१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एमालेको गल्ती कांग्रेसले दोहोर्‍याउने ?

राधेश्याम अधिकारी

काठमाडौँ — सय पूर्णाङ्कको परीक्षामा जतिसुकै अब्बल विद्यार्थीले पचपन्न अंकको मात्र उत्तर दिएमा उसले छपन्न अंक प्राप्त गर्न सक्दैन । एमाले–माओवादी केन्द्र लगायतको चुनावी गठबन्धनबाट एमाले निर्वाचनमा पहिलो चरणमा नै पराजित भइसकेको छ ।

एमालेको गल्ती कांग्रेसले दोहोर्‍याउने ?

एक्लै बहुमतको सपना बाँडिरहेको एमालेले हठात् माओवादी केन्द्रसंँग ६०–४० प्रतिशत (त्यो पनि अन्य तालमेल गर्ने राजनीतिक दलहरूलाई छुट्याएपछि) को हिसाबले सिट भागबन्डा गर्ने निर्णयले एमालेलाई संकुचनमात्रै हैन, राजनीतिक हिसाबले अन्दाजै गर्न नसकिने मूल्य चुकाउनुपर्ने निश्चित छ ।

पाठ सिक्न चाहेन
पहिलो संविधानसभा अघि उदयपुर जिल्लामा एमालेको राम्रो प्रभाव थियो । संविधानसभा पहिलोमा उदयपुरबाट जितिरहेका आफ्ना सांसद जगन्नाथ खतिवडाको स्थानमा त्यसबेला राष्ट्रिय चर्चामा रहेका कानुन व्यवसायी शम्भु थापालाई एमालेले उम्मेदवार बनाएको थियो । वामपन्थी रुझानका शम्भु थापाले उक्त निर्वाचन सहजै जित्ने विश्वासको प्रतिकूल नतिजा आयो । त्यस पटकदेखि ओरालो लागेको एमाले उदयपुरमा आफ्नो राजनीति उकास्न सकिरहेको छैन ।

काठमाडौं–२ बाट माधव नेपाल झन्डै ४ हजार बढी मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरी दोस्रो संविधानसभाका लागि विजयी हुनुभएको थियो । उहाँले रौतहटको सिट रोजेपछि ६ महिनाभित्र भएको निर्वाचनमा कांग्रेसका दीपकप्रसाद कुइँकेलले ३ हजार बढी मतको अन्तरले एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई हराएका थिए । कृष्णगोपाल श्रेष्ठ काठमाडौंको राजनीतिमा हस्तीकै रूपमा परिचित हुनुहुन्छ । तैपनि किन उहाँको पराजय भयो ? एमालेले राम्रै मूल्याङ्कन गरिसकेको हुनुपर्छ ।

एमाले र माओवादीको पार्टी नेतृत्व मिलेर निर्वाचनमा पर्याप्त हुँदैन । पार्टीका फिल्डमा खटिने कार्यकर्ता एवं शुभेच्छुकहरूबीच पनि यसमा सहमति हुन आवश्यक पर्छ । निर्वाचनको मुखमा भएको हठात् मिलाप त्यतिखेर संकटमा पर्नेछ, जब एमाले भित्रका आकांक्षीहरूले पार्टीको टिकटबाट बञ्चित हुनु पर्नेछ ।

यो कुरा एमालेलाई मात्रै होइन, माओवादीलाई पनि उत्तिकै लागू हुन्छ । कांग्रेसले त विवेक नपुर्‍याउँदा ठूलो मूल्य चुकाएको छ । भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार रेणु दाहाललाई सघाउँदा देशव्यापी रूपमा कांग्रेस पहिलोबाट दोस्रो बन्नुपर्ने प्रमुख कारण रह्यो ।

एकीकरणको घोषणा कि बाध्यता ?
एमाले–माओवादीबीच निर्वाचनपछि गरिने एकताको घोषणामा यसकन गर्नुपर्ने विश्वसनीय कारण र आधार छैन । निर्वाचनका बेला एउटै चुनाव चिन्ह लिएर जान नसकेबाट नै यसको पुष्टि भइसकेको छ । ‘सूर्य’ चिन्हमा दुवै दल एकसाथ निर्वाचन उठ्ने तय भएको कुरा सार्वजनिक नहुँदै भत्किन पुगेको छ । निर्वाचनपछि एकताको प्रयास नै नहुने होइन, तर चुनावपछिको तिक्तताको पूर्वानुमान दुवै दलले नगरेको प्रतित हुन्छ ।

के यी कुरा एमाले र माओवादीका राजनीतिक खेलाडीले नबुझेका हुन् ? पक्कै होइन । दुवै दलका बाध्यताले निर्वाचनअघि तालमेल गर्नु थियो, गरेका छन् । साँच्चै भन्ने हो भने यो मित्रता ‘तरवार र घिउ बेच्ने’ व्यापारी बीचको समझदारीसम्म हो भनी ठान्दा हुन्छ ।

दुवै पार्टीका बाध्यतालाई यहाँनेर मूल्याङ्कन गरौं । एमालेको एउटा ठूलो पंक्तिमा चुनावमा राम्रै गर्दा पनि बहुमत ल्याउन नसकिने आँकलन गरिनु स्वाभाविक थियो । किनभने हाम्रो निर्वाचन पद्धतिले एउटै पार्टीले बहुमत ल्याउन विगतका आंँकडा हेर्दा असम्भव हुनपुगेको छ । साथै एमाले एक्लिँदै गरेको र निर्वाचनअघि जसरी पनि आफू एक्लिएको छैन भनेर देशी–विदेशीलाई देखाउने हतारो एमाले नेतृत्वलाई थियो, ताकि आफ्ना कार्यकर्ता–शुभेच्छुकहरूलाई आश्वस्त बनाउन सकियोस् । त्यसका लागि उसले ‘वाम एकता’को नारा अन्तर्गत माओवादी केन्द्रलाई जसरी पनि, जुन मूल्यमा पनि रिझाउन चाह्यो ।

अर्कोतिर माओवादीलाई पक्का थाहा भएको थियो, भरतपुरको चुनावबाट कि कांग्रेससँंगको चुनावी तालमेल अघि लैजान सकिँदैन । उसलाई पनि अर्को सहयोगी दल आवश्यक परेको थियो । यसमा अनपेक्षित रूपमा प्रस्तावित ६०–४० प्रतिशतको ‘डिल’ वाम एकताको नाममा गर्न माओवादी केन्द्रलाई कुनै कठिनाइ भएन । यो चुनावी वाम तालमेलमा कम्तीमा आज माओवादीले धेरै आर्जन गरेको छ । एमालेले धेरै चुकाएको छ । यसमा सन्देह छैन ।

कांग्रेसले लिने बाटो
वाम एकताको सम्भावित घोषणाले समाजमा एउटा तरंग ल्याएकोमा विवाद गर्ने ठाउँ छैन । त्यसबाट नेपाली राजनीतिका सबै पात्र र संगठन प्रभावित भएका छन् । तर जुन रफ्तारबाट कांग्रेसले यसमा प्रतिक्रिया दियो र लोकतान्त्रिक गठबन्धनको अवधारणा अघि सार्‍यो, यो हतारोमा गरेको निर्णय हो भनी बुझ्नुपर्छ ।

कांग्रेसले बुझ्नुपर्ने पहिलो कुरो के हो भने धेरै गल्तीका बाबजुद यसले प्राप्त गरेको मत अरू दलको भन्दा बढी छ । अर्थात ‘पपुलर मत’मा यो पहिलो पार्टी हो । सांगठनिक कमजोरीले सिटमा भने यो एमालेभन्दा झन्डै ३० स्थानीय तहको संख्यामा यो पछाडि परेको छ । यसलाई सच्याउने अवसर भनेको संघ र प्रदेशको निर्वाचनमा गल्ती नदोहोर्‍याएर नै हो ।

सत्ता सञ्चालनमा माओवादीसंँगको मिलन र राजनीतिमा ऊसँंगको साझेदारी बीचको भेदलाई कांग्रेस नेतृत्वले एकैठाउँमा मिसमास गर्‍यो । यो नै सबैभन्दा ठूलो चुक भयो । कांग्रेस र माओवादी दुवैले यस अघिका आ–आफ्ना घोषणापत्र हेरुन्, यिनमा कति समानता थियो, कति बेमेल थियो भन्ने । काठमाडांै र अन्य धेरै जागरुक जनतालाई कसैगरे पनि कांग्रेस र माओवादी बीचको राजनीति एक ठाउँमा बस्न सक्छ भनी सम्झाउन सकिएन । सम्झाउन सकिने कुरै थिएन । त्यसैले त्यो परीक्षण असफल भएको हो । प्रदीप गिरीले यसैलाई संकेत गरेर दुई दिनअघि लेखेको हुनुपर्छ– पुर्खाको पुण्यले गर्दा कांग्रेसले मुक्ति पायो भनेर ।

माओवादी केन्द्रले कहिल्यै ‘बहुलवाद’मा विश्वास गरेको छैन । संविधानसभामा चोर बाटोबाट ‘बहुलवाद’ घुसाउन पनि कांग्रेस–एमाले लगायतलाई हम्मे परेको थियो । ‘बहुलवाद’ भनेको प्रतिस्पर्धी राजनीतिक व्यवस्था मात्र होइन । आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि विविधताको आवश्यकता पर्छ भन्ने आस्थागत अवधारणा हो । अब यो बुँदामा एमाले आउँदा दिनमा कहाँ उभिने हो ? माओवादी कुन कित्तामा उभिने हो ? बहुलवादमा एमालेले माओवादीलाई तान्ने कि गैरबहुलवादी कित्तामा एमाले पुग्ने ?

आर्थिक क्षेत्रमा निजी सम्पत्ति (भूमिसमेत) को हैसियत के हुने हो ? राज्य नियन्त्रित आर्थिक व्यवस्थामात्रै भावी दिनको विकल्प हो कि ? शिक्षा, स्वास्थ्य क्षेत्रमा भएको निजी क्षेत्रको साझेदारी भविष्यमा के हुने हो ? विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति माओवादी केन्द्रको अडान के हो ?

त्यसैगरी सञ्चारकर्मी, सञ्चार माध्यमले प्राप्त गरेको अखण्डित स्वतन्त्रता कायम रहन सक्छ/सक्तैन ? संविधानको सुनिश्चितताले मात्रै यसलाई थेग्न सक्तैन । व्यवहारमा ‘सेल्फ सेन्सरसिप’ हुनथाल्यो भने के गर्ने हो ? विगतमा रिपोर्टिङ गरेको आधारमा ठूलो संख्यामा सञ्चारकर्मीले दण्डित हुनपुगेको यथार्थ हो । यसलाई सजिलै बिर्सन सकिँंदैन ।

र यी बुँदाहरूमा कांग्रेसको दृष्टिकोण जनतामाझ सम्झाइरहनु पर्दैन । नेपाली जनता खुलापनमा विश्वास गर्छन् । बहुलतामा विश्वास गर्छन्, विविधतालाई गौरव ठान्छन् । कांग्रेस पूर्व, पश्चिम, उत्तर, दक्षिण फैलिएको विभिन्न जातजाति, भाषाभाषी, लिंग, विभिन्न वर्ग एवं धर्म मान्नेहरूको पार्टी हो । यसको नेतृत्वमा लोकतान्त्रिक संविधान आएको छ । यसको कार्यान्वयन पनि यसकै नेतृत्वमा हुन्छ, हुनुपर्छ भनी जनतामाझ जाने हो । त्यसैले कांग्रेसले आफ्ना पूर्व प्रतिबद्धतालाई सम्भँmदै, सम्झाउँदै लोकतान्त्रिक व्यवस्थाको रक्षार्थ आफूलाई निर्वाचनमा होम्नुपर्छ ।

लोकतान्त्रिक गठबन्धनको अर्थ
‘वाम एकता’को प्रचारबाजीबाट कांग्रेस केही अलमलमा परेको देखिन्छ । त्यसको प्रतिक्रियामा लोकतान्त्रिक गठबन्धनको चर्चाले पनि अखबार रंगिएका छन् । के हो, लोकतान्त्रिक गठबन्धन भनेको ? गैरवामपन्थी एकतालाई लोकतान्त्रिक गठबन्धन भन्न खोजिएको हो भने यो त्रुटिपूर्ण हुन्छ । वामपन्थी एकताले अझसम्म कार्यनीति, कार्यक्रम घोषणा गर्नसकेको छैन । त्यसैगरी लोकतान्त्रिक गठबन्धन बीचका शक्तिहरूबीच पनि ठूलो अन्तर छ । धर्मका नाममा, गणतन्त्रका सम्बन्धमा, संघीयताका सवालमा आ–आफ्ना धारणा छन् । कांग्रेसले संविधान ल्याउँदा गरेको आफ्नो प्रयत्नलाई बिर्सन सक्तैन । संविधानलाई अगाडि बढाउने नै कांग्रेसले हो । यस मानेमा संविधानमा मूलभूत विषयमा असहमति राख्नेहरूसंँगको सहमतिले राजनीतिक दिशानिर्देश गर्न सक्तैन । निर्वाचन अघि नै कांग्रेस यसमा सचेत हुनुपर्छ ।

दोस्रो कुरो, कांग्रेसले एमालेले गरेको गल्ती दोहोर्‍याउनु हुँदैन । लोकतान्त्रिक आचरणमा विश्वास गर्नेहरूबीच निर्वाचनपछि पनि एकता गर्न सकिन्छ । तर कांग्रेस मुलुकभर आफू एक्लै निर्वाचनमा जानुपर्छ । खास–खास सिटमा अमूक नेताहरूलाई सहयोग गर्ने कुरा रणनीतिक रूपमा स्वीकार गर्न सकिन्छ । तर प्रतिशत तोकेर पार्टीहरूलाई सिट दिने कार्य कुनै हालतमा पनि स्वीकार्य हुनसक्तैन । यसो गर्नुको अर्थ कांग्रेसले आफ्नो राजनीति संकुचन गरेको ठहर्नेछ ।

कांग्रेस जस्तो पार्टीको लागि निर्वाचन महायज्ञ हो, महाअभियान हो । जनतासंँग जोडिने र ‘रुख’ चिन्ह लिएर घर–घर, गाउँ, बस्ती, नगर पुगेर संगठन विस्तार गर्ने पनि हो । कांग्रेसका सकारात्मक काम भन्ने र गल्ती गरेकोमा जनताबीच कान समाउने अवसर पनि हो । आफ्नो उम्मेदवार दिन नसकेपछि प्रत्यक्षमा मात्र होइन, दलले पाउने समानुपातिक मतमा पनि प्रत्यक्ष असर पर्न जान्छ । त्यसैले यथासम्भव बढीभन्दा बढी प्रत्यक्ष सिटमा कांग्रेस जानुपर्छ । यसबाट तत्काल पार्टीलाई हानि भएछ भने पनि भविष्यमा पार्टी संगठन दह्रो हुनेछ । यसलाई कांग्रेसले बिर्सन भएन ।

कैयन लोकतान्त्रिक पार्टीका नेताहरूलाई, सम्भव छ भने रुख चिन्हबाटै चुनाव उठ्न प्रेरित गर्न सकिन्छ । पार्टीमा समावेश गर्न सकिन्छ । तर वाम गठबन्धनका नाममा प्रतिक्रियात्मक भई लोकतान्त्रिक गठबन्धन बनाउन आवश्यक छैन, बनाउनु हुँदैन । कांग्रेस प्रतिरक्षात्मक भएर होइन कि एक भएर स्पष्ट राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिकोणसहित जनतामा जानुपर्छ । एमालेको पराजित मानसिकताबाट प्रभावित हुन कांग्रेसलाई आवश्यक छैन ।

प्रकाशित : आश्विन २३, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?