राजनीति : समाजसेवा कि पेसा ?

मधु राई

काठमाडौँ — लामो समय रेडियो पत्रकारिता र केही वर्ष परोपकारी पत्रकारितामा आफ्नो उमेर र ऊर्जा खर्चेका बीबीसी नेपाली सेवाका पूर्वप्रमुख रविन्द्र मिश्रको पछिल्लो परिचय राजनीतिकर्मी बनेको छ । आफैले साझा पार्टी भन्ने नयाँ दल खोलेका मिश्र नेपाली राजनीतिक वृत्तमा नयाँ अनुहार हुन् ।

उनले हेल्प नेपाल परोपकारी संस्था स्थापना गरेर समाज सेवासमेत गरिरहेका छन्।

विश्व राजनीति केलाउने हो भने मिश्र अलग क्षेत्रबाट राजनीतिमा छिर्ने एक्ला भने होइन। वकालतसँगै समुदाय परिचालकको भूमिका निर्वाह गरेका बाराक ओबामा दुई कार्यकाल अमेरिकाको राष्ट्रपति भए। भारतीय राजनीतिमा उदाएका अरविन्द केजरीवाल सिभिल इन्जिनियर थिए। जागिरकै दौरान उनले भारतीय जनतालाई सूचनाको हक दिलाउन अहोरात्र खटेर म्यागेसेसे पुरस्कार पाए। त्यसपछि समाजसेवी अन्ना हजारेको आन्दोलनमा खटेका केजरीवालले पछि ‘आम आदमी पार्टी’ खोले र दिल्लीको मुख्यमन्त्री बने।

यसरी विश्व राजनीतिले पनि समाजसेवा र राजनीति एकअर्काका परिपूरक हुन् भन्ने कुरा प्रमाणित हुन्छ। यस्तै समाजसेवीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका बहुसंख्यक व्यक्ति सफल राजनेता भएको उदाहरण खोज्न टाढा जानु पर्दैन। राजनीतिमा प्रवेश गर्नुअघि समाजसेवीको पहिचान बनाएकाहरूले पक्कै पनि राजनीतिबाट देशको सेवा अझ राम्ररी गर्न सक्छु भन्ने बुझेको हुनुपर्छ। हामीकहाँ यो यो बुझाइ र काम गराइ अलि आलोकाँचो छ।

विडम्बना भन्नुपर्छ, हामीकहाँ राजनीतिमा प्रवेश गर्नुअघि समाजसेवा गरेका वा समाजसेवी पृष्ठभूमि भएका राजनीतिकर्मी भेटिन प्राय: मुस्किल पर्छ। समाजको सेवा गरेर भन्दा पनि राजनीतिक घटनाक्रमले जन्माएका र अनेकन तिकडम गरी राजनीतिकर्मी बनेकाहरूले राजनीतिलाई समाजसेवा होइन, पेसाका रूपमा लिने प्रवृत्ति बढ्दैछ। त्यही कारण सांसदहरूले पद छाडे पनि आजीवन सेवासुविधा पाउनेगरी कानुन बनाउन खोजे, तर सर्वत्रबाट आलोचित भएपछि पछाडि हटे। सांसदहरूको यस्तो भूमिकाले राजनीति आलोचित बनेको छ। देश र जनताको सेवा गरेर भन्दा पनि अनेक तिकडमबाजी गरेर राजनीतिमा प्रवेश गरेका राजनीतिकर्मीहरूको पछिल्लो सुविधाभोगी प्रवृत्तिलाई निरुत्साहित गर्न सरकार र नागरिक समाज असफल हुने हो कि भन्ने चिन्ता आम नेपालीमा बढ्दै गएको छ।

सरकारी ढुकुटीमा बक्र आँखा गाँड्ने प्रवृत्ति राजनीतिकर्मीमा मौलाएकोले व्यवसायी लगायत हुनेखानेहरू कोही आफै उम्मेदवार बन्ने कोही निर्वाचनताका राजनीतिमा प्रत्यक्ष वा परोक्ष रूपमा अर्थको लगानी रहेका छन् भने पछिल्लो समय जुनसुकै पृष्ठभूमि भएका यस्ता हुनेखानेले सहजै टिकट पाउने गरेको भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा देखियो। वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा प्राय: सबै दलले करोडपतिलाई टिकट दिएका थिए। जुनसुकै पृष्ठभूमि भएका करोडपतिलाई राजनीतिमा प्रवेश गराउने नेता–कार्यकर्ताले नेपाली राजनीतिलाई उद्योग, व्यवसाय सम्झेको देखिन्छ। नेपाली राजनीतिमा करोडपतिको हालिमुहाली बढ्दै जाने हो भने नेपाली राजनीतिले देशलाई अधोगतितिर धकेल्ने उद्योग व्यवसायीको जमात तयार गर्छ।

नेपाली राजनीतिमा हुनेखानेहरूको हालिमुहाली बढिरहेकाले निर्वाचन महङ्गिदै गएको छ। अरू बेला समाजको हितबारे नसोच्ने तर निर्वाचनताका विकासको आश्वासन देखाएर जनताको अमूल्य मत हत्याउन अनेकन तिकडम गर्ने राजनीतिकर्मीबाट नेपाल र नेपाली पटक–पटक ठगिँंदै आएका छन्। त्यसो त राजनीतिलाई समाजसेवा हैन, पेसा सम्झनेहरूको मनोबल बढाउनमा पार्टीका अग्रज नेता र कार्यकर्ताको मुख्य भूमिका रहँदै आएको छ। फेरि यस्तो प्रवृत्ति विरुद्ध मतदाता पनि जागरुक हुनसकेका छैनन्।

निर्वाचन सम्बन्धी आचारसंहिता बनाउने तर उल्लंघन गर्ने राजनीतिकर्मीलाई कारबाही नगर्ने निर्वाचन आयोगको पछिल्लो रमिते भूमिकाले पनि राजनीतिलाई पेसा सम्झनेहरूको मनोबल बढ्दै गएको देखिन्छ। अन्यत्र निर्वाचनमा कस्तो पृष्ठभूमि भएका उम्मेदवार उठ्दैछ भन्ने सामान्य तर महत्त्वपूर्ण कुरा मतदाताले थाहा पाउँछन्। विडम्बना भन्नुपर्छ, हामीकहाँ सातादिन अघि पनि कस्तो पृष्ठभूमि भएको व्यक्ति उठ्दैछ भन्ने कुरा मतदातालाई थाहा हुँदैन।

कम्तीमा समाजको हितका लागि काम गर्ने व्यक्तिलाई उम्मेदवार बनाउँदा पार्टीको गरिमामात्र बढ्दैन, राजनीतिलाई समाजसेवा सम्झनेहरूको मनोबल बढ्छ भन्ने आधारभूत कुरा पार्टीका नेता–कार्यकर्ताले बिर्संदै गएको देखिन्छ। यस्तै राजनीतिलाई पेसा हैन, समाजसेवा ठान्ने राजनीतिकर्मीहरूले समाज र देशलाई भ्रष्टाचारमुक्त बनाई समृद्धिको बाटोमा हिँडाउँछन् भन्ने कुरा अग्रज नेता–कार्यकर्ताले बुझ्न ढिला भइसकेको छ।

प्रकाशित : आश्विन २६, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्

कार्यस्थलमा मानसिक स्वास्थ्य

डा. सगुनवल्लभ पन्त

काठमाडौँ — विश्व स्वास्थ्य संगठनका अनुसार व्यक्ति स्वस्थ हुन शारीरिकमात्र नभई मानसिक र सामाजिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ । तर स्वास्थ्य भन्ने बित्तिकै शारीरिक स्वास्थमात्र बुझ्ने परिपाटी जनमानसदेखि नीति निर्माणकर्तासम्म प्रस्ट देख्न सकिन्छ ।

मानसिक हिसाबमा स्वस्थ रहनसके मात्र व्यक्तिले आफ्नो क्षमताको पूर्ण अनुभव महसुस गर्छ, जीवनमा आइलाग्ने विभिन्न तनाव सामना गर्न सक्छ, उत्पादक एवं सिर्जनशील कार्य गर्न सक्छ र आफ्नो समुदायमा प्रत्यक्ष योगदान पुर्‍याउन सक्षम रहन्छ। यी गुणको अभाव वा यसमा विचलन आउनु नै मानसिक स्वास्थ्य समस्याका लक्षण हुन्।

विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार हाल विश्वमा करिब ४५ करोड मानिस विभिन्न प्रकृतिका मानसिक एवं मनोसामाजिक समस्याले ग्रस्त छन्। यीमध्ये करिब तीस करोड मानिस डिप्रेसन र एङजाएटी डिसअर्डरबाट पीडित छन्। यसका कारण उत्पादकत्वमा कमी आउँंदा त्यसको भार विश्व अर्थतन्त्रमा वर्षेनि करिब एक सय अर्ब डलर पर्ने गरेको छ। आज विश्वमा मानसिक स्वास्थ्य समस्याको लागि वार्षिक करिब २५० अर्ब डलर रकम छुट्याइएको तथ्याङ्क छ। संयुक्त राज्य अमेरिकाले आफ्नो वार्षिक बजेटमध्ये करिब १९३ अर्ब डलर मानसिक स्वास्थ्यसेवामा खर्च गर्छ।

जबकि नेपालमा स्वास्थ्य क्षेत्रको कुल बजेटको २ प्रतिशतभन्दा कम मानसिक स्वास्थ्यमा पर्ने गर्छ। केही तथ्याङ्क अनुसार त झन् विश्वमा प्रत्येक चारमध्ये एक व्यक्तिले आफ्नो जीवनकालको कुनै खण्डमा मानसिक स्वास्थ्य समस्या महसुस गर्ने गरेको पाइएको छ। देशब्यापी रूपमा औपचारिक अध्ययन नभए पनि नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहको देखिएको छ। विभिन्न अध्ययनले देखाए अनुसार नेपालमा मानसिक स्वास्थ्य समस्या कुल जनसङ्ख्याको करिब २५ प्रतिशतलाई रहेको आंकलन गरिन्छ। तर मानसिक रोग भन्ने बित्तिकै गम्भीर प्रकृतिका मानसिक विचलन हुन् भन्ने गलत सोचाइ अधिकांश व्यक्तिमा पाइन्छ, जुन गलत हो। जनचेतनाको अभाव एवं मानसिक रोगसँग गाँसिएका विभेद र लाञ्छनाले गर्दा धेरै व्यक्तिको उपचारमा पहुँच नभएको देखिन्छ।

मानसिक स्वास्थ्यको समस्या विश्वको जुनसुकै भूभागमा जोकोहीलाई पनि हुनसक्ने भएकाले यसबारे सबैलाई जानकारी हुन जरुरी छ। मानसिक स्वास्थ्यको समस्याले व्यक्तिको सोचाइ, व्यवहार र भावनामा असर गर्छ। जसले व्यक्तिको जीविकोपार्जन, कार्यक्षेत्रदेखि लिएर पारिवारिक, सामाजिक जिम्मेवारीमा प्रत्यक्ष प्रभाव पर्छ। हरेक व्यक्तिले आफ्नो वयस्क जीवनको ठूलो अनुपातको समय कार्यक्षेत्रमा खर्चिएको हुन्छ। त्यसैले कार्यक्षेत्रको वातावरणले पनि व्यक्तिको मनोवैज्ञानिक स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ।

कार्यक्षेत्रमा व्यस्तता मानसिक स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिए पनि नकारात्मक काम गर्ने वातावरणले व्यक्तिमा शारीरिक र मानसिक स्वास्थ्य समस्या उत्पन्न गराउँछ। यसले लागूपदार्थ सेवन, काममा अनुपस्थिति र उत्पादकतामा गिरावट ल्याउन सक्छ।

मानसिक स्वास्थ्य सम्बन्धी समस्याले धेरै कर्मचारीलाईआफ्नो कार्यक्षेत्रमा नकारात्मक असर पार्ने गर्छ। तर मानसिक रोगसँग गाँसिएका लाञ्छनाका कारण उनीहरूलाई मनोचिकित्सकको सहयोग लिनबाट संकोच मान्छन्। यसको मुख्य कारणमा आफ्नो मानसिक अवस्थाबारे थाहा पाए जागिर जोखिममा पर्ने डर र आफूलाई कार्यक्षेत्रमा भेदभाव हुनसक्ने भ्रमदेखि लिएर मानसिक रोगको औषधी सेवन गरे जीवनभर निरन्तरता दिनुपर्ने, औषधीले काम गर्न नसक्ने भ्रम महसुस हुन्, जुन पूर्णरूपले गलत हुन्। यस्तो सोचको कारण समयमै सहयोग, परामर्श र उपचार नलिँंदा यसको प्रतिकूल असर व्यक्ति स्वयम् र कार्यक्षेत्रलाई पनि प्रत्यक्ष असर पर्न जान्छ।
कार्यक्षेत्रमा कर्मचारीको मानसिक स्वास्थ्यमा जोखिम पुर्‍याउने कारण विविध हुन सक्छन्। अपर्याप्त स्वास्थ्य र सुरक्षा नीति, कमजोर व्यवस्थापन, कर्मचारीमैत्री सहयोगी वातावरणको अभाव, अलचिलो कार्यकक्ष समय, अस्पष्ट कार्यसम्पादन, असमान कार्यवितरण, वरिष्ठ कर्मचारीहरूबाट धम्की एवं मनोवैज्ञानिक उत्पीडन, लिङ्ग एवं यौन दुव्र्यवहार इत्यादिले कर्मचारीको मनोबलमा नकारात्मक असर पार्छ, जसले गर्दा उनीहरूमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ््न जान्छ। कार्यक्षेत्रमा देखिने मानसिक स्वास्थ्यका समस्या अन्य परिवेशमा देखिने मानसिक स्वास्थ्य समस्याभन्दा भिन्न हुँदैनन्।

स्वास्थ्य समस्यामा डिप्रेसन (दिक्दारीपना) एङजाएटी डिसअर्डर (डराउने रोग), लागूपदार्थ दुव्र्यसनी, बाइपोल डिसअर्डर र व्यक्तित्वका समस्याहरू (पर्सनालिटी डिसअर्डर) मुख्य:भेटिन्छन्। यस्ता रोगहरूको केही प्रत्यक्ष त केही अप्रत्यक्ष लक्षण हुन्छन्। प्रत्यक्ष लक्षण रोगको प्रकृतिमा निर्भर गर्छ। जस्तै– डिप्रेसनमा उदास रहने, शरीरमा जोशजाँगर असामान्य कमी आउने हुन्छ भने एङजाएटी डिसअर्डरमा बिना कारण डर लाग्ने, मनमा अनावश्यक कुरा खेल्ने इत्यादि हुन्छन्। प्राय:जसो कर्मचारीमा मानसिक स्वास्थ्य समस्याका अप्रत्यक्ष लक्षण देखिन्छन्।

जस्तै– अत्यधिक थकान, काममा नियमित अनुपस्थिति, काममा ध्यान नजानु, कार्यसम्पादनमा ढिलाइ, कार्यक्षेत्रमा कलह र झगडा, कार्यप्रेरणा अभाव, आत्मबलमा कमी, डर, भ्रम इत्यादि। यस्ता अप्रत्यक्ष लक्षण मानसिक स्वास्थ्य समस्याका हुन सक्छन् भन्ने जानकारीको अभावले धेरैजना समयमा सही उपचारबाट बञ्चित हुन्छन्। यस्ता लक्षण पहिचान गर्न अत्यन्त जरुरी हुन्छ। त्यसो गर्न नसकेको खण्डमा कहिलेकाहीं गम्भीर प्रकृतिका मानसिक रोग र आत्महत्या सम्मको पनि जोखिम अवस्था निम्तिन्छ।

त्यसैले प्रत्येक क्षेत्रले आफ्ना कर्मचारीको मानसिक स्वास्थ्यको लागि उचित ख्याल गर्न जरुरी छ। नत्र मानसिक स्वास्थ्य जोखिममा पर्नुका साथै समग्र कार्यक्षेत्रमा यसले असर पार्न सक्छ। कार्यक्षेत्रमा हूने यस्ता मानसिक रोगका लक्षणहरू पहिचान र उपचारको महत्त्व प्रत्येक कार्यालय प्रमुख र कर्मचारी स्वयम्लाई हुन आवश्यक छ। त्यसैले प्रत्येक कार्यक्षेत्रमा हुने शारीरिक परीक्षणसँंगै मानसिक परीक्षण पनि आवश्यक परिस्थितिमा गराउन कार्यालय प्रमुखहरूले नै सहयोगी भावनाका साथ मानसिक परामर्श एवं सहयोगको लागि प्रोत्साहन र वातावरणको विकास आजको आवश्यकता हो।

कर्मचारीलाई आफ्नो कार्यका लागि पहिचान, प्रोत्साहन र प्रशंसा गर्नु पनि अत्यन्त जरुरी हुन्छ। यसले कर्मचारीको आत्मसम्मान र आत्मबल सुदृढ पारेर कार्यकौशलमा अप्रत्यासित सुधार ल्याउंँछ। यो आफ्नो कार्यक्षेत्र र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न पनि अत्यन्तै महत्त्वपूर्ण हून्छ। कार्यक्षेत्रमा तनाव हुनु स्वाभाविक नै हो, तर यसलाई मिलेसम्म कार्यक्षेत्रमै छाडेर घरमा परिवारसँग गुणस्तरको समय बिताउनसके मानसिक स्वास्थ्यमा लाभ हुने अध्ययनहरूले देखाउँछन्। मानसिक हिसाबमा स्वस्थ हुन स्वस्थ जीवनशैली हुन पनि आवश्यक पर्ने भएकाले त्यसका लागि प्रत्येक कार्यक्षेत्रमा कर्मचारीलाई उत्प्रेरित गरिनुपर्छ। धूमपानरहित कार्यक्षेत्र, सामुहिक ध्यान र योग, स्वस्थ खानपान, व्यायाम, भेटघाट एवं सांस्कृतिक समारोहमा सहभागिता स्वस्थ कार्यक्षेत्र बनाउने आधारभूत तरिका हुन सक्छन्। प्रत्येक कार्यालयले आफ्ना कर्मचारीमा मानसिक स्वास्थ्य समस्या भए उनीहरूप्रति सहयोगी भावना देखाउनु र लचिलो कार्यतालिका एवं कार्य पुनर्निर्धारण गरी उपचारका लागि प्रोत्साहन गर्नु हरेक कार्यक्षेत्रका प्रमुख र कर्मचारी साथीको जिम्मेवारी हो।

विश्व मानसिक स्वास्थ महासंघले तय गरे बमोजिम यो वर्ष ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने नाराका मानसिक स्वास्थ्य दिवस मनाइएको छ। यही नारा बमोजिम राज्यका हरेक निकाय, उद्योग–कलकारखाना, विद्यालय लगायत विभिन्न क्षेत्रले मानसिक स्वास्थ्य प्रबद्र्धन गर्ने जिम्मेवारी लिए मानसिक स्वास्थ्यबारे जनमानसमा रहेको गलत धारणा कम हुनसक्छ। देशभरिका विविध कार्यस्थलमा काम गर्ने कर्मचारीको मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्नसके सम्बन्धित कार्यक्षेत्रलाई नै प्रत्यक्ष लाभ पुग्छ।

प्रा. ओझा त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग प्रमुख र डा. वन्त मनोचिकित्सक हुन्।

प्रकाशित : आश्विन २६, २०७४ ०७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्