकेटको काम नलाग्ने बालभिटामा अन्धाधुन्द पैसा लगानी गर्नु गलत हो भनेर जानकारी दिएकी थिएँ । यो कुरा मैले विभिन्न पोषणविद् र बालरोग विशेषज्ञसँग छलफल गरेर भनेकी थिएँ । उहाँहरूले भन्नुहुन्छ, ‘कुपोषण हुन नदिन पोषणयुक्त भोजन दिनुपर्छ । कुपोषण भइसकेपछि औषधिले होइन पोषणयुक्त भोजनले नै त्यसलाई निको पार्नुपर्छ ।’

त्यसैले म जहाँ गए पनि महिला स्वयम्सेविका र स्वास्थ्य कर्मचारीलाई भन्ने गर्छु, ‘यस्तो काम नलाग्ने बालभिटा र प्याकेटमा आएको प्लम्पिनटजस्ता वस्तु तपाईं आफ्ना बच्चालाई दिनुहुन्न भने समुदायका बालबालिकालाई किन दिनुहुन्छ ?’ उहाँहरूको भनाइ हुन्छ, ‘के गर्ने हामीलाई त्यस्तै तालिम दिइएको छ । हामीलाई पनि थाहा छ कि यस्तो बालभिटा र प्लम्पिनट काम लाग्दैनन् । तर जबरजस्ती हामी अभिभावकलाई भिडाएर पठाउँछौं । हामीले त कतिचोटि हाकिमलाई पनि भनिसकेका छौ कि बालभिटा आमाहरूले खुवाउँदैनन् । हाम्रा कुरा कसैले सुन्दैनन् ।’ बालभिटा र प्लम्पिनटजस्ता काम नलाग्ने वस्तु बाँडिएका छन् र फालिएका छन् । कृषि मन्त्रालयले पोषणका किताब पनि मन्त्रालयमै थन्क्याएको छ । त्यहाँबाट निकालिएका लट्टे, कोदो, फापर, तरुलबारे लेखिएका पुस्तिकाले स्वास्थ्यकर्मीको ज्ञान बढाउन सकेका छैनन् । अर्थात घरको पोषणलाई हेपेर कुपोषित बच्चालाई प्याकेटका खाना दिन स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई प्रेरित गर्छ ।

२ वर्षअघि मलाई योजना आयोगले स्वास्थ्यको एउटा समितिमा राखेको थियो तर जब मैलै योजना आयोगमा स्वास्थ्य मन्त्रालयका गलत नीतिबारे २/३ पटक बोलें, मलाई समितिबाटै हटाइयो । मेरो कुपोषणविरुद्ध घरको खाना प्रयोग गर्नुपर्छ भन्ने विचार योजना आयोगका सदस्यलाई पचेन । तर स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई पनि थाहा छ कि बालभिटाको प्रयोग असफल भइसकेको छ, प्लम्पिनट धेरै ठाउँमा कुहिएर बसेको छ । नेपालमा पर्याप्त मात्रामा विभिन्न किसिमका सूक्ष्म पोषण तत्त्व पाइने खानेकुरा छन् । तर तिनको बारेमा कृषि मन्त्रालयले निकालेको पुस्तिकाहरूको ज्ञानको व्यावहारिक प्रयोग हुँदैन ।

अति कुपोषित बालबालिकालाई कसरी घरको खाना दिएर स्वस्थ पार्न सकिन्छ भनी सरकारी अस्पतालमा पोषण पुन:स्थापना केन्द्र स्थापना गरिएका छन् । ती केन्द्रमा अति कुपोषित बच्चालाई ठीक पारेका तथ्यहरू सरकारी प्रतिवेदनले नै औंल्याएका छन् । बच्चालाई स्वस्थ बनाउन त घरकै दाल, भात, तरकारी, आलु, दूध, रोटी, चिउरा, चना दिनुपर्ने हुन्छ । तर स्वास्थ्य मन्त्रालय आफैंले स्थापित गरेका पुन:स्थापना केन्द्रको कामलाई बेवास्ता गरेर यस्तो प्याकेट बाँड्ने विचार गर्छ । हाम्रा रैथाने भोजनलाई वास्ता नगर्ने हो र बाहिरबाट ल्याइएको भोजन दिने सोचले हाम्रा बालबच्चामा कुपोषण बढ्दै छ । बदाम, तिल, आलस, भटमास, केराउ, चनाको टुसा उमारेर त्यसको पिठो बनाएर सर्वोत्तम पिठो दिने हो भने हाम्रा केटाकेटी स्वस्थ हुनेछन् । दाल, भात, केरा, रोटी, हलुवा, फर्सीको तरकारीको स्वाद तिनले मन पराउनेछन् ।

प्रकाशित : आश्विन १८, २०७४ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?