कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समीकरण फेरिँदो राजनीति

काठमाडौँ — राजनीतिक समीकरणमा अकस्मात ठूलो फेरबदल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अर्थात् प्रचण्डले फेरि कित्ता फेरेका छन् । फेरि किन भनेको भने उनी एक ठाउँमा दिगो बस्नै सक्दैनन् । चराको गँुड बरु दिगो हुन्छ, उनको हुँदैन ।

समीकरण फेरिँदो राजनीति

उनी कहिले यो पाखो त कहिले ऊ पाखो गरिरहेका हुन्छन् । दिल्ली पुग्दा दिल्लीकै, बेइजिङ पुगे त्यतैका हुन्छन् । तर विचित्र के भने जहाँ केही समय बस्छन्, त्यो ठाउँ छोड्दा त्यहाँ क्षति नगराई छाड्दैनन्, विचल्ली बनाएर छाडिदिन्छन् । आफू प्रधानमन्त्री बन्ने लालचमा केपी शर्मा ओलीलाई छाडेर उनले शेरबहादुर देउवालाई समाएका थिए । जाँदाजाँदै ओलीले त्यतिखेर अरुणा लामाको गीत सम्झेका थिए । तर यतिखेर दाहालले फेरि कित्ता फेरेपछि देउवा बिचरा कुनै गीत सम्झन त परै खासै बोल्न पनि सकिरहेका छैनन् ।

यसमा दुई मत छैन, दुनियाँमा औसत किसिमका मानिसको ठ्याक्कै दाहालकै जस्तो स्वभाव हुन्छ । तिनका सम्बन्धहरू निहित स्वार्थमा आधारित हुन्छन्, तात्कालिक लाभको लोभमा नजिकिने र फेरि अर्काले लोभ देखाए त्यतै लहसिने । पछिल्लो समयमा उनले जति मिठो गरी भाषण गरे पनि, देशको समृद्धि र उन्नतिबारे उम्दा शब्द चयन गर्दै बोले पनि दाहाललाई दुर्भाग्यवश एउटा औसत र सत्ताका लालची मानिसकै रूपमा चिन्न थालिएको छ, यद्यपि यसपालि दाहाल बृहत् वाम एकताको कलेवरमा कांग्रेसलाई छाडेर एमालेको शिविरमा प्रवेश गरेका हुन् । हुनसक्छ, उनी गम्भीर नै छन्, तर उनले जतिसुकै परिपाठ पारेर बोले पनि धेरैजसोले बृहत् वामपन्थी एकताको तर्कलाई गम्भीरतापूर्वक लिएका छैनन् । घटना गम्भीर र दूरगामी महत्त्वको हो, तर दाहालको ढोका–ढोका चहारिरहने प्रवृत्तिका कारण एमालेसँग चुनावी तालमेलसम्म पत्याए पनि एकतै भइहाल्ला भनेर कमैले मात्र पत्याएका छन् ।

निश्चय नै कुनै दलले अर्को कुनै दल अथवा दलहरूसित चिरकाल पर्यन्त सहकार्य गरिरहनुपर्छ भन्ने हँुदैन । त्यसमाथि कांग्रेस–माओवादी गठबन्धन सैद्धान्तिक हिसाबले विपरीत, व्यावहारिक हिसाबले अपवित्र र दुबैतर्फका कार्यकर्ताका लागि अपमानजनक थियो । कांग्रेसको कुनै पनि निष्ठावान मतदाताले कम्युनिस्ट, त्यसमाथि माओवादीलाई मत दिनै सक्दैन, त्यस्तै माओवादी समर्थक मतदाताको मन कांग्रेसलाई भोट दिन मान्नै सक्दैन । त्यसैले त्यस्तो गठबन्धन बन्नै हँुदैनथ्यो । बने पनि दिगो हुन सक्दैनथ्यो । अहिले परिणाम सामुन्ने छ, कांग्रेस–माओवादी गठबन्धनले स्थानीय तहको निर्वाचन रोएर पार गर्‍यो । गठबन्धन कायमै रहेको भए प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका लागि परिणाम अरू अप्रिय हुनसक्थ्यो ।

त्यसैले दाहालले देउवाको साथ छाडेर कांग्रेसका निष्ठावान मतदातालाई सजिलो बनाइदिएका छन् । देउवा–दाहाल गठबन्धन मन्त्री बन्ने पात्रहरूका लागि प्रिय भए पनि त्यो मतदाता–मैत्री थिएन । तर कुरा यति हो, जतिसुकै अमिल्दो साथ रोजिएको भए पनि छाड्ने बेला मन नै अमिलिनेगरी सम्बन्ध तोड्नु हुँदैन । किनभने यसले धोका खानेको भन्दा धोका दिनेको विश्वसनीयता घटेर जान्छ । दाहालले आफैं सोचुन्, ओलीलाई छाडेर उनले देउवाको दौरा समाउँदा ओलीको ओज गिरेको थिएन, उनकै नूर गिरेको थियो । अहिले देउवालाई छाड्दा पनि उनले आफ्नो अविश्वसनीय स्वभाव नै दोहोर्‍याएका छन् । के छ कुन्नि दाहालको व्यक्तित्वको बनोटमा, उनले जहिल्यै पनि आफ्नो अनुकूलता मात्र हेरेका छन्, उनी जसलाई छाड्छन्, रुवाएरै छाड्ने गरेका छन् ।

हो, जीवनका अरू क्षेत्रमा जस्तै राजनीतिमा पनि साथी फेर्न पाइन्छ र फेरिन्छ । फरक बाटो रोज्न पाइन्छ । तर व्यक्तिगत मित्रतामा जस्तै राजनीतिका पनि केही आधारभूत मूल्य र मान्यता हुन्छन् । ती आधारभूत मूल्य र मान्यताकै लिकमा सम्बन्ध परिभाषित हुनुपर्छ, राजनीति चल्नुपर्छ, चलेन भने त्यस्तो राजनीति स्थायी हुँदैन । दाहाल आफैंले आफ्नो राजनीतिक यात्राको अन्तरनिरीक्षण गरे भने उनी आफैंमा प्रशस्तै सैद्धान्तिक र व्यावहारिक विचलनका आयाम फेला पार्नेछन् । जस्तै, दाहालसित परिवर्तनको एजेन्डामा सहकार्य गरेका कांग्रेस नेता गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालका प्रथम राष्ट्रपति बनाउने आफ्नै वाचाबाट उनी पछि हटेका थिए । कोइरालाले मनमनै दाहालको त्यो व्यवहारलाई विश्वासघातका रूपमा पालेका थिए र विश्वासघातको त्यो घाउसँगै उनको देहावसान भएको थियो ।

मूल्य र मान्यताबाट च्युत राजनीतिमा भने निश्चय नै साथीलाई के असर पर्छ भनेर सोचिँदैन, केवल आफू अगाडिको भाग र स्वार्थमात्र हेरिन्छ । मान्यता च्युत मित्रतामा होस् अथवा राजनीतिमा आफूले आश्वस्त पारेको मित्र अथवा पक्षलाई माझधारमा छाडेर आफ्नो दुनो सोझ्याइन्छ । मूल्य–मान्यताबाट च्युत व्यक्तिगत व्यवहारमा होस् अथवा राजनीतिमा वाचाबन्धन तोड्नु सामान्य मानिन्छ । त्यस्ता मानिसको उदाहरण दिनुपर्दा अचेल दाहालको नाम लिइन्छ, किनभने उनको राजनीतिमा पनि आधारभूत मूल्य र मान्यताको कुनै स्थान हुने गर्दैन भन्ने देखिएको छ । यो अहिले नै किन भन्नुपरेको हो भने चुनावी तालमेल र बृहत्तर वाम एकता भन्न जति सजिलो छ, यसलाई आकार दिन त्यति नै मुस्किल छ । यहाँ ख्याल रहोस्, एमाले पंक्तिले पनि उनलाई सहजै अंकमाल गर्दैन । त्यहाँ पनि प्रशस्तै तलमाथि र तनाव हुनेछ । उनले भनेजस्तै, सोचेजस्तै ठ्याक्कै वाम एकता भए पनि हँुदैन ।
यहाँ एकोहोरो दाहाललाई तारो बनाइएको नठानियोस्, किनभने कित्ता फेर्ने मामिलामा दाहालमात्रै अपवाद होइनन् । जहाँको राजनीतिको केन्द्रीय भावमा सदाचार र नैतिकताका लागि कुनै स्थान हुँदैन, त्यहाँ हुने भनेको यही र यस्तै हो । यहाँ सम्झाइरहनु नपर्ला, ऐनमौकामा कांग्रेसले पनि एमालेसित गरेको भद्र सहमति तोडेकै हो र एमालेले माओवादीसित गरेको वाचा पनि बिर्सेकै हो । दोस्रो संविधानसभाको निर्वाचनपछि कांग्रेस–एमालेको सरकार बन्दा संविधान ल्याउन्जेल कांग्रेसको नेतृत्वमा सरकार चलाउने, संविधान ल्याएपछि एमालेलाई नेतृत्व दिने भन्ने भद्र सहमति भएकै हो । त्यही वाचाबन्धन अनुसार कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बनेको थियो । तर संविधान जारी भएपश्चात् कथित भद्र सहमति अभद्रतामा परिणत भएको थियो ।

त्यसरी नै एमालेलाई सरकार बनाउन माओवादीले सहयोग गर्दा केही अघोषित भद्र सहमति भएका थिए । माओवादीले ती सहमतिको पालना भएन भन्दै सरकारबाट समर्थन फिर्ता लिएको र त्यस अवसरमा कांग्रेसले दाहाललाई पहिला प्रधानमन्त्री र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई पालो दिने सहमति बमोजिम नै पहिला दाहालको र त्यसपछि देउवाको नेतृत्वमा सरकार बनेको हो । तर माओवादीले देउवासँग सरकारमा बसिबसी आगामी मंसिरमा हुने प्रदेशसभा र केन्द्रीय प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि एमालेसँग चुनावी तालमेल गर्ने उद्घोष गरेको छ । निश्चय नै दाहालले पहिला देउवासँग गठबन्धन तोडेर एमालेसँग समझदारीको घोषणा गरेका हुन्थे भने दुई कम्युनिस्ट बीचको चुनावी तालमेल र भावी एकतालाई स्वाभाविक र सहज रूपमा लिइन्थ्यो ।

तथापि व्यवहार र प्रवृत्तिगत विषयमा प्रशस्तै आलोचनाका ठाउँ भए पनि चुनावपूर्व गरिने दलीय तालमेललाई अभ्यासका हिसाबले स्वस्थ मानिन्छ र मान्नुपर्छ, किनभने यसले जनादेशको अपमान हुँदैन । तर त्यसरी जनादेश लिइसकेपछि त्यसलाई आवधिक जनादेश मान्नुपर्छ । भोट माग्ने बेला तालमेल तर चुनावपछि आफूखुसी नयाँ गठबन्धन बनाउने र तोड्ने गरियो भने प्रणाली अरू फोहोरी बन्न जान्छ । राजनीतिको ध्येय निश्चय नै स्थायित्व सुनिश्चित गर्नु र समृद्धिका लागि मार्गप्रशस्त गर्नु हो । तर यसमा सदाचार र सच्चरित्रता रहेन भने स्थायित्व र समृद्धि खोक्रो नारामात्र बन्न जान्छ । त्यसैले बृहत्तर एकता अथवा गठबन्धनको मार्गचित्र तयार गरिरहँदा तालमेल गरेर मात्र हँुदैन, राजनीतिमाथि दुष्प्रवृत्ति हावी हुने छिद्रहरू पनि बन्द गरिनुपर्छ ।

प्रकाशित : आश्विन २०, २०७४ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?