कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘वाम’ र ‘लोकतान्त्रिक’ विभाजनको अनुचित भाष्य

डम्बर खतिवडा

काठमाडौँ — आसन्न संघीय तथा प्रादेशिक निर्वाचन र यस निर्वाचन प्रयोजनका लागि थ्रेसहोल्ड सहितको कानुनी व्यवस्थाले दलीय ध्रुवीकरण र चुनावी गठबन्धनको प्रक्रियालाई तीव्र बनाइदिएको छ । लोकतन्त्रमा यो स्वाभाविक र आवश्यक प्रक्रिया नै हो ।

‘वाम’ र ‘लोकतान्त्रिक’ विभाजनको अनुचित भाष्य

विशेषत: संसदीय बहुदलीय लोकतन्त्र भएका देशहरूमा यस्तो प्रचलन विश्वव्यापी रूपमै देख्न सकिन्छ । संसदीय लोकतन्त्रको जननी मानिने बेलायतमा ‘दुई पार्टी प्रणाली’ विद्यमान छ भन्ने भ्रम नेपालमा नभएको हैन । तर त्यो सत्य हैन । त्यहाँ ‘कन्जर्भेटिभ’ र ‘लेबर’ दुई दल प्रभावी देखिएका मात्र हुन् । यी दलहरूले बारम्बार अरू साना दलहरूको गठबन्धनमा सरकार चलाउनुपरेको छ । भारतमा केही दशकदेखि कांग्रेस निकट दलहरूको ‘युपीए’ र भाजपा निकट दलहरूको ‘एनडीए’ गठबन्धन कायमै छ । निर्वाचन अगाडि नै दलहरूबीच गठबन्धन हुने र निर्वाचनपछि तिनै दलहरूले बहुमत पुर्‍याई सरकार चलाउने ‘प्रि–इलेक्सन एलाइन्स’ निर्वाचनपछि सरकारका लागिमात्र गठबन्धन गर्ने ‘पोष्ट–इलेक्सन एलाइन्स’ भन्दा बढी फाइदाजनक हुन्छ । त्यसले राजनीतिक स्थायित्वलाई बढी प्रत्याभूत गर्न सक्छ । यस दृष्टिकोणबाट नेपालमा जुन प्रकारका गठबन्धनहरू हँुदैछन्, ती स्वाभाविक र प्राकृतिक नै छन् ।

तर कम्युनिस्ट पार्टी र कम्युनिस्ट निकट दलहरूको गठबन्धनलाई ‘वाम गठबन्धन’ र नेपाली कांग्रेस र कांग्रेस निकट दलहरूको गठबन्धनलाई ‘लोकतान्त्रिक गठबन्धन’ भनेर जसरी चिनाउने काम भइरहेको छ, त्यो भने स्वाभाविक छैन । यस्तो विभाजनले उठाउने पहिलो र स्वाभाविक प्रश्न हुन्छ, के वामपन्थीहरूचाहिँ लोकतान्त्रिक हैनन् ? अर्को प्रश्न, के नेपाली कांग्रेससँग नेपाली समाजको क्रान्तिकारी परिवर्तन र रूपान्तरणका लागि काम गर्नुपर्ने दायित्व छैन ? के कांग्रेससँग राप्रपाजस्तो ‘कन्जर्भेटिभ’ दल जोडिँदा पनि त्यो ‘लोकतान्त्रिक’ नै हुन्छ ? यस्तो विभाजन र भाष्य सायद कहीं न कहींनेर अनुचित नै छ । तर आफूलाई वामपन्थी भन्न रुचाउने एउटा ठूलो बौद्धिक जमातले पनि यही प्रकारको वर्गीकरणलाई सहज ढंगले स्वीकार गरेको देखिन्छ । त्यसैगरी आफूलाई कुनै रूपान्तरणकारी भूमिका नभएको सामान्य ‘लोकतान्त्रिक’ दलका रूपमा मात्र चित्रण गरिदिँदा कांग्रेसजनहरू पनि मक्ख परेको देखिन्छ ।

दुबै पक्षमा एउटा अनुचित स्वीकारोक्ति देखिन्छ कि वामपन्थीहरू लोकतन्त्रवादी हुँदैनन् र लोकतन्त्रवादीहरू क्रान्तिकारी हुँदैनन् । वामपन्थी हुनुलाई सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तन र रूपान्तरणमा भूमिका गर्ने क्रान्तिकारी शक्तिका रूपमा बुझ्ने र लोकतन्त्रवादी हुनुलाई नागरिकमा निहित सार्वभौमसत्ता, स्वतन्त्रता, विधि, पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धताका रूपमा बुझ्ने हो भने यीमध्ये एक चिजमात्र छान्नै सकिन्न । आज लोकतान्त्रिकता र क्रान्तिकारिता एकै सिक्काका दुई पाटाजस्तै भइसकेका छन् । जो वास्तविक रूपमा लोकतन्त्रवादी हैन, ऊ साँचो अर्थमा क्रान्तिकारी हुनै सक्दैन । त्यसको अर्को पाटो जो वास्तविक रूपमा क्रान्तिकारी हैन, ऊ साँचो अर्थमा लोकतन्त्रवादी हुनै सक्दैन । त्यसो भए स्वाभाविक रूपमा तेस्रो प्रश्न उठ्छ– यस्तो विभाजन अनुचित हो भने हुनु के पथ्र्यो त ?

यथार्थमा अहिले हुन लागिरहेको ध्रुवीकरणको सैद्धान्तिक भाष्य ‘वाम–लोकतान्त्रिक’ (लेफ्ट–डेमोक्र्याट) र ‘उदार–सम्बद्र्धनवादी’ (लिबरल–कन्जर्भेटिभ) हो । एमाले–माओवादी केन्द्रको समिश्रणबाट जुन गठबन्धन बन्छ, त्यसको सैद्धान्तिक चरित्र ‘वाम’ मात्र हँुदैन, ‘वाम–लोकतान्त्रिक’ हुन्छ । त्यसैगरी नेपाली कांग्रेस–राजपा–राप्रपा सहितको जुन गठबन्धन बन्ने जस्तो देखिएको छ, त्यसको चरित्र ‘उदार लोकतान्त्रिक’ मात्र नभएर ‘उदार–सम्बद्र्धनवादी’ हुन्छ । फेरि यहाँनेर जोड दिएर भन्नुपर्ने कुरा के छ भने वस्तुत: यो ‘सैद्धान्तिक’ वर्गीकरण मात्र हो । दलहरूको व्यावहारिक चरित्र अध्ययन र चित्रण गर्ने हो भने यो वर्गीकरण पनि मानिरहन आवश्यक छैन । व्यावहारिक यथार्थ त के छ भने यहाँ वामपन्थीहरू नै लोकतन्त्रवादीभन्दा बढी पुँजीवादी वा ‘लिबरल’ र लोकतन्त्रवादीहरू नै वामपन्थीहरूभन्दा बढी ‘अलोकतान्त्रिक’ भेटिन सक्छन् ।

‘कम्युनिस्ट’ नाम प्रयोग गर्ने बित्तिकै ती दलहरूलाई ‘वामपन्थी’ ठान्ने विश्लेषण पद्धतिभन्दा माथि नेपालीको आम राजनीतिक चेतना जानै सकेन । कम्युनिस्टहरूले यही विश्लेषण पद्धतिमा गर्व गरे भने कांग्रेस वृत्तले पनि यही विश्लेषण पद्धतिलाई अनुमोदन गर्‍यो । तर विश्वको राजनीतिक साहित्य र अभ्यासलाई हेर्दा यस्तो विश्लेषण पद्धतिले कहीं कतै तालमेल गर्दैन । ‘वामपन्थ’ शब्दको जन्म कम्युनिस्ट आन्दोलनबाट भएको हैन । फ्रान्सेली राज्यक्रान्तिको गर्भबाट ‘लेफ्ट’ शब्दको राजनीतीकरण हुँदा ‘कम्युनिस्ट मेनिफेस्टो’ लेखिएकै थिएन । तर ‘सोसलिष्ट इन्टरनेसनल’को सदस्य हुने र त्यसका बैठकहरूमा भाग लिनजाँदा ‘कमरेड’ शब्द प्रयोग गर्न किञ्चित ग्लानि नमान्ने कांग्रेसीहरूले कहिल्यै ‘हामी वामपन्थी हौं, तर कम्युनिस्ट हैनौं’ भन्न सकेनन् । आज पनि कांग्रेसहरू ‘वामपन्थीहरू अधिनायकवादी हुन्छन्’ जस्तो सस्तो प्रचारबाजीमै विश्वास गर्छन्, उनीहरूले दिने उदाहरण भने रूस–चीन, लेनिनवाद–माओवाद र सर्वहारा अधिनायकत्वकै हुन्छ । त्यसो गर्दा उनीहरूले वामपन्थको वास्तविक उत्तराधिकार आफूसँग हैन, कम्युनिस्टहरूसँग नै छ भन्ने भान जनसमुदायमा पारिरहेका हुन्छन्, जसरी कम्युनिस्टहरू कांग्रेसलाई ‘लोकतन्त्रवादी’ भनेर लोकतन्त्रको स्वामित्व आफूहरूसँग छैन, नेपाली कांग्रेससंँगै छ भन्ने भ्रम पारिरहेका हुन्छन् ।

‘वामपन्थ’ र ‘कम्युनिजम’ शब्दको अर्थ एउटै हुँदैन । वामपन्थ राजनीतिक कार्यदिशा हो । क्रान्तिकारी राजनीतिक कार्यदिशा अवलम्बन गरिरहेको दललाई वामपन्थी भन्न सकिन्छ । कम्युनिस्ट भने एउटा निश्चित प्रकारको विचारधारा हो, त्यो कार्यदिशा मात्र हैन । कम्युनिस्टहरू वामपन्थी हुन सक्छन्, तर सबै कम्युनिस्ट वामपन्थी हुँदैनन् । गैरकम्युनिस्टहरू पनि वामपन्थी हुन सक्छन् । जस्तो कि नेपाली कांग्रेस राणाशाही, पञ्चायत र राजशाही विरुद्ध संघर्षमा हुँदा त्यसको कार्यदिशा वामपन्थी थियो । तर २०४६ पछि निरपेक्ष नवउदारवाद अवलम्बन गरिरहँदा वा संविधानसभाको विरोध र ‘संवैधानिक राजतन्त्र’को रक्षा गरुन्जेलसम्म त्यो ‘दक्षिणपन्थी’ दलका रूपमा थियो । यही कुरा एमाले लगायत कम्युनिस्टहरूका हकमा पनि लागू हुन्छ । नेपालका कम्युनिस्टहरूको कार्यदिशा सधैं वामपन्थी छैन । बारम्बार उनीहरू दक्षिणपन्थको सिकार पनि भएका छन् ।

नेपाली कांग्रेसले ‘वामपन्थ’ र ‘कम्युनिस्ट’ शब्दलाई एकअर्काको पर्यायवाची बनाएर जब आक्रमण गरिरहेको हुन्छ, त्यसले जनसमुदायलाई यसर्थ ‘इरिटेड’ गर्छ कि त्यसोभए ‘के वामपन्थी नभएर दक्षिणपन्थी हुनु राम्रो हो त ?’ भन्ने मनोवैज्ञानिक प्रतिशोधको भावना प्रबल हुन्छ । ‘कम्युनिस्ट’ शब्द प्रयोग गर्दा नेपाली जनसमुदायको मस्तिष्कमा आउने प्रतिविम्ब ‘रूस–चीनको जस्तो अधिनायकवाद र एकदलीयता’ मात्र हुँदैन । नेपाली जनताले रूस–चीनको इतिहास कमै पढेका छन्, जति आफ्नै देश नेपाल भोगेका छन् । नेपालको हकमा कम्युनिस्ट शब्दले खास–खास समयमा भएका विचलन बाहेक कांग्रेसकै जस्तो राणाशाही, पञ्चायत र राजशाही विरुद्ध लडेको लोकतान्त्रिक दलकै विम्ब जनसमुदायमा सिर्जना गर्छ । रूस–चीनकै बाटो समाते भने सायद नेपालमा कम्युनिस्टहरूको पतनलाई कसैले रोक्न सक्ने छैन । तर उनीहरू त्यो बाटो नसमात्ने प्रतिबद्धताका कारण नेपाली समाजमा स्थापित भएका हुन् भन्ने यथार्थलाई कांग्रेसले बिर्सनुहुन्न ।

कम्युनिस्ट शब्दले मूलत: तीनवटा विम्ब एकसाथ सिर्जना गर्छ । पहिलो– मार्क्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा भनेजस्तै ‘वर्गविहीन, राज्यविहीन, शोषणविहीन, शासनविहीन, बजार र अतिरिक्त बचतविहीन’ एक आदर्श राज्यको कल्पनामा आस्था राख्नु । ‘आस्था’ भन्ने बित्तिकै त्यो विश्वासको विषय हुन्छ, व्यावहारिक यथार्थ हैन । यस्तो शासन व्यवस्था संसारमा अहिलेसम्म कहीं कतै पाइएको छैन । व्यक्तिको ‘आस्था’ राख्न पाउने स्वतन्त्रताको अधिकारभित्र यो विषय क्षम्य हुन्छ । दोस्रो– रूसको जारशाहीदेखि नेपालको राणा र शाहहरूसम्म सामन्ती शासन व्यवस्था विरुद्ध जोखिमपूर्ण ढंगले लडेको क्रान्तिकारी राजनीतिक शक्ति । यो विम्बलाई आधार बनाएर कम्युनिस्टहरूमाथि गरिने आक्रमण स्वत: प्रतिउत्पादक हुन्छ ।

तेस्रो– ‘सम्पूर्ण उत्पादन साधनहरूको राष्ट्रियकरण, सर्वहारा राज्यको नाममा एकदलीय अधिनायकवादी व्यवस्था, निजी सम्पत्ति र बजार अर्थतन्त्रमाथि आक्रमण गर्ने रूसमा औपचारिक रूपमा र चीनमा अनौपचारिक रूपमा ढलिसकेको प्रणालीप्रतिको लिगेसी । नेपालमा मात्र हैन, सम्भवत: कम्युनिस्टहरूको विश्वव्यापी रूपमै सबैभन्दा आलोच्य पक्ष यही हो । यो दोषको अनावश्यक भार बोकिरहन नेपालका कम्युनिस्टहरू किन चाहन्छन्, थाहा छैन । यसबाट सजिलो मुक्तिको उपाय भनेको ‘लेनिनवाद–माओवाद’ शब्दको मोहबाट आफूलाई मुक्त गर्नु नै हो । जबसम्म नेपालका कम्युनिस्टहरूले यो आँट गर्दैनन्, नेपाली कांग्रेस जतिसुकै ‘नालायक’ भए पनि जनसमुदायको एउटा हिस्साले ‘मुफतमा कांग्रेसलाई भोट’ दिइरहनेछ । यो अवस्थाले नै नेपालमा कांग्रेसलाई बलियो पार्टीगत प्रयास र अभ्यासविनै बलियो जनाधार भएको पार्टी बनाएको हो । यो यथार्थलाई बुझ्ने हो भने कांग्रेसले वामपन्थ र कम्युनिस्टलाई सोलोडोलो पर्यायवाची शब्द नबनाएर कम्युनिस्टहरूको आलोचना गर्न नेपालकै धरातलीय यथार्थमा ‘नयाँ गाली’ खोज्न सक्नुपर्छ ।

नेपालका कम्युनिस्टहरूले पनि यो बुझ्न जरुरी छ कि ‘लोकतन्त्रको स्वामित्व’ कांग्रेसलाई दिएर नेपालमा कम्युनिस्ट आन्दोलनको औचित्य सिद्ध हुन सक्दैन । लोकतन्त्रको सबलीकरणका लागि उनीहरूका वैकल्पिक प्रस्तावहरू के हुन् त ? उनीहरूले हिजोका ‘सोभियत र चिनियाँ प्रणाली’लाई आदर्श मान्न छोडेका हुन् भने के उनीहरू ‘सामान्य संसदीय लोकतन्त्र’का अनुयायी भएका हुन् ? हुन् भने लोकतन्त्रको स्वरूप, ढाँचा, संरचना र अभ्यासमा उनीहरूको श्रेष्ठता नेपाली कांग्रेसभन्दा माथि कहाँनेर कायम हुन्छ ? सन् १९९० यताको नवउदारवादी बेथितिहरूसंँग व्यावहारिक रूपमा उनीहरू पनि उत्तिकै जोडिएकै छन् त ? विना पूर्वाग्रह यी यथार्थहरूलाई आत्मसात गर्ने हो भने आजका गठबन्धनहरूको भिन्नता ‘वामपन्थी’ र ‘लोकतन्त्रवादी’ मात्र भनेर प्रतिविम्बित हुन सक्दैन, बरु त्यसलाई ‘र्‍याडिकल डेमोक्रेसी’ र ‘लिबरल डेमोक्रेसी’का भिन्नताका रूपमा चित्रित र प्रतिविम्बित गर्न सक्नुपर्छ ।

प्रकाशित : आश्विन ३१, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?