कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुमानहरूको घमासान

डेटलाइन तराई
चन्द्रकिशोर

काठमाडौँ — सुन त्जुले भनेका छन्, ‘युद्धको सबभन्दा ठूलो कला यही हो कि शत्रुलाई नलडिकनै परास्त गर्न सकियोस्’ । एकीकृत कम्युनिष्ट पार्टी निर्माण एवं चुनावी तालमेल गर्न एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच निर्माण भएको गठबन्धनले पहिलो दृष्टिमा यस्तै सन्देश दिन्छ ।

अनुमानहरूको घमासान

एमालेका शक्तिशाली अध्यक्ष के.पी. शर्मा ओलीको राजनीतिक विजय मानिएको यस गठबन्धन निर्माणले अहिले मुलुकभित्र र बाहिरका आफ्ना सबै प्रतिपक्षीलाई गतिलो ‘शह’ दिएको छन् । रणनीतिक दाउपेचको सतरञ्जमा अहिले निश्चय नै ओलीले ‘मात’ नै दिएको छ ।

उता क्रान्तिकारी प्रचण्डले त अवधीको एउटा आहानजस्तै, ‘प्यादे से फर्जी भयो, टेढो–टेढो जाए’ । सतरञ्जको खेलमा ‘प्यादा’ सोझो चाल चल्छ भने ‘फर्जी’ टेढो चाल चल्छ । उक्त आहानमा प्यादा जब फर्जीमा पदोन्नति हुन्छ, त्यतिखेर उसले प्रस्तुत गर्ने रवाफ फरक हुन्छ भनिएको छ । अधिकांश आहानले आफ्नो कलेवरमा युगीन संस्कृति र इतिहासलाई लुकाएर राखेको हुन्छ । जो एउटा पुस्तादेखि अर्को पुस्तामा विरासतको रूपमा सर्दै जान्छ, जसको प्रयोग हामी सर्वमान्य सत्यको रूपमा गर्छौं । ६ बुँदे सहमतिमा भनिएजस्तै समाजवादका आधार तय गर्न अस्तित्वमा आएको वामपन्थीहरूको यो नौलो प्रकृतिको गठबन्धन अन्तिम अवसर र प्रयोगजस्तो हो ।

‘फ्युजन’को खेल

कतिपयले अहिले पनि माओवादी केन्द्रका प्रचण्ड वाम एकताको नाममा अर्को ठूलो नाटक मञ्चनका क्रममा त छैनन् भन्ने शंका गरेका छन् । तर कतिपयले लोकतन्त्रमा दलहरूको विलय र नयाँ अस्तित्व निर्माण स्वाभाविक ठान्छन् । दल छान्ने विकल्पमध्ये एउटा सशक्त पार्टीको विरुद्धमा अर्को उत्तिकै सशक्त विकल्प जनताले खोज्छ र जुन पार्टीले आफ्नो व्यापकता र सामथ्र्य प्रदर्शित गर्छ, जनताको अर्को पक्षले त्यसलाई नै विकल्पको रूपमा स्वीकार्छ । मताधारका आधारमा वामपन्थीहरूको एकजुट अप्राकृतिक नरहेको र लोकतन्त्रका लागि थोरै तर बलिया दलहरू हुनु जायज प्रक्रिया नै रहेको अभिमत प्रकट गरिरहेका छन् । तर जसरी चमत्कारी तरिकाले राजनीतिमा वाम एकता अभियानको घोषणा भएको छ, त्यसले तत्काल र दीर्घकालमा पार्ने प्रभाववारे तटस्थ समीक्षा हुन जरुरी भइसकेको छ । अहिले एकथरीले हर्षगान गरिरहेका छन् भने अर्कोथरीले दु:खान्त अवस्था मानिरहेका छन् । नेपाल जस्तो शिशु गणतन्त्र रहेको मुलुकमा दलहरूको हिँडाइको गति र मतिले पनि आन्तरिक र बाह्य रूपमा धेरै कुरा निर्धारण गर्छ ।

६ बुँदे सहमतिबारे अझै भाष्य आउन बाँकी छ । वाम एकता अभियानको अवतरणको प्रक्रिया, पात्र र परिणामबारे विभिन्न पाटोबाट गम्भीर विमर्श हुनैपर्छ । यो साता महात्मा गान्धीको जयन्ती विश्वभरि नै अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइँदैछ । गान्धी जहिले पनि प्रक्रिया, पात्र र परिणाम तीनवटै पक्षलाई समान रूपले हेर्थे । यिनको प्राथमिकतामा तीनवटै पथ्र्यो । उनका प्रत्येक क्रियाकलाप गर्नुपूर्व यो तीनवटै पक्षमाथि दृष्टि दिइएको हुन्थ्यो । वाम एकता अभियानले कस्तो खालको समाजवादको आधार तय गर्ने हो, न्यायपूर्ण समाज भनेको कस्तो हुने हो ? हिजोका दिनमा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति आफ्नै अन्दाजमा यी शब्दहरूको अर्थ दिने प्रयत्नमा थिए । नयाँ ‘फ्युजन’को पस्थितिमा यसलाई कसरी कार्यान्वयन गर्ने हो ? त्यतातिर ध्यान सबैको छ । यो अभियानका स्रष्टाहरूले यसबारे प्रस्ट्याउनैपर्छ । वाम एकता अभियानले सहिष्णु र खुला समाज निर्माणमा कस्तो क्रियाशीलता देखाउँछ, त्यसबारे अनेकांै अनुमानका खेती गर्न थालिएका छन् । जनसामान्यमा रहेका जिज्ञासाको घमासानलाई समय छँदै चिर्नुपर्छ ।

जतिखेर राजधानीको राष्ट्रिय सभागृहमा एकताबद्ध कम्युनिष्ट पार्टीको नेतृत्वअघि बढाउने सपना बाँडिँदै थियो, त्यतिखेर नेपाली सेयर मार्केटमा कुनै उथलपुथल देखिएन । यसले के देखाउँछ भने अहिलेका वामपन्थी भनाउनेहरूले पनि हिजोका दिनमा जसरी पुँजीवादी व्यवस्थालाई आत्मवरण गरे र दलाल अर्थतन्त्रको अभ्युदय भयो, त्यस स्थितिमा नेपाली आर्थिक जगत अचम्मित नरहेको देखाउँछ । क्रान्तिका नायक र सपनाका व्यापारीहरूको नयाँ प्रस्तुतिले राजनीति बाहिरकालाई चकित बनाएको छैन । बरु अभियानभित्र नै उकुसमुकुसको संकेत देखिन थालेको छ । जसरी आउँदा चुनावमा भागबन्डा गरिएको छ, त्यसले गर्दा कतिपय महत्त्वाकांक्षी कार्यकर्ताको सपना असमयमा नै शरदको शीतजस्तै ओभाएर जान्छ ।

अरुको बुइँ

अरूको बुइँ चढेर अगाडि बढ्ने नेपालको राजनीतिक परम्पराजस्तै छ । नेपाली राजनीतिमा भारत एउटा प्रभावकारी पक्षको रूपमा देखिँदै आएको हो । समय–समयमा उसले सूक्ष्म व्यवस्थानमा पनि सक्रियता देखाउने गरेको छ । यसप्रति चरम असन्तुष्टि अभिव्यक्त गर्ने एउटा जमात अर्को छिमेकी चीनको तर्फबाट त्यस्तै अभ्यासको अभ्यार्थी पाइन्छ । अहिलेको चमत्कारिक निर्णयमा कैयौं कोणबाट चीनको धाप रहेको बताइन्छ । भारतलाई गार्ली गर्दै नेपालमा दशकौंदेखि एउटा वर्गले आफूलाई वैधता (लेजिटिमेसी) प्रदर्शन गर्न आफ्नो अति राष्ट्रवादलाई प्रोत्साहित गर्दै आएका छन् ।

भारतीय विभिन्न सुरक्षा संयन्त्रले नेपालमा अवाञ्छित गतिविधि गर्दा भारतभित्र पनि स्वतन्त्र चेत भएका नागरिक समाजले नेपाली जनताको सार्वभौमिकता र विवेकको पक्षमा आफ्नो धारणा राख्दै आएका छन् । तर चीनको अग्रसरताको दीर्घकालीन प्रभाव के पर्ने हो, त्यसबारे हामीकहाँ सूचनाको अभाव छ । खालि षडयन्त्रको आडमा विश्लेषण गर्ने र अति राष्ट्रवादको भरमा राजनीति गरिरहने हो भने लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न सकिँदैन । दिल्ली र बेइजिङ समर्थकका आधारमा नेपाली राजनीति ध्रुवीकरण हुने हो भने यसले राजनीतिक पुनर्संचनाको सम्पूर्ण परिकल्पनालाई तहसनहस गर्छ । त्यसैले के नेपाल फेरि एकपटक राजनीतिक परिवर्तनको संघारमा उभिएको छ ?

आउँदो निर्वाचनमा राष्ट्रवादी सपनाको व्यापार गर्ने तुजुक छचल्किनेछ । यसले राष्ट्रिय राजनीतिमा ध्रुवीकरण निम्त्याउने र नयाँ द्वन्द्वको अभिरेखांकन हुने आंँकलन गर्न थालिएको छ । वाल्टर लिपम्यानको प्रसिद्ध पुस्तक ‘पब्लिक अपिनियन’मा जनमत निर्माणको प्रक्रियालाई विस्तृत रूपमा केलाइएको छ । सामान्य मान्छेहरू गम्भीर र जटिल कुरा बुझ्दैनन्, तिनलाई सरल रूपमा बुझाउनुपर्छ । यस्तो अवस्थामा तथ्य र तर्कभन्दा पनि जसले कुरा बङ्ग्याएर सूचनाको खेती गर्न सक्यो, उसले बाजी मार्छ ।

कांग्रेसको कुवा खनाइ

कांग्रेसको यतिखेर वामपन्थी अभियानीहरूसंँग विश्वासको जग खस्किएको अवस्था छ । कतिपय कांग्रेसीमा वामपन्थीहरूको रणनीतिक पेलाई तथा सत्ताकब्जाको त्रास उत्पन्न भएको छ । कांग्रेसले नयाँ गठबन्धनलाई अप्रत्यासित ठान्छ र आहतजस्तो छ । वामपन्थी वर्चस्ववादी र अहम्वादी मानसिकताले प्रदेश र केन्द्र सबैतिरको मत सोहर्ने हो भन्ने चिन्ताले हिजोसम्म आत्मघाती गृहकलहमा रहेका कांग्रेसीहरू स्वाभाविक रूपमा ऐक्यबद्ध हुने स्थिति आएको छ । तर यसका निम्ति यो शक्तिले अन्य उदार लोकतन्त्रवादी शक्तिहरूको मोर्चा बनाउनु त ठिकै हो, तर यसले दक्षिणी छिमेकीसंँग बढी नजिकिने प्रयत्न गर्ने हो भने आउँदा चुनाव कुन छिमेकीको नेपालमा प्रभाव बढोत्तरी हुनदिने हो, त्यसको जनमत संग्रह हुन जान्छ । त्यस अर्थमा कांग्रेस अहिले सिंगौरी राजनीतिमा जाने होइन । नत यो कांग्रेसका लागि कुवा खन्ने समय नै हो । उसले २०६२/६३ पछिका परिवर्तनकारी एजेन्डालाई मुखर रूपमा शिरोधार्य गर्नुपर्छ र आफू विरुद्धका निराधार प्रचारलाई चिर्न सक्नुपर्छ । समस्या के भइदियो भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विश्वसनीयता र योग्यताको इतिहास निर्विवाद छैन र आगो सल्किरहेको अवस्थामा समेत उनको

आह्वानलाई पत्याउन धेरैलाई गाह्रो भइरहेको छ ।

ज्यूँदा प्रश्न

मधेसी शक्तिहरू आफू चक्रव्यूहमा पँmसेको अनुभूति गरिरहेका छन् । तिनीहरूको बुझाइमा अहिलेको वाम अग्रसरताले तिनका नेतृत्व वर्गमा जकडिएको वर्चस्ववादी र आत्मकेन्द्रित श्रेष्ठताको मानसिकतालाई उजागर गरेको बुझाइ रहेको छ । पहिचान, स्वशासन तथा स्वनिर्माणको मधेसी एजेन्डालाई तिनीहरूले अबका दिनमा थाती राख्ने हो कि भन्ने चिन्ता बढाएको छ । हिजोसम्म प्रचण्डले मधेसी मुद्दाप्रति सकारात्मक रहेको र बाबुराम भट्टराई नयाँ प्रतिबद्धता देखाउँदै आएका थिए । तर वर्तमान समीकरण पश्चात मधेसी मुद्दाको संविधान संशोधनको मार्गचित्र के हुने हो ? प्रचण्डको हाउभाउ हेर्दा उनले मधेसी शक्तिसँंग गरेका सबै सहकार्य र त्यसले हासिल गरेका उपलब्धि भुलेको बुझाइ मधेसी दलहरूभित्र छ ।

द्वन्द्व पीडितहरूले भन्न थालेका छन्, ‘हत्या, हिंसाको हिसाबचाहिँ दिनैपर्छ’ । माओवादीले विगतमा क्रूरतापूर्वक अनेकौं हत्या गरेका छन् । कहिले कांग्रेससँंग नजिकिएर भ्रष्टाचारबाट जोगिने त कहिले एमालेको ओत लागेर संक्रमणकालीन न्यायबाट पन्छिने प्रवृत्तिलाई एकथरी द्वन्द्व पीडितले दुर्भाग्यपूर्ण रूपमा लिएका छन् । माओवादी आफ्नो फाइदा लिन खप्पिस छन् । त्यसैगरी यदि सरकार परिवर्तन भयो भने त्यो कस्तो चुनावी सरकार बन्छ र त्यसले कसरी चुनावी बन्दोबस्ती गर्छ, त्यसलाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले मिहिन तरिकाले नियालिरहेका छन् ।

गणतान्त्रिक यात्राको एक दशकभन्दा बढी समय बितिसक्दा पनि मुलुकको राजनीति र शासन भने दिन–प्रतिदिन बिग्रँदै गएको छ । आम जनताको माझमा राज्यले आफ्नो औचित्य र अस्तित्व गुमाउँदै गइराखेको अवस्था छ । लोकतन्त्रमा अपेक्षा गरिने उत्तरदायी शासन तथा कानुनीराज जस्ता सैद्धान्तिक मान्यतामा ह्रास आइराखेको छ । निर्वाचित संस्थालाई स्थायी सत्ताका अन्य अंगले निर्देशित गर्न थालेका छन् । आखिर पछिल्ला वर्षहरूमा लामो इतिहास र अनुभव बोकेका दलहरूले नै राजनीति र शासन सञ्चालनका मुख्य हर्ताकर्ता रहिआएका छन् । नयाँ वाम एकताका अनुहारहरू तिनै हुन्, जुन हिजो नयाँ संविधानका रचनाकार थिए, एउटा नेपाली कांग्रेस छाडेर ।

राजनीतिक दलहरू ठिक ढङ्गले चल्न नसकेकै कारणले गर्दा देशको स्थिति असहज, असामान्य र गम्भीर हुँदै गएको हो । यतातर्फ नयाँ वाम गठबन्धनले ध्यान दिनु र विमर्शको थालनी गर्नुभन्दा केवल सत्तामा अर्जुनदृष्टि राख्यो भने मुलुकको व्यथा ज्युँकात्युँ रहनेछ । नयाँ सपनाका आधारमा पुरानै नेतृत्वले फेरि केही समय शीर्षमा बसिरहने र भागबन्डामा चलिरहने कार्यशैली रहिरह्यो भने सत्तामा नयाँ अनुहार त आउला, तर मुलुकमा लोकतन्त्रको अवस्था थप अधोगतितिर धकेलिँदै जानेछ । किनभने दलहरूमा व्याप्त अव्यवस्था नै अहिले मुलुकले भोग्नु परिरहेको व्यथाको प्रमुख कारक हो ।

[email protected]

प्रकाशित : आश्विन १९, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?