१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ध्रुवीकरणले सुरक्षामा पार्ने प्रभाव

काठमाडौँ — यथार्थमा आफू कमजोर बन्दै गएको वा आफू अपेक्षित रूपमा बलियो बन्न नसकेको आंँकलनका आधारमा दुई वा दुईभन्दा बढी राजनीतिक दलबीच तालमेल हुनथालेको देखिन्छ, निर्वाचनको पूर्वसन्ध्यामा ।

ध्रुवीकरणले सुरक्षामा पार्ने प्रभाव

दलहरूले भने राजनीतिक स्थायित्व र वैचारिक समानताका कारण तालमेल गरेको दलिल पेस गरिरहेका छन् । एउटै मतिमा सहमति र एउटै नीतिमा गति कायम गर्नसकेमा मात्र तालमेलमा जालझेल समाप्त हुनसक्छ, अन्यथा दलीय तालमेल केवल दाउपेचको खेलमा परिणत हुने र छरपष्ट भएको शक्तिलाई झुन्डका रूपमा उपयोग गर्न सकिन्छ, जुन झुन्डमा समाविष्ट हुन गुन्डा र गैरराजनीतिक चरित्रका व्यक्ति बढी लालायित र उत्साहित हुनेछन् । तालमेलका क्रममा गुन्डा र आपराधिक आचरणका व्यक्तिहरूको सहज प्रवेशमा रोक नलगाउने हो भने यसले आपराधिक प्रवृत्तिलाई राजनीतिक संरक्षण गर्ने गलत संस्कारको विस्तार गर्नेछ, जसको प्रत्यक्ष प्रभाव सुरक्षा व्यवस्थामा पर्नजाने निश्चित छ ।

राजनीति सेवा नभई राज्यशक्ति हासिल गर्ने कुटिल रणनीतिमात्र भएको अवस्थामा राजनीतिक मूल्य र मान्यताका सबै सीमारेखा सबै दलले निर्ममतापूर्वक उल्लंघन गरिरहेकै हुन्छन् । राजनीतिक तालमेल प्राकृतिक–अप्राकृतिक, स्वाभाविक–अस्वाभाविक के हो/होइन ? भन्ने प्रश्न निहित स्वार्थको छायामा पर्छ । निहित उद्देश्य प्राप्ति र राजनीतिक शक्ति हासिलका लागि गरिने तालमेलले एकातर्फ राजनीतिक ध्रुवीकरण निर्माण गर्छ भने अर्कोतर्फ यसले समाजिक र राजनीतिक द्वन्द्वलाई नयांँ चरणमा प्रवेश गराउँछ ।

वामशक्ति बीचको तालमेल र एकीकरणको मुद्दाले जसरी विद्यमान राजनीतिमा नयांँ तरंग ल्याएको छ, त्यसैगरी यसले राजनीतिक स्थायित्व, शक्ति सन्तुलन र द्वन्द्व रूपान्तरण र समाधानको स्थितिमा पनि तत्कालीन र दीर्घकालीन प्रभाव पार्ने देखिन्छ । पछिल्ला राजनीतिक उपलब्धिको संरक्षण र संविधानमा उल्लेखित राज्यनीतिको प्रयोगमा प्रत्यक्ष रूपमा प्रभाव पार्नेछ । राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय शक्ति सन्तुलनमा प्रभाव पर्ने आंँकलन गरिएको छ । यसले समाजमा स्पष्ट कित्ता विभाजनको स्थिति निर्माण गरी प्रतिद्वन्द्वी वा विरोधी शक्तिको भूमिका सशक्त र सक्रिय गराउने देखिन्छ ।

द्वन्द्व समाधानमा समन्वयात्मक शक्तिको भूमिका महत्त्वपूर्ण हुने गर्छ । तर राजनीतिक ध्रुवीकरणतर्फ अग्रसर दलका कारण आन्तरिक समन्वयात्मक शक्ति कमजोर हुँदै जाने र त्यस अवस्थामा छिमेकी राष्ट्रको भूमिका सक्रिय हुनसक्ने खतरा बढ्ने देखिन्छ । राजनीतिक संस्कार र मर्यादामा राम्ररी अभ्यस्त भइनसकेका दलका नेता र कार्यकर्तामा ध्रुवीकरणबाट प्राप्त हुने संगठित शक्तिको दुरुपयोगको सम्भावना अर्को प्रमुख चुनौतीका रूपमा देखा पर्नेछ ।

वामशक्ति वा लोकतान्त्रिक जुनै राजनीतिक शक्ति भए पनि राजनीतिक चरित्रमा पछिल्लो समय आएको ह्रासले नेता तथा कार्यकर्ताको मनोविज्ञान सेवामुखी भन्दा अवसरमुखी बन्न गएको सर्वत्र महसुस गर्न सकिन्छ । राजनीति लाभदायक व्यवसाय बन्दै गइरहेको अवस्थामा ध्रुवीकरणका कारण अवसरबाट बञ्चित हुनुपर्ने नेता, कार्यकर्ताको पीडा दलले कसरी व्यवस्थापन गर्ने हुन् भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ । नीति, नियम र सिद्धान्तभन्दा निकै माथि पुगेको छ, राजनीतिक लाभको मनोविज्ञान । यस्तो अवस्थामा राजनीतिक स्थायित्वको मुद्दालाई मात्र आधार मानी तालमेलको राजनीति कति प्रभावकारी बन्न सक्ला भन्ने प्रश्न अहं छ ।

राजनीतिको सही उपयोगबाट मात्र सामाजिक सद्भाव कायम हुने र द्वन्द्वलाई सकारात्मक रूपमा उपयोग गर्न सकिने भएकोले राजनीतिक तालमेललाई दलीय आवश्यकता वा राज्यशक्ति आर्जनको माध्यममात्र नबनाई राजनीतिक स्थिरता र स्थायित्वको अपरिहार्य उपायका रूपमा आत्मसाथ गर्न आवश्यक छ ।

राजनीतिक घटनाक्रममा आउने उतार–चढावले नै सुरक्षा व्यवस्थामा अनुकूल वा प्रतिकूल प्रभाव पार्ने गर्छ । पहिचान, जातीय, भेगीय, उत्पीडन, धार्मिक आदि सामाजिक मुद्दालाई राजनीतिक मुद्दा बनाई सक्रिय रहेका दलहरुको तालमेलले यी मुद्दाको समाधान कसरी गर्ने हो र यी मुद्दालाई बोकिरहेका नेता/कार्यकर्ताको पलयान वा निजहरूको उग्र गतिविधिले सुरक्षा चुनौती थप्न सक्ने विषयमा ध्यान दिन आवश्यक छ । जे होस्, वैचारिक समानता भएका राजनीतिक दलबीच समीकरण, तालमेल वा एकीकरण भइरहनु राजनीतिक सम्बन्ध र स्थायित्वका दृष्टिकोणले समसामयिक र उपयुक्त नै मान्न सकिन्छ । यसले सुरक्षा व्यवस्थामा पनि सकारात्मक प्रभाव नै पार्ने देखिन्छ । किनभने राजनीतिक अवस्थामा आउने स्थिरता र स्पष्टताले नै सुरक्षा व्यवस्थालाई आन्तरिक रूपमा बलियो बनाउँछ ।

प्रकाशित : आश्विन २४, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?