मध्यमार्गी अर्थराजनीतिका हिमायती
काठमाडौँ — यो ११ लाख डलर पुरस्कार कसरी खर्च गर्नुहुन्छ ?’ अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार विजेता रिचर्ड थेलरलाई सोधिएको थियो । उनले भने, ‘यसलाई जति सकिन्छ, विवेकहीन ढंगले खर्च गर्ने योजना बनाएको छु ।’
सबै मान्छे आर्थिक मानव हुँदैनन् । उनीहरूले गर्ने प्रत्येक खर्चबाट खर्च बराबरकै प्रतिफल पाइरहेका हुँदैनन् ।
अधिकतम उपयोगिता सुनिश्चित गर्ने उद्देश्यले अभिप्रेरित मानवीय छनोट सधैं विवेकसम्मत हुँदैन । यस्तो छनोटको व्यवस्थापन कसरी गर्ने, कसले गर्ने भन्ने थेलरको अध्ययनको क्षेत्र हो । उनको जवाफमा यही विषय ठट्यौली पारामा प्रस्तुत भएको हो ।
थेलरले प्रकाशमा ल्याएको विषय हाम्रालागि सान्दर्भिक हुने ठानेर त्यसको चर्चा यहाँ गर्न खोजिएको छ । खासगरी हामीकहाँ ‘समाजवाद उन्मुख’ अर्थतन्त्रको निर्माण गर्ने कुरा जोडतोडले उठिरहेको सन्दर्भमा थेलरका विचार पनि बुझिराखे हितकर नै हुने देखिन्छ ।
रसायनशास्त्र वा भौतिकशास्त्र जस्ता प्राकृतिक विज्ञानभन्दा अर्थशास्त्र फरक हो, सामाजिक विज्ञान हो । तापनि पछिल्लो समय अर्थशास्त्र प्राकृतिक विज्ञानजस्तो बन्दै गएको छ । सत्रौं शताब्दीमा यो राजनीतिशास्त्रबाट अलग्गिएर बनेको विज्ञान हो भनेर पत्याउनै गाह्रो हुनेगरी यो प्राविधिक बन्दै गएको छ । उपलब्ध विभिन्न सूचनालाई प्रशोधन गरी ठ्याक्कै सही निष्कर्षमा पुग्न सकिन्छ भन्नेगरी यसको अध्ययन–अध्यापन, अनुसन्धान हुनथालेको छ । यस्तै समस्या अरू सामाजिक विज्ञानमा पनि नभएको होइन ।
यसै क्रममा सन् १९७० को उत्तराद्र्धदेखि अर्थशास्त्रको सबैभन्दा नयाँ हाँगाको रूपमा ‘बिहेभिअरल इकोनोमिक्स’ पलाएको छ । जुन–जुन विषयमाथि शंका गरेर शास्त्रीय अर्थशास्त्रीले शोध सुरु गरेका थिए, त्यही विषयलाई पछिल्लो समयका अर्थशास्त्रीले स्वत: सिद्ध तथ्य मान्न थालेका छन् । मान्छे जति तर्कशील प्राणी हुनसक्छ, त्यति नै विवेकहीन रहने सम्भावना पनि रहन्छ भन्ने तथ्य बिर्सिएको छ । मान्छेले गर्ने निर्णय खोटरहित हुन्छ, नीति निर्माणमा मान्छे निपुण हुन्छ भन्ने मान्यतामा अर्थशास्त्रीय परिकल्पना विकास हुनथालेका छन् ।
यिनै परिकल्पनालाई चुनौती दिँदै ‘बिहेभिअरल इकोनोमिक्स’ अगाडि आएको हो । डानियल कानेमान र अमोस त्रेस्की लगायतका मनोवैज्ञानिकले सुरु गरेको यो विधामा अर्थशास्त्री थेलरलाई पनि अग्रणी मानिन्छ । परम्परागत अर्थशास्त्रमा सिंगो समाजलाई प्रयोगशाला मानेर मान्छेले प्रदर्शन गर्ने व्यवहार विवेकसम्मत हुन्छ भन्ने मान्यताका साथ शोधकार्य अगाडि बढाइन्थ्यो, निष्कर्ष निकालिन्थ्यो । ‘बिहेभिअरल इकोनोमिस्ट’ले यिनै मान्यतामा प्रश्न उठाए । मान्छेको आनीबानी सधैं विवेकसम्मत हुँदैनन्, उनीहरूले सधैं सही छनोट गर्न सक्दैनन् ।
पुनर्जागरणपछिको झन्डै तीन शताब्दी लामो राजनीतिशास्त्रबाट अलग विशुद्ध आर्थिक चिन्तन परम्पराले पनि बहुसंख्यक मानव समुदायको समस्याको हल निकाल्न नसकिरहेको अवस्थामा ती प्रश्न उठेका थिए । उत्थित मानव (होमोसापियन्स) भनिने सबै मान्छे आर्थिक मानव (होमो इकोनोमिक्स) हुँदैनन् । उसका निर्णयहरू आर्थिक दृष्टिले पूर्ण हुँदैनन् । त्यसैले अपेक्षित नतिजा हात नपर्ने सम्भावना रहन्छ । यसका मूलत: दुई कारण छन् ।
पहिलो, मान्छेको चर्मचक्षुले नै गलत सूचना दिइरहेको हुन्छ । एउटा परिपक्व भनिएको मान्छे उसले सही ठम्याएको कुरामात्रै देख्ने वा सुन्ने गरिरहेको हुन्छ । दोस्रो– भय, काम, क्रोध, लोभ, मोह लगायतका भावनात्मक तत्त्वले उसलाई व्यक्ति, घटना तथा प्रवृत्तिलाई वस्तुगत ढंगले ग्रहण तथा विश्लेषण गर्न बाधा पुर्याइरहेको हुन्छ । ज्ञान तथा अनुभवहीन व्यक्ति यस्तो मनोगत बाधाको सिकार हुन्छ नै, ज्ञानी तथा अनुभवी पनि यो बन्धनबाट पूर्णरूपमा मुक्त हुँदैनन् ।
जसो गर्दा पनि, जसले गर्दा पनि आखिर गल्ती नै हुनेरहेछ । नियत सही हुँदाहुँदै ठूला भनिएका, ज्ञानी मानिएका, शक्तिशाली ठानिएकाहरूबाट पनि गल्ती हुँदोरहेछ । उसो भए यस्तो गल्ती गर्ने सुविधाको उपयोग कसले गर्ने ? यहाँनेर फेरि अर्थराजनीतिक मतभिन्नता सुरु हुन्छ । थेलरले मध्यमार्गी बाटो अपनाएका छन् ।
बजार पूर्वाग्रही हुँदैन, विकृति सच्याउने शक्ति बजारमा अन्तरनिहित हुन्छ, यसैमार्फत मानवीय कल्याण सुनिश्चित गर्न सकिन्छ भन्ने एउटा अर्थराजनीतिक धार छ । अर्को, बजारले अस्थिरता र असमानता सिर्जना गर्छ । त्यसैले राज्यमार्फत नागरिकको हित सुनिश्चित गर्नुपर्छ भन्ने छ । पहिलो विचारधारा समाउनेलाई आलोचकहरू बजार जडसूत्रवादी, पुँजीवादी, नवउदारवादी, लिबरटेरियन लगायतका नामले सम्बोधन गर्छन् । दोस्रो थरीलाई समाजवादी, राज्यवादी, सामुहिकतावादी, पाटर्नलिस्ट भनिन्छ ।
थेलर ‘नज थ्यौरी’का कारण प्रसिद्ध छन् । नज थ्यौरीको वैचारिक आधार ‘लिबरटेरियन पाटर्नलिजम’ हो । लिबरटेरियनिजमले आर्थिक, राजनीतिक, सामाजिक पूर्ण स्वतन्त्रताको वकालत गर्छ । पुँजीवादलाई अंगिकार गर्छ, विधिको शासन र व्यक्तिगत स्वतन्त्रतामा जोड दिन्छ । कुनै व्यक्ति वा व्यक्तिको समूहले अर्को व्यक्ति वा व्यक्तिको समूहमाथि शासन गर्ने कुराको विरोध गर्छ । करलाई वैधानिक लुट भन्छ । राज्यको भूमिका नागरिक सुरक्षा र न्याय व्यवस्थापनमा मात्र सीमित हुनुपर्छ भन्छ । अर्काको स्वतन्त्रतामा दख्खल नपुग्नेगरी असीमित स्वतन्त्रताको उपयोग मान्छेले गर्न पाउनुपर्ने दाबी गरिन्छ ।
पाटर्नलिजमलाई समाजवादको पर्यायवाची मान्न सकिन्छ । प्रत्येक नागरिकको भूमिका शक्तिशाली राज्यले तय गरिदिएको हुन्छ । नागरिकका गतिविधिमाथि राज्यले निगरानी गरेको हुन्छ । सीमित व्यक्तिगत स्वतन्त्रता हुन्छ । सामुहिकतामा जोड दिइन्छ । सरकार चलाउनेहरूको उद्देश्य पवित्र हुन्छ भन्ने मान्यता राखिन्छ । सामाजिक स्थिरता र समानताको पैरवी राज्यले गरेको हुन्छ ।
थेलर सम्बद्ध युनिभर्सिटी अफ सिकागोलाई लिबरटेरियन (शास्त्रीय उदारवाद, नवउदारवाद भन्दा फरक) हरूको केन्द्र मानिन्छ । थेलरको विचार लिबरटेरियनहरूका लागि अनौठो हो । उनको विचार युनिभर्सिटी अफ सिकागोमा चल्तीको विचार होइन । किनभने लिबरटेरियनहरू पूर्ण स्वतन्त्रका पक्षपाती हुन् । मान्छेलाई कसैले मार्गनिर्देशन गर्नुपर्छ वा कुनै निकायसँग यस्तो मार्गनिर्देशन गर्ने अधिकार वा ल्याकत हुन्छ भन्ने कुरा उनीहरू मान्दैनन् । कुनै निर्णयबाट सिर्जित प्रतिफल तथा दायित्वको भोक्ता निर्णयकर्ता स्वयं हुन्छ । उसका लागि अरू कसैले निर्णय गरिरहनै पर्दैन भन्ने मान्यता लिबरटेरियनहरूको हुन्छ ।
अर्कोतर्फ समाजवादीहरू छन्, जो आफूले तय गरेका मापदण्डका आधारमा, नेतृत्वले विकास गरेको मूल्य–मान्यताका आधारमा नागरिकलाई कुनै कुरा गर्न वा नगर्न निर्देशन दिन्छन् । यस्तो निर्देशन पालना गर्नका लागि बल प्रयोग गर्नसमेत पछि पर्दैनन् । केन्द्र सरकार योजना बनाउँछ । सरकारी योजना अनुरूप नागरिकका गतिविधि निर्देशित हुन्छन् ।
थेलर उल्लिखित दुवै मार्गका विपक्षमा छन् । निर्देशन तथा बलपूर्वक योजना कार्यान्वयनको उनी तिखो आलोचक हुन् । तर मान्छेका अविवेकी छनोटहरू न्यूनीकरण गर्नका लागि मार्गनिर्देशनको आवश्यकता देख्छन् । त्यसैले थेलर नागरिकको छनोट गर्ने स्वतन्त्रतालाई सुरक्षित राखी राज्यले विकल्पहरू दिनुपर्छ, त्यसो गर्न सम्भव छ भन्छन् । नागरिक गलत छनोटको सिकार नहोउन् भन्नाका लागि राज्यले प्रोत्साहनमूलक छनोटको अवसर दिनुपर्छ, बल प्रयोगबाट टाढै रहनुपर्छ । राज्यबाट उपलब्ध गराइएको अवसर रोज्ने स्वतन्त्रता नागरिकमा सुरक्षित हुन्छ । यो ‘नज थ्यौरी’को सारांश हो ।
यसरी दुई विपरीत ध्रुवका विचारको समायोजन थेलरले ‘लिबरटेरियन पाटर्नलिजम’मार्फत गरेका छन् । लिबरटेरियनहरूको अराजकतावादी बाटोमा जान सकिँदैन, राज्यविहीनताको कल्पना गर्न सकिँदैन ।
समाजवादीहरूको बल प्रयोगलाई पनि सभ्य समाजले स्वीकार गर्न सक्दैन । बल प्रयोग नगर्दा केन्द्रीय योजना सफल हुँदैन । असफल योजनाहरूमाझ समाजवाद टिक्दैन । त्यसैले राज्यले विकल्पहरू उपलब्ध गराउने र नागरिकमा छनोटको स्वतन्त्रता रहने मध्यमार्गका रूपमा लिबरटेरियन पाटर्नलिजमलाई थेलरले अघि सारेका हुन् । मान्छेको व्यवहार सधैं विवेकसम्मत नहुने भएकाले उनीहरूलाई मार्गनिर्देश गर्नुपर्छ । सही छनोटका लागि बल प्रयोग होइन, प्रोत्साहित गर्नुपर्छ भन्ने उनको तर्क रहने गरेको छ ।
थेलरको लिबरटेरियन पाटर्नलिजम सहज ग्राह्य विषय थिएन । यसलाई मात्र बुद्धिविलास भनियो । यसको बचाउमा सन् २००३ मा उनको सहलेखनमा लिबरटेरियन पाटर्नलिजम विरोधाभाषयुक्त अवधारणा होइन भन्ने लामो लेख आयो । उक्त लेखमार्फत उनले पाटर्नलिजमबाट बल प्रयोगलाई हटाइदिने हो भने लिबरटेरियन उद्देश्यहरू प्राप्त हुन्छन् भन्ने तर्क गरे । यही वैचारिक आधारमा सार्वजनिक नीति निर्माण गर्न सकिने उपायहरू सुझाए । उनका सुझावहरू कतिपय मुलुकमा हाल कार्यान्वयनमा पनि आएका छन् ।
हामीकहाँ आधिकारिक रूपमा बजार व्यवस्था र व्यक्तिगत स्वतन्त्रतालाई सर्वोपरी ठान्ने र त्यसैमार्फत उच्चतम मानव कल्याण सुनिश्चित गर्न सकिन्छ भन्ने अर्थराजनीतिक विचारलाई अँगाल्नेहरूको उपस्थिति शून्यप्राय: छ । राज्य निर्देशित अर्थराजनीतिक व्यवस्थालाई अन्तिम लक्ष्य मान्ने विभिन्न रूप र आकारका समाजवादीहरूको अभाव भने छैन । त्यसैले समाजवादलाई रामवाण ठानेर हिँडेकाहरूले चाहने हो भने थेलरका रचनाले सच्चिने खुराक प्रदान गर्न सक्छ ।
प्रकाशित : आश्विन २८, २०७४ ०८:१४