डेनमार्कको ट्राफिक व्यवस्थापनबाट सिक्ने कि ?

डोरनाथ अर्याल

काठमाडौँ — डेनमार्कबाट हामीले सिक्नुपर्ने विभिन्न कुरामध्ये ट्राफिक व्यवस्थापन पनि एक हो । डेनमार्क ट्राफिक व्यवस्थापनमा युरोपियन देशहरूमध्ये पनि एक उदाहरणीय नै मानिन्छ ।

आर्थिक अभावमात्र यसको समस्या होइन। वैज्ञानिक र असल व्यवस्थापन र दीर्घकालीन सोच नहुनु यसका मुख्य कारण हुन्। विगत केही वर्षको अन्तरालमा कैयौं ऐतिहासिक र साहसिक परिवर्तन र चुनौती सामना र आत्मसात गरेका नेपालीलाई कुनै पनि नयाँ प्रयोगको कार्यान्वयन जटिल र अप्रत्यासित हुँदैन। त्यसैले एउटा नयाँ चिराबाट विलकुल नयाँ सुरुआत गरेजस्तै किसिमले ट्राफिक व्यवस्थापन गर्न आवश्यक छ। हाम्रै लागि हो र हामी सबैले सरकारलाई सहयोग गर्नुपर्छ भन्ने सोच सबैमा हुनु जरुरी छ।

विकासको शैली हरेक देश र ठाउँमा फरक–फरक हुन्छ। हाम्रो जस्तो भौगोलिक बनावट भएको मुलुकमा अमेरिका र युरोपका जस्ता फराकिला सडक र पुरै शिक्षित जनताको जस्तो स्वभाव खोज्नु हुँदैन। राजधानी जस्ता ठाउँमा व्यापक रूपमा सडक चौडा गर्न सम्भव भएको मुलुक, अधिकांश राजधानीमा एकैसाथ खानेपानीका पाइप फेर्न सक्ने मुलुक, कैयौं दिनसम्म सवारी नचल्दा र इन्धन नहुँदा पनि दाउरै बालेर भए पनि थाम्न सक्ने हाम्रोजस्तो मुलुकमा कठिनभन्दा कठिन कुरा कार्यान्वयनमा ल्याउन सकिन्छ।

विशेषगरी रात्रि समयमा मादकपदार्थ सेवन गरेर हुने सवारी दुर्घटना ह्वात्तै घटेको अवस्था छ। लेनको पालना र हर्न बजाउन रोक्ने नियम पनि सुरुमा राम्रै कार्यान्वयन भए र पछि खुकुलो हुँदै गयो। राजमार्गहरूमा पनि धेरै सुधार नभएका होइनन्। ‘मापसे’ चेक गर्ने क्रम घट्दै गयो भने ‘मापसे’ गर्नेको संख्या पनि बढ्दै जान्छ। जुनसुकै मुलुकमा यही कुरा लागू हुन्छ। हामीले बुझ्नुपर्छ कि कानुन मिच्यो भने कारबाही हुन्छ। साथै भए–गरेका कारबाही, प्रचलन र नियमित जाँचको आधारमा नै यो पालना गर्ने क्रम बढ्ने र घट्ने हुन्छ।

अब डेनमार्कमा गरिएका केही अभ्यास, कानुनी व्यवस्था, कार्यान्वयनको अवस्थातिर लागौं। स्पष्ट र कडा कानुनी व्यवस्था र त्यसको जनताद्वारा गरिएको इमानदारीपूर्वकको पालनाले नै डेनमार्क अरूका लागि उदाहरणीय हुनसकेको हो। वर्षौं विदेशमा गाडी चलाएकाहरूलाई पनि नेपालमा गाडी हाँक्न डर नै लाग्छ। यो लेखक पनि त्यसमा अपवाद छैन। नेपालमा सडक पार गर्ने, मोटर गुड्ने सडकमा हिँड्नेदेखि सवारी चालक सबैले छुट्टै खालको तालिम नै लिनुपर्ने हो कि जस्तो लाग्छ। डेनमार्कका जनता डराउने भनेको कानुनसँग हो। कानुनले तोकेको अवस्थामा कुनै भुल हुनगएमा अनावश्यक प्रतिवाद नगरी तोकिएको बैंक खातामा जरिवाना रकम जम्मा गरिदिन्छन्। यसमा अरू विकल्प पनि हुँदैन। सवारी नियम उल्लंघनको साँच्चै कडा नियम छ, डेनमार्कमा। सबैभन्दा सामान्य गल्ती गरे पनि कम्तीमा एक हजार क्रोनर अर्थात् करिब १६००० रुपैयाँ जरिवाना तिर्नुपर्छ। सन् २०१२ को जनवरीबाट धेरै जरिवाना करिब दोब्बर नै बनाइएका छन्।

साथै साइकल चलाउने र सडक पार गर्नेहरूका लागि पनि स्पष्ट र कडा कानुन बनाइएको छ। बत्ती नबाली गाडी चलाएमा, रातिको समयमा गलत किसिमले बत्ती बालेमा, हर्न, ब्रेक, टायर राम्रो अवस्थामा नभएमा, ड्राइभिङ लाइसेन्स साथमा नराखेमा, साइकल बाटो वा फुटपाथमा गाडी चलाएमा, गाडी मोड्दा संकेत नदिएमा एक पटकमा एक हजार डेनिस क्रोनर अर्थात् करिब नेपाली १६००० रुपैयाँ जरिवाना हुन्छ।

ट्राफिक बत्तीको पालना नगरेमा, गाडी चलाउँदा सिटको पेटी नबाँधेमा, गाडी चलाउँदा मोबाइल हातमा समाएर कुरा गरेमा, तोकिएको भन्दा २० प्रतिशत बढी गतिमा गाडी चलाएमा १५०० क्रोनर अर्थात् करिब २४००० रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ। रातो बत्तीको संकेत अवज्ञा गरेमा, आपत्कालीन लेनमा गाडी चलाएमा, एकै पटक दुइटा लेन क्रस गरेमा, गोल घुम्तीमा गलत दिशामा चलाएमा, जेब्राक्रसिङमा तोकिएको रेखाभन्दा अगाडि गाडी लगेमा वा रातो बत्ती बलेको बखत जेब्राक्रसिङसम्म पुर्‍याई गाडी रोकेमा, बच्चालाई तोकिएको मापदण्ड अनुसारको सिटमा नराखेमा २ हजार डेनिस क्रोनर अर्थात् करिब बत्तीस हजार नेपाली रुपैयाँ बराबर जरिवाना तिर्नुपर्ने हुन्छ। बढी गतिमा गाडी चलाउँदा जरिवाना १ हजारबाट सुरु भएर जति–जति गति बढ्दै जान्छ, सोही अनुसार ७५०० क्रोनरसम्म जरिवाना हुन्छ र पुन: सवारी अनुमतिपत्रको प्रक्रियामा जानुपर्ने पनि हुनसक्छ।

सडक पार गर्नेहरूले पनि तोकिएको ठाउँबाट अर्थात् जेब्राक्रसिङ बाहेक अन्य ठाउँबाट सडक पार गरेमा वा ट्राफिक बत्तीको पालना नगरेमा ७ सय क्रोनर जरिवाना तोकिएको छ। साइकल चलाउँदै फोनमा कुरा गरेमा १ हजार क्रोनर जरिवाना लाग्छ। साइकलमा रातिमा बत्ती नबाली चलाएमा ७ सय क्रोनर जरिवाना तोकिएको छ।

यस्ता जरिवाना लगाउँदा प्राय: भिडियोमा रेकर्ड गरिन्छ र जरिवाना तिर्न बैंक खातासहितको बिल उपलब्ध गराइन्छ वा इबक्स वा पोष्ट बक्समा पठाइन्छ। आफ्नो गल्ती भएको छैन भन्ने लागेमा आफै अनलाइनबाट भिडियोमा पनि हेर्न सकिन्छ। जरिवाना तिर्न विलम्ब गरेमा तोकिएको दरमा बढ्दै जान्छ। तिर्नुको कुनै विकल्प छैन। साथै व्यक्तिगत अभिलेखमा पनि रहिरहने हुँदा व्यक्तिहरू बढी सावधान हुन्छन्। विमानस्थलबाट जरिवाना नतिरी बाहिर जानलागे पनि थाहा भइहाल्छ। पार्किङको शुल्क नतिरी वा गलत ठाउँमा पार्किङ गरेमा सरकारी पार्किङ भए ५ सय १० क्रोनर र निजी भए ६ सय ५० देखि ७ सय ५० क्रोनर जरिवाना लाग्छ। कम्युन अनुसार पार्किङको दरमा केही फरक छ। पार्किङको चापलाई व्यवस्थापन गर्न एक घन्टाको पार्किङ दस्तुर नौ क्रोनरदेखि सैंतीस क्रोनरसम्म तोकिएको छ। हाल स्वचालित मेसिनको अलावा इजी मोबाइल पार्क र पार्कमेन जस्ता सफ्टवेयर युरोपमा निकै चल्तीमा छन्।

ट्राफिक संकेतले स्पष्ट बताएकोमा बाहेक दायाँ–बायाँ मोड लिँदा साइकल र बाटो काट्ने पैदल यात्रुलाई पूरा अधिकार दिनुपर्छ। यस्तोमा कुनै दुर्घटना भएमा पूर्णत: गाडी चालकको दोष हुन्छ। डेनमार्कमा साइकलको लागि विशेष सावधानी अपनाउनुपर्छ। गाडीको ऐनाबाट मात्र हेरेर हुँदैन र टाउको फर्काएरै हेर्नुपर्ने नियम नै छ। डेनमार्कमा एक दिनमा कुल साइकल यात्रा जोड्ने हो भने १३ लाख किलोमिटर भन्दा बढी हुन्छ। बहालवाला मन्त्रीहरूसमेत साइकलमा यात्रा गरेको पाइन्छ। व्यक्तिगत स्वास्थ्य, पर्किङको चर्को दस्तुर र साइकललाई पार्किङको सुलभता, ट्राफिक जाम, आर्थिक लगानी, साइकल लेनको व्यवस्था, सुरक्षित यात्रा र साइकल चालकलाई दिइएको प्राथमिकता आदि कुरालाई औल्याउँदा साइकल यात्रा धेरैको रोजाइ हुनु स्वाभाविक हो। त्यसैले हरेक १० जना डेनिसमध्ये ९ जनासँग साइकल हुन्छ।

गाडीमा बस्ने चालक तथा अन्य व्यक्तिले समेत गाडीमा पेटी अनिवार्य बाँध्नुपर्छ। अन्यथा गाडी चढ्ने व्यक्तिले जरिवाना तिर्नुपर्ने हुन्छ, चालक आफूले त तिर्नुपर्छ नै। साना बच्चाबच्चीको लागि तोकिएको सिट अनिवार्य छ। ३ वर्षभन्दा बढीका र १३५ सेन्टिमिटर भन्दा साना बच्चा तोकिएको आकारको पछाडिको सिटमा बस्नुपर्छ। निश्चित समयावधिमा गाडीको मर्मत–सम्भार अनिवार्य हुन्छ। चक्काको बाहिरी धर्काहरू कम्तीमा १ दसमलब ६ मिलिमिटर हुनुपर्छ।

मादक पदार्थ सेवन गरेर गाडी चलाएमा कडा कारबाहीको व्यवस्था गरिएको छ। एउटा सामान्य ड्रिङ्क खाँदा फरक नपर्न सक्छ, जस्तो एक क्यान बियर, एक ग्लास वाइन, सानो एक पेग ह्विस्की (करिब तीस मिलिलिटर), तर मान्छेको तौल, खाएको अवधि आदिले फरक पार्न सक्छ। प्रत्येक एक हजार परिमाणमा रगतमा शून्य दसमलब पाँच प्रतिशतभन्दा कम भएमा छुट हुन्छ। अर्थात् शून्य दसमलव शून्य पाँच प्रतिशत ‘बीआर एसी’ अर्थात् ‘व्रेथ अल्कोहल कन्सन्ट्रेसन’भन्दा बढी भएमा मात्राअनुसार कडाभन्दा कडा कारबाही हुन्छ। ३२ हजार क्रोनर तिरेर आफैले १२ घन्टाको चारवटा कक्षा लिनु अनिवार्य हुन्छ। त्यसपछि मात्राअनुसार लाइसेन्स खारेजी तथा लाखौं नेपाली रुपैयाँ बराबरको जरिवाना तोकिएको छ। यिनै कडा नियम र तिनको परिपालनाले नै डेनमार्कको ट्राफिक व्यवस्थापन उदाहरणीय बन्नसकेको हो। बाटो काट्ने, साइकल चलाउने, गाडी चलाउनेहरू ढुक्कसँग आआफ्नो गन्तव्यमा जान सक्छन्। दुर्घटना नगन्य नै हुन्छ।

नेपालमा पनि आधारभूत सुविधा राख्ने, पार्किङ गर्ने, सडक बत्ती र ट्राफिक संकेतहरू राख्ने, जेब्राक्रसिङको यथेष्ट व्यवस्था गर्ने, अपुग नियम भए थप गर्ने र भएका नियमको पूर्ण कार्यान्वयन गर्ने हो भने छोटो समयमा नै व्यापक परिवर्तन ल्याउन सकिन्छ। एक ठाउँको एउटा पुल वा सडक बनाउने रकमले कैयौं सडकमा ट्राफिक संकेत र बत्तीहरू राख्न तथा आवश्यक मार्किङ गर्न पुग्छ। सडक थप्नमात्र नभई भएको सडकलाई व्यवस्थित गर्न प्राथमिकता दिनु पनि उत्तिकै आवश्यक भएको छ। सडकलाई ठेक्कामा दिंँदा नै सडक बत्ती, पार्किङ, ट्राफिक लाइट जडान, पैदलमार्ग तथा त्यसका निश्चित अवधिसम्मको लागि मर्मत–सम्भार समेतको व्यवस्था राखी ठेक्का दिने प्रावधान गर्न सकिन्छ। हाम्रा समस्या पहिचान गरेर समाधानका उपाय सम्बन्धमा सार्वजनिक सुझाव संकलन गर्ने हो भने पनि पक्कै प्रशस्त उपाय भेटिनेछन्। फेरि पनि दोहोर्‍याएर भन्नुपर्दा आर्थिक पक्षमात्र हाम्रो कारण होइन, वैज्ञानिक, उपयुक्त र समयानुकूल व्यवस्थापन अहिलेको आवश्यकता हो।

विदेशीहरू तथा पर्यटकहरू काठमाडौं प्रवेश गर्नसाथ कुरूप देखिने अवस्थालाई छिटोछरितो र प्रभावकारी किसिमले समाधान गर्नु अत्यावश्यक छ। हरेक महानगरपालिका, नगरपालिका वा गाउँपालिका वा तिनका वडालाई आवश्यक अधिकार र साधनस्रोत उपलब्ध गराएर पनि यस्तो कार्यलाई गति दिन सकिन्छ। अहिले बजारमा विभिन्न खालका सोलार एईडी ट्राफिक बत्ती पनि बजारमा आएका छन्। इन्टरनेटमा खोज्यो भने पनि आकर्षक, अत्याधुनिक यस्ता सोलार एईडी ट्राफिक बत्ती देख्न सकिन्छ।

सोलार एईडी ट्राफिक बत्ती जडान गर्न सहज, तार सडक खनेर विछ्याउन नपर्ने र किनेर तुरुन्त जडान गर्न सकिने, विद्युत शुल्क तिरिरहन नपर्ने आदि कारणले गर्दा राम्रो नै हुन्छ। सोलार र बिजुली दुबैले चल्ने वा बिजुलीले मात्र चल्ने जुनसुकै राखे पनि राख्नचाहिंँ छिटो राख्नुपर्ने देखिन्छ। हाम्रोमा एक किसिमको नयाँ सुरुआत जस्तै हुनाले पछिल्लो र वैज्ञानिक प्रविधि चयन गर्नु उपयुक्त हुन्छ। यसतर्फ विलम्ब गर्नु भनेको अन्तर्राष्ट्रिय जगतमा हाम्रो छविलाई कमजोर गराउनु हो र पर्यटकको आकर्षण घटाउनु, दुर्घटना बढी निम्ताउनु पनि हो।

- अर्याल नेपाली राजदूतावास डेनमार्कमा मिनिस्टर काउन्सिलर तथा उपनियोग प्रमुखका रूपमा कार्यरत छन्।

प्रकाशित : कार्तिक २, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्

युटयुबमा देउसी–भैलो

संगीत
कान्तिपुर संवाददाता

काठमाडौं — सदाझैं यसपालि पनि तिहार विशेष गीत प्रशस्त निस्केका छन् । युट्युबमा ‘तिहार सङ २०७४’ टाइप गर्नासाथ गीतहरू हुरुरु स्क्रिनमा आउँछन् । छानी–छानी हेर्न/सुन्न सकिन्छ ।

हरिदेवी कोइराला, विष्णु माझी, पशुपति शर्मा, टीका पुन, देवी घर्ती लगायत गायकगायिकाले देउसी–भैलो गीत बजारमा ल्याएका छन् । पप र आधुनिक विधाका आर्टिस्टले पनि देउसीमाथि केही नयाँ प्रयोग गरेको सुनिन्छ । 

मञ्जु गौतम, उमा श्रेष्ठ, खुमन अधिकारी र अृमता लुंगेली मगरको गीत ‘फूल–माला उनी...’ यो साता ट्ेरन्डिङमा पर्‍यो । बुधबार दिउँसोसम्म २३ औं स्थानमा रहेको गीतमा खुमनकै शब्द र संगीत समाविष्ट छ । यसको भिडियोमा ७ लाखभन्दा बढी भ्युज थिए भने करिब तीन सय कमेन्ट्स देख्न सकिन्थ्यो । तीमध्ये सविन श्रेष्ठले लेखेका थिए, ‘देउसी त आजभोलि गीतमा मात्रै सीमित हुन आँट्यो । गाउँ–घरमा देउसी खेल्ने युवायुवती सबै बिदेसिएका छन्, क्यार्नु ।’


गायिका हरिदेवी कोइरालाले पनि ‘तिहारै आयो, भैलिनी...’ बोलको भाका श्रोतासमक्ष प्रस्तुत गरेकी छन् । म्युजिक नेपालको युट्युब च्यानलमा अपलोड गरिएको उक्त गीतमा कोइरालालाई लक्ष्मी गिरीको साथ दिएको देख्न सकिन्छ । पशुपति शर्माले ‘तिहारैमा देउसीरे...’ गीत आफैं लेखिवरि संगीत पनि आफैं भरेर गाएका छन् । यसमा उनलाई टीका पुनले सघाएकी छन् । ‘यो भिडियो हेर्दा साँच्चै तिहार आएजस्तो भयो,’ राई प्रमिलाले एक साताअघि यस्तो प्रतिक्रिया दिएकी रहिछन्, ‘विदेशमा भए पनि आफ्नै देशमा भएको महसुस गरेँ ।’

भानु वलीले आफ्नो ‘देउसीरे भन...’ गीतमा सेक्युरिटी गार्डहरूलाई फिचर गराएका छन् । यसमा केशव आचार्यको शब्द समेटिएको छ भने संगीत र स्वर दुवै वलीको हो । चन्द्रा चलाउने, लीला कुँवर र यज्ञ विकको स्वर रहेको ‘दिदी बहिनी...’ बोलको म्युजिक भिडियोमा बुधबारसम्म झन्डै पाँच लाख भ्युज थियो । तिलक बस्नेत र मनीषा राईले ‘देउसीरे, भैली राम...’ बोलको गीत निकालेका छन् । यसमा लामो समयपछि भेटिएका दिदी–भाइको उमंग समेटिएको छ । 


सुजाता केसी, मुना थापा, तेजस रेग्मी, सन्ध्या बूढा, माधव दाहाल, गन्धर्वराज पौडेल, यमुना नेपाल, मीना नेपाल, रेशम सापकोटा, शोभा त्रिपाठीलगायत गायकगायिकाले पनि तिहार गीत तयार पारेका छन् । लोक लयमा आधारित उनीहरूको गीतको भिडियो युट्युबमा उपलब्ध छन् । यद्यपि, ती गीत यो साता ट्रेन्डिङमा परेनन् । बरु, स्वप्न सुमन र अनुज प्रधानले तिहार स्पेसल भन्दै निकालेको म्यासअप भिडियो बुधबार टप २६ मा देखापर्‍यो । उनीहरूले ‘लौ न मायालुको देशमा...’ र ‘पानी पर्‍यो सरर...’ गीत एकमुष्ट गाएका छन् । 

गायक सर्दिल खतिवडा, सविन लिम्बू, हाउडे, विमल बराललगायतले भने अलि फरक खालको तिहार गीत लन्च गरेका छन् । सर्दिलले गिटार र ड्रम्सको तालमा ‘दसैंतिहार...’ बोलको गीत निकालेका छन् भने विमल बरालले डान्सिङ पार्टनरको ‘रातो माटो...’ गीत बजारमा ल्याएका छन् । हरेक साल नयाँ–नयाँ गीतहरू बनिरहे पनि ती तिहार सम्झाउने गीत बन्न सकेका छन् । ‘स्वर्ग’ फिल्मको ‘तिहारै आयो लौ झिलिमिलि...’, ‘चिनो’ फिल्मको ‘दियो बाली साँझको...’ जस्ता गीतले नै तिहार–गीतको गरिमा कायम गरिरहेका छन् ।

प्रकाशित : कार्तिक २, २०७४ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्