१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

राष्ट्रिय फल सुन्तला बनाउने कि !

डा. शान्ता कार्की

काठमाडौँ — विभिन्न देशका आआफ्नो राष्ट्रिय पहिचान दिने राष्ट्रिय फल छन् । जस्तै– कम्बोडियाको केरा, जापानको हलुवाबेद, जर्मनीको स्याउ, बाङ्लादेशको कटहर, भारत र फिलिपिन्सको आँप, मलेसियाको डुरियान आदि ।

राष्ट्रिय फल सुन्तला बनाउने कि !

भौगोलिक तथा जैविक विविधताको कारण नेपालमा आँप, कटहरजस्ता उष्ण प्रदेशीय सुन्तला, बेलौतीजस्ता उपोष्ण प्रदेशीय फलहरूदेखि स्याउ आदि शितोष्ण प्रदेशीयसम्मका फलहरू पाइए तापनि आजसम्म कुनै फललाई राष्ट्रिय फलको मान्यता दिइएको छैन । यस सन्दर्भमा सुन्तलालाई राष्ट्रिय फलको पहिचान दिन सहयोगी केही तथ्य यसप्रकार छन् ।

नेपालमा परापूर्वकालदेखि नै खेती गरिएको र उपभोगमा ल्याइएको, देशको भूगोल र हावापानी अनुसार विकसित भएको, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पौष्टिक, औषधीय, औद्योगिक, पर्यावरणीयजस्ता अनेक महत्त्व भएको सुन्तलाका धेरै प्रजातिको उत्पत्ति र विविधीकरण नेपालमा भएको पाइन्छ । नेपालमा सुन्तला खेतीलाई सुहाउँदो हावापानी भएकोले धेरै परिश्रम नगरिकनै पनि उच्च गुणस्तरको स्वादिलो, रसिलो, वासनादार सुन्तला फल उत्पादन भइरहेको छ ।

सुन्तलाको राम्रो उत्पादन भइरहेको, कृषकहरू व्यावसायिक सुन्तला खेतीतर्फ अग्रसर भइरहेको र भविष्यमा यसको उत्पादन साथै माग बढ्ने निश्चित भएकोले यसलाई राष्ट्रिय फल बनाउनु उपयुक्त हुनेछ । यसो गरे सुन्तला खेतीतर्फ किसान तथा उद्यमीको ध्यान बढ्नेछ र देशलाई आत्मनिर्भर बनाउँदै आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन गर्न सम्भव हुनेछ ।

हाल नेपालको ४० भन्दा बढी जिल्लामा सुन्तलाको व्यावसायिक खेतीबाट करोडौं आम्दानी भइरहेको छ । यसले कृषकको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याएको छ । नेपालको रैथाने फलमध्ये सबैभन्दा बढी उत्पादन हुने सुन्तला हो । नेपालमा उत्पादित सुन्तला आन्तरिक बजारमै खपत भइरहेको छ । नेपालको गुणस्तरीय फललाई व्यावसायिकतातर्फ प्रबद्र्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढावा दिने योजना पनि सुरु भइसकेका छन् । विभिन्न उचाइमा अनुकूल जात लगाएर, अगौटे, मध्यम र पछौटे जातका सुन्तला लगाएर टिप्ने समयावधि बढाएर वैज्ञानिक भण्डारणको व्यवस्था मिलाएर बजारमा फल उपलब्ध हुने समय तीन महिनादेखि लम्बाएर छदेखि नौ महिनासम्म पुर्‍याउन सकिन्छ । सुन्तला खेती गर्न अन्य फलफूल र अन्नबाली भन्दा सहज छ र एकपटक लगाएपछि धेरै (२०–५०) वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ ।

देशको खाद्य तथा पोषण सुरक्षामा सुन्तलाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । सुन्तलाको नियमित सेवनबाट धेरै रोगको रोकथाम हुन्छ । जस्तै– क्यान्सर, मुटुरोग, हाइपरटेन्सन, जन्मदोष, रतन्धो, छाला चाउरिने, मधुमेह मेलिटास, ओस्टियोपोरोसिस, मोटोपन, अल्जाइमरका रोग आदि । सुन्तलाका फलमा प्रशस्त भिटामिन सी पाइनुका साथै अन्य भिटामिन, मिनरल र एन्टी अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ ।

केही दशक अघि नेपालका नमुना सुन्तला बगैंचामा सुन्तला ह्रास हुने रोगले धेरै बोट नष्ट गरेकोले कृषकको सुन्तलाप्रतिको आकर्षण घटेको तितो यथार्थ पनि हामीसग छ । सुन्तलाको ह्रास समस्या व्यवस्थापन गर्न ‘बडवुड’ सर्टिफिकेसन प्रक्रिया सख्त पालना गर्ने, स्वस्थ बिरुवा उत्पादन गर्ने, रोग किराको प्रभावकारी नियण्त्रण गर्ने र उत्तम कृषिकर्मको पालना गरी स्वस्थ र दीर्घायु बोट र बगैंचाको व्यवस्थापनका प्रविधि हाल उपलब्ध छन् । उत्कृष्ट गुणस्तरको सुन्तला उत्पादन गरी विश्व बजारमा नेपाली सुन्तला भन्ने विशेष पहिचान बनाउन सकिने चरणतर्फ हामी अघि बढ्दैछौं । सुन्तला खेतीले जलवायु परिवर्तनले निम्त्याउने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न पनि मद्दत गर्छ । देशको अधिकांश भू–भागमा खेती गर्न सकिने सुन्तलालाई नेपालको ‘राष्ट्रिय फल’ बनाउन सम्बन्धित पक्षबीच छलफल गर्ने र कार्यान्वयनमा लैजाने उचित समय भएको छ ।

कृषि विकास मन्त्रालयकी सहसचिव कार्की राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रम प्रमुख हुन् ।

प्रकाशित : आश्विन १९, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?