कांग्रेसका निम्ति अवसर

डा. शेखर कोइराला

काठमाडौं — यतिबेला हामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको संघारमा उभिएका छौं । यी निर्वाचनको परिणाम कसको पोल्टामा पर्छ भन्ने बहस चलिरहँदा अर्को विषयले राष्ट्रिय राजनीतिलाई मोडेको छ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको चुनावी तालमेल र एकताको प्रसंग औपचारिक रूपमा बाहिर आएपछि विभिन्न अनुमानसँगै आशंका प्नि उब्जन थालेका छन् ।

कांग्रेसका निम्ति अवसर

चुनावी तालमेल, पार्टी एकीकरण जस्ता विषय लोकतान्त्रिक अभ्यास हुन् । विचार, सिद्धान्त र आदर्श मिल्ने दलहरू बीचको एकता स्वाभाविक रूपमै रहन्छ । एकले अर्काको अस्तित्व नै स्वीकार नगर्ने र पानी बाराबारको अवस्था रहेका एमाले र माओवादी केन्द्र बीचको चुनावी तालमेल र एकता प्रयासलाई स्वाभाविक रूपमा लिन सकिएला, तर यो अप्राकृतिक खालको गठबन्धन नै हो । अति राष्ट्रवादको नारा लगाउँदै कम्युनिस्टहरू आफ्नो स्वार्थ र सत्ता प्राप्तिको लागि जहाँ, जोसँग जस्तोसुकै सम्झौता पनि गर्न तयार हुन्छन् । अर्कोतर्फ कम्युनिस्टहरू उपयोगको राजनीतिलाई प्राथमिकता दिन्छन् । अझ नेपाली कम्युनिस्टहरूको राजनीतिक शैली त नितान्त फरक छ । नेपालमा कम्युनिस्टहरूले विगतमा सत्ता प्राप्तिका कुनै शक्तिको बुइँ चढ्न बाँकी नराखेको इतिहास साक्षी छ । २०६२/६३ सालअघि त कम्युनिस्टहरूको स्थायी लहरो तत्कालीन राजदरबारसम्म फैलिएको थियो । चाहे निरंकुश पञ्चायती व्यवस्थामा होस् या प्रजातन्त्र पुन:स्थापनापछि होस्, कम्युनिस्टहरूको राजनीति तत्कालीन राजा र दरबारकै आड–भरोसामा चल्यो । कांग्रेसलाई कमजोर बनाउन दरबार र कम्युनिस्टहरू सधैं एकै कित्तामा उभिएका ज्वलन्त उदाहरण राजनीतिमा छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गरेको माओवादी केन्द्रले निर्वाचनको अन्तिम परिणाम आइसक्दा–नसक्दै प्रतिपक्ष दल एमालेसँग गरेको चुनावी तालमेल र एकता अभियानले लोकतन्त्रवादीहरूको मनमा चिसो पस्नु स्वाभाविक हो । तर कम्युनिस्ट पार्टीहरूको यो अभियानले कांग्रेसको भविष्यमाथि जुन टिकाटिप्पणी र आशंका बाहिर आएका छन्, त्यो औचित्यहीन छ । यो कम्युनिस्ट तालमेलले मुखैमा आएको संघ (केन्द्र) र प्रदेश निर्वाचनको परिणामलाई केही असर गर्ला, तर जुन प्रकारले डर र त्रासको वातावरण सिर्जना भएको छ, त्यसबाट कांग्रेस र गैरकम्युनिस्ट दलहरू मुक्त हुनुपर्छ । अहिलेको वाम एकता हतारमा आकस्मिक रूपमा आएको होइन । विगत १० वर्षदेखिको गृहकार्यको परिणाम हो यो ।

संविधानसभाबाट संविधान घोषणा भएर देश राजनीतिक स्थायित्व र आर्थिक रूपान्तरणको संघारमा उभिएको र जनआन्दोलन–२ बाट प्राप्त उपलब्धिहरू विस्तारै संस्थागत हुने प्रक्रियामै रहेको समयमा कतै मुलुकलाई पुरानै अवस्थामा लैजाने षडयन्त्रस्वरूप यो वाम एकता भएको त होइन ? विभिन्न कालखण्डमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत हुन नदिएर देशलाई पुन: द्वन्द्वतर्फ धकेल्न त यो भइरहेको छैन ? भन्ने गम्भीर आशंका भने साँच्चै पैदा भएका छन् । यो वाम एकता राष्ट्रियता, सार्वभौमसत्ता र लोकतन्त्रको खिलापमा भने छ ।

सपनाको व्यापार गर्दै षडयन्त्र र अति राष्ट्रवादको आडमा गरिने राजनीतिले मुलुकलाई कहाँ पुर्‍याउँछ ? साम्यवादी व्यवस्था स्थापित गर्ने उद्घोषसाथ भएको चुनावी तालमेल र वाम एकताले लोकतन्त्र कमजोर बनाउने र देशलाई अन्धकारमा धकेल्ने निश्चित छ । कम्युनिस्टहरू एकातिर साम्यवादको र अर्कोतर्फ विकास र समृद्धिको कुरा गर्नुहुन्छ । योभन्दा ठूलो झुट के हुनसक्छ ? साम्यवादी मुलुकहरू कहाँ विकास भएको छ ? कुनचाहिँ साम्यवादी मुलुक समृद्धिको बाटोमा लागेको छ ? साम्यवाद गरिबीमा मौलाउने व्यवस्था हो । त्यसकारण साम्यवादी व्यवस्थामा विकास र समृद्धिको प्रसंगसमेत उठ्दैन । नेपाली जनताको आँखामा धुलो छरेर गरिने कम्युनिस्ट राजनीति कति दिन टिक्छ भन्ने कुरा समयले बताउँछ । हाम्रो मुलुकले साम्यवादी व्यवस्था थेग्न सक्दैन र जनताले कुनै पनि प्रकारको निरङ्कुशता स्वीकार्दैनन् । ‘वामपन्थीहरू आफ्नै घर जलाएर खरानीको व्यापार गर्न रमाउने जमात हो ।’ त्यसकारण वाम एकताका नाममा जुन सपना बाँडिएको छ, त्यो जनताले पूरा हुन दिँदैनन् । किनकि जनता लोकतान्त्रिक छन् । लोकतन्त्रमा मात्रै विकास र प्रगति सम्भव छ र साम्यवादी व्यवस्थामा विकास हुनसक्दैन भन्ने कुरा सबैले राम्रोसँग बुझेका छन् । अर्कोतर्फ यो वाम एकताले देशको भू–राजनीतिक अवस्थालाई पनि लक्षित गरेको छ । वाम एकताले संस्थागत रूप लिने हो भने नेपालको भू–राजनीतिक अवस्थालाई पनि खलल पार्नेे निश्चित छ ।

वाम एकताले राष्ट्रियता र सार्वभौमिकतालाई कमजोर पार्ने काम गरेको छ । यसले नेपाली कांग्रेसको सिट आसन्न निर्वाचनमा कम आउला र सत्ताबाट बाहिर बस्नुपर्ला भन्ने चिन्ता कांग्रेसलाई पटक्कै छैन । तर जसरी घटना भइरहेका छन्, त्यसले देशको अस्तित्व र लोकतन्त्रको भविष्य खतरामा पर्ला कि भन्ने चिन्ता हो, नेपाली कांग्रेसलाई । इतिहासका हरेक कालखण्डमा मुलुकका निम्ति आएका संक्रमणकाल र चुनौतीको सामना कांग्रेसले गर्दै आएको हो । अतिवादीहरूको चंगुलमा देशलाई जान नदिएर राष्ट्रियता र सार्वभौमिकताको रक्षार्थ कांग्रेस नै उभिएको हो । र सबै प्रकारका चुनौतीका सामना कांग्रेसले नै गरेको हो ।
पछिल्लो घटना नेपाली कांग्रेसप्रति भन्दा पनि देश र लोकतन्त्रप्रति लक्षित छ । राष्ट्रिय राजनीतिमा जब कांग्रेस कमजोर बन्छ, तब लोकतन्त्र कमजोर बन्छ । जब लोकतन्त्र कमजोर हुन्छ, तब राष्ट्रियता कमजोर बन्छ । स्थानीय निर्वाचनपछि विस्तारै संघीयता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । देश नवनिर्माणको बाटोमा प्रवेश गर्ने तरखरमा छ । मुलुक रूपान्तरणको यो महत्त्वपूर्ण समयमा भएको राजनीतिक उतार–चढावले पुन: एकपटक अन्योल सिर्जना गरेको छ र देशलाई चुनौतीपूर्ण अवस्थामा उभ्याएको छ । सबै प्रकारका चुनौतीले समस्यामात्रै लिएर आएको हुँदैन । अवसर पनि ल्याएको हुन्छ । नेपाली कांग्रेसले यो चुनौतीलाई अवसरका रूपमा लिनुपर्छ । आफूलाई जिम्मेवार र परिपक्व रूपमा उभ्याएर सबै लोकतन्त्रवादी शक्तिलाई एउटै मोर्चामा समाहित गराउँदै त्यसको नेतृत्व गर्नुपर्छ ।

नेपाली कांग्रेसको शत्रु अरू कोही होइन । कांग्रेस नै कांग्रेसको मुख्य शत्रु हो । नेपाली कांग्रेस एकढिक्का भएर उभिने हो भने कसैले पनि उसलाई हराउन सक्दैन । समस्या हामीभित्रै छ । पार्टीभित्र एउटाले अर्काको अस्तित्व स्वीकार नगर्ने परिपाटीले हामीलाई गाँजेको छ । कांग्रेस घरेलु समस्याबाट बाहिर निस्केर राष्ट्रिय राजनीतिको मियो बन्नुपर्छ । गुटबन्दी र भागबन्डाको घेराबाट मुक्त भएर कांग्रेसका शीर्षनेताहरू बाहिर निस्कने हो भने जस्तोसुकै ठूलो शक्तिले पनि कांग्रेसलाई हल्लाउन सक्दैन । पार्टीभित्र नीतिगत असहमति केही छैन, मात्र भागबन्डा र गुट हो । तेरो र मेरोको भावना त्यागेर फराकिलो छाती पारेर हिँडेमात्र देशका सिर्जित सबै समस्याबाट मुक्ति पाउन सकिन्छ ।

परिस्थितिले हामीलाई केन्द्र र प्रदेशको निर्वाचनको मुखैमा पुर्‍याएको छ । यो निर्वाचनको टिकट वितरणमा गुटको छाया देखिनु हँुदैन । वरिष्ठता, क्रियाशीलता, निरन्तरता, लोकप्रियता र योग्यताका आधारमा जित्न सक्ने व्यक्तिलाई मात्रै टिकट वितरण गरिनुपर्छ । यो हुनसक्यो भने वाम एकताले नेपाली कांग्रेसलाई त्यति ठूलो असर गर्दैन । हामी अहिले सिँगौरी खेल्ने र बदलाको राजनीतिमा जानुभन्दा आफूलाई पूर्णरूपले रूपान्तरण गर्नु अनिवार्य छ । माओवादी केन्द्रले अहिले दोहोरो भूमिका खेलिरहेको छ । चुनावी तालमेल र वाम एकताको कुरा गरेकै दिन नैतिकताको आधारमा सरकारबाट राजीनामा दिनुपथ्र्यो । एकातिर सत्तामा बसिरहने अर्कोतर्फ प्रमुख प्रतिपक्ष दलसँग एकताको प्रक्रिया अगाडि बढाउने यो कस्तो राजनीति हो ? यस्तो परिस्थितिमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले तत्कालै माओवादी केन्द्रका मन्त्रीहरूलाई हटाउनुपर्छ र सरकार पुनर्गठन गर्नुपर्छ ।

१२ बुँदे सहमतिमार्फत अगाडि बढेको शान्ति प्रक्रिया अझै टुंगोमा पुगेको छैन । द्वन्द्वका अवशेषहरू अझै बाँकी छन् । द्वन्द्व पीडितहरूको उचित सुनुवाइ भएको छैन । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपता पारिएका व्यक्तिको छानबिन गर्न गठित बेपता आयोगले आफ्ना काम गरिरहेका छन् । शान्ति प्रक्रियामा यी दुई अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय हुन् । पीडितहरू हत्या, हिंसा र द्वन्द्वको हिसाब–किताब मागिरहेका छन् । यस विषयमा माओवादी केन्द्र थप जिम्मेवार र संवेदनशील बन्नुपर्ने हो, तर शान्ति प्रक्रियाका सवालमा ऊ सबैभन्दा गैरजिम्मेवार देखियो । कतै शान्ति प्रक्रिया बीचैमा अवरुद्ध भयो भने त्यसबाट उत्पन्न क्षतिको सामना कसरी गर्ने भन्ने विषयमा कांग्रेस चिन्तित छ । शान्ति प्रक्रियाको नेतृत्वकर्ता दल कांग्रेस बिना अवरोध टुंगोमा पुर्‍याउन चाहन्छ ।

अत: आफैमा अस्पष्ट र उकुस–मुकुस हुन थालिसकेको वाम एकता मुलुक, राष्ट्रियता, सार्वभौमिकता र लोकतन्त्रको खिलापमा छ भन्ने कुरा देशभरका जनतासामु पुर्‍याउन सक्नुपर्छ । कम्युनिस्टहरू सपनाका व्यापारी हुन्, यिनबाट मुलुकको हित हुनसक्दैन भन्ने कुरा बुझ्न र जनतालाई बुझाउन सक्नुपर्छ । वाम एकता र उनीहरूको चुनावी तालमेललाई सामान्य रूपमा लिँदै घरेलु समस्याको घेराबाट बाहिर निस्केर कांग्रेसले मुलुकमा क्रियाशील लोकतान्त्रिक शक्तिहरूको समेत नेतृत्व गरेर अगाडि जानसक्ने ताकत देखाउन सक्नुपर्छ । नेपाली कांग्रेस राष्ट्रिय राजनीतिको मियो बनेर देशको सुदूर भविष्यको गन्तव्यको यात्रा तय गर्नुपर्छ र अहिलेको चुनौतीलाई एउटा सुन्दर अवसरका रूपमा लिँदै सबै लोकतान्त्रिक शक्तिलाई गोलबद्ध गरेर अगाडि बढ्न सक्नुपर्छ ।

कोइराला सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : आश्विन २५, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?