कठिन यात्रा र कानुनी व्यवस्था

सन्दर्भ : सेतो छडी दिवस
डा. लक्ष्मणप्रसाद ज्ञवाली

काठमाडौँ — स्वतन्त्र रूपमा हिंडडुल गर्न पाउने मानिसको मौलिक हक हो । संविधानले नेपाली नागरिकलाई नेपालभर स्वतन्त्रतापूर्वक आवतजावत गर्न र बसोबास गर्न पाउने हकको सुनिश्चितता गरेको छ ।

त्यसैले सबै नागरिकले मुलुकभर स्वतन्त्र रूपमा आवतजावत गर्ने अधिकार राख्छन्। तर के देशका सबै नागरिकले सहज रूपमा आवतजावत गर्न सकेका छन् त? के हाम्रो संविधानले प्रदान गरेको अधिकार सबै नागरिकले प्रयोग गर्न सक्ने अवस्था राज्यले सुनिश्चित गर्न सकेको छ त? यस्तै गम्भीर प्रश्नका उत्तरहरूको एउटा सानो पाटो हो, विश्व सेतो छडी दिवस (अक्टोबर १५)। अपांगता भएका व्यक्तिहरूका लागि मात्र आकर्षण हुने केही प्रावधानमध्येमा पर्छ यो दिवस पनि। संसारका सबै दृष्टिविहीनलाई आवतजावत गर्न सहारा दिने एक मात्र उपकरण हो, सेतो छडी। यसको माध्यमबाट दृष्टिविहीनहरू स्वतन्त्र रूपमा हिंडडुल गर्न सक्छन्। अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी) को धारा २० ले व्यक्तिगत गमनशीलताबारे विभिन्न व्यवस्था गरेको छ।

हाम्रो देशका विभिन्न कानुनले पनि अपांगता भएका व्यक्तिहरूका सम्बन्धमा धेरथोर व्यवस्था गर्न खोजेको पाइन्छ। हाम्रा कानुनहरूले अपांगता भएका व्यक्तिहरूका लागि मात्र नभई महिला तथा ज्येष्ठ नागरिक र अन्य विशेष पदधारण गरेका व्यक्तिहरूको यात्रालाई समेत केही सहज वातावरण सिर्जना गर्न खोजेको पाइन्छ। उल्लिखित व्यक्ति वा वर्गका तुलनामा अपांगता भएका व्यक्तिहरूको यात्रा बढी नै कठिन हुन्छ। त्यसमध्ये पनि दृष्टिविहीनहरूका लागि यात्रा वा आवागमन अझ कठिन छ। हाम्रो देशका विभिन्न कानुनले गरेका विभिन्न प्रावधान आफंैमा धेरैथोर सकारात्मक छन्। त्यति हुँदाहुँदै पनि कानुन कार्यान्वयनको पक्ष अत्यन्तै फितलो हुनाले सम्बन्धित वर्गले यसको सकारात्मक असरभन्दा बढी नकारात्मक परिणाम भोग्नुपर्ने अवस्था छ। त्यसैले ‘हाम्रो देशमा केही छैन’ भन्नेजस्ता अभिव्यक्ति दिने गरेको पाइन्छ।

अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धिको नेपाल पक्षराष्ट्र हो। त्यसैले त्यसमा उल्लिखित प्रावधान स्वत: लागू भएको छ। तर हाम्रो देशका दृष्टिविहीनले भने गमनशीलताको अधिकारलाई कष्टकर रूपमै भोग्दै आएका छन्। अपांग संरक्षण तथा कल्याण ऐन २०३९ ले अपांग र निजको सहयोगीसमेतलाई हवाईस्थल यात्रामा लाग्ने भाडादरमा पचास प्रतिशत छुट दिनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ। यस्तो व्यवस्था भए पनि व्यवहारमा यसले सार्थकता पाउन सकेको छैन। बरु सेतो छडी लिएर बस बिसौनीमा कोही दृष्टिविहीन प्रतीक्षारत रहेछ भने ऊ अन्य कुनै व्यक्तिको सहायताबिना सहज रूपमा यात्रा गर्न सक्ने अवस्था छैन। बीच बाटोबाट गाडी चढ्नुपर्ने बाध्यतामा त उसको बिचल्ली नै हुने गर्छ। हुन त सवारी तथा यातायात व्यवस्था ऐन २०४९ का विभिन्न दफामा विभिन्न किसिमका सहुलियतको पनि प्रावधान नभएको होइन। नियमनकारी निकाय त्यति गम्भीर नभएको मात्र हो। केही सार्वजनिक सवारी साधनमा महिला, अपांग लेखिएका सिटहरू पनि देख्न पाइन्छ तर ती सिट अरूले ओगटेका हुन्छन्। अपांगता भएको व्यक्ति भीडभाडमा उभिइरहेको देखिन्छ। महिला लेखिएको सिटमा पुरुष बसिरहेको हुन्छ, छेवैमा सानो बच्चा काखमा लिएर महिला भीडमा उभिइरहेकी हुन्छिन्।

कानुनमा व्यवस्था भएका सुविधा तथा सहुलियतका प्रावधान सम्बन्धित दृष्टिविहीनले उपभोग गर्न नपाएको देख्दा भन्न मन लाग्छ, के यो देशमा कुनै कानुन छ? कानुनको कार्यान्वयन भइरहेको छ? नियमनकारी निकाय पनि छ? अपांगता भएका व्यक्तिहरूका बारेमा चासो राख्ने निकायले के गरिरहेको छ?

कानुन निर्माण गर्ने, कार्यान्वयन गर्ने र त्यसको उचित प्रयोग भएको छ छैन भनी निगरानी गर्ने राज्यका तीन अंग हुन्छन्। हाम्रो मुलुकमा पनि यी तीन निकाय सक्रिय अवस्थामै छन्। तर तिनले आफ्नो काम चुस्तदुरुस्त रूपमा गर्न सकेको अनुभूति गर्न सकिएको छैन। जुन मुलुकमा विधिशास्त्रीय रूपले सैद्धान्तिक पक्ष ख्याल गरी परम्परा र प्रथालाई आघात नपार्ने खालको र समाजबाट सहजै रूपमा स्वीकार्य एवं कार्यान्वयन गर्न सकिने खालको कानुन बनाइएको हुन्छ, त्यसको कार्यान्वयनमा कुनै अवरोध हँुदैन। राज्यले भावनामा बहकिएर कार्यान्वयन नै गर्न नसकिने प्रावधानयुक्त कानुन निर्माण गर्नु नागरिकको अधिकारमा आघात पुर्‍याउनु हो। त्यसैले विधायकहरूले यो कानुन म आफैंले कार्यान्वयन गर्नु छ भन्ने मनसायले मात्र निर्माण गर्नुपर्छ भने कार्यकारीले पनि यो कानुन मैले नै बनाएको हो भनेर लागू गर्न सकिनेखालको हुनुपर्छ। कार्यान्वयन गर्ने बेला गरिबी, अभाव, विपन्नता आदि देखाएर त्यसको कार्यान्वयन नगर्नपट्टि जोड दिइन्छ। यसो गरी आम नागरिकलाई ढाँट्नु अनुत्तरदायी प्रवृत्ति नै हो।

आशा राखौं, यस वर्षको सेतो छडी दिवसले विश्वभरिका आम दृष्टिविहीनलाई सहज रूपमा दिशाबोधको अवसर प्रदान गरोस्। संविधान र कानुनहरूले सुनिश्चित गरेका अधिकार कार्यान्वयन होऊन्, सेतो छडी टेकेर कुनै निकायमा हारगुहार गर्न नपरोस्।
laxmanphd@wlink.com.np

प्रकाशित : आश्विन २९, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

राहदानी सिरानीमा, पौरखी हात पाखोबारीमा

वीरेन्द्र केसी

अर्घाखाँची — अब विदेश जानु छैन । पैसा कमाउन पाखोबारी काफी छ । ३२ महिना कतार बसेर फर्किएपछि फेरि त्यतै जाने तयारी तयारीमा रहेका सन्धिखर्क–८ का गिरीप्रसाद सापकोटा आफ्नो राहदानी सिरानीमुनि राखेर कृषिकर्ममा जुटेका छन् ।

उनी हाल तरकारी खेती र जर्सी गाई पाल्नमा व्यस्त छन् । ‘सोचेजस्तो रहेनछ विदेश,’ उनले भने, ‘दु:ख गरेर आफ्नै मुलुकमै केही गर्न सकिन्छ । पाखोबारीमा बेमौसमी तरकारी र गोठमा धेरै दूध दिने गाई–भैंसीबाट आम्दानी राम्रो छ ।’ 

त्यही बारी हो, जुन बेला वर्षअघि दु:ख गरेर ६ महिनालाई खान पुग्दैनथ्यो । अहिले उनको बारीमा तरकारीले भरिभराउ छ । 
आधुनिक खेती गरेर आम्दानी लिनेतिर उनको ध्यान केन्द्रित छ । तीन जर्सी गाई र एउटा भैंसी पालेका छन् । दैनिक १८ लिटर दूध बिक्री गर्छन् । दूध प्रतिलिटर ५० रुपैयाँमा किन्न ग्राहक घरमै आउँछन् । बारीमा सिमी, बोडी, गोलभेंडा, मूला, साग, आलुलगायत तरकारी दैनिक बेच्छन् । दूध र तरकारीबाट महिनामा ४५ हजार रुपैयाँ बचत भएको उनले बताए । ‘कतारमा यसको आधा पनि कमाइ थिएन,’ उनले भने, ‘छिमेकी साथीभाइका कुरा सुनेरै गएको हुँ । यहाँ जति दु:ख गर्‍यो त्यति धेरै आम्दानी हुन्छ । अब म विदेश जान्नँ ।’ तरकारी खेती गर्न सिँचाइ सुविधा अभावले त्यति सहज छैन । एक लाख लिटर पानी अट्ने पोखरी छ । वर्षाको पानी संकलन गर्छन् । गाई–भैंसीको पिसाब जम्मा पनि पोखरीमै हुन्छ । ड्रममा बोकेर गहुँत पानीमा मिसाएर तरकारीमा राख्छन् । 
त्यस्तै, यमलाल सापकोटाको ध्यान पनि कृषितिरै छ । उनले रोजगारी खोज्दै कतार र साउदी पनि धाएका थिए । उनले हाल पालेको जर्सी गाईले दिनमा १५ देखि ३० लिटरसम्म दूध दिन्छ । चार गाई र एउटा भैंसी पालेका उनले पालेका छन् । दैनिक ३० लिटर दूध बेच्छन् । दूध र तरकारीबाटै मनग्य आम्दानी भएपछि विदेश जाने उनको सोच फिटिक्कै छैन । गाउँमा गाई पाल्नेको लहर चलेको छ । बिहान र बेलुका संकलन केन्द्रमा कृषकले ल्याएको दूध व्यापारीले गाडीबाट सन्धिखर्क र चुत्राबेसीका डेरीमा पुर्‍याउँछन् । बजारमा दूधको माग बढदो छ । काम गर्ने जनशक्ति भएका परिवारले धेरै र कम भएकाले एउटासम्म गाई पालेका छन् । ‘घरपरिवारसँगै बसेर कृषिबाटै राम्रो कमाइ भएको छ,’ उनले भने, ‘मिहिनेत गरेपछि पैसा यहीं रहेछ । अब विदेश जान्नँ ।’ राहदानी बाकसभित्रै छ । तर, पौखरी हात पाखोबारीमै छन् । करिब तीन किलोमिटरको दूरीमा सदरमुकाम छ । ‘बजारमा बस्ने मर्निङवाक आउँछन् र तरकारी बोकेर जान्छन्,’ उनले भने । 
गाउँकै बालबहादुर श्रेष्ठको दैनिक बिहान घाँस काट्ने र दिनभर तरकारी खेतीमा रखबारमै बितेको छ । भारतको नोकरी छाडेरी कृषितिर लागेका उनले दैनिक ६ लिटर दूध बेच्छन् । ‘भारतको नोकरी गर्दा हात–खुट्टा चिल्ला थिए, यहाँ फुटेका छन्, कपडा धूलोमैलो लगाउनुपर्छ,’ उनले भने, ‘मिहिनेतको फलले खुसी छु । कृषिमै आनन्द छ ।’ बारीमा तरकारीबाट र गोठमा दूधबाट कमाइ भएको छ । ५ वर्ष कतार बसेका सिद्धिप्रसाद भुसालले ५ गाई, दुई भैंसी र तरकारीबाट वर्षमा अढाई लाख रुपैयाँ बचत गर्न पाउँदा दंग छन् । कुखुरा पनि पालेका छन् । ‘ढंग पुर्‍याएर परिश्रम गरेपछि फल राम्रो लाग्दो रहेछ,’ उनले भने, ‘मेरो लागि यही पाखोबारी नै प्यारो छ ।’ 
६८ वर्षीय गंगाराम भुसाललाई घरमा चामल, खर्च लत्ताकपडा जुटाउँदा ऋण खोज्नुपथ्र्याे । साहुले महँगो ब्याज लिन्थे । एक सय रुपैयाँको महिनामा तीन देखि पाँच रुपैयाँसम्म ब्याज तिर्नुपथ्र्याे । जीवन धान्न धौधौ थियो । ‘समयले परिवर्तन गराउँछ भन्ने यही रहेछ,’ उनले भने । 

प्रकाशित : आश्विन २९, २०७४ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्